- रेखा ग्वायमरु / अर्थ सरोकार डटकम
काठमाडौँ – नेवारी समुदायमा मनाइने योमरी पुन्ही आज मनाइदैछ । पौष शुक्ल पूर्णिमाको दिन भक्तपुरका नेवार समुदायले समयसूचक चाड एवम् दान पर्वका रुपमा योमरी पुन्ही मनाउँदैछन् । धार्मिक विश्वासअनुसार आजको दिनदेखि दिन लामो र रात छोटो हुँदै जाने भएकाले यो पर्वलाई समय सूचकका रुपमा लिने गरिन्छ ।
के हो ‘योमरी’ र ‘योमरी पूर्णिमा’ ?
नेवारी भाषामा ‘यो’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाइ हो । सबैलाई मनपर्ने भएकालेनै यसको नाम योमरी राखिएको संस्कृतिविदहरु बताउँछन् । योमरीलाई कुवेर र गणेशका प्रतीकका रुपमा समेत लिइन्छ । आजको दिनलाई सकिमना पुन्ही अर्थात् पिँडालु उसिन्ने पूर्णिमाका रुपमा पनि नेवार समुदायले मनाउने गर्दछन् । योमरी पुन्हीका दिन गृहणलीले शुद्ध भएर चामलको पिठो, चाकु, तील, मासु, गुँदपाक, खुवा राखी योमरी बनाउने चलन रहेको छ । आजका दिन पिँडालु, सख्खरखण्ड उसिनेर खाने गर्दछन् । योमरी, पिँडालु खानाले जाडो सहन सक्ने ऊर्जा र कफ नष्ट गर्ने शक्तिको विकास हुन्छ भन्ने मान्यता रहेको छ । योमरीलाई धानका भकारीलगायतमा चढाउने गरीनछ । यसरी चढाएको योमरी चारदिनपछि प्रसादका रुपमा बाँडेर खाने चलन रहेको छ ।
शिवालयहरुमा विहानदेखि नै भीड
आज बिहानैदेखि विभिन्न शिवालयमा बिहानैदेखि भीड लागेको छ । योमरी चढाएर पूजा गर्नेको शिवालयमा भीड लागेको हो । तिहारमा देउसी/भैलो खेल जस्तै टोलभर गाउँदै योमरी माग्ने चलन नेवारी समुदायमा छ । सोही परम्पराअनुसार नेवारी गीत गाउँदै बच्चादेखि बूढापाकासम्म सहभागी भई आज दिनभर योमरी मागिन्छ। आजका दिन दान गर्नाले धर्म हुने विश्वासका साथ नेपारी गीत गाउँदै नाच्दै योमरी माग्न आउने युवायुवतीलाई योमरी दिएर खुसी पार्ने परम्परा रहेको छ ।
यस्तो छ किम्बदन्ती :
योमरी पूर्णिमा सम्बन्धि रमाईलो किम्बदन्ती छ । किंवदन्तीअनुसार पांचाल देश (हालको पनौती) मा सुचन्द्र नाम गरेका दानी र धर्मात्मा महर्जन दम्पती बस्दथे जो भगवान् विष्णुका परमभक्त थिए । उनीहरुको दयालु स्वभावको जाँच गर्न एक दिन धनपति कुवेर गरिब ब्राह्मणको भेषमा भिक्षा माग्न सुचन्द्रका घरमा पुगे । सुचन्द्रका श्रीमतीले ब्राह्मणरुपी कुवेरलाई श्रद्धापूर्वक आफूले तयार पारी राखेको योमरी खुवाए ।
उनको सत्कारदेखि प्रसन्न भई कुवेरले आफ्नो असली रुप देखाई योमरीको गुण र धानको भकारीमा श्री गणेश, कुवेर, लक्ष्मीको पूजा गरी योमरी चढाउने विधि बताएर गए । त्यसै अनुसार सुचन्द्र दम्पतीले योमरी धानको भकारीमा चढाएर चार दिनपछि प्रसादका रुपमा बाँडेर खाएकाले उनीहरुको धनसम्पत्ति वृद्धि भयो र योमरी खाएका कारण पनि निकै राम्रो हुँदै गयो ।
यहि किम्बदन्तीका आधारमा यो पर्व विकसित भएको देखिन्छ ।