×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एकदिन कोठामा एक्लै बसेर रुँदै प्रचण्डले ‘इतिहासमा सबैभन्दा ठूलो भूल गरेँ’ भन्ने छन्

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ श्रावण २०७३, सोमबार

PRIME CA
laxmi sunrise bank

एकदिन कोठामा एक्लै बसेर रुँदै प्रचण्डले ‘इतिहासमा सबैभन्दा ठूलो भूल गरेँ’ भन्ने छन्

योगेश भट्टराई,  सचिव, नेकपा (एमाले)
बिहीबार बागबजारस्थित एक होटलमा भेटिएका नेकपा (एमाले) का सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराई पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा खुलेर प्रस्तुत भए । प्रचण्ड छ महिनापछि रुँदै एमालेलाई अँगालो हाल्न आउने भविश्यवाणी गर्दै सचिव भट्टराईले आफ्नो पार्टीको नेतृत्वले प्रचण्डलाई सुनको अण्डा पार्ने कुखुरी ठानेकाले समस्या भएको समेत बताए । युवा नेता भट्टराईसँग पहिलो न्युजका कार्यकारी सम्पादक मोहन बास्तोलाले गरेको कुराकानीः
पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी विश्लेषण गर्नुभएको छ ?
मैले अस्वाभाविक भन्दा पनि स्वाभाविक रुपमा लिएको छु । संसदीय अभ्यासको इतिहासमा यो नयाँ घटना होइन । यस्ता घटना पहिला पनि भएका छन् । हामीले यही घटनाबाट पाठ सिकेर निर्वाचनका बेला पनि कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित हुनुपर्छ भन्ने एजेण्डा अघि सारेको हौँ । यस्ता घटना विगतमा भए, अब पनि हुन्छन् । त्यसैले भविश्यमा नहोऊन् भन्नका लागि संविधानमै त्यो प्रावधान राखौँ भनेको थियौँ । तर, हामी असफल भयौँ । अहिले यसैको परिणाम भोगिरहेका छौँ ।
माओवादीले एमालेसँग एकाएक गठबन्धन तोड्नुलाई चाहिँ कसरी लिनुभएको छ ?
नेकपा (एमाले) र तत्कालीन एनेकपा (माओवादी) का बीचमा १४ बुँदे सहमति भएपछि माओवादीको समेत सार्थनमा हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निर्वाचित हुनुभएको हो । गठबन्धनलाई दीर्घकालीन बनाउनकै लागि माओवादीलाई उसको हैसियतभन्दा धेरै बढी मन्त्रालय पनि दिइएको थियो ।
स्थानीय चुनाव, प्रदेश चुनाव र संघीय चुनावसम्म गठबन्धन गर्ने र भविष्यमा एकीकृत वाम पार्टी निर्माण गर्ने सोचाइका साथ माओवादीलाई एमालेले त्यो हैसियत प्रदान गरेको थियो । हामीले एमाले–माओवादीको गठबन्धनलाई दूरगामी महत्वका साथ हेरेका थियौँ । तर, यस्तो अवस्था निर्माण हुन थाल्यो भने हाम्रो देशमा कम्युनिष्ट पार्टीलाई एक ठाउँमा बसेर काम गर्न नदिने शक्ति केन्द्रहरु क्रियाशील हुन्छन् । विश्वभरीका कम्युनिस्ट विरोधीहरु आत्तिनु पनि स्वाभाविक हुन्छट । यही खेलोमेलोका कारण समस्या उत्पन्न भएको हो ।
माओवादीले त गत वैशाखमै गठबन्धन भत्काउने प्रयास गरेको थियो नि ?
हो, वैशाख महिनामै माओवादी स्वयम्बाट यो गठबन्धन भत्काउने प्रयास भएको थियो । तर, एमालेका सबै नेताहरुको एकीकृत प्रयासले त्यो समस्या तत्कालका लागि टरेको थियो र नौ बुँदे सहमति बनेको थियो । त्यससँगै एमाले–माओवादीको गठबन्धन त्यति मित्रतापूर्ण बन्न सकेको थिएन । माओवादीले वैशाखमा रोपेको बीउ अहिले फल खान लायक बनायो । भएको यही हो ।
उग्रवादी र क्रान्तिका रंगीन सपना देखेको माओवादीसँग त्यतिबेलाको सम्बन्ध धेरै लामो समय टिक्न सकेन । राजधानी नै कब्जा गर्ने उद्देश्यले उनीहरुले सत्ताको धेरै दुरुपयोग गरे र अन्तमा कटवाल प्रकरणसँगै माओवादी नेतृत्वको सरकारको दुखद् अवशान भयो ।
माओवादीसँग तपाईंहरुको गठबन्धनलाई सुरु मै ‘अपवित्र’ भनेर आरोप लगाइन्थ्यो । अनि जहिले पनि माओवादीले एमालेका नेतालाई प्रधानमन्त्री बनाइदिनुपर्ने ?
माओवादीसँगको गठबन्धन यो पहिलो होइन, चौथो हो । संविधानसभाको पहिलो निर्वाचनताका माओवादी र एमालेबीच निकै तिक्ततापूर्ण सम्बन्ध थियो । त्यतिबेला एमाले अस्वाभाविक ढंगले पराजित र माओवादी अस्वाभाविक ढंगले विजयी भएका थिए । निर्वाचनका बेला हाम्रा साथीहरुमाथि सांघातिक हमला गर्नेसम्मका हर्कत माओवादीले गरेको थियो । त्यस्तो तिक्ततापूर्ण सम्वन्धको पृष्ठभूमिमा पनि एमालेले निर्वाचन लगत्तै माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको थियो । उग्रवादी र क्रान्तिका रंगीन सपना देखेको माओवादीसँग त्यतिबेलाको सम्बन्ध धेरै लामो समय टिक्न सकेन । राजधानी नै कब्जा गर्ने उद्देश्यले उनीहरुले सत्ताको धेरै दुरुपयोग गरे र अन्तमा कटवाल प्रकरणसँगै माओवादी नेतृत्वको सरकारको दुखद् अवशान भयो । यस वास्तविकतालाई भुलेर माओवादीले मात्रै एमालेलाई सहयोग गरेको रुपमा व्याख्या गर्न मिल्दैन ।
माधव नेपाल नेतृत्वको सरकारले काठमाडौँ कब्जा गर्न आएका माओवादीका सबै कार्यकर्तालाई सम्झाई–बुझाई घर फर्कायो । त्यसैबेलाबाट माओवादीको ओरालो लाग्ने क्रम सुरु भएको हो ।
त्यसलगत्तै फेरि एमाले र माओवादीबीच नै द्वन्द्व भयो नि त ?
हाम्रो पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेला माओवादीले एमालेलाई लखेट्नका लागि गर्ने जति सबै उपायहरु अपनायो । हातहतियार, खरखजना र बन्दोबस्तीका सामान समेत बोकेर माओवादीका लडाकाहरु जिल्ला–जिल्लाबाट राजधानी आए । त्यतिबेला उनीहरुले काठमाडौँ कब्जा गर्ने हुँकार गरे । माओवादी नेतृत्वले ‘नोकरसँग होइन मालिकसँग वार्ता गर्ने’ भनेर एमालेलाई भारतको नोकरको समेत संज्ञा दिए । तर, माधव नेपाल नेतृत्वको सरकारले काठमाडौँ कब्जा गर्न आएका माओवादीका सबै कार्यकर्तालाई सम्झाई–बुझाई घर फर्कायो । त्यसैबेलाबाट माओवादीको ओरालो लाग्ने क्रम सुरु भएको हो ।
त्यसपछि पनि त पटक–पटक दुई पार्टीबीच गठबन्धन भए । उपलब्धि के भयो त ?
निकै तिक्ततापूर्ण सम्वन्ध रहेको माओवादीसँग फेरि एमालेको पटक–पटक वार्ता भयो । त्यसपछि तत्कालीन अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री बन्ने बेलामा माओवादीले हामीलाई समर्थन गर्यो । त्यसैबेला माओवादी अध्यक्ष प्रचण्डले एमाले–माओवादीको गठबन्धनलाई ‘नेपाली माटोको उपज हो, यो अपस्था हामीले सिर्जना गरेका हौँ’ भन्दै संविधानसभामा भनेको भर्खर जस्तो लाग्छ । तर, उहाँहरुले नै त्यो सरकारलाई सात महिना टिक्न दिनुभएन ।ं त्यसपछि फेरि माओवादीसँग तिक्ततापूर्ण सम्बन्ध बन्यो । बीचमा फेरि हामीले राष्ट्रिय सहमति बन्छ भने माओवादीसँग सहमति गरौँ न त भनेर बाबुराम भट्टराई प्रधानमन्त्री भएको अन्तिम चरणमा माओवादीसँग गठबन्धन बनायौँ । नैतिक मूल्यका हिसावमा भन्ने हो भने एमाले त्यो सरकारमा सहभागी हुन हुँदैनथ्यो । यद्यपि, हामी सहमतिको संस्कार विकास होस् भन्नका लागि सहभागी भएको थियौँ । त्यो गठबन्धन पनि असफल भयो ।
प्रधानमन्त्री बन्ने नाममा हाम्रै नेताहरुले पनि केही भित्री सहमतिहरु गर्नुभएको होला । तर, त्यो पार्टीको जानकारीमा नआएको विषय हो ।
त्यसपछि फेरि संविधान निर्माणका लागि माओवादीको साथ–सहयोग आवश्यक हुने ठानी माओवादीका कतिपय उग्रवादी एजेन्डालाई सम्झाई–वुझाई संविधान निर्माणका सन्दर्भमा माओवादीसँग सहकार्य भयो र हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री निर्वाचित गर्न माओवादीले समर्थन गर्यो । त्यसैले तपाईंले माथि भने जस्तो माओवादीसँगको हिजोको गठबन्धन अपवित्र र आजको पवित्र वा आजको अपवित्र र हिजोको पवित्र भन्ने ढंगले व्याख्या गर्नु उचित होला जस्तो लाग्दैन । होला, प्रधानमन्त्री बन्ने नाममा हाम्रै नेताहरुले पनि केही भित्री सहमतिहरु गर्नुभएको होला । तर, त्यो पार्टीको जानकारीमा नआएको विषय हो ।
केपी शर्मा ओलीकै सक्रियतामा संविधान जारी भयो र त्यसको कार्यान्वयनको चरणमा माओवादीसहितको गठबन्धन आवश्यक थियो । तर, अब यो गठबन्धन भत्किएसँगै संविधान कार्यान्वयनमा पनि केही समस्या देखा पर्दैनन् र ?
अवश्य पनि चुनौतीहरु थपिएका छन् । भूकम्पपछिको पुनर्निर्माण, आउने चुनावहरुको व्यवस्थापन आदि कुरामा पनि चुनौती थपिएका छन् । नेकपा (एमाले) निकै ठूलो जनशक्ति भएको पार्टी हो । त्यसैले यी सबै चुनौतीलाई संयम र धैर्यका साथ अघि बढाउन चाहन्छ र प्रयास पनि त्यसैमा हुनेछ । अहिलेको अवस्था हेर्दा हामी केही दिनपछि प्रतिपक्षको बेन्चमा जाने सम्भावना छ । हामी त्यहाँ बसे पनि हामीले संविधान कार्यान्वयनका सन्दर्भमा अघि सारेको मार्गचित्रमा कमीकमजोरी हुन दिने छैनौँ । स्थानीय, प्रदेश र संघीय संसद्को चुनावलाई जिम्मेवार ढंगले सम्पन्न गर्नका लागि सशक्त भूमिका खेल्नेछौँ ।
कांग्रेस र माओवादीले अघि सारेको सहमतिलाई तपाईंहरुले समर्थन गर्नुहुन्छ त ?
माओवादी र कांग्रेसले सहमतिको एक नम्बर बुँदामा संविधान संशोधन गर्ने उल्लेख गरेका छन् । सामान्य संशोधन गरेर अहिलेका समस्या हल हुन्छन् भने एमाले त्यसमा सहमत छ । तर, मुलुकलाई विखण्डन गर्ने, नेपालको जातीय एकता र साम्प्रदायिककतालाई नै खल्बल्याउने अनि नेपाललाई अन्तर्राष्ट्रिय शक्तिको खेल मैदान बनाउने ढंगले संविधान संशोधनको प्रस्ताव आउँछ भने एमाले चुप लागेर बस्दैन । हामी सत्तापक्ष वा विपक्ष जहाँ भए पनि लोकतन्त्रको रक्षा र संविधानको कार्यान्वयनका लागि सधैँ लागिरहन्छौँ । सरकारमा हुँदा कार्यान्वयन र प्रतिपक्षमा रहँदा दबाबको हिसावले हामी लाग्छौँ ।
अहिले ओली नेतृत्वको सरकार ढाल्न र कांग्रेस–माओवादीबीच गठबन्धन निर्माण गर्न भारतको हात छ भनिन्छ नि ?
यो सबैलाई थाहा भएकै कुरा हो, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निर्वाचित भएको कुरा देशभित्र र बाहिरका केही शक्तिलाई मन परेको थिएन । यो सरकार फेरवदल भएर अरु कसैको नेतृत्वमा सरकार निर्माण हुने चर्चा चलिरहँदा हिजो बेखुसी हुनेहरु आज खुसी हुने कुरा कुनै अनौठो होइन । नेपालमा लोकतन्त्र–गणतन्त्र हामीले ल्याएका हौँ । संविधान हाम्रै अगुवाइमा जारी भएको हो । त्यसैले सबैभन्दा बढी संविधानको माया हामीलाई छ । हामी अहिले पनि संविधान कार्यान्वयनका लागि सबै शक्तिबीच एकता होस् भन्ने चाहन्छौँ । हाम्रो पार्टी निकै लामो लोकतान्त्रिक अभ्यासबाट आएको पार्टी हो । त्यसैले हामी एक देशको मित्रताका लागि अर्को देशलाई कार्डका रुपमा प्रयोग गर्दैनौँ । हामी सबैसँग समान सम्बन्ध कायम राख्न चाहन्छौँ । हामी भारत र चीन दुबैसँग समदूरीको सम्बन्ध चाहन्छौँ । हामी उनीहरुसँग सम्वन्ध राख्दा नेपालको हितलाई सर्वोपरी ठान्छौँ ।
यस्तो दाउपेच कहिलेकाहीँ मात्र सफल हुन्छ, सधैँ हुँदैन । दाउपेचवालाहरु एक पटक सफल भए भने सयौँ पटक असफल हुन्छन् ।
 तपाईंहरुसँग भारत किन चिढिएको त ?
हामी भन्न चाहन्छौँ– एमाले सरकारमा आउँदा कसैले चिन्ता मान्नुपर्ने र सरकार छाड्दा खुशी हुनुपर्ने कुनै आवश्यकता छैन । हामी आउने सरकारलाई पनि दुबै देशसँग समदूरीको सम्वन्ध कायम राख्न सुझाव दिन चाहन्छौँ । उहाँहरुले त्यो कुराको ख्याल गर्नुभएन भने मुलुक कुनै पनि शक्तिको खेल मैदान बन्न सक्छ, जुन मुलुकका लागि दूर्भाग्यपूर्ण हुन सक्छ । अहिले उहाँहरुलाई एकछिनका लागि त ‘केपी ओलीलाई सरकारबाट हटाइयो’ भनेर न्यानो भएको होला । केपी ओलीलाई हटाउनका लागि कसैसँग हारगुहार गर्दा सहयोग पाइयो भन्ने पनि लागको होला । तर, दीर्घकालीन रुपमा हेर्ने हो भने त्यो देशका लागि फाइदाजनक छैन ।
अब प्रचण्ड प्रधानमन्त्री बन्ने कुरा त निश्चित जस्तै भयो होइन ?
प्रचण्डजी २०६५ सालमा पनि प्रधानमन्त्री बन्नुभएकै हो । तर, सरकार टिकाउन सक्नुभएन । यसपटक पनि प्रधानमन्त्री बन्नुभयो र आफूलाई त्यसैगरी प्रस्तुत गर्नुभयो भने उहाँको सरकार दुई–तीन महिना पनि टिक्दैन । उहाँ त्यसबेला कटवाल प्रकरणका कारण प्रधानमन्त्रीबाट हट्नुपरेको थियो । अहिले त त्यसबेला भन्दा पनि बढी चुनौती छ । हो, माओवादीमा एउटा मनोविज्ञान छ, जोसँग पनि सम्वन्ध कायम गर्न सकिन्छ । यस्तो दाउपेच कहिलेकाहीँ मात्र सफल हुन्छ, सधैँ हुँदैन । दाउपेचवालाहरु एक पटक सफल भए भने सयौँ पटक असफल हुन्छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको समाचार बाहिर आएको छ । के यो साँचो हो ?
हाम्रो पार्टीको दुर्भाग्य नै भन्नुपर्छ, निकै ठूला घटनाक्रमका सन्दर्भमा गहन छलफल हुने गरेको छैन । यस्तो अवस्थामा स्थायी कमिटी, पोलिट्ब्युरो र केन्द्रीय कमिटीका बैठकहरु नियमित हुन नसक्नु र त्यहाँ छलफल नहुनु दुर्भाग्य हो । सामूहिक छलफलबिना नै व्यक्तिगत रुपमा भएका त्यस्ता प्रस्ताव संस्थागत बन्न सक्दैनन् । त्यसले समस्या ल्याउँछ । माओवादीले उत्तेजनामा आएर गलत निर्णय ग¥यो, अब यसलाई देखाइदिन्छु भनेर हामीले फेरि अर्को गलत निर्णय गर्नु हुँदैन । माओवादीसँगको हाम्रो सम्बन्ध संघर्ष, एकता र रुपान्तरणको सिद्धान्त अनुरुप हुनुपर्छ । एमालेले आठौँ र नवौँ महाधिवेशनबाट अघि सारेको धारणा पनि यही हो ।
माओवादी अध्यक्ष प्रचण्ड अवसरवादी छन्, उनी मुड अनुसार कुरा गर्छन्, राजनीतिमा उनको कुनै अडान छैन । तर, उनले संगठित गरेका लाखौँ कार्यकर्ताको पङ्क्तिको त कुनै पनि दोष छैन नि !
समस्या कहाँनेर आयो त ?
हाम्रा नेताहरुमा कहिलेकाँही माओवादीसँग संघर्षको बेलामा एकता र एकताको बेलामा संघर्ष पनि हुन्छ भन्ने हेक्का नभएका कारण समस्या हुने गरेको छ । अझ पछिल्लो समय केपी ओली प्रधानमन्त्री बनेपछि प्रचण्ड ‘सुनको अण्डा पार्ने कुखुरी नै हुन्् भन्ने ढंगले सामाजिक सञ्जालहरुमा प्रचार गर्ने काम भयो । त्यस्तो प्रचार गर्नेमा एमालेकै साथीहरु अघि देखिए । त्यतिबेला माओवादीसँग हाम्रो संघर्ष पनि छ है भन्ने कुरा नदेख्ने साथीहरु नै अहिले सबैभन्दा बढी प्रचण्डको विरोध गरिरहेका छन् । म एमालेका साथीहरुलाई भन्न चाहन्छु, यो संस्कार गलत छ । हो, माओवादी अध्यक्ष प्रचण्ड अवसरवादी छन्, उनी मुड अनुसार कुरा गर्छन्, राजनीतिमा उनको कुनै अडान छैन । तर, उनले संगठित गरेका लाखौँ कार्यकर्ताको पङ्क्तिको त कुनै पनि दोष छैन नि ! ती कार्यकर्ताको वर्ग आधार र हामी एमालेका लाखौँ कर्यकर्ताको वर्ग आधार लगभग एउटै छ । त्यसैले प्रचण्डसँग व्यवहार गर्दा उनले संगठित गरेका कार्यकर्ताहरु सबैलाई एउटै व्यवहार गर्नु हुँदैन । प्रचण्ड बिग्रिएर एमालेलाई केही फरक पर्दैन । तर, जानेर वा नजानेर उनको पछि लागेको र एमालेसँग वर्ग आधार मिल्ने पङ्क्ति पलायन नहोस् भन्ने ढंगले पनि सोच्न आवश्यक छ ।
भइरहेको सरकार ढाल्नका लागि समर्थन फिर्ता लिँदा एमालेका कार्यकर्ता उत्तेजित हुनु स्वाभाविक होइन र ?
माओवादीले जम्मा गरेको र एमालेले जम्मा गरेको वर्ग आधारलाई एक ठाउँमा ल्याएर नै हामीले ठूलो कम्युनिष्ट पार्टी निर्माण गर्ने हो । त्यसैले हामीले एकैछिनमा उत्तेजनामा आउने र एकछिनमा माओवादी सबै थोक हो भन्ने धारणामा परिवर्तन गर्नुपर्छ । हो, प्रचण्डले अहिले उत्तेजनामा आएर एमालेलाई दिएको समर्थन फिर्ता लिए । प्रचण्ड एकजना भावुक व्यक्ति पनि हुन् । मलाई लाग्छ, एकदिन प्रचण्ड कोठामा एक्लै बसेर भावुक भएर रुँदै इतिहासमा सबैभन्दा ठूलो भूल गरेँ भनेर समीक्षा गर्नेछन् । म आशावादी छु, कुनै दिन फेरि प्रचण्ड रुँदैरुँदै एमालेसँग अँगालो मार्न आउनेछन् र एमालेले उनलाई साथ दिनेछ । त्यसैले अहिले एमालेले उत्तेजनामा आउनु पर्ने कुनै कारण छैन ।
मैले माओवादीसँगको गठबन्धनमा बढी जोड दिएको थिएँ । प्रचण्ड कमरेडलाई हामीले नै प्रधानमन्त्री प्रस्ताव गर्दा यो गठबन्धन कायम रहन्छ भने त्यो पनि गरौँ भनेको हुँ ।
एमालेले माओवादीसँग गरेको भद्र सहमतिको अभद्र अवज्ञा त गरेको हो नि ?
पार्टीको बैठकमा मेरो व्यक्तिगत जोड माओवादीसँग गरेको गठबन्धन तोड्नु हुँदैन र यो गठबन्धनलाई दीर्घकालीन बनाएर लैजानुपर्छ भन्ने थियो । कांग्रेस हामीसँग सहकार्यभन्दा पनि प्रतिस्पर्धा गर्ने पार्टी हो । माओवादी हामीसँग सहकार्य पनि गर्ने पार्टी हो । त्यसैले मैले माओवादीसँगको गठबन्धनमा बढी जोड दिएको थिएँ । प्रचण्ड कमरेडलाई हामीले नै प्रधानमन्त्री प्रस्ताव गर्दा यो गठबन्धन कायम रहन्छ भने त्यो पनि गरौँ भनेको हुँ । यही भनाइ उपाध्यक्ष बामदेव गौतम र अरु शीर्ष नेताहरुले पनि राख्नुभयो । तर, यो विषयमा हाम्रो पार्टीमा राम्रो छलफल भएन ।
अबका दिनमा राजनीति कसरी अघि बढ्ला ?
पहिलो, माओवादी र कांग्रेसको यो गठबन्धन लामो समय जाँदैन । स्वार्थ, उत्तेजनायुक्त घटनाक्रम, देशबाहिर पकाइएको खिचडी आदि कुराले कांग्रेस–माओवादीको गठबन्धन भइहालेछ भने पनि लामो समय टिक्न सक्दैन । यो खिचडी नेपाली माटो सुहाउँदो नभएका कारण सरकार बनिहाले पनि भविश्य लामो छैन ।
दोस्रो, माओवादी र कांग्रेसभित्र पनि यी दुई दलबीचको गठबन्धनलाई राम्रो नमान्नेहरुको बलियो पङ्क्ति छ । त्यसैले बढीमा अबको पाँच–छ महिनामा फेरि एमालेकै नेतृत्वमा गठबन्धन बन्ने निश्चित छ ।
तेस्रो, आउने चुनावहरु गर्ने मनस्थितिमा न कांग्रेस छ न त माओवादी नै । यी दुबै दललाई आफ्नो जनमत खस्केको राम्रो हेक्का छ । माओवादीले त अझ आफ्नो संगठन नै बलियो नभएको राम्ररी हेक्का राखेको छ । सबै निर्वाचन गर्नुपर्छ भन्ने क्षमता राख्ने पार्टी एमाले मात्रै हो । त्यसैले यी सबै चुनौतीको सामना गर्ने क्षमता एमालेसँग मात्रै छ ।
चौथो, सरकारमा रहँदा होस् या बाहिर बस्दा, एमालेले कहिल्यै पनि राष्ट्र हितविपरीतका काम गरेको छैन र गर्दैन । संविधान जारी गर्ने सन्दर्भमा पनि एमालेले नै अग्रणी भूमिका खेलेको कुरा सबैलाई जानकारी छ । अतिवादी नाराका विरुद्ध लडेको पार्टी पनि एमाले नै हो । त्यसैको परिणाम हो, सन्तुलित संघीयता ।
पाँचौ, हाम्रो नेतृत्वको सरकार लोकप्रिय काम गर्न सफल भयो । यसले बजेट ल्यायो, सबैले प्रशंसा गरे । नीति, कार्यक्रम र बजेटका बारेमा एमाले नचिन्नेहरुले पनि प्रशंसा गरेका छन् ।
सरकारबाट अचानक बाहिरिनुपर्दा तपाईंका कार्यकर्ता निराश होलान् । के भन्नुहुन्छ ?
मैले माथि उल्लेख गरेका यी सबै कारणले गर्दा यति राम्रो सम्पत्ति र यति राम्रो कार्यकर्ता पङ्क्ति भएको एमालेको भविष्य राम्रो छ । म आम कार्यकर्तालाई अलिकति पनि विचलित नभई दृढतापूर्वक संगठनमा लाग्न अनुरोध गर्छु । नेपालको नेतृत्व गर्ने पार्टी एमालेबाहेक अर्को छैन । यही आत्मविश्वासका साथ कार्यक्षेत्रमा खटौँ, जनता निर्वाचनमार्फत हामीलाई एक नम्बर पार्टी बनाउन आतुर छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: