
काठमाण्डौ – आर्थिक वर्ष २०७२/७३ को नाफाबाट ३२ प्रतिशत बोनस सेयर र त्यसको व्यवस्थापनपछि ८० प्रतिशत हकप्रद दिने घोषणाका कारण आइतबार एकाएक नेपाल बंगलादेश(एनबी) बैंकको सेयर कारोबारले छलाङ मार्यो ।
यी दुई खबर सनसनी भएका कारण एकैदिन यो बैंकको ३२ करोड २६ लाख बराबरको सेयर खरीदबिक्री भयो । बोनस र हकप्रदको खबर आएलगत्तै एकैदिन कारोबार रकम ३२ करोड माथि उक्लिनु एउटा संयोग मान्न सकिएला । तर, एनबी बैंक यस्तो बैंक हो, जसले विगत ६० दिनको अवधिमा बजार खुलेको हरेक दिन धेरै रकमको कारोबार गर्ने कम्पनीमा आफूलाई करिब उत्कृष्ट ५ को सीमाभन्दा बाहिर जान दिएन ।
अन्य बैंक तथा सूचिकृत कम्पनीहरुको सेयर कारोबारमा निकै धेरै उतारचढाव भए पनि बूढो र दह्रो सतीसाल झै एनबी बैंक डगमगाएको छैन । बरु लगातार यो कम्पनीले धेरै सेयर कारोबारमा उत्कृष्टता हासिल गर्दै आइरहेको छ । यसले लगानीकर्तालाई लोभ्याएको छ भने लगानीकर्ताहरु पनि आफ्नो लगानी नफस्ने विश्वासका साथ एनबी बैंकको सेयरमा पैसा खन्याइरहेका छन् ।
४ करोड घटेन कारोबार
सन् २०१६ को जुन ६ पछिको ६० दिनको तथ्यांकलाई मात्र लिएर विश्लेषण गर्दा पनि यो बैंकको हरेक दिनको सेयर कारोबार ३ करोड भन्दा माथि नै भएको देखिन्छ । यो अवधिमा तीन दिन २८ करोड भन्दा माथिको दरले सेयर कारोबार भएको छ । ५ दिन १५ करोड भन्दा बढीको दरले सेयर कारोबार भएको छ भने १२ दिन १० करोड भन्दा माथिको दरले सेयर कारोबार भएको छ ।
यो ६० दिनको अवधिमा हेर्दा जुन १२, २०१६ को दिन नेपाल बंगलादेश बैंकले एकैदिन ३५ करोड ५८ लाख बराबरको सेयर कारोबार गरी रेकर्ड बनाएको थियो । त्यसपछिको दोश्रो कारोबार आइतबार(हिजो) ३२ करोड २६ लाखको भयो । जुन ७ मा पनि यो बैंकको २८ करोड बढीको सेयर किनबेच भएको थियो । अगस्ट १ मा १५ करोड ८७ लाख, अगष्ट ७ मा ११ करोड ५३ लाख, अगस्ट ८ मा १० करोड, अगस्ट १० मा १५ करोड १८ लाख, अगस्ट २९ मा ११ करोड ५३ लाखको सेयर कारोबार भएको देखिन्छ । लगातारको यो आकर्षण अन्य कुनै पनि कम्पनीको हकमा देखिएको छैन ।
नेप्से परिसूचकमा दैनिकजसो पहिरो गए पनि लगानीकर्ताको विश्वास एनबी बैंकप्रति नघटेको देखिएको छ । नडगमगाई यो कम्पनीले उत्कृष्ट कारोबार गरिरहेको पाइएको छ । बजारमा बियरिस ट्रेण्ड देखिएर पहिरो जाँदा समेत एनबी बैंकका लगानीकर्ताहरुले भने गुमाउनु परेन ।
यो बैंक सन् १९९४, नेपाल राष्ट्र बैंकको अनुमति प्राप्त गरेर जनवरीमा क वर्गको कमर्सियल बैंकको रुपमा स्थापित भएको हो । यो बैंकमा बंगलादेशी बैंक आइएफआइसीको ४९.०१ प्रतिशत र नेपाली लगानी ५१.०९ प्रतिशत रहेको छ । सन् १९९५ देखि बैंकको शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा खरिद बिक्री भइरहेको छ ।
एनबी बैंकको सेयर मूल्यतर्फ पनि राम्रो प्रगति भएको देखिएको छ । जस्तो, जुन महिनामा प्रति कित्ता सेयर ७ सय ४० रुपैयाँ रहेको मूल्य क्रमशः बढेको देखिन्छ । जुन महिनाको अन्तसम्म ८ सय ६० रुपैयाँ पुगेको सेयर मूल्य जुलाईमा अझ बढेर १ हजार २२ रुपैयाँसम्म पुग्यो । अगस्टको अन्तमा अधिकतम १ हजार १ सय २५ रुपैयाँसम्म पुगेको प्रति कित्ता सेयर मूल्य सेप्टेम्बर ४ अर्थात आइतबार(हिजो) १ हजार २ सय १८ रुपैयाँ पुगेको छ । यसरी यो बैंकले सेयर मूल्यतर्फ पनि लगातार फड्को मारिरहेको छ ।
किन हटकेक बन्यो एनबी बैंकको सेयर ?
एनबी बैंकका मुख्य आर्थिक सूचकहरुतर्फको सकारात्मक प्रगतिका कारण यसको सेयरमा लगानी गरे राम्रो नाफा पाइने लोभका कारण लगानीकर्ताहरु आकर्षित भएका देखिन्छ । जुन कम्पनीको सेयरमा लगानी गर्दा कम जोखिम हुन्छ भन्ने लगानीकर्तालाई लाग्छ, त्यसमा लगानीका लागि महिरत्ते हुने स्वभाविक हो । एनबी बैंकको सवालमा समेत यही भएको विश्लेषकहरु बताउँछन । ‘एनबी बैंकप्रति लगानीकर्ताले दर्शाएको भरोसाको संकेत हो लगातार उत्कृष्ट कारोबार गर्ने कम्पनीको स्थानमा रहनु ।’ एक विश्लेषकले भने–‘बित्तीय अवस्था समेत मजबुत भएका कारण एनबी बैंकको सेयरमा लगानी जोखिमपूर्ण छैन, यही विश्वास लगानीकर्तामा देखिएको छ ।’
एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले समेत लगानीकर्ताले भरोसा गरेका कारण बैंकको सेयरमा आकर्षण देखिएको दाबी गरे । ‘हामीप्रतिको भरोसा हो यो ।’ उनले बिजशालासँग भने–‘उहाँहरुको भरोसालाई हामीले निराशामा परिणत गरेका छैनौ । नाफाबाट रिटर्न दिइरहेकै छौ ।’ उनको संकेत हालै घोषित ३२ प्रतिशत बोनस सेयरप्रति थियो ।
उनले अन्य बैंकभन्दा बित्तीय सूचकमा समेत आफूहरु अगाडि रहेकोले आगामी दिनमा समेत एनबी बैंकको सेयरमा लगानीकर्ताको आकर्षण अझै बढ्ने दाबी गरे । ‘मुख्य कुरा हामी कमजोर छैनौ ।’ उनले भने–‘दह्रो संस्थामा लगानी गर्दा डूबिदैन भन्ने लगानीकर्तालाई थाहा छ, त्यही भएर आगामी दिनमा एक उत्कृष्ट बैंकको रुपमा लगानीकर्र्ताले हामीलाई अझ बढी माया र विश्वास गर्नुहुनेछ ।’
कस्ता छन् बित्तीय सूचक ?
नेपाल बंगलादेश बैंकले आर्थिक वर्ष २०७२/७३ को अवधिमा खुद मुनाफालाई ४८.२२ प्रतिशतले बढाएर १ अर्ब १९ करोड ८२ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ८१ करोड ३९ लाख रुपैयाँ मात्र मुनाफा कमाएको थियो ।
अघिल्लो वर्षको तुलनामा बैंकको निक्षेप संकलनतर्फ १७ दशमलव ८५ प्रतिशत वृद्धि भएर ३९ अर्ब ८७ करोड ४२ लाख पुगेको छ । आब २०७२/७३ मा अघिल्लो अबको तुलनामा २५.९६ प्रतिशत प्रगति हासिल गर्दै यो बैंकले ३२ अर्ब ५२ करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ ।
बैंकले जगेडा कोषमा ३ अर्ब ५ करोड रुपैयाँ राखेको छ भने ७ करोड ३ लाख रुपैयाँ प्रोभिजनमा राखेको छ । आब २०७२ /७३ मा ५ करोड ७ लाख रुपैयाँ खराब कर्जा उठाउने सफलता प्राप्त गरेको छ ।
बैंक खुद व्याज आम्दानी ३४ दशमलव १३ प्रतिशतले वृद्धि भएर १ अर्ब ४६ करोड २३ लाख रुपैयाँ भएको छ । खूद ब्याज आम्दानीमा वृद्धि हुनु भनेको व्यापार समेत बढ्नु हो, यसले समेत बैंकले व्यापारलाई समेत वृद्धि गरेको देखिन्छ । सञ्चालन मुनाफामा ४८ दशमलव २८ प्रतिशतले बढेर १ अर्ब ५१ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।
बैंकले निस्क्रिय कर्जा दरमा समेत सुधार गरेको छ । जोखिमयुक्त सम्पत्तितर्फ पनि ०.२६ प्रतिशतले सुधार भएको छ । बैंकको प्रतिशेयर आम्दानी वार्षिक ३९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २ सय रुपैयाँ, मुल्य आम्दानी अनुपात(पीई रेसियो) २२ गुणा र तरलता अनुपात २९.६१ प्रतिशत रहेको छ ।
बैंकले आब २०७२/७३ मा जगेडा कोष, खूद मुनाफा, संचालन मुनाफा, खुद ब्याज आम्दानी, कर्जा, निक्षेप, प्रोभिजन, सम्पत्ति, प्रति सेयर आम्दानी, प्रति सेयर नेटवर्थ जस्ता महत्वपूर्ण बित्तीय सूचकतर्फ राम्रो प्रगति हासिल गरेको छ । यिनै मुख्य सूचकतर्फको प्रगति नै लगानीकर्तालाई लोभ्याउने मुख्य कारण हुन् । यिनकै सूचकका कारण एनबी बैंक अनवरत रुपमा धेरै कारोबार गर्ने कम्पनीको सूचिमा आफूलाई प्रस्तुत गर्न सफल भइरहेको छ ।
- बिज़पाटि डट कम
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्