×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसदमा एक घण्टा बोलेका ओलीले मोदीसँगको उपलब्धी १८ बुँदामा सुनाए(बुँदासहित)

PRIME CA

संसदमा एक घण्टा बोलेका ओलीले मोदीसँगको उपलब्धी १८ बुँदामा सुनाए(बुँदासहित)

३० बैशाख २०७५, आईतवार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौँ  – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमण उपलब्धीपूर्ण र नेपालको पक्षमा भएको बताएका छन् ।
तीन वर्षअघि तनावपूर्ण रहेको दुई देशको सम्बन्ध अहिले नयाँ स्तरमा प्रवेश गरेको र बराबरीको हैसियतमा अगाडि लैजाने वातावरण बनेको बनाए ।

एक घण्टा बोलेका प्रधानमन्त्रीले के–के सुनाए ?

सहमतिः

१. नेपाल र भारतका बीचमा विगतमा थुप्रै सम्झौताहरु भएका छन् तर, कार्यान्वयनमा ढिलाइ भएको छ । यस पटक हामीले सीमा तोकेका छौं संविधान दिवसलाई आधार दिन मानेर त्यसभित्र बाँकी कुरा कार्यान्वयन गर्ने सहमति गरिएको छ ।
२. दुई देशका कृषिमन्त्री बैठक छिटै बस्ने र केके विषय र कुनकुन ठाउँमा कस्तो सहयोग सहकार्य अघि बढाउने हो रु तय गर्ने र त्यसअनुसार अघि बढ्ने सहमति गरेका छौं ।
३. काठमाडौँ रक्सौल रेल्वे निर्माण गर्न प्राविधिक कार्यदल बनाएर सर्वे सुरु गर्ने र छिट्टै समझदारी गर्ने सहमति भएको छ । भारतले कार्यदलका रुपमा डिभिजनलाई जिम्मा दिइएको छ, हाम्रो तर्फबाट कार्यदल बनाउनुपर्छ र सर्वे गर्छौं । भारतकै खर्चमा सर्वे गर्छौं र भारतीय लगानीमा नै निर्माण हुने हो ।
४. जलमार्ग सञ्चालन गर्ने सन्दर्भमा संयुक्त कार्यदल बनाएर सर्वे सुरु गर्ने सहमति भएको छ ।
५. नेपाल(भारत संयुक्त आयोगको विदेशमन्त्रीस्तरीय छिट्टै बस्छ । सम्बन्ध पुनरावलोकन र आर्थिक विकासको कार्ययोजना बनाउन यो बैठक महत्वपूर्ण हुनेछ ।
६. नेपाल भारतको व्यापार असाधारण असन्तुलन छ । त्यसलाई के के बाटोबाट घटाउन सकिन्छ ? ३ महिनाभित्र ब्यापार सन्धि पुनरावलोकन गर्ने सहमति भएको छ, र भारतीय बजारमा नेपाली उत्पादनको पहुँच, चिया, अदुवा, जुट, अलैची निकासीमा देखिएको समस्याहरु समाधान गर्ने सहमति भएको छ ।
७. एयर इन्ट्री रुट एउटा मात्र छ । नेपालगञ्ज, भैरहवा, विराटनगर लगायतमा थप चाहियो भनेर माग गरेका छौं । दुई प्रधानमन्त्रीको तहमा प्राविधिक क्षमता अध्ययन गर्न निर्देशन भएको छ । सेप्टेम्बरभित्र अध्ययन गरिसक्ने भनिएको छ ।
८. हाम्रा निम्ति हेर्दाहेर्दै डुवान गम्भीर समस्या बनेको छ । भारतीय पक्षले सीमामा बाटो बनाउने नाममा बाँध बाँध्दा डुवान भएको छ । यो छिमेक सम्बन्ध नसुहाउँदो र अन्यायपूर्ण काम भएको छ । यसबारे मैले अघिल्ला भ्रमणहरुमा पनि कुरा उठाएको थिएँ र यो पटक धेरै गम्भीरताका साथ कुरा उठाए ।
यो असल छिमेकीपनका लागि उपयुक्त छैन । भारतको सीमानामा आफ्नो जमिनको बचाउका लागि हाम्रो जमिन, बस्ती, खेती डुवानमा पार्नु बान्छनिय हुँदैन । यो समस्या समाधान गर्न दुबै तत्पर भएका छन् । हामी त तत्पर हुने नै भयो । भारत पनि तयार भएको छ । यो वर्ष अगाडि नै कार्यदल बनाएर समस्याग्रस्त क्षेत्रको अवलोकन गर्ने र कहाँकहाँ कलभर्ट बनाउन सकिन्छ, प्राकृतिक रुपमा नै पानी पठाउन सकिन्छ गर्ने भनिएको छ ।
९. उर्जा ब्यापारका लागि ऊर्जा ब्यापार सम्झौता (पीटीए) भएको छ । त्यसविपरीत भारतले ५१ प्रतिशत आफ्नो लगानीको एकतर्फी प्रावधान राखेर नीति बनायो । हामीले भन्यौं, यो नेपालमा लगानी हतोत्साहित गर्ने र समहतिसँग बाझिने नीति उपयुक्त भएन र हटाउनुपर्छ । यसमा भारत सहमत भएको छ र पीटीए अनुसार नै हुने भएको छ ।

नटुंगिएका विषय

प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग भएको भेटवार्तामा नेपाल उठाएका तर, टुंगिन बाँकी विषयहरुबारे पनि संसदलाई जानकारी गराएका छन् ।
१.सन् १९५० सहितका पुराना सन्धि सम्झौता पुनरावलोकन गर्न प्रबुद्ध समूह बनाएका छौं । यसले काम गरिरहेको छ, जुन सन्तोषजनक छ, धन्यवाद भन्नुपर्छ । प्रवुद्ध समूहले कतिपय विषय समाधानको बाटोमा लैजान प्रयास गरेको छ । कम्तीमा १९५० को असमान सन्धिलाई समयानुकुल बनाउन सक्छौं ।
२. पञ्चेश्वर अन्तरगत टनकपुरमा १३०० मिटरको लिंक रोड बनाउने सहमति भएको छ । सारदा ब्यारेज लगायतका विषयहरमा के गर्ने निश्कर्ष निस्किएको छैन तर, काम अघि बढाउने भएको छ । महाकाली नदीमा तीन पुल बनाउने प्रस्ताव हामीले राखेका छौं र यसमा भारतीय पक्ष सकारात्मक देखिएको छ ।
३. महेन्द्रनगरमा ४ लेनको पुल बनेपछि भारतीय राजमार्गमा जोड्न ६.८ किलोमिटर बाटो बनाउनुपर्ने रहेछ । भारततर्फ यो बाटो बनाइदिन हामीले भनेका छौं र उहाँहरुले सकारात्मक रुपमा लिनुभएको छ । यद्यपि कुनै सम्झौतामा परेको छैन ।
४. उर्जा बैंक स्थापनाबारे पनि कुराकानी भएको छ । यसमा भारतीय पक्ष पनि सकारात्मक छ । तर, अघि बढाउन बाँकी छ । बुटवल गोरखपुर ट्रान्समिसन लाइनबारे पनि सहमति नजिक छौं । हुलाकी मार्ग निर्माणमा काम भइरहेको छ । यसमा दुबै तर्फबाट हुनुपर्ने कामहरु तदारुकताका साथ गर्ने भनेका छौं ।
५. विराटनगर, भैरहवा, नेपालगञ्जमा पनि एकीकृत जाँच चौकी स्थापना गर्ने अनौपचारिक सहमति भएको छ ।
६. जुट, एलपी ग्यास, औषधिको समस्याबारे छलफल गरेका छौं, सघन वार्ता अघि बढ्दैछ ।
७. भारतमा नोटबन्दीको घोषणापछि नेपाली बैंकिङ प्रणालीमा रहेका नोटहरु सटहीबारे कुरा उठाएका छौं । तर, भारतीय पक्षबाट खास जवाफ आएको छैन । हामीले यसबारे भारतले गम्भीरतापूर्क सोच्नुपर्छ भनेका छौं ।
८. थप बन्दरगाह माग गरेका छौं ।
९.मेडिकल शिक्षामा भारतीय विद्यार्थीहरुले नेपालमा पाएको जस्तो सुविधा हाम्रा विद्यार्थीहरुले भारतमा पनि पाउनुपर्छ भनेका छौं । सकारात्मक हुनुहुन्छ । हामीले भारत मेडिकल काउन्सिलको डकुमेन्ट स्वीकार गर्ने तर, हाम्रो नमान्ने स्थिति छ । हामीले समान हुनुपर्छ भन्ने कुरा उठाएका छौं ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: