काठमाडौँ । सरकारी स्वामित्वको बैंक, राष्ट्रिय वाणिज्य बैंकमा नियामकीय ‘कोड अफ इथिक्स’ विपरित बाह्य लेखापरीक्षण भएको खुलासा भएको छ । बैंकका सिइओ देवेन्द्र रमण खनाल र बैंकका लेखापरीक्षक प्रकाश लम्साल साढुदाइ, साढुभाइ भएकाले प्रष्ट स्वार्थको द्वन्द देखिँदा पनि बैंकको लेखापरीक्षण प्रकाश लम्सालसमेतको सहभागीमा सम्पन्न भएको पाइएको छ ।
बैंकको आर्थिक बर्ष २०७९-८०, २०८०-८१, र २०८१-८२ को लेखापरीक्षण मा प्रकाश लम्साल संलग्न छन् । उनीसँगै पहिलो दुई वर्षमा अनुप कुमार श्रेष्ठ र प्रकाश जंग थापाले संयुक्त रुपमा काम गरेका छन् भने तेश्रो वर्षमा लम्साल र श्रेष्ठसँगै रमेश धिताल अडिटर छन् । यी मध्ये प्रकाश लम्साल सिइओ देवेन्द्र रमण खनालकी श्रीमती र लेखापरिक्षक प्रकाश लम्सालकी श्रीमती आफ्नै दिदीबहिनी हुन् ।
आइक्यानको ‘कोड अफ इथिक्स’ले नगर्नु भनेको काम संस्थाकै पूर्वअध्यक्षले भटाभट गरे !
नेपालमा लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था हो । आइक्यानले जारी गरेको कोड अफ इथिक्समा स्वनियमनको व्यवस्था छ । अर्थात् कतिपय कुरामा कानुन प्रष्ट नभएको खण्डमा इथिक्सअनुसार स्वार्थको द्वन्द नहुनेगरी काम गर्नु भनिएको छ ।
नेपालको कम्पनी ऐन २०६३ मा कम्पनीको उच्च तहका कार्यकारी भूमिकामा रहेका कर्मचारीहरुका आफन्तलाई लेखापरीक्षक नियुक्त गर्न नपाउने प्रष्ट व्यवस्था उल्लेख छ । कम्पनी ऐनको दफा ११२ मा कम्पनीको सञ्चालक, नियमित पारिश्रमिक वा नगद सुविधा पाउने गरी नियुक्त सल्लाहकार, कम्पनीमा व्यवस्थापन समूहमा रहेका व्यक्ति वा कर्मचारी वा कामदार वा निजहरु कसैको साझेदार वा त्यस्तो साझेदार मध्ये कुनैको कर्मचारी वा निजहरुमध्ये सञ्चालक वा साझेदारको नजिकको नातेदार वा नीजको कर्मचारी लेखापरीक्षक नियुक्त हुन नसक्ने स्पष्ट प्रावधान छ ।

ऐनमा नजिकको नातेदार भन्नाले एकासगोलको अंशियार वा पति, पत्नी, बाबु, आमा, सासु, ससुरा, दाजुभाइ दिदी, बहिनी, भाउजू, बुहारी, साला, साली, भिनाजु, काका, काकी, मामा, माइजू, छोरा, छोरी, छोरी बुहारी, नाति नातिनी, बुहारी वा ज्वाईं सम्झनु पर्छ भन्ने स्पष्ट उल्लेख छ । ऐनले सासु ससुरा र पति पत्नी नै नजिकको नातेदार भनेर व्याख्या गरिदिएपछि उही सासु ससुराका दुई छोरीका श्रीमान् एउटा बैंकको सिइओ हुँदा अर्को त्यहि बैंकको अडिटर भएको स्थितिमा लेखापरीक्षण गर्न कोड अफ इथिक्सले प्रष्ट रोक्छ । तर, राष्ट्रिय वाणिज्य बैंकमा भने सिइओ साढुभाइ हुँदाहुँदै साडुदाइ अडिटरले अडिट सक्काएका छन् । उनीहरुका सासु ससुराका जेठी छोरी खनालले विवाह गरेका हुन् भने कान्छी छोरी लम्सालले विवाह गरेका हुन् ।

कसरी आयो लम्साललाई ‘कोड अफ इथिक्स’ विपरित काम गर्ने कन्फीडेन्स ?
लेखापरीक्षक लम्साल स्वयम् आइक्यानका पूर्व अध्यक्ष हुन् । बैंकमा देवेन्द्र रमण खनाल सिइओ भएपछि उनी सो बैंकको अडिटर हुन नपाइने चर्चा त्यतिबेला नै चलेको थियो । तर, कम्पनी ऐनमा साढुभाइ भन्ने शब्द नै नरहेको जिकिर गर्दै कोड अफ इथिक्स बिर्सिएर लम्सालले बैंकको लेखापरीक्षण गरेका छन् ।
आइक्यानका अर्का पूर्व अध्यक्ष र सो बैंकमा अडिटर रहेका प्रकाश जंग थापाले कम्पनी ऐनमा साढुभाइ भन्ने शब्द नै नरहेकाले लम्सालले अडिट गरेको हुनसक्ने बताए । ‘कोड अफ इथिक्सको कुराचाहिँ आउन सक्छ । तपाईंले उठाउनुभएको विषय बहसको विषय पनि हुनसक्छ । तर कानुनले दिएको देखेर नै अडिट भएको होला ।’
‘अनि खनाल सरले गलत गरेको भए लम्साल सरले अडिट रिपोर्टमा लेख्ने आँट गर्नुहुन्छ त ? साढुभाइले जेल जाने काम गरेको रहेछ भने साढुदाइले सो लेख्ने आँट घरकी श्रीमती, र ससुरालीको रिस्क लिएर गर्न सक्ला र ?’ हाम्रो प्रश्नमा थापाले भने, ‘त्यहाँ खनाल सरले त्यस्तो गलत नै काम गरेको छैन होला नि त ।’
के भन्छन् लम्साल र खनाल ?
यता लम्सालले पनि कम्पनी ऐनले नरोकेकाले आफुले राष्ट्रिय वाणिज्य बैंकको अडिट गरेको तर कोड अफ इथिक्सका विषयमा भने आफु बहस गर्न नसक्ने बताए । ‘कानुनमा साढुभाई भन्ने शब्द छैन । त्यसैले अडिट गरेको हो ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘कानुनत: मिल्छ भनेपछि काम गरेको हो ।’
‘अनि कोड अफ इथिक्स अनुसार यसरी काम गर्न मिल्छ त ?’ हाम्रो प्रश्नमा उनले भने, ‘कोड अफ इथिक्सका विषयमा म तपाईंसँग बहस गर्न सक्दिन ।’
यता बैंकका सिइओ खनालले भने महालेखाबाट नाम आएकोले लम्सालले काम गरेको दाबी गरे । उनी पनि चार्टर्ड एकाउन्टेन्ट नै हुन् ।
‘अनि तपाईंको साढुदाई अडिटर, तपाईं सीइओ, अडिट गर्दा स्वार्थको द्वन्द भएन र ?’ हाम्रो प्रश्नमा खनालले भने, ‘मेरो अडिट गरेको हो र ? बैंकको अडिट गरेको हो लम्सालजीले । त्यसमाथि महालेखाले पठाएको नाम हो, त्यसमा
मैले के गर्न सक्छु र ?’
आइक्यानमा हल्लीखल्ली, महालेखामा गाइगुई !
लम्साल आइक्यानका पूर्व अध्यक्ष मात्र होइनन्, उनैको समर्थनमा हरि सिलवाल आइक्यानको पार्सद छन् । आइक्यानको पार्सद रहेका सिलवाल स्वयम् राष्ट्रिय वाणिज्य बैंकमा संचालक छन् । सिलवाल सो बैंकमा ऋणी हुँदा नै एमाले नेताको पावर लगाएर बैंकमा संचालक भएर बसेका छन् । नयाँ सरकारमा पनि महाबीर पुन मन्त्री भएपछि उनी आफ्नो पुनको मान्छे भन्दै पदमै बसिरहेका छन् । पुनको राष्ट्रिय आविष्कार केन्द्रमा सिलवाल पनि संचालक हुन् ।
आइक्यानका अध्यक्ष निल बहादुर सारु मगर आइक्यानको कोड अफ इथिक्स अनुसार नै लेखापरीक्षकले अडिट गर्नुपर्ने बताउँछन् । कम्पनी ऐनले दिएपछि सोहि अनुसार अडिट भएको विषय भने उनले आफ्नो जानकारीमा रहेको बताएका छन् । मगरले लम्सालको बचाउ गर्नुको कारण भने छ । उनी नै स्वयम् तत्कालीन प्राइम लाइफ इन्स्योरेन्समा यस्तै अडिट प्रकरणमा परेका थिए । पछि सो अडिट खारेज भएको थियो ।
आइक्यानका कार्यकारी निर्देशक बिमल डंगोल अडिटर र सिइओ साढुदाइ साढुभाइ भएको विषय आफुलाई थाहा नभएको बताउँछन् । डंगोल लम्सालले अडिट सुरु गर्दा सोहि बैंकको डिजीएम थिए । अडिट रिपोर्टमा पनि उनको हस्ताक्षर छ ।
महालेखा भन्छ- ‘नियुक्तिका बेला कोड अफ इथिक्स हेर्ने जिम्मेवारी अडिटरकै हो’
यता महालेखापरीक्षकको कार्यालयले भने लेखापरीक्षक नियुक्तिका बेला स्वार्थको द्वन्द हुन्छ वा हुँदैन भन्ने विषय स्वयम् अडिटरले हेर्ने विषय भएको प्रष्ट पारेको छ । महालेखा परीक्षकको कार्यालयका निर्देशक एवं सूचना अधिकारी रमेश सुवेदीले महालेखाले नाम पठाएको भए पनि लेखापरीक्षक स्वयमले यस विषयमा ख्याल गर्नुपर्ने बताए । ‘यस्तो केसमा महालेखाले नाम पठाए पनि, आफ्नो स्वार्थ बाझिन्छ कि बाझिदैन भन्ने विषय स्वयम् लेखापरीक्षकले हेर्नुपर्छ ।’ सुवेदीले अर्थ सरोकारसँग भने, ‘बाँकी के रहेछ म हेर्न लगाउँछु ।’
लम्सालको नाम महालेखा परीक्षकको कार्यालयले पठाएको हो । महालेखाले सिइओ र लेखापरीक्षक आफन्त भन्ने थाहा नपाएकोले यस्तो भएको देखिन्छ । तर, नेपाल स्ट्याण्डर्ड अन अडिटिङले अडिटर स्वयमले आफ्नो नियुक्ति ठिक छ कि छैन भन्ने हेर्नुपर्छ भन्न भनेको छ । आइक्यानका पूर्व अध्यक्षसमेत रहेका प्रकाश जंग थापाले यो विषयमा देखाएको मौनता पनि शंकास्पद छ ।
अडिटर नै गैरकानुनी नियुक्त भएपछि आफ्नै ससुराकि छोरी बिहे गरेको, आफ्नै श्रीमतीको भिनाजुले गरेको कामका बारे लम्सालले लेख्ने कुरै भएन । यसले बैंकभित्र खनालले गरेका अनेकौं बदमासी पनि नलेख्ने काम भएको छ । यसले समग्र सरकारी स्वामित्व भएको बैंकको बैंकमा दुई साडूदाइ साडू भाइ मिलेर सब ठिक छ भन्ने काम भएको छ । तर, यसले सिधा सरकारलाई ठग्ने काम भएको जानकारहरु बताउँछन् ।
यसरी लम्सालले खनालका धेरै कर्तुत छोपिदिएपछि खनालले पनि लम्साललाई ठाउँ ठाउँमा गुन लगाएका छन् । बैंकको ऋणी संचालक बन्न नपाउने प्रचलित व्यवस्थाविपरित हरि सिलवाल बैंकको संचालक बनेर आउँदा खनाल चुप लागेका थिए । हरि सिलवाल आइक्यानको पार्षदको चुनाव लड्दा प्रकाश लम्साल नै सो चुनावमा प्रस्तावक थिए । यसरी आइक्यानको पोलिटिक्सको गेममा जनताको खर्वौँ निक्षेप भएको सरकारी कम्पनीको लेखापरीक्षणमासमेत धावा बोल्ने काम भएको आरोप स्वयम् बैंकका उच्च अधिकारीहरुले लगाउँदै आएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper












प्रतिक्रिया दिनुहोस्