- दुर्गा प्रसाद काफ्ले
हाम्रो देश नेपाल अल्पविकसित तथा अतिनै गरिव राष्ट्र मध्ये एक हो । हाम्रो देशले विभिन्न कालखण्ड पार गर्दै, राणाकाल, राजतन्त्र, हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भइसकेको छ । राजनीतिक क्रान्ति धेरै पटक भयो । २००७ हुँदै २०६२ -६३ सम्म आइपुग्दा १० बर्षे युद्धकाल पनि देशले भोग्यो । जहाँबाट राजतन्त्र फालियो, र गणतन्त्र आयो । तर हामी नेपालीको जीवनमा कुनै पनि भिन्नता आएन । किनभने हाम्रो देशले आजसम्म पनि मिसन र भिजन भएको नेतृत्व पाएको छैन ।
नेपालमा आजसम्म पनि राजनीति मात्र बढी भयो । राजनीति आफ्नै लागि भयो । देश र जनताका लागि राजनीति कहिले पनि भएन । नेता धेरै जन्मिए । तर राम्रो नेतृत्व जन्मिएन । तसर्थ नेपाली जनता अतिनै दयनीय अवस्थामा जीवन चलाइरहेका छन् ।
हाम्रो देशभन्दा अतिनै गरिव देशले आज १०-१५ वर्षको समयमा काँचुली फेरिसकेका छन् । तर हाम्रो देश हिजोभन्दा आज र आजभन्दा भोलि कमजोर हुँदै गएको छ । नेपालको २०१६ को अनुमानित जीडीपी २४ खरब मात्र छ भने अनुमानित प्रति व्यक्ति आय ८३७ डलर रुपैयाँ मात्र छ । जुन एसियाकै सबैभन्दा थोरै हो । हामीसँगैका देश र हाम्रो देशको तुलना गर्दा लाजनै लाग्ने अवस्था छ ।
यति सानो मुलुक छ । बिकासका सम्भावना व्यापक छ, तर काम हुँदैन । राजनीतिक पार्टीहरु आफ्नो पार्टी भित्रै अलमलमा परिरहेका छन् । सरकार नै ९-१० महिनाभन्दा बढी टिक्दैन । त्यो छोटो समयमा के नै काम हुन्छ र ? केहि गर्छु भनेर आएपनि विभिन्न बहानामा उसलाई लडाइन्छ । यस्ता विभिन्न राजनीतिक कारणले गर्दा देश अत्यन्तै दयनीय अवस्थामा छ ।
हाम्रो देश अल्पविकसित देशको सुचीबाट बिकासशील देशहरुको सुचीमा जान खोजिरहेको परिप्रेक्षमा अव केहि नपुगेका सूचकलाइ पुर्याउनका लागि सरकारले तत्काल केहि कदम चाल्नुपर्ने देखिन्छ । नत्र माथि उक्लन खोज्ने कुरा एकादेशको कथा हुन सक्छ । सरकारले यी कामहरुमा ध्यान दिने हो भने यो लक्ष असम्भव पनि छैन :
- जलविद्युतमा लगानी बढाउने ।
- कृषिमा अनुदान बढाउने ।
- खाद्य सामाग्रीको उद्पादन बढाउने ।
नेपाल सरकारले अत्यावश्यक सामानको स्वदेशमै उत्पादन गर्नु पर्छ । जस्तै चामल, दाल, तेल घ्यु, आदी । यो उत्पादनकालागि सरकारले विभिन्न ठाउँहरुमा कम्पनी खोल्नु पर्दछ । यी समानहरुको उत्पादनहरुको जिम्मा सरकारले लिनुपर्दछ । जसबाट रोजगारीको सिर्जना हुन्छ भने आर्थिक वृद्धिदरमा सहयोग पर्दछ । परनिर्भरता हट्छ भने गरिवी कम हुन्छ । मूल्यवृद्धि नियन्त्रणमा हुन्छ ।
अवको देशको निकास भनेको उत्पादनशील क्षेत्रमा व्यापक लगानी गराएर उद्योग, कृषि, विद्युत लगायतका क्षेत्रमा लगानी बढाएर मात्र देशको बिकासको ढोका खोल्न सकिन्छ । अवको निकास, आर्थिक विकास’