कैलाली । कैलालीको टीकापुर नगरपालिकाले सामुदायिक चौपाया व्यवस्थापन गर्नकै लागि बायोग्यास प्लान्ट निर्माण गरेको छ ।नगरपालिकाले सामुदायिक पशु चौपायाका कारण किसान निकै आजित भएपछि यसको व्यवस्थापन गर्ने उद्देश्यले प्लान्ट निर्माण गरेको हो । प्लान्ट निर्माण सम्पन्न भएको महिनौँ हुँदा पनि सञ्चालनमा आउन नसक्दा यसको हैरानी किसानले खेपेका छन् ।
चौपाया व्यवस्थापन गर्न नसक्दा किसानलाई मात्रै नभई सडकमा सवारीसाधन चलाउनेलाई पनि त्यति नै चुनौती बढ्दै गयो । “दिउँसोको भन्दा बढी जोखिम सवारी चलाउन राति छ ।” बसचालक सुमन चौधरीले भने, “सडकको बीचमा आएर बसेका हुन्छन् । कतिपय ठाउँमा राम्रोसँग नदेखिँदा ठूलो दुर्घटना हुने जोखिम छ ।” बायोग्यास प्लान्ट निर्माण भएपछि बजारका चौपाया व्यवस्थापन हुने विश्वास आफूहरुको रहेको जनाउँदै उनले यथाशीघ्र सञ्चालनमा ल्याउन आग्रहसमेत गरेका छन् ।
चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा नगरपालिकाले चौपायाको गोबरबाट बायोग्यास उत्पादन गरेर स्थानीय विपन्न परिवारलाई वितरण गर्ने योजना बनाएको थियो । प्लान्ट निर्माण भएको महिनौ भइसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । “प्लान्टको सम्पूर्णा काम सम्पन्न भएर स्थानीयको घरघरसम्म पाइप लाइन जडानको कामसमेत भएको महिनौँ भयो । अझै सञ्चालनको कुनै सुरसार देखिएको छैन ।” स्थानीय बलबहादुर विकले भने, “ग्यास प्लान्ट सञ्चालनमा आउन सकेको भए स्थानीयलाई राहत हुने थियो ।”
दुई सय घनमिटर क्षमताको बायोग्यास प्लान्टले उत्पादन सुरु गरेपछि आसपासका स्थानीयले दाउराका लागि गर्दै आएको वन विनाशको क्रम रोकिने विश्वास नगरपालिकाले गरेको छ । बायोग्यास उत्पादनका लागि सामुदायिक चौपायाको व्यवस्थापनमा नगरपालिका जिम्मेवार हुने भएपछि किसान खुसी देखिए पनि प्लान्ट छिटो सञ्चालनमा आउनुपर्ने स्थानीय मनोज चौधरीले बताए । बनेको संरचना प्रयोगमा आउनुपर्यो । बजार क्षेत्रका सामुदायिक चौपायाको व्यवस्थापन हुनुपर्यो भन्ने मात्रै हो ।” उनले भने, “यस्तै प्रयोगविहीन अवस्थामा रह्यो भने निर्माण भएको संरचना जीर्ण बनेर जानेमा पनि नगरपालिकाले समयमै सोच्नुपर्छ ।”
रु. एक करोड ६० लाखको लागतमा प्लान्ट निर्माणको काम नेपाल ऊर्जा विकास कम्पनीले पाएको थियो । आर्थिक वर्ष २०७६/७७ भदौबाट सुरु भएको थियो । आयोजनाको काम निर्माण कम्पनीले नगरपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको संयुक्त लगानीमा बायोग्यास प्लान्ट निर्माण भएको हो । ५५ घरधुरीलाई नगरपालिकाले खाना पकाउनका लागि उक्त बायोग्यास नागरिकको घरघरमा पुर्याएको छ ।नगरपालिकाका इञ्जीनियर नवराज जोशीले यसबाट नगरपालिकाभित्रका सामुदायिक चौपाया व्यवस्थापनसँगै स्थानीयले ग्यास प्राप्त गर्नुका साथै खेतका लागि प्राङ्गारिक मलसमेत उत्पादन हुने बताएका छन् ।
नगरपालिकाले उक्त बायोग्यास प्लान्टबाटै फोहरको व्यवस्थापन गर्ने तयारीसमेत गरेको छ । बजार क्षेत्रबाट सङ्कलन भएको सड्ने फोहरलाई ग्यास उत्पादनमा प्रयोग गर्ने र त्यसबाट प्रशोधन भएको बाँकी वस्तुलाई मल बनाएर किसानलाई सहुलियतमा वितरण गर्ने योजना रहेको नगर प्रमुख रामलाल डगौंरा थारूले बताएका छन् । उनले निर्माण कम्पनीले नगरपालिकालाई हस्तान्तरण नगरेका कारण सञ्चालनमा ढिलाइ भएको बताए । “अब प्लान्टबाट ग्यास उत्पादन सँगसँगै प्राङ्गारिक मल उत्पादन पनि हुने छ । ग्यासका लागि चौपायाको बढीभन्दा बढी आवश्यकता पर्ने भएकाले त्यसलाई रोजगारीसँग जोडेर गाईबाट उत्पादन भएको दूधलगायतका वस्तुको बजारीकरणका लागि डेरी सञ्चालनको सोच बनाएका छौँ ।” उनले भने, “एकातिर चौपाया व्यवस्थापन पनि हुने र अर्कातिर विपन्न परिवारले सहुलियतमा ग्यास पाउने भएकाले पनि यो आयोजनालाई नगरपालिकाले विशेष महत्वका साथ लिएको छ ।”
नगर उपप्रमुख खडकबहादुर शाहले चौपायाको विकल्प पनि सोचेर बायोग्यास सञ्चालन गर्नुपर्ने भएका कारण ढिलाइ भएको बताएको छ । “सामुदायिक चौपायाको समस्या सधैँ नरहन सक्छ । भोलि चौपाया नै यसरी नरहने अवस्था आउँदा करोडौँको लागतमा निर्माण भएको संरचनाको अवस्था के हुन्छ रु” उनले भने, “सोही क्षेत्रमा बृहत् फोहर व्यवस्थापन कार्यक्रमका लागि प्रदेश सरकारसँग छलफल भइरहेको छ । त्यो छलफलले पूर्णता पाएपछि फोहरलाई व्यवस्थापन गरेर बायोग्यास प्लान्टलाई दीर्घकालीनरूपमा अगाडि बढाउन सकिने छ ।”
नगरपालिकाभित्रका सामुदायिक चौपायालाई वडा नं २ को खोटेना भिराखानी सामुदायिक वनमा व्यवस्थापन गरिँदै आएको छ, सोही ठाउँमा बायोग्यास प्लान्ट निर्माण गरेको छ । गौशालामा भएका चौपायाको अवस्था निकै नाजुक पनि छ । आहारको अभावमा दैनिक चौपाया मरिरहेका छन् । नगरपालिकाले चौपाया व्यवस्थापनका लागि बर्सेनि १५ देखि २० लाख बजेट खर्च गर्दै आएको छ । चालुआवमा पनि सामुदायिक चौपाया व्यवस्थापनका लागि रु. २० लाख बजेट विनियोजन गरिएको छ । –रासस