- प्रनिश थापा / अर्थ सरोकार डटकम
चितवन – सरकारी अस्पताल, कहिँले सुध्रने ? लथालिङ्ग र बेवारिसे । सुन्दै अचम्म लाग्न सक्छ । उपचार गराउन जाने बिरामीको उपचार तब हुन्छ , जब उस्को नाम गोलाप्रर्थाबाट प्रकाशित हुन्छ । हो, यस्तै अनौठो गतिविधिमा सञ्चालित एक अस्पताल हो, बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल ।
कपिलवस्तु तौलिहवाकी ३५ वर्षीय मिना शर्मा पौष २९ गते चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारको लागि पुगिन् । आन्द्रामा घाउ भएपछि श्रावण १३ गते अप्रेशन गरेकी शर्माले केमुथेरापी को लागि क्यान्सर अस्पतालमा २५ दिनदेखि लाइनमा बसिन् । गत , माघमा सामान्य पेट दुखे पछि जाँच गराउँदा आन्द्रामा घाउ भएको थाहा पाए पछि उनी श्रीमान् उमेशप्रसाद शर्मा सहित उपचारका लागि यहाँ आएकी हुन् ।
उपचारका लागि असारमा क्यान्सर अस्पताल आउँदा अस्पतालले तपाईँको पालो कार्तिकमा मात्रै आउँछ भनेपछि ‘त्यतीका समयसम्म रोग पालेर बस्नु भन्दा समय मै उपचार गरौँ, भनेर शर्माले पैसाको प्रवाह नगरी भरतपुरकै चितवन मेडिकल कलेजमा अप्रेशन गर्न पुगिन् । र निजी अस्पतालमा उनको उपचार भयो,’ । तर, अप्रेशन गरिसकेपछि उनलाई १७ पटक केमोथेरापी गर्नुपर्ने चिकित्सकले सल्लाह सुझाए ।
अहिलेसम्म ९ पटक केमुथेरापी गरेकी शर्माले दशौं पटकको केमुथेरापीको लागि विगत १७ दिनदेखि अस्पतालमा पालो पर्खेर बसेकी हुन् । ‘दैनिक १२÷१९ जना बिरामीहरु केमुथेरापीको लागि लाइनमा हुन्छन्,’ उनी भन्छिन्, ‘आजसम्म पाले आएको छैन । अझै कति दिन बस्नु पर्ने हो थाह छैन ।’ एकजनाको लागि बेड खाली भएमा लाइनमा रहेका बिरामीहरुलाई गोलाप्रथा गरेर मात्रै बेड पाइने उनले बताइन् । ‘पालो पाउने आशमा चार पटकसम्म गोलाप्रथामा चिट थुत्दा पनि परेन,’ उनले भनिन्, ‘उपचारको लागि पनि भाग्य चाहिँदो रहेछ ।’
माघ १९ गते नै केमु चढाउनुपर्ने भए पनि पालो नपाउँदा अहिले सम्म चढाउन नपाएको बताउँछन्, उनका श्रीमान उमेश शर्मा । ‘अस्पतालले बेड उपलब्ध गराउन नसक्दा आधा महिना बितिसक्दा समेत केमु चढाउन पाएन,’ उनले गुनासो गरे । समयमा उपचार नपाए पछि बाँकी गरिसकेका उपचारको पनि अर्थ नभएको उनी बताउँछन् । होटलमा दैनिक एक हजार रूपैयाँ तिरेर बस्दै आएका उनी हरुको श्रीमान् श्रीमती हरेक दिन पालो आउला भन्दै बिहानै देखि दिउँसो तीन बजेसम्म कुरेर बस्छन् ।
‘डाक्टरलाई भन्दा दैनिक सम्पर्कमा रहनुस्, बेड खाली भएपछि तपाईँको पालो आउँछ ,’ धनकलाले भनिन्, ‘डाक्टरहरु सँग पनि दैनिक झगडा गरिरहनु पर्छ ।’ अस्पताल का डाक्टरहरुसँग भन्दा प्रशासनमा पठाउने र प्रशासनमा जाँदा त्यहीँ भन्नु भन्दै आलटाल गरिरहेको उनले बताइन् । अस्पतालको लापारबाहीका कारण बिरामीको ज्यान पनि जोखिममा पर्ने र भएका पैसा पनि सकिनेबाहेक कुनै उपलब्धि नभएको उनको भनाइ छ।
ललितपुरकी देबि कुवर पनि आफ्नी आमाको उपचारको लागि गत सोमबारदेखि नै भरतपुरमा छिन् । गत साउनमा आमा बिरामी भएपछि भारत लगेर जाँच गराउँदा स्तन क्यान्सर भएको थाहा पाई उपचारका लागि उनी आमालाई लिएर भरतपुर आएका हुन् । भदौ मै अप्रेशन भए पनि एक महिनापछि केमु थेरापी गर्नुपर्ने चिकित्सकको सल्लाह अनुसार ६ पटकसम्म केमुथेरापी गराए । चिकित्सकको सल्लाहअनुसारको केमुथेरापी पूरा गरिसकेपछि सीटीस्क्यान गरे ।
तर, सीटीस्क्यान को रिपोर्टको लागि तीनदिनसम्म कुर्नुपरेको उनले बताए । सरकारी अस्पताल भएकैले बिरामीले पाउनुपर्ने सेवासुविधामा गम्भीर लापारबाही भएको उनको भनाइ छ । ‘यदि यही अस्पतालको ठाउँमा निजी अस्पताल हुन्थ्यो भने, सायद यस्तो हुन्थेन,’ उनले भने । खर्चले धान्न नसक्ने अवस्था आएपछि होटलमा बसे पनि खाना भने आफैँ बनाएर खाने गरेको उनले बताए । कपिलवस्तुकै सुमन गिरि ( कान्छी ) विगत ०२ वर्षदेखि रक्त क्यान्सरबाट ग्रस्त छिन् ।
उनले उपचारका लागि माइतीले दिएको गहना र पैसा सबै सकाइन् । तर, उनको उपचार भने सकिएको छैन । उनी हरेक महिना उपचारकै लागि भरतपुर आउँछिन् । ‘हरेक महिना फ्रेस रगत चढाउनुपर्छ,’ गहभरी आँसु पार्दै उनले भनिन्, ‘यसअघि श्रीमान्लाई साथमा लिएर आए पनि धेरै पटक आउँदा जाँदा खर्च बढी हुने भएकोले यसपटक एक्लै आएँ ।’माथिका यी पात्रहरु उदाहरण मात्रै हुन् । उनीहरुजस्तै धेरै बिरामीहरुले समयमै उपचार नपाएका घटनाहरु धेरै छन् । अस्पताल को चरम लापारवाहीका कारण बिरामीले समयमा उपचार पाउनुको साटो उल्टै सास्ती खेप्न बाध्य भएको उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष विष्णुप्रसाद भुसालले बताए ।
अस्पतालको अवस्था समयअनुसार सुध्रिँदै जानुपर्नेमा उल्टै खस्किँदै गएको उनको भनाइ छ ।मञ्चकी सदस्य तारा बरालले बिरामीको उपचारको नाममा मानव जीवनमाथी गम्भीर खेलवाड गरिरहेको आरोप लगाइन् । अस्पतालका कर्मचारी र अस्पताल प्रशासनले लामो समयसम्म बिरामीलाई कुराएर दोहोरो मारमा पारेको उनको भनाइ छ ।
अस्पताल का विषयमा नकारात्मक समाचारहरु बाहिर आइरहे पनि अस्पतालको सुधार हुन नसकेको मञ्चकी सदस्य सानुमैया शाक्यले बताइन् । चैनपुर -३ काशीगाउँ कि सुनिता आचार्यले अझै पनि अस्पताल प्रशासनले आफ्नो कमीकमजोरी नसच्याएकोले जनताले दुःख पाइरहेको बताए । यस्तै , ज्यामिरेकै चिरञ्जीवी आचार्यले सरकारी काम भएकोले लापारबाही हुन नछाडेको बताए ।
अर्कोतर्फ अस्पताल प्रशासनले भने अस्पतालमा आवश्यक स्रोतसाधन नभएकोले बिरामीले समस्या भोग्न बाध्य भएको बताएको छ । अस्पतालका उपनिर्देशक डा.देजकुमार गौतमले केमुथेरापीका लागि एउटै बिरामी लामो समयसम्म बस्नुपर्ने हुँदा अरुले पालो नपाएको बताए ।
‘हाम्रा लागि अस्पतालकै नजिकैको बिरामी र जुम्ला कञ्चनपुरका बिरामीबीचको दूरी बराबर हुन्छ,’ उनले भने, ‘कोही काखा कोही पाखा छैन ।’ तर, अस्पतालको कमिकमजोरीको विषयमा अस्पताल का कार्यकारी निर्देशक र अस्पतालका अध्यक्षले बोर्ड बैठक नबोलाउँदा समस्या माथि समस्या थपिँदै गएको आरोप लगाए । गोलाप्रथाको विषयमा आफूलाई थाह नभएको र यस विषयमा आवश्यक छानबिन गर्ने उनले बताए ।