×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुराकी गरेको समाचारले एभेरेष्टमा खैलाबैला !, सकरारी कर्मचारीले पैसा निकाल्न थाले

PRIME CA

सुराकी गरेको समाचारले एभेरेष्टमा खैलाबैला !, सकरारी कर्मचारीले पैसा निकाल्न थाले

२० जेष्ठ २०७३, बिहीबार

पढ्न लाग्ने समय: < ६ मिनेट

  • सुरज प्याकुरेल 

एभेरेष्ट बैंकले सरकारी डाटा सुटुक्कै भारत पुर्याउंदै गरेको समाचार सार्वजनिक गरेपछि एभरेष्ट बैंकमा खैलाबैला मच्चिएको छ । एभेरेष्ट बैंक र पन्जाव नेश्नल बैंकबीच भएको ’टेक्निकल सर्भिस अग्रीमेन्ट’ नामक करारका आधारमा एभेरेष्ट बैंकसँग सम्बन्धित नेपाली नेता, व्यापारी तथा सरकारी कर्मचारीका गोप्य विवरणहरु भारतीय गुप्तचरहरुलाई सुराकी गर्ने  गरेको समाचार बाहिरिएपछी बैंकले यस विषयमा कसरी बच्ने भन्ने आन्तरिक तयारी गरिरहेको स्रोतको भनाइ छ ।

‘धेरै समय गुपचुपनै बसेको यो बिषयमा एकाएक समाचार आएपछि बैंकमा खैलाबैला मच्चिएको हो । सत्यतथ्य बाहिर आए बैंकका ठुला कर्मचारीहरु फस्ने भएपछि  बैंकभित्र यस विषयले ठुलै चर्चा पाएको हो । स्रोतका अनुसार समाचार सार्वजनिक भएपछि बैंकमा यो बिषयले नयाँ तरङ्ग ल्याईदिएको छ ।

शुक्रबार समाचार सार्वजनिक भए लगत्तै बैंकमा यो बिषयमा बैंकका उच्च तहका कर्मचारीबीच थुप्रै छलफल भए भने समाचार कसले मिडियामा दियो भन्ने चर्चा पनि चल्यो । पत्रकारलाई सुचना दिने कर्मचारीलाई बर्खास्त गर्नुपर्नेदेखि यस बिषयमा छानविन भए आफु फस्ने पक्का भएकाले त्यसको समाधान खोजिनुपर्ने भन्दै बैंकका उच्च पदस्थ कर्मचारीहरु यस बिषयमा छलफलमा रहे । 

उच्च तहका कर्मचारीलाई सीइओले थर्काए   
बैंकले आफ्ना ग्राहकहरुका विवरण भारतीय गुप्तचरहरुलाई सुराकी गर्ने समाचार सार्वजनिक भएपछि बैंकका प्रमुख कार्यकारी अधिकृत एके अलुवालिया अहिले तनावमा छन् । आफ्ना ग्राहकको विवरण भारत पुर्याउने गरेको समाचार सार्वजनिक भएपछी यो कार्यमा पन्जाव नेशनल बैंकलाई सघाउँदै आएका सीइओ अलुवालियाले बैंकका अनुसन्धान विभागका प्रमुख पूर्णबहादुर श्रेष्ठ, आइटी विभागका प्रमुख बिजयकुमार गौतम लगायतलाई ‘यस्तो समाचार बाहिरिंदा समेत तपाइँहरु के हेरेरे बस्नुभएको छ, राजिनामा दिनुस्’ भन्दै थर्काएका थिए ।

स्रोतका अनुसार निकै तनावमा रहेका उनले बैंकका अन्य अरु कर्मचारीहरुलाई पनि थर्काएका छन् । यस अगाडी नै बैंकका केहि कर्मचारीहरुले जनाह्वान सँग कुराकानी गर्दै पहिलेदेखि नै बैंकले आफ्ना ग्राहकका विवरणहरु सुराकी गर्ने गरेको बताएका थिए ।

‘त्यो को कर्मचारी हो, पत्रकारसँग कुराकानी गर्ने ? हाम्रो आन्तरिक कुरामा बढी बोल्ने, त्यो पत्ता लगाएर त्यसलाई ‘किक आउट’ गर्नुस् ।’ भन्दै सीइओ बैठकमा जंगीएका थिए । उनले बैंकका प्रवक्तालाई समेत समाचारका विषयमा सोधखोज गरेका थिए । बैंकले गर्ने गरेको कर्तुतका बारेमा समाचार बाहिरिएपछी अव कसरी अगाडी बढ्दा ठिक होला, नियमनकारी निकायले सोधेको खण्डमा के जवाफ दिने लगायतका विषयमा सीइओ र प्रवक्ताबीच कुराकानी भएको थियो ।

 नियमत गोप्य राखिनुपर्ने ग्राहकको खाताको विवरण भारतस्थित एभेरेष्ट बैंकको जोइन्ट भेन्चर पार्टनर बैंक पन्जाव नेश्नल बैंकमार्फत भारतका गुप्तचरहरुले हेर्ने र त्यहि अनुसारको विभिन्न योजना बनाउने गरेको गोप्य कुरा सार्वजनिक भएपछि बैंकका सीइओले पन्जाव नेशनल बैंकसँग पनि सल्लाह गरी कसरी अगाडी बढ्ने भन्ने कुरामा छलफल गरेका छन्  । शुक्रबार समाचार पढेलगत्तै उनले पन्जाव नेश्नल बैंकका सीइओसँग कुराकानी गर्दै नेपालमा ग्राहकका विवरणहरु भारतीय गुप्तचरसम्म पुग्ने गरेको कुरा ‘लिक’ भएको बारे जानकारी गराएका थिए ।

सुचना अधिकृतको जागिर धरापमा 
एभेरेष्ट बैंकसम्बन्धि गोप्य कुरा सार्वजनिक भएपछी बैंकका सीईओले  सूचना अधिकृत एके बंशललाई यस बिषयमा स्पष्टीकारण मागेका छन् । उनले ‘मिडियामा बैंकको यस्तो गोप्य कुरा बाहिर आउँछ भने सुचना अधिकृतको के काम ? यो समाचार आउंदैछ भन्ने तपाईंलाई थाहा हुनुपर्थ्यो ।’

 भन्दै काम गर्न नसके बैंकबाट राजिनामा दिन समेत चेतावनी दिएको स्रोतको भनाइ छ । सीइओले समाचारबार थाहा पाउने बित्तिकै सुचना अधिकृतलाई बोलाएर यस बिषयमा सोधीखोजी गर्दै उनलाई यस बिषयमा आफु फसे राम्रो नहुने धम्की समेत सुचना धिकृतलाई दिएको स्रोतको भनाइ छ ।  साथै यो प्रकरणपछी बैंकका मार्केटिङ प्रमुख रञ्जन खड्कालाई पनि सीइओले स्पष्टिकरण मागेका छन् । ‘पत्रिकामा विज्ञापन छाप्ने मात्र तपाईंको काम हो ? यो समाचार पत्रिकामा कसरी आयो ? यस्तो गोप्य सुचना पत्रकारले थाहा पाउँदा तपाईंलाई यसको जानकारी हुनुपर्छ कि पर्दैन ? ‘ भन्दै सीइओले खड्कालाई पनि थर्काएको स्रोतले  भन्यो ।

सीइओको यस्तो व्यवहारपछी बैंकका सुचना अधिकृत र मार्केटिङ प्रमुखको जागिर धारापमा परेको हल्ला बैंकभित्रनै चल्न थालेको छ । बैंकका कर्मचारीहरुसँग महत्वपूर्ण काममा बाहेक  त्यति धेरै घुलमिल नहुने सीइओले एक्कासी सानादेखि ठुला कर्मचारीहरुसम्मलाई स्पष्टीकारण सोध्नु, सुचना बाहिर लैजाने कर्मचारीको सोधीखोजी गर्नु जस्ता कार्यले उनी निकै तनावमा रहेको र कुनै पनि बेला उनले झोकमा बैंकका केहि कर्मचारीहरुलाई बिदा दिन सक्ने चर्चा बैंकभित्र चल्न थालेको छ ।      

पन्जाव बैंककी सीईओको उल्टै चेतावनी :
यता पन्जाव नेशनल बैंकले एभेरेष्ट बैंकसँग गरेको करारका आधारमा नेपालका सरकारी कर्मचारी, मन्त्री लगायतका विवरणहरु भारतमा सुटुक्क गुप्तचरहरुलाई दिने गरेको समाचारबारे एभेरेष्ट बैंकका सीइओले पन्जाव नेशनल बैंककी सीइओ उषा अनन्तसुब्रमन्यनसँग सल्लाह लिन खोज्दा उनले नेपाली मिडियामा आएको समाचार भएकाले यसको हल पनि नेपालमै खोज्न र आफुहरुले त्यसको कुनै पनि जिम्मेवारी नलिने भन्दै उल्टै नेपालको सरकार परिवर्तनको संवेदनशील बेलामा केहि गडबड भए राम्रो नहुने चेतावनी दिएकी छि ।

स्रोतका अनुसार विभिन्न प्रयोजनका लागि एभेरेष्ट बैंकमा रहेका खाता सम्बन्धि विवरण हेर्नुपर्ने र त्यसका लागि पन्जाव नेशनल बैंकले एभेरेष्ट बैंकका विवरणहरुमाथि पहुँच राख्ने कुरा करारमै भएकाले पन्जाव नेशनल बैंकले विभिन्न प्रयोजनका लागि त्यसो गर्ने गरेको भन्दै नेपालमा यस्तो गोप्य सुचना चुहाउने आफ्ना कर्मचारीलाई खोजेर कारवाही गर्न पन्जाव नेशनल बैंककी सीइओले उल्टै उर्दी जारी गरेका छन् । ‘हामीलाई कुनै पनि समस्या हुनुहुँदैन । नेपालमा सरकार ढल्ने कुरा छ ।

यो समयमा दायाँबायाँ भयो भने राम्रो हुँदैन । यतिबेला हाम्रो सहयोग धेरैले अपेक्षा गरेका छन् ।’ भन्दै पन्जाव नेशनल बैंककी सीइओले  एभेरेष्ट बैंकका सीइओलाई थर्काएको स्रोतको दावी छ । स्रोतका अनुसार यस प्रकरणका बारेमा थप जानकारी दिन र कसरी अगाडी बढ्ने भन्ने बिषयमा पन्जाव नेशनल बैंकका उच्च पदस्थ अधिकारीसँग कुराकानी गर्न बैंकका तर्फबाट २ कर्मचारी सोमबार नयाँ दिल्ली उडेका छन् । नयाँ दिल्लीमा यस बिषयमा गहन छलफल हुने बुझिएको थियो भने उनीहरुबीच के कुरा भयो भन्ने सम्पूर्ण जानकारी आइनसकेको स्रोतले  भन्यो ।


राष्ट्र बैंकका प्रवक्ता भन्छन्, ‘यस विषयमा जानकारी छैन’
यस बिषयमा नेपाल राष्ट्रबैंकका प्रवक्ता त्रिलोचन पंगेनीलाई सोध्दा उनले आफुलाई यस विषयमा थाहा नभएको बताएका छन् । ‘नेपाल राष्ट्र बैंकको नियम अनुसार बैंकका ग्राहकका सम्पूर्ण विवरणहरु अध्यावधिक गरिनुपर्छ । तर ती विवरणहरु बैंकिङ प्रयोजनका लागि मात्र प्रयोग गरिनुपर्छ ।

अदालत वा सरकारको कुनै पनि आधिकारिक निकाय बाहेक ती विवरणहरु कतै पनि प्रयोग गर्न पाइँदैन । यता बैंकका सुचना अधिकृत  एके बंशलसँग  यस विषयमा बुझ्न खोज्दा उनी सम्पर्कमै आएनन् । यद्यपी नेपाल राष्ट्र बैंकले आन्तरिक रुपमा यस विषयमा एभेरेष्ट बैंकसँग बुझेको र यस विषयमा लिखित स्पष्टीकरण सोध्ने तयारी भइरहेको बुझिएको छ । समाचार सार्वजनिक भएसँगै नियमनकारी निकाय नेपाल राष्ट्र बैंकसँग यस बिषयमा चौतर्फी रुपमा जिज्ञासा आउन थालेपछि राष्ट्रबैंकले आन्तरिक रुपमै यसबारे सोधीखोजी गरिरहेको बुझिएको छ ।

समाचारपछि पैसा झिक्ने बढे 
एभेरेष्ट बैंकले आफ्ना ग्राहकहरुको विवरणलाई भारतमा सुराकी गर्ने गरेको भन्ने बिषयमा समाचार सार्वजनिक भएपछी आफ्नो खाताबाट विशेषगरी व्यापारीहरुले रकम झिक्न थालेका छन् । साथै सरकारी कर्मचारी, अन्य औसत व्यापारी र अन्य ग्राहकले पनि एभेरेष्ट बैंकमा पैसा राख्न सुरक्षित नभएको भन्दै आफ्नो खातामा रहेको रकम झिक्न थालेका छन् । यसरी रकम झिक्नेमा विशेषगरी सरकारी कर्मचारीहरु छन् ।  आफ्नो नाम नबताउने सर्तमा एक सरकारी कर्मचारेले भने, ‘समाचार पढेपछि मलाई त डर लाग्यो । मैले कुनै पनि कोणबाट बैंक सुरक्षित महसुस गरिन । त्यहि भएर पैसा झिकें ।

‘ उनका अनुसार उनीजस्तै अरु थुप्रै कर्मचारी पनि एभेरेष्ट बैंकमा रहेको आफ्नो खाताबाट रकम झिक्न वा खाता नै बन्द गर्ने प्रक्रियामा छन् । उनी अगाडी भन्छन्, ‘बैंकमा रकम सुरक्षित हुन्छ भनेर राख्ने हो । यसरी आफ्नो पारिवारिक देखि आर्थिक विवरणसम्म भारतीय गुप्तचरसम्म पुग्यो भने त भोलि जे पनि हुन सक्छ ।  त्यसैले समयमै खातामा रहेको पैसा निकालियो । ‘

आन्तरिक राजश्व विभागदेखि अर्थमन्त्रालयसम्म खैलाबैला 
आन्तरिक राजश्व विभागले एभेरेष्ट बैंकमार्फतनै कर उठाउने गरेका कारणले यो प्रकरण आन्तरिक राजश्व विभागसम्म पुगेको छ । आन्तरिक राजश्व विभागले पनि ‘समाचारमा आएका कुराहरु हेर्दा जनताले नै एभेरेष्ट बैंकमार्फत कर तिर्न सुरक्षित महसुस नगरेको पो हो की ?’ भन्ने विषयमा आन्तरिक छलफल गरेको स्रोतले जानकारी दिएको छ ।

यो प्रकरणमा एभेरेष्ट बैंकमाथि छानविन सुरु भएको खण्डमा करदाताहरुलाई अझ तनाव हुने भन्दै कर संकलनमा एभेरेष्ट बैंकको विकल्प खोज्नुपर्ने आवाज पनि आन्तरिक राजश्व विभाग भित्रैबाट उठेको छ । यता अर्थमन्त्रालयमा पनि यो बिषयले राम्रै चर्चा पाएको छ । विभिन्न मन्त्री, सरकारी कर्मचारी, लगायतकाको आर्थिक कारोबार एभेरेष्ट बैंकमार्फत नै हुने हुनाले पनि यो बिषयमा सजग बन्नुपर्ने भन्दै यो प्रकरणले अर्थ मन्त्रालय पनि तताएको छ ।    
(अर्थ सरोकार डटकमका प्रधान सम्पादक सुरज प्याकुरेलले जनआह्वान साप्ताहिकमा लेखेको समाचार)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: