Skip to content
LAXMI SUNRISE BANK

गत आर्थिक वर्षमा सरकारी खर्च १५ खर्ब आठ अर्ब

अर्थ सरोकार

काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा सरकारको रु १५ खर्ब आठ अर्ब २३ करोड ११ लाख बराबर कुल खर्च भएको छ । आर्थिक वर्ष २०८०/८१ मा कुल रु १४ खर्ब आठ अर्ब ७६ करोड बराबर खर्च भएको थियो ।

त्यस्तै, चालुतर्फ ८५.९५ प्रतिशत अर्थात् रु नौ खर्ब ८० अर्ब ३८ करोड, पुँजीगततर्फ ६३.२ प्रतिशत अर्थात् रु दुई खर्ब २२ अर्ब ६८ करोड खर्च भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान समारोहमा गरिएको प्रस्तुति अनुसार वित्तीय व्यवस्थातर्फ ८७.८७ अर्थात् रु तीन खर्ब २० अर्ब चार करोड बराबर खर्च भएको छ । विसं २०८१ को असार मसान्तको तुलनामा २०८२ असार मसान्तसम्म चालुतर्फ २.९४ प्रतिशत बढी खर्च भएको हो ।

यस्तै, पुँजीगततर्फ २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा १६.१५ प्रतिशत बढी खर्च भएको छ । आव २०८१/८२ मा वित्तीय व्यवस्थातर्फ ८७.१४ प्रतिशत खर्च भएको छ । वार्षिक लक्ष्यको कुल ८१.८७ प्रतिशत खर्च भएको देखिएको छ ।

आव २०८१/८२ मा कर राजस्व वार्षिक लक्ष्यको ८१.७५ प्रतिशत र गैरकर राजस्व ९५.४५ प्रतिशत सङ्कलन भई कुल राजस्व सङ्कलन वार्षिक लक्ष्यको ८३.०६ प्रतिशत पुगेको छ । आव २०८०/८१ मा कुल राजस्व रु १० खर्ब ३० अर्ब ३४ करोड सङ्कलन भएकामा आव २०८१/८२ मा रु ११ खर्ब ७८ अर्ब ८२ करोड सङ्कलन भएको छ । अघिल्लो वर्षको तुलनामा १४.४१ प्रतिशत बढी हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको विवरणअनुसार अघिल्लो वर्षको तुलनामा कर राजस्व १३.२५ प्रतिशत र गैरकर राजस्व २८.८ प्रतिशतले वृद्धि भएको हो ।

आव २०८१÷८२ मा कुल आयात रु १८ खर्ब चार अर्ब १२ करोड, निर्यात रु दुई खर्ब ७७ अर्ब तीन करोड बराबर भएको छ । कुल व्यापारघाटा रु १५ खर्ब २७ अर्ब नौ करोड बराबर भएको छ । अघिल्लो वर्षको तुलनामा आयात १३.३ प्रतिशत र निर्यात ८१.८ प्रतिशतले वृद्धि भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK