धेरै मित्रहरुको जिज्ञासालाई लिएर पछिल्लो समयमा अर्थ सरोकार च्यानलमा प्रकाशित दुर्गा प्रसाद काफ्लेजिको अन्तरवार्ता हेरेर केहि टिप्पणी उठाउन मनलाग्यो। मैले यो बिषयमा कलम चलाउनुको अर्थ कुनै ब्याक्तिगत कारण नभई सार्वजनिक सँचार माध्यममा उठेको सार्वजनिक बहसको बिषय भएको कारण सार्वजनिक रुपमै टिप्पणी गर्दैछु। अन्तरवार्ता २ भागमा प्रशारण भएता पनि ९०% भन्दा बढी कुरा एउटै छ र सार पनि एउटै देखिन्छ ।
१.”भुईंचालो नाकाबन्दीकाबिच नेप्सेलाई ८०० बाट १८०० पुर्याईयो। जिडिपी माईनस छ, रेमिटान्स ब्यापक घट्दो छ । यस्तो अवस्थामा नेप्से बढ्नु ब्यापक चलखेल हो ।”
बिल्कुलै गलत , भुकम्प अगाडी १३०० को हाराहारीमा भएको नेप्से परीसुचक भुकम्प को एक महिना पछी खुलेको बजार निरन्तर ओरालो लाग्दै छोटो समयमै ९०० मुनी आयो।जसको मुख्य कारण थियो त्रास। १४ वटा जिल्ला मात्र भुकम्पबाट प्रभावित भएको थियो, जुन जिल्लाहरुमा सेयर बजारको पहुँच र त्यसको प्रभाव कती थियो त्यो सबैले सहज रुपमै थाहा पाएको कुरा हो ।
भुकम्पको २ महिना पछी बजार पुन आफ्नो लयमै फर्कियो । भुकम्प र नाकाबन्दीका बिच कम्पनीहरुले प्रकाशित गरेको बित्तिय बिवरण उत्साहितनै थियो भने भुकम्प गयो नाकाबन्दी भयो भनेर कुनै पनि कम्पनीले आफ्ना सेयर होल्डरलाई लाभाँष दिन कन्जुस्याईं गरेनन् ।भुईंचालो पश्चात बिमा सम्बन्धी जनचेतनाका कारण यसको ब्यापार त झन् दिन दुगुना रात चौगुनाको दरले बृद्धी हुँदै गएको छ। अब कुरा गरौं जिडिपीको । जिडिपी माईनस हुँदा सेयर बजार बढ्यो, जुन नेपालको सन्दर्भमा सामान्यनै हो। नेप्सेमा सुचिकृत ८०% भन्दा बढी कम्पनी बैंक बित्तिय सँस्था , ईन्सुरेन्स रहेका छन् ।
खै कहाँ छ REAL SECTOR को उपस्थिती अनि नेप्सेले कसरी गरोस् जिडिपीलाई आत्मसाथ? हो रेमिटान्स ब्यापक घट्दो छ ।यसको मतलव हो युवा शक्ती स्वदेशमै अवसर देखेर बिदेश पलायनमा कमी आएको छ। जुन अत्यन्तै राम्रो कुरा हो । कहिलेसम्म देश रेमिटान्सले चल्ने अनि सेयर बजार पनि रेमिटान्सकै आशमा चल्ने ? यो अर्थमा रेमिटान्स घट्नु धेरै राम्रो कुरा हो । पछिल्लो समयमा बिदेशिएका युवा स्वदेश फर्कनु , यहाँका युवाले बिदेश पलायन को मोह त्याग्नुको मतलव अब यहिं अवसर सृजना हुँदैछ र देश नयाँ गन्तव्यतिर लम्कदैछ भन्ने हो।
२.”भुकम्प नाकाबन्दीका बिच १० खर्ब रहेको बजार पुँजिकरण त्यसको एक बर्षमै २० खर्ब पुग्यो । कहाँबाट आयो १० खर्ब? त्यो सबै कालो धन हो!”
सुरुमा त ठट्टा गरेको हो कि भनेर हाँसउठ्यो। पछी थाहा भयोकि उनले साँच्चै भनेका रहेछन्। बजार पुँजिकरण बढ्नुको मतलव त्यो बढेको पुँजी अरु कतै बाट आएर थपिएको हैन। त्यो त सेयर भाउ बढ्दा बजारमै रहेको सेयरको कुल भ्यालु बढ्ने हो। अन्तिम कारोबर मुल्यले सुचिकृत कम्पनीहरुको सेयर सँख्यालाई गुना गरी बजार पुँजीकरण निकालिन्छ। नकि बाहिरी सेतो कालो धन ल्याएर जोडिन्छ।
३. “३६०० मा कारोबार भैरहेको शिखर ईन्सुरेन्स ठुलाबढाले ६०% बोनस पहिलेनै थाहा पाएर किने अनि घोषणा भए पश्चात ४२०० माथी पुर्याएर बेचेर सानालगानीकर्तालाई फसाए।”
☆यो पनि बिल्कुलै गलत कुरा हो। सत्यता केमा छ भने ६०% बोनसको हल्ला निकै पहिले चुहिएको थियो। त्यतीबेलानै शिखरको बजार मुल्य उचालिएर ४३०० पुगेको थियो । जुन सुईको पाएर किन्ने प्राय ठुला लगानिकर्ता थिए। जुन दिन यसको ६०% घोषणा भयो त्यसदिन यसको बजार मुल्य ३६०० को लाईनमा थियो । त्यस्को भोलीपल्टबाट निरन्तर घटेर यो ३००० को लाईनमा आयो । यस अर्थमा सुचना नपाउनाले साना लगानिकर्ता बचे भने पुर्व सुचना पाउनेहरु एक हिसाबले डुबे।
४.”धितोपत्र बोर्ड ले केहि काम गरेन।”
बढीमा १.५ प्रतिशत रहेको ब्रोकर कमिसन २०६४ सालमा रेवत बहादुर कार्कीकै कार्यकालमा घटेको थियो भने, कुरा पहिले देखीनै उठेपनी अहिले पनि उनकै कार्यकालमा उल्लेख्यरुपमा ब्रोकर कमिसन घटेको छ। के लगानिकर्ताको लागी उपलब्धी हैन ? गत माघ १ गतेबाट भौतिक प्रमाणपत्रको युग नै समाप्त भएर पुर्ण डिम्याट कारोबार सुरु भएर एउटा नयाँ युग सुरु भयो । ब्रोकरको मात्र पहुँचमा रहेको मार्केट डेप्थ आम लगानिकर्ताको हातमा पुग्यो। के यो उपलब्धीलाई नजर अन्दाज गर्न सकिन्छ ? काम कसले गरेन भन्ने कुरामा नेप्सेबाट भने उदासिनता देखिएको छ । उदाहरण स्वरुप हेर्ने हो भने धितोपत्र बोर्डले पटक पटक क्लियरिङ्ग बैंक थप्न र ब्रोकर सँजाल बिस्तार तथा बैंक लाई ब्रोकर लाईसेन्स दिने काममा निर्देशान दिंदा दिंदै पनि नेप्सेले उदासिनता देखाएको छ।
५ .”धितोपत्र बोर्डले कालो धन को किन छानबिन गरेन ?”
कालो सेतो धनको छानबिन गर्ने काम सम्पती शुद्दिकरणको हो। अन्य निकायको काम सम्पती शुद्दिकरण लाईमा आवश्यक सहयोगी भूमिका खेल्ने मात्र हो।
६.”अब नेप्से १००० मुनी ३ डिजिटमा आएपछी कालो धनवाला भाग्छन्, अनि नेपालको पसिनाको कमाई बजारमा प्रवेश गरेपछी बजार स्वछ र बलियो हुन्छ।”
तपाईं आफै भन्दै हुनुहुन्छ कि बजारमा ब्यापक कालो धन भित्रीएको छ भनेर । एउटा कुरा बुझ्नुस् कालो धनवाला लाई नेप्से २००० पुगोस् वा २०० मा झरोस्, के मतलब ? आखिर कालो धननै हो। मर्ने त साना सेतो धन वालान हुन् यो अवस्थामा! कारोबार समयमा ५० वटा ब्रोकर कम्पनी धाउनुहोस्, अनि त्यहाँ देखिन्छ सेयर बजारका बास्तबिक लगानीकर्ता। ठेलामा ब्यापार गर्ने, जागिर, मजदुरी गर्ने, खेती किसानी गर्ने, गर गहना राखेर उधारोमा कारोबार गर्नेहरुको भिडमा कसैले देखेको छ कालो धनवाला अनि दुई नम्बरि ठुला लगानिकार्ता ? अन्त:त मार पर्ने कसलाई भयो त? साना र नयाँनै मारमा पर्ने अनि तिब्र गतीमा बजार घट्दा वा बढ्दा डुब्ने भनेका।
७.”धितोपत्र बोर्डले बजारमा कालो धन वालालाई प्रोत्साहन दियो, दलाल र कालो धनलाई लगानी गर भनेर भन्यो!”
मलाई त त्यस्तो लागेन।
८. “बैंक को पुँजी बृद्धी गरिनु गलत ।”
एउटा साधारण ब्यापारीले त आफ्नो ब्यापारलाई फैलाउँदै,आकार बढाउँदै लैजन्छ भने बैंक जस्तो सँस्था यथास्थितीमै रमाएर बस्ने भन्ने हुन्छ ? २० करोडबाटबाट सुरु भएको बैंकको यात्रा अहिले ८ अर्ब पुगेको छ,जुन समयको माग पनि हो। पुँजीसँगै आम्दानी पनि त बढेकै छ। अहिलेको अवस्थामा एउटा १०० मे. वा. को हाईड्रो बनाउन ५/६ वटा बैंकले सहकार्य गर्ने गर्ने गरेका छन् । यस हिसाबले अहिलेको ८ अर्ब पनि कम हो। पुँजी बृद्धीको लागी पनि राष्ट्र बैंकले मर्जर, एक्विजिसन, बोनस, हकप्रद लगायत बिभिन्न बिकल्प दिएकै छ । यसहिसाबले भन्दा ब्यापर गर्न पुँजीको जरुरत पर्दछ । ब्यापार बढाउन झन् थप पुँजीको जरुरत पर्दछ।
अन्त्यमा,
मैले पनि बिगत ४ बर्ष देखी बिषेशत पुँजिबजारको बिकृती र बिसँगती बिरुद्ध आवाज उठाउँदै आएको छुं। सुरुवाती दिनमा म पनि बढीनै उग्र थिएँ बिस्तारै समयले धेरै कुरा सिकाउँदै गयो। अहिले काफ्लेजि को अन्तर्वार्ता हेर्दा एउटा जोस देखिएको छ। कालो धनको बिषयमा उठेको कुरा उचित हो । यसको छानबिन हुनु जरुरी छ ।
हो नयाँ र साना लगानी कर्ता डुब्नु हुँदैन। बजार बलियो हुनु पर्छ। समग्र पुँजी बजारको बिकृतीको अन्त्य हुनुपर्छ।तर “नेप्से उत्तानो”,”१२०० हुँदै हजार”, भनेर भावानामा बगेर सतही कुरा मात्र गरेर होला त पुँजी बजार को बिकाश? बाँकी कुरा बिस्तारै बुझ्दै जानुहुनेछ। तमासाको पात्र बन्ने काम नगर्नुहुन सुझाव दिंदै आगामी दिनको लागी शुभकामना।
हेर्नुहोस् अन्तर्वार्ताको पहिलो भाग
हेर्नुहोस् अन्तर्वार्ताको दोश्रो भाग