×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

न हाँस्नु, न रुनु !

  • भुवन रोका

के हामी तीनै बीर पुर्खाहरुका सन्ततिहरु हौँ त ? के हामीसँग पुर्खाहरुको रगतमाजस्तै राष्ट्रियता छ त ? हामीले गहन भएर सोच्ने बेला भएको छ । नेपाल साच्चै पुरानो ईतिहास बोकेको सार्वभौम राष्ट्र हो । तर दुर्भाग्य अब ईतिहासका महान कथाहरु र तिथिमिती मात्र बाँकी छन् ।  नेपालभन्दा धेरैपछि सुरु भएका सभ्यताहरु विश्वको शक्ति केन्द्रको रुपमा स्थापित भईसकेका छन् । हामी विकासको गोरेटोमा घिस्रिनपनि सुरु गरेका छैनौ । सायद कुनै शक्ति राष्ट्रले आफ्नो अधीनमा लिएर साशन गरेको भएपनि विकास त हुने थियो भन्नेहरुपनि छन् ।  हामीलाई वीर पुर्खाहरुले धिक्कारीरहेका छन् । 
व्यक्ति, समाज र सिंगो राष्ट्रनै राजनितीसँग गासिएको हुन्छ । जुन देशले राजनितीलाई संस्कृति, सेवा र अवसरको रुपमा प्रयोग गरे ती देशहरु विकास भए र हुदैछन् । तर जुन देशमा राजनिती कुसंस्कार र बिकृतिको रुपमा बिकास भयो ति देशका नेताहरु भ्रष्ट हुदै गए फलस्वरुप देश बिकासले गति लिन सकेन । यसको ज्वलन्त उदारण नेपालनै हो । सबै कुराले संम्पन भएर पनि केही छैन हामीसँग । आधुनिक युगको उत्तरार्धमा आईपुग्दा पनि नेपाल प्राचिनकालको समयमानै छ जस्तो लाग्छ । यस्तो बेलामा हामी आफ्नो बिपन्नतामा रुन्छौँ अनि यो युगमा पनि बिकासको कुरा अगाडी नबडाएर केटाकेटीले गुच्चा खेलेजस्तै अनावश्यक खेल खेलिरहेका नेताहरु र केही समाजका हास्यास्पद घटनाहरु हेरेर हास्नु भन्दा विकल्प रहेन सर्वसाधारण नेपालीहरुको ।

केही तथ्यहरु जसले हामीलाई हास्न र रुन बाध्य गराउछन्:
१. देशको नेता लाखौ बोकेर बिदेश उपचारमा जान्छन् अनि जनता उपचार नपाएर छट्पट्टिरहेका हुन्छन:
नेपालमा सबैभन्दा काम नहुने तर दाम कमाउने पेसा भएको छ राजनिती । हरेक प्रकारले सुरक्षित छ राजनितीज्ञहरुको जिवन । सत्तामा हुँदा भ्रष्टचार गर्न छुट छ । अनि  सत्ता बाहीर हुँदापनि शक्ति संम्पन्न हुन्छन् राजनितिज्ञहरु । एकातिर काम केही नगर्ने नेता बिरामी पर्दा लाखौ करोडौ राज्यले सहयोग गर्नुपर्ने । राज्यको पैसाले बिदेशमा नै गएर उपचार गर्नु पर्ने मानौ त्यो नेताको स्वास्थ्य बिग्रदा देशनै डामाडोल हुन्छ । यसले प्रस्ट पार्छकी नेपालका डाक्डरहरु सक्षम छैनन्, अस्पतालहरु सुबिधा सम्पन्न छैनन् मात्र जनतालाई झुक्याउन बनाईएका हुन् । अर्कोतिर एउटा सिटामोल वा सिटामोल किन्ने पैसा नपाएर छट्पटाईरहेका छन् जनताहरु । विभिन्न आन्दोलनमा घाईते भएकाहरु उपचार नपाएर कष्टकर जिवन बाच्न बाध्य छन् । यस्तो अबस्थामा राष्ट्रको लाखौ करोडौ सहयोग लिएर भएपनि बिदेशमा उपचार गराएर स्वास्थ्य भएका प्रति खुसी हुनु कि उपचार नपाएकाहरु प्रति दुख प्रकट गर्नु ?

२. दोश्रो ठुलो जलश्रोतको देशमा तिर्खाएका जनता
ब्राजील पछिको दोश्रो ठुलो जलश्रोतको देश नेपाल । धेरै खोला, नाला, ताल र झरनाहरु भएको देश । प्रकृतिले यति सफा वातावरको साथमा सफा पानी पनि दिएको छ । तर धेरै नेपालीहरु तिर्खाएर बस्न बाध्य छन् । आजका दिनमा पनि नेपालका धेरै गाऊहरुमा पिउने पानी ल्याउन लामो बाटो हिडेर जानुपर्छ । शहरहरुमा खाने पानीको पाईप बीछ्याईएको भएता पनि धेरै ठाउमा धाराबाट हावा भन्दा केही आउदैन । कुनै धाराहरुबाट पानी आएपनि सार्है फोहोर पानी आउने गर्छ । यो नेपालको बिकरील समस्या हो । राजधानीमा पनि पिउने पानीको हाहाकार नै हुन्छ । जलश्रोतको दोश्रो ठुलो देशको नागरीक भएकोमा गर्व गर्नु कि पिउने पानी सम्म नपाएकोमा हिनता बोध गर्नु ?
३. विजुलीको क्षमता भएर पनि अध्यारोमा बस्न बाध्य 
हामीलाई पढाईएको र हामीले पढाउने सत्य हो की नेपालमा ८३,००० मेगावाट बिजुली उत्पादन गर्ने क्षमताका नदीनालाहरु छन् । यति बिजुली मात्र उत्पादन गर्ने हो भने सिंगो नेपाल त उज्यालो हुने नै थियो यसलाई निर्यात गरेर राष्टको आयश्रोत पनि पढाउन सकिने थियो । तर किन सकीरहेका छैनौँ हामी क्षमता अनुसारको बिजुली उत्पादन गर्न ? विस्व उज्यालो तर्फ अगाडी बढीरहेको बेला नेपालका धेरै गाऊँहरु अन्धकार हुन्छन् । गाऊँमा टुकी बत्ती र मैनबत्तीको साहाराले रातको अन्धकार हटाउने गर्दछन्, बिद्यार्थीहरु पनि थोरै उज्यालोमा आफ्नो अध्ययनलाई निरन्तारता दिईरहेका छन् । 
शहरमा जहा बिजुलीको सुबिधा छ त्यहा पनि लोडसेडिगंको मारमा छन जनताहरु । हालै काठमाण्डौमा गरिएको लोडसेडिगं अन्त्यको स्वागत गरेका छन् सबैले । बिजुली नहुदा अध्यारोको साथै बिभिन्न सुबिधाहरुबाट पनि बन्चित छन् धेरै जनताहरु । हामी प्रसस्त बिजुली निकाल्न सक्षम छौ भनेर खुसी हुनु की अध्यारोमा बस्नुपरेकोमा दुखी हुनु ?
४. कृषिप्रधान देशमा अन्न आयात गरिन्छ
कृषिप्रधान मुलुक नेपालमा खोलाहरुको डिलमा रहेका खेतका गह्राहरु सुख्खा हुन्छन् । पानीको कमी भएर बालीहरु सुकिरहेका हुन्छन् । फलस्वरुप आन्तरिक माग पूरा गर्न विदेशबाट मासिक २ अर्ब रुपैयाँभन्दा बढीको चामल मात्र आयात गरिरहेको छ । नेपालीको मुख्य आहारा  चामल बाहेक अन्य अन्न, तरकारी र फलफुलहरु पनि आयात गरिरहेका छौँ । 
नेपालको बिभिन्न ठाउमा उत्पादित तरकारी र फलफुलहरु बजार नपाएर कुहिरहेका हुन्छन् अर्कोतिर आयात गरिएका तरकारी र फलफुलहरु महगोमा किनेर खान बाध्य छन् नेपालीहरु । हामी संगै भएका कुराहरुको सदुपयोग गर्न नजान्दा करोडौ, अरबौ रुपैयैको सामानहरु निर्यात गर्न बाध्य बनेका छौँ । हामी संग उत्पादन योग्य जमिन भएकोमा छाती फुलाउनु की अन्न आयात गर्नुपरेकोमा निधार खुम्च्याउनु ?

५. सडकको क्षमताभन्दा बढी सवारी साधन चल्छन्: 
नेपाल यातायातको सुबीधाको हिसावले धेरै पछि छ । दुर्गम क्षेत्रहरुमा मानीस हिड्ने बाटो सम्म छैन् । सार्है अप्ठ्यारो भिरको बाटोबाट हिडीरहेका हुन्छन्, कुनै ठाउमा दोहोरो हिड्न नसकिने ठाउहरु पनि छन् । अतिनै खतरनाक यात्रा हुने तुईनबाट पनि खोला तरेर जीवन यापन गरिरहेका छन् । सडक पुगेको गाऊहरुमा पनी धेरै महिना त गाडीहरु गुडाउन सक्ने अबस्था हुदैन । सडकको सुबिधा सहर केन्द्रित छ । जहा सडकको राम्रो सुबिधा छ त्यहा सडक नै देखिदैन् असंख्य गाडीहरुले छोपेका हुन्छन् सडकलाई । 
फोहोरले छोपेको हुन्छ सडकलाई । जहा फोहोर फाल्न मनाही छ भनेर लेखेको हुन्छ त्यस ठाउमा नै धेरै फोहेरको थुप्रो हुन्छ । अस्तब्यस्त छ जनजीवन । जता पनि गाडीहरु रोक्ने, पार्किंग गर्ने, सार्बजारनीक यातायातका साधनहरुले जहा पनि यात्रु चढाउने र झार्ने, पैदल यात्रुहरु पनि जेब्रा क्रसिङ नभएको ठाउबाट नै बाटो काट्ने, घण्टौ जाम हुने आदी हामी असभ्य हुनुका उदारणहरु हुन् । सडकलाई फराकिलो बनाउने भन्दा, सवारी साधनको आयातलाई ध्यान दिएको देखिन्छ । सडकको बिस्तार हुदैगरेकोमा रमाउनु की यसले यो बिकराल अबस्था देखेर खेद प्रकट गर्नु ? 
६. जनावरलाई घर भित्र राखिन्छ तर मान्छेले छोएको चल्दैन: 
प्राचिन कालमा कामलाई बाढफाड गरी समाजलाई सरलीकरण गर्ने उदेश्यका साथ गरिएको बर्गिकरणले नेपाली समाजमा जातीयताको नामको बिकृतिले जरा गाढेको छ । हामी घरमा कुकुर पाल्छौ, बिरालो पाल्छौँ अन्य धेरै धेरै । सबै जनावरहरु घर भित्र रमाउछन् । 
हाम्रो खानेकुरा छुन्छन् । तर एउटा मान्छे जसलाई समाजले घर भित्र पस्न दिदैन् , मन्दिरमा ढोग्न मनाही गरिएको छ , उसले छोएको खादैनन् कसैले । यो कस्तो परम्परा हो ? कस्तो  कुसंस्कृति हो ? कानुनले जातीयताको आधारमा सबै समान भनेको भए पनि ब्यबहारमा लागु हुन सकेको छैन् ।कतिपय गाऊँमा अझै पनि यो कुसंस्कारले निरन्तरता पाईरहेको छ । जनावर प्रेमी मान्छे देखेर गदगद हुनु कि मान्छेलाई नै हेला गर्ने मान्छेहरु देखेर खिन्न हुनु ?
७. ठुलो होटेलमा नेताहरुको बैठक पिडीतलाई राहत बाड्ने बिषयमा:
देशमा ठुला ठुला राजनैतिक संकटहरु परेका छन् । ठुला ठुला प्राकृतिक प्रकोपहरु आएका छन् । तर यी सबैले सामान्य जनताहरुलाई नै दुख दिएको छ । नेताहरु त सधै सुरक्षित रहन्छन् मानौ देश बचाउने ठुला अभिभारा छ । नाराबन्दीले जनताको चुल्हो बल्न दिएन । भुईचालोले जनताको घर नै लग्यो । 
नेताहरु ठुला ठुला होटेलमा करोडौ खर्च गरेर बैठक बस्छन् अनि लाखौ को सहयोग गर्ने निर्णय गर्छन । पिडीत सम्म पुग्दा सय मात्र हातमा पर्छ । यो पद्दती कहिल्य सम्म ? चुनावमा मात्र देखिने नेता बिपद पर्दा पनि गाऊँमा देखिदैनन् । अब जनतालाई हुने समस्या समाधानको निम्ती सम्बन्धित क्षेत्रका जिम्मेवार ब्यक्तिहरु घटना स्थलमा पुगेर निर्णय गर्नु पर्छ । नेताहरुको प्रगतीमा शुभकामना ब्यक्त गरौँ की सेवा नपाएका जनताहरु देखेर समवेदना प्रकट गरौँ ?

८. सरकारी स्कुलमा अध्यापन, छोराछोरी निजी स्कुलमा अध्ययन: 
जबसम्म आफ्नो आमालाई जस्तै सबै आमाहरुलाई समान सम्मान र आफ्ना छोराछोरीलाई जस्तै सबै छोरोछोरीहरुलाई समान माया र अधिकार दिन सकिदैन, जबसम्म अरुका छोराछोरीलाई बिगारेर आफ्नालाई मात्र सुधार्ने पद्दती रहन्छ तबसम्म सामाजिक न्याय कायम हुन सक्दैन् । नेताले जनताका छोराछोरी आन्दोलनमा प्रयोग गरेर अलपत्र पार्ने अनि आफ्ना छोराछोरी बिदेशमा पढ्न पठाउने कुरामा नेताहरुको नियत खराब हुनुको पराकाष्ट हो । 
त्यस्तै राष्ट्रको सेवा सुबिधा भोग गरेर कार्यरत सरकारी स्कुलका शिक्षकहरु आफ्नो शिक्षणमाथि नै विस्वास गर्दैनन् र आफ्ना छोरोछोरीहरुलाई निजी बिद्यालयमा अध्ययनको लागी पठाएका हुन्छन् । के जनताका छोराछोरीलाई ढाटीरहेका छन् उनिहरुले ? यदि सही शिक्षा दिईरहेका छन भने किन आफ्ना छोराछोरी आफ्नै बिद्यालयमा पढाउदैनन् ? यो शिक्षाको गुणस्तरमा भएको भेदभावमा खुसी ब्यक्त गरौँ की दुख ?
९. घुस दिए काम चाडो बन्ने नत्र ढीलो हुने: 
जनताले तिरेको कर र जनताबाटै आर्जीत राष्टको सेवा सुबिधा खाएपछि फेरी त्यहि जनताबाट घुस लिन्छन राष्ट्र सेवकहरु । यस्तो प्रबृति बोकेका कर्मचारीहरुबाट कस्तो सेवाको आसा गर्ने हो । घुस दिए काम बन्ने वा छिटो बन्ने नदिए काम नबन्ने वा ढीलो बन्ने । कस्तो पद्दती हो यो? के घुसले काम गर्ने हो र? यदि घुस ले नै सबै काम गर्ने हो भने कर्मचारी पो किन चाहियो र । भ्रष्ट मानसिकता बोकेका ठुला साना कर्मचारीहरुबाट नै देशको मुहार फेरीन सकेको छैन् । केही सच्चा राष्ट्रसेवकहरु पनि नभएका त हैनन् तर न्युन संख्यामा भएकोले सकारात्मक परिणाम आउन सकेको छैन् । घुस दिएर काम छिटो सकेकोमा हर्सित बनौँ की घुस दिने पैसा नभएर काम नबनेकोमा मुर्छित बनौँ ?
१०. नेपालमा नेपाली नै नभेटिएला भन्ने डर: 
नेपाल बिबिधताको देश हो । अनेक जातजाती भाषा अनि संस्कृतिले भरिएको देश हो । अनेकतामा एकता नै हाम्रो चिनारी हो भन्ने पढ्नु अनि पढाउनु पर्छ । तर यो दर्शन र यथार्थता बिल्कुल फरक छ । आधुनिकताको नक्कलमा अगाडी बढ्दै गएको समाज बिकेन्दिकरणको नाममा अनेकता तिर पो फर्किन थालेको जस्तो लाग्छ । तराईमा मधेसी, हिमालमा हिमाली, पहाडमा पहाडीहरु भेटिन्छन् तर नेपालीहरु त भेटिन्नन् । जातनै परिचय बन्दै गएको छ । साझा प्रयोगमा ल्याईएका पोसाक, जनावर, पंक्षि, फूल, खेल आदी छायामा पर्दै गईरहेका छन् । नेपाल जस्तो सानो क्षेच्रफलमा पनि बिबिधता भएकोमा हास्नु की बिबिधताताले निम्तयाईरहेका बिकृति हेरेर रुनु ? 
निष्कर्ष: हामी के गर्ने ? यी सामाजिक असमानतालाई हेरेर हास्ने की रुने ? यी सबै कुराहरु हेर्दा लाग्छ कुनै हास्यप्रद सिनेमाको भागहरु हुन् अनि मज्जाले हास्न मन लाग्छ । फेरी गहिराईएमा पुगेर सोच्दै गर्दा यो सिंगो युगले धिकारेको देश जस्तो लाग्छ अनि रुन मन लाग्छ । हासो र रोदनको बिचको दोसादमा अल्झिएका छन् नेपालीहरु । के गर्ने कहाँहाट सुरु गर्ने भन्ने अन्योलमा छन राष्टप्रेमी नागरीकहरु । 
अब पनि यी सब टुलुटुलु हेरेर बस्ने बेला छैन् । अब यो विकृतिको राजनितीलाई सुधार गरी राम्रो संस्कारको रुपमा विकास गर्दै साना साना परिचय बोकेका हाम्रा राम्रा कुराहरुको संरक्षण गरौँ, कुसंस्कारहरुलाई त्यागौ र समुन्नत समाजको निर्माण गरौँ । नेपाल सुन्दर छ, बिशाल छ, सम्पन्न छ, धनि छ, आत्मनिर्भर छ भन्ने सबैले मनन् गरौ यसलाई अझै सम्नुन्नत बनाउन आ-आफ्नो ठाउबाट कर्तब्य निर्बाह गरौँ । जय नयाँ नेपाल 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: