×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१५ मेगावाट मात्र विद्युत आयात थप्दा कसरी झर्यो लोडसेडिङ शून्यमा ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

१५ मेगावाट मात्र विद्युत आयात थप्दा कसरी झर्यो लोडसेडिङ शून्यमा ?

२६ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं –  दशैं यता लोडसेडिङ शून्यमा झरे पनि भारतबाट गत बर्षको तुलनामा १५ मेगावाट मात्र थप विद्युत आयात भइरहेको छ ।  नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेका अनुसार गत बर्ष ‘भारतबाट करिब ३४५ मेगावाट बिद्युत आयात गरेर लोडसेडिङ अवधिलाई अधिकतम दैनिक १२ घण्टामा सिमित गर्न सम्भव भएको’ थियो ।

काफ्लेले गत असारमा छापिएको प्राधिकरणको अर्ध बार्षिक प्रकाशन ‘विद्युत’को बर्ष २७ अंक १ मा ‘शुभकामना सन्देश’ दिँदै उक्त जानकारी उल्लेख गरेका हुन् । काफ्लेले प्राधिकरण कार्यकारी निर्देशकबाट हटेपछि सार्वजनिक कार्यक्रमहरुमा गत बर्षको तुलनामा २०० मेगावाट थप बिजुली आयात गर्दा मात्र लोडसेडिङ अन्त्य हुन सक्ने बताएका थिए । तर, प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार अहिले अधिकतम ३६० मेगावाटसम्म मात्र विद्युत आयात भइरहेको छ ।

त्यस बाहेक गत बर्षको हिउँद यता प्राधिकरणको गृडमा १०५ मेगावाट स्वेदशी उत्पादन थपिएको छ। तर, ति सबै परियोजना ‘रन अफ द रिभर (बगेको पानीमा आधारित)’ प्रकृतिका भएको कारण एक तिहाइ भन्दा धेरै बिजुली हिउँद याममा उपलब्ध नभएको अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार थपिएको स्वदेशी उत्पादनबाट अहिले ३५ मेगावाट हाराहारी बिजुली मात्र प्राप्त भइरहेको छ ।

यसरी कूल ५० मेगावाट बिजुली थपेर १२ घण्टाको लोडसेडिङ प्राधिकरणले अहिले शुन्यमा झारेको हो । प्रवक्ता अधिकारीका अनुसार गत बर्षको तुलनामा १०० मेगावाट हाराहारी त माग समेत बढेको छ । त्यसलाई समेत व्यवस्थापन गरेर राजधानी, पोखरा लगायत देशका अधिकांश भेगबाट लोडसेडिङ अन्त्य गरिएको अधिकारी बताउँछन् । तराइका केहि क्षेत्रमा लोडसेडिङ भए पनि त्यसको अवधि दैनिक दुई घण्टा भन्दा बढि नरहेको उनको भनाइ छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ माग पक्ष व्यवस्थापन र चुहावट नियन्त्रणलाई प्राथिमिकता दिएपछि लोडसेडिङ अन्त्य गर्न सफल भएको बताउँछन् । केहि समय अघि प्रहरीले ठूला व्यवसायिक उपभोक्तासँग मिलेर मिटर बिगारी कम बिजुली खपत देखाउने प्राधिकरणकै कर्मचारी पक्राउ गरेको थियो । यो गिरोह अझ ठूलो हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान जारी राखेको छ ।

भारतबाट सस्तो बिजुली
१०/११ प्वाइन्टबाट भारतको बिजुली आयात गर्ने गरेकोमा अहिले जहाँ सस्तो छ त्यहाँबाट धेरै ल्याउन थालेको प्रवक्ता अधिकारी बताउँछन् । गत असार यता ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रशारण लाइनबाट १४५ मेगावाटसम्म विद्युत आयात गर्न थालिएको छ ।

असारसम्म उक्त स्थानबाट ८० मेगावाट मात्र बिजुली आउँथ्यो। त्यहाँबाट १६० मेगावाटसम्म बिजुली आयात गर्न सक्ने सम्झौता भारत सरकारसँग भएको छ ।

‘ढल्केबर मुजफ्फरपुरबाट आउने बिजुलीको लागत प्रति युनिट तीन रुपैँया ६० पैसा भारु मात्र छ, अधिकारीले भने – त्यसैले महङ्गो ठाउँबाट हुने आयात घटाएर त्यहाँबाट बढाइएको हो ।’ कतिपय ठाउँबाट आयात गर्दा एक युनिट बिजुलीको छ रुपैयाँ आठ पैसा भारुसम्म तिर्नुपरेको उनी बताउँछन् ।

अहिले काठमाडौँसम्म ल्याइएको भारतीय बिजुली पनि ढल्केबर मुजफ्फरपुरबाट आयात गरिएको हो । ढल्केबर खिम्ती २२० केभिएको प्रशारण लाइन निर्माण पूरा भएपछि अहिले माग अनुसार दैनिक २५ मेगावाटसम्मल भारतको बिजुली काठमाडौं आइरहेको छ ।

थप बिजुली आयातकालागि भारतको कटैयाबाट नेपाल कुशाहासम्म १३२ केभिएको प्रशारण लाइन निर्माण पूरा भएको छ । यहाँबाट ५० मेगावाट बिजुली आयात हुन सक्छ ।

त्यस बाहेक रक्सौल परवानीपुर प्रशारणलाइनलाई पनि थप ५० मेगावाट आयात गर्न मिल्ने गरी क्षमता बिस्तार भइ रहेको छ । दुई सातामा निर्माण पूरा हुने प्रवक्ता अधिकारीले जानकारी दिए ।

यी दुई स्थानबाट बिजुली आयात र मूल्यको अन्तिम निर्णय भने भइसकेको छैन । यसबारे फेब्रुअरी १३ र १४ मा बस्ने नेपाल र भारतको उर्जा मन्त्रालयका अधिकारीको बैठकले निर्णय लिनेछ । बैठक दुई देशबीच बिद्युत व्यापारमै केन्द्रित हुने जनाइएको छ । बैठकमा भाग लिन भारतीय उर्जा सचिवको नेतृत्वमा टोली आउनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: