×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भगवान भरोसामा टिकेको शुभयात्रा

PRIME CA

भगवान भरोसामा टिकेको शुभयात्रा

१२ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: < ४ मिनेट



  • उपेन्द्र केसी

दुई साता अघि काभ्रेपलाञ्चोक जिल्लाको विर्तादेराली नजिक बस दुर्घटना हुँदा ठूलो धनजनको क्षति भयो । क्षमता भन्दा बढी यात्रु तथा सरसामान बढी भएकाले बस दुर्घटना परेको अनुमान गरिएयो । बसमा ९५ भन्दा बढी यात्रु चामल,दाल लगायत खाद्यान्नका वोरा अटाई–नअटाई राखेका कारण बस दुर्घटना भएको अडकल गरिदैछ । जसमा २७ जनाको ज्यान गयो ।

गएको शुक्रवार  विहान रौतहट वाट पोखराका लागि छुटेको यात्रु वस मुग्लिन सडक खण्डको चण्डिभञ्याङमा दुर्घटना हुँदा २२ जनाको मुत्यु भयो भने १६ जना घाइते भएका छन् । गएको विहीवार नै भक्तपुरको नगरकोटबाट जन्ती लिएर सूडाल हुँदै भक्तपुरको बजार तर्फ आइरहेको वस सूडालमा दुर्घटना हुँदा बसमा सवार सबै घाइते भए । काभ्रेमा वस दुर्घटना हुनु भन्दा केही दिन अघि धनगढीबाट बझाङतर्फ गैराखेको बस पनि बैतडीको सिद्धेश्वरस्थित वृन्दावनमा दुर्घटनामा प¥यो । दुर्घटनामा तीन जनाको मृत्यु भयो भने २५ जना घाइते भएका भए । साँघुरो सडकलाई दुर्घटनाको कारण मानियो । यसैबीच नवलपरासीको दाउन्नेमा यात्रुवाहक जिप दुर्घटनामा चार जनाको मृत्यु भयो, भने १० जना  घाइते । त्यसको केही दिन पछि पूर्व –पश्चिम राजमार्ग वर्दघाट नगरपालिकामा पर्ने दाउन्नेको ओरालोमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको जिप ब्रेक फेल भई पल्टिदा दुर्घटना भयो ।
त्यतिमात्रै होइन, यो एक महिनाको बीचमा मकवानपुर,मनहरिस्थित रमनटारमा वस दुर्घटना हुँदा नौ जनाको मुत्यु भयो भने ३१ जना घाइते भएका थिए । त्यसरी नै त्यसको केही दिनपछि धनकुटाको परेवादिन गाविसस्थित सिन्धुवजारमा वस दुर्घटनामा परी १३ जनाको मुत्यु भयो । यसैबीच नवलपरासीमा फेरी सडक घटनामा २ जनाको ज्यान गयो भने आठ जना घाइते भए ।
गएको एक महिनाको बीच सडक दुर्घटनाकै कारण ठूलो परिमानमा जनधनको नोक्सानी भएको छ । त्यो नोक्सानी सम्बन्धीत परिवारलाई मात्रै होइन, सिगो नेपाली समाजमाथि परेको छ । देशकै लागि पनि अपरणीय क्षति हो । अघिकाश सडक दुर्घटना चालकै लापरवाहीबाट भएको देखिन्छ भने कतिपय दुर्घटना यातायत व्यवसायीको मनपरीतन्त्र र उनीहरुको एकक्षत्र राजका कारण भएको देखिएको छ । वस,माइक्रोबस,मिनीवसबीचको आपसी अस्वस्थ प्रतिस्पर्धाले ओभरटेक गर्ने गरेकाले पनि दुर्घटना निम्ताएको देखिन्छ ।

चालकले सहायकलाई चलाउन दिने, तीव्रवगतिमा चलाउने,आफ्नो गाडीको कन्डीसनसंग कुनै प्रभाह नगर्ने,आवश्यक आराम नलिने अर्थात निरन्तर एउटै व्यक्तिले सवारी चलाई राख्ने,मदिरापान गरी चलाउने र टाइमकार्डको वेवास्ता गर्ने परिपार्टीले पनि दुर्घटना निम्ताउने प्रमुम कारणहरु मध्ये एक हो । नेपालको प्राय पहाडी भेगका साँघुरा सडक पनि दुर्घटना निम्त्याउने कारकतत्व भएको देखिदै आएको छ । त्यसमाथि क्षीर्ण सडक,हिलाम्मे र खालटाखुल्टी भएको ,साँघुरा र अनगिन्ती मोडैमोड भएको सडकले पनि दुर्घटनाको संख्या थप गरिराखेको छ ।

सडक दुर्घटनासंगै यात्रुको मुत्युको समाचार सामान्य बन्दै जान थालेको छ । दुर्घटना अलि ठूलो भयो भने बढी हल्लीखल्ली हुने,दिनहूँ जसो भएका साना–साना दुर्घटनाका समाचारले नछुने भैसकको छ । साना दुर्घटनाको वास्ता वेस्ता नै नगर्ने ठूला दुर्घटना भयो भने सिन्डिकेट वा चालकलाई दोष दिएर उम्किने एक प्रकारको हामी कहाँ प्रचलन नै बनिसकेको छ ।
त्यसपछि सिन्डिकेट प्रणाली खारेज गर्ने एकाध दिन जोडतोडले हल्ला हुन्छ र त्यसलाई मिडियाले पनि राम्रैसग स्थान दिएको देखिन्छ, पछि विस्तारै हराउँदै जान्छ । र, अर्को ठूलो दर्घटना नभएसम्म सिन्डिकेटको चर्चा भएको व्यवहारमा पाइएको छैन् । हरेक पल्ट हुने सानो –ठूलो सडक दुर्घटनामा धनजनको क्षति हुन्छ , त्यस्ता दुर्घटनाले सम्बन्धीत घटनामा परेका व्यक्तिको परिवारको मात्रै क्षति हुँदैन, त्यसले सिगो समाज र राष्ट्रलाई समेत प्रभाव पार्ने गर्छ । तर, पनि सम्बन्धीत सरकारी निकायले सडक दुर्घटनालाई न्यूनिकरण गर्ने सम्बन्धमा गम्भीरता देखाएको देखिएको छैन ? हाम्रो समाजमा हरेक कुरा सरकारको मुख ताक्ने प्रवृति बढ्ता देखिएको छ , त्यस्ता विषयमा सरकारले केही नगर्ने वितिकै त्यो समयको चापसंगै हराएर जान्छ ।
त्यसैले दुर्घटना नियन्त्रण वा रोकथाम गर्न जबसम्म नागरिक समाजले चासो र गम्भीरता देखाउँदैन, तवसम्म बढ्दो सडक दुर्घटना नियन्त्रण हुन सक्दैन् । सरकारलाई यस विषयमा दरोसंग झक्झकाउने काम पनि सम्बन्धीत एरियाको नागरिक समाजकै हो । सर्वोच्व अदालतले समेत सिन्डििकेट प्रथा खारेज गर्न निर्णय दिइसकेको छ ।
खै त सर्वोेच्वको निर्णय व्यवहारमा लागू भएको ? नागरिक समाजले त्यस्ता निर्णय लागू गर्नका लागि आ –आफ्नो ठाउँमा भूमिका नखेलेकै कारण दुर्घटना नियन्त्रणमा कमि नआएको हो । यातायत विभाग,यातायत व्यवसायी र सम्बन्धीत जिल्ला प्रशासन सिन्डिकेट प्रथा रोक्नलाई अहिलेसम्म किन पहल गरिरहेका छैनन । यसको जवाफ सोझो छ ,त्यसका लागि जनस्तरवाट दवाब उठ्न नसकेकै कारण अहिले सम्म निर्वाधरुपमा सिन्डिकेट प्रथा जारी रहेको हो ।

सबैलाई थाह छ सिन्डिकेट प्रथा नरोकिनुमा सम्बनधीत भूगोलको राजनीति,प्रशासन र यातायत व्यवसायीबीचको स्वार्थ आपसमा गासिएका कारण सिन्डिकेट प्रथा नरोकिएको हो । सिन्डिकेट प्रथाले यात्रुहरुलाई सुरक्षित र आफूलाई विश्वास लाग्ने यातायत तथा चालक रोज्ने अधिकारबाट वञ्चित गर्छ । यात्रुहरु निर्धारित समयमा आफ्नो गनतव्यमा पुग्न सिन्डिकेट प्रथामा जस्तो सुकै गाडिमा चढ्न वाध्य हुनुपर्छ । बढ्दो सडक दुर्घटनाको पाटो सिन्डिकेट मात्रै पनि होइन, सडकहरुमा सडकको भार क्षमता लेखिएको हुँदैन् । सडकको क्षमता सम्बन्धी चालकलाई ज्ञानको अभावमा पनि दुर्घटना हुँदै आएको छ ।

सडकमा खतरायुक्त विन्दुहरु वारे सचेत गराउने प्रविधि या निकाय नहुँदा पनि दुर्घटना हुनेगरेका छन् । त्यसैले अर्को काभ्रे वा बैतडीको घटना नदोराउनका लागि सम्बन्धीत नागरिक समाज र गाडी व्यवसायसंग सरोकार वाला व्यवसायीहरु बढी जिम्मेवार र गम्भीर बन्नै पर्छ । दशै नजिकिदै छ । दशैमा बढी यात्रुहरुको भीड मात्रै होइन, सडकमा गाडीको चाप पनि बढ्ने छ । त्यसैले सडक दुर्घटना नियन्त्रण गर्नका लागि काभ्रे र वैतडी दर्घटनालाई पाठको रुपमा लिदै गाडी व्यवसायसंग सम्बन्धी व्यवसायी , सरकार र नागरिक स्तर जागरुक हुने हो भने बढ्दो सडक दुर्घटनालाई अवश्य पनि कम गर्न सकिन्छ ।
गम्भीर सडक दुर्घटना भएको एकाध दिन सम्बन्धीत सरकारी निकायको संस्थाले चासो र सरोकार राखेको जस्तो देखिए पनि त्यस्ता कार्यले निरन्तरता पाएको छैन् । एक पटक होइन, पटक –पटक सिन्डिकेटका कारण सडक दुर्घटना बढेको कुरा सार्वजनिक रुपमा आएको भए पनि किन यसलाई नियन्त्रित गर्न सरकारले सकिराखेको छैन ?सिन्डिकेटका कारण वस कम चल्ने र थोरै वस भए पछि यात्रु चढ्नै पर्ने वाध्यताका कारण ओभरलोड भएको हो ।
दुर्घटना भए लगतै बढ्दो सडक दुर्घटना प्रति सरकार गभ्भीर भएको सरकारी भनाई आउने गरेको छ । तर,व्यवहारमा बढ्दो सडक दुर्घटना न्यूनिकरण गर्न सरकारले गम्भीरता देखाइराखेको देखिदैन् । सरकारले दुर्घटना प्रति चासो मात्रै राखेको ओठेभक्ति देखाउने होइन,अब त्यसलाई नियन्त्रण गर्न व्यवहारमै गभ्भीरता देखाउनु प¥यो । सडक दुर्घटनामा मुत्यु भएका व्यक्तिका परिवारजनलाई क्षतिपूर्तिकाव्यवस्था गर्ने तथा घाइतेलाई आवश्यक उपचार सेवा पु¥उाउने तर्फ पनि सरकारले सक्रियता देखाउनु पर्छ ।

  • एस काठमाडौँ 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: