×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Ground Reality : बैंकका अधिकांस ‘भ्याकेन्सी’ नौटंकी मात्र, यसरी भित्रभित्रै सुटुक्क लाग्छ पावर हुनेको जागिर !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

Ground Reality : बैंकका अधिकांस ‘भ्याकेन्सी’ नौटंकी मात्र, यसरी भित्रभित्रै सुटुक्क लाग्छ पावर हुनेको जागिर !

२१ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौँ- पछिल्लो समय थुप्रै बैंकहरुले थुप्रै भ्याकेन्सीहरु खुलाईरहेका छन् । तपाईंले पनि आफ्नो योग्यताका आधारमा बैंकमा जागिर खाने भनेर ती बैंकहरुमा भ्याकेन्सीउपर आवेदन दिनुभएको छ होला । यदी आवेदन दिनुभएको छ र पावर छैन भनेचाहिं तपाईं ढुक्क भएहुन्छ, ‘तपाईंलाई ‘अपवाद’मा बाहेक कुनै पनि हालतमा जागिर मिल्नेवाला छैन ।’ किन ? हामी यहि प्रश्नको उत्तर खोज्न अर्थात ‘Ground Reality’ बुझ्न अनुसन्धानमा लाग्यौं । र निस्कियो निष्कर्ष, ‘सार्है ट्यालेन्ट भएको खण्डमा वा अन्य कुनै अपवाद बाहेक बैंकमा तपाईंले दिनुभएको आवेदन त रद्दीको टोकरीमा नै जाने रहेछ । 
लिखित परीक्षाका लागि बोलाइन्छ । जागिर हुने भयो कि क्या हो जस्तो लाग्छ । पछि अन्तर्वार्तामा पनि बोलाइन्छ । अव त एक स्टेपमात्र हो जस्तो भान हुन्छ सबैलाई । तर अन्त्यमा पावर लगाउनुको विकल्प हुँदैन । कि नेपाल राष्ट्र बैंकका कर्मचारीको पावर, कि बैंकिङ क्षेत्रमा उक्त भ्याकेन्सी खुलाएको बैंकमा लाग्नेगरी पावर । नत्र त कुनै चान्स नै छैन । मैले लिखित राम्रो गरेको छु वा अन्तर्वार्ता सार्है राम्रो भएको छ भन्ने भ्रममा मुखभरि पानी पार्नु आकाशको फल जस्तै हो । सार्है ट्यालेन्ट भए भ्याली बाहिर जाने गरी नाम निस्किन्छ । नत्र त उही हो ।  हो आजको दिनमा बैंकमा पाइने जागिरको ‘ग्राउण्ड रियालिटी’ यहि नै हो।  यहि प्रसङ्गमा हामीले गरेको एउटा अनुसन्धानात्मक रिपोर्ट हेर्नुहोस् :
‘बैंकको जागिर पो जागिर त ! राम्रो तलब, राम्रा सुविधा अनि सामाजिक प्रतिष्ठा पनि । जे छ बैंककै जागिरमा छ । बरु तल्लो तहमै भए पनि बैंकमै जागिर खाने सोचेको थिएँ,’ काभ्रे घर भई हाल काठमाडौंमा बसिरहेका २४ वर्षीय मनीष रिजाल (उनकै अनुरोधमा नाम परिवर्तन) ले भने । तीन वर्ष अघिदेखि नेपाल कमर्स क्याम्पसमा बिबिएस तेस्रो वर्ष अध्ययन सकेर उनी बैंकका जागिरका लागि भौँतारिइरहेका छन् । पत्रपत्रिका र अनलाइन जब पोर्टलमा देखे जति सबै ‘भ्याकेन्सी’ मा आवेदन दिइरहेका छन् । तर, अझै जागिर पाउन सकेका छैनन् ।
झट्ट हेर्दा निकै नै स्मार्ट देखिने, पढाइ, लेखाइ र मानिससँगको बोलाइ पनि उस्तै अब्बल भएका उनी अहिले एमबिएसको परीक्षा सकेर बसेका छन् । आजकल पनि कुनै पत्रिकामा कुनै बैंकको ‘भ्याकेन्सी’ देख्यो कि उनी आवेदन दिइहाल्छन् । उनले बैंककै जागिरका लागि भनेर करिब एक दर्जन लिखित परीक्षा र आधा दर्जन जति मौखिक परीक्षा दिइसकेका छन् । परीक्षा सधैँ राम्रो हुन्छ तर नतिजा आफूले सोचेकोभन्दा निकै फरक । अहँ, उनले जागिर पाउँदै पाएनन् । उनी त एक प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्ता धेरै शैक्षिक बेरोजगार बैंकमा जागिर खाने सपना बुनेर बसिरहेका छन्, देशभर । तर ती हजारौँ सपनामाथि विभिन्न कारणले कुठाराघात हुने गरेको छ ।
अधिकांश ‘भ्याकेन्सी’ नौटंकी मात्र 
काठमाडौंमा रहेका विभिन्न वाणिज्य बैंकले विभिन्न समयमा कर्मचारी चाहिएको भन्दै सूचना निकाल्ने गर्छन् । तर तीमध्ये अधिकांश सूचना सूचनाका लागि मात्र हुन्छन् । आफ्ना चिनेका मान्छेहरू राख्ने ‘सेटिङ’ गरेर यस्ता सूचनाहरू औपचारिकताका लागि मात्र निकालिने गरिएको बैंककै कर्मचारी स्विर्काछन् । आफ्नो नाम नबताउने सर्तमा काठमाडौं, थापाथलीमा प्रधान कार्यालय रहेको एनआइसी बैंकका एक कर्मचारीले रातोपाटीलाई भने, ‘हाम्रो बैंकले पनि कर्मचारी चाहिएको भन्दै विभिन्न पत्रपत्रिकामा सूचना निकालेको थियो । तर, सूचनामा भनिएअनुसारका कर्मचारी राखिएन ।’ उनका अनुसार एनआईसी एसिया मात्र होइन, अन्य थुप्रै बैंकहरूले यस्तो गर्ने गरेका छन् ।
योग्य भए पनि सिफारिस चाहिन्छ 
बैंकले कर्मचारी राख्नका लागि लिएको लिखित परीक्षामा जस्तोसुकै राम्रो गरेको भए पनि सिफारिस राम्रो नभए जागिर नमिल्ने गरेको भोगाइ धेरैको छ । ‘लिखितमा सबैभन्दा राम्रो भए पनि अन्तर्वार्तामा बिनाकारण फालिन्छ,’ हाल एक बैंकमा कार्यरत सुशीला पंगेनी (नाम परिवर्तन) ले रातोपाटीलाई बताइन् । ‘बैंकको जागिर खान कि त नेपाल राष्ट्र बैंकका कर्मचारीको सिफारिस चाहिन्छ, कि त सञ्चालक समितिमा रहेका कसैको आफ्नो मान्छे हुनुपर्छ,’ उनले भनिन् ।
नेताको पावरमा सुटुक्क लाग्छ जागिर
विशेषगरी काठमाडौंकेन्द्रित शाखाहरूमा नेताको पावरमा आवश्यक नभए पनि कतिपय कर्मचारी राख्ने गरिएको बैंककै कर्मचारी बताउँछन् । जुन पार्टीको सरकार आयो, त्यही पार्टीका उपल्लो तहका नेताको सिफारिसमा कर्मचारी राखिने गरेको उनीहरूको कथन छ । ‘खासगरी राजनीतिमा राम्रो पकड भएका र बैंकका सञ्चालक समितिका मानिससँग राम्रो चिनजान भएकाहरुले भनसुनमा जागिर खान्छन्,’ एक बैंकका निम्न तहका कर्मचारीले भने ।
अनुभव नभएकालाई झनै गाह्रो 
बैंकमा कर्मचारी माग्दा अनुभव नभएकालाई नलिनु स्वाभाविक पनि हो । यही कारणले पनि बैंकमा काम गरेको अनुभव नभएकालाई बैंकको जागिर खान झन् गाह्रो पर्ने गरेको छ । विशेषगरी बिबिएस वा एमबिएस सकेकालाई यस्तो समस्या हुने गरेको छ । पढ्दा कतै ’इन्ट्रन’ समेत नहुने हुँदा समस्या अझै थपिएको हो । बिबिए अध्ययन गर्नेहरूले केही महिना इन्ट्रन गरेका हुने भए पनि जागिरका लागि ‘इन्ट्रन’ पर्याप्त नहुने बताइन्छ । अझ बैंकको तल्लो तहमा काम गर्नका लागि महिलाको बढी माग हुने गरेकाले पुरुषहरूलाई झनै गाह्रो पारेको छ । जागिर अभावकै कारण आजकल ‘प्लस टु’ सकेको भए हुने पदमा पनि स्नातकोत्तर पढेकाले समेत आवेदन दिने गरेका छन् ।
मर्जरले अनुभवी समेत बेरोजगार
पछिल्लो समय नेपाल राष्ट्र बैंकको नीतिका कारण धेरैजसो बैंक मर्जरमा गएका छन् । दुई वा सो भन्दा बढी बैंक मर्ज हुँदा सबै बैंकका सबै कर्मचारी रहन्छन् भन्ने हुँदैन । त्यसैले पनि अनुभव भएका तर मर्जरको समयमा जागिरका लागि ‘थप सिफारिस’ नपुगेकाहरू बिचल्लीमा पर्ने गरेका छन् । मर्जरको समयमा कुन कर्मचारीलाई राख्ने वा कसलाई नराख्ने भन्ने विषयमा निकै ठूलो राजनीति हुने गरेकाले पनि अनुभवीले समेत बेरोजगार बस्नुपर्ने बाध्यता भएको सरोकारवाला बताउँछन् ।
रोजगार कम्पनीको अर्को राजनीति
धेरैजसो बैंकले कर्मचारी पदपूर्तिका लागि अन्य रोजगार प्रदायक कम्पनीको ‘आउटसोर्स’ गर्ने गर्छन् । तर, तीनै कम्पनीका माथिल्लो तहका कर्मचारी समेत आफ्ना मान्छेलाई सिफारिस गर्न पछाडि नपर्ने हुनाले पनि सोझो–सीधा तरिकाले बैंकमा जागिर खान निकै नै गाह्रो छ । कतिपय अवस्थामा कर्मचारीले पाउने तलबमा रोजगारदाता कम्पनीको ‘कमिसन’ को कुरा नमिल्दा समेत सक्षम मानिसलाई पनि बैंकमा जागिर खान पछिल्लो समय निकै गाह्रो पर्ने गरेको छ ।
बार्गेनिङले झनै गाह्रो 
बैंकमा जागिर खान खोज्नेको संख्या यसरी वृद्धि भएको छ कि जति पनि तलबमा जागिर खान राजी हुन्छन्, धेरैजसो तल्लो तहमा काम गर्न खोज्नेहरू । कतिपयले बैंकमा जागिर खान वा बैंकमा आफ्नो करिअर सुरु गर्नकै लागि निकै कम तलबमा काम गर्न राजी हुने कारणले पनि बैंकको जागिर निकै कठिन हुने गरेको छ । बैंकमा अन्तर्वार्ताकै क्रममा आफूले अपेक्षा गरेको तलब सुविधा भन्न लगाउने र कम शुल्कमै प्रतिस्पर्धा हुने गरेकाले पनि बैंकमा जागिर खान अझ गाह्रो भएको जानकार बताउँछन् ।
काठमाडौंमा प्रधान कार्यालय रहेको एक बैंकका ‘एचआर’ विभाग प्रमुख गम्भीर हुँदै भन्छन्, ‘मेरो नाम नखुलाइदिनुस्, तर सत्य यही हो, बैंकमा जागिर खान राम्रो सिफारिस चाहिन्छ । हाम्रो काम पनि त्यही सिफारिसको सुनुवाई गर्न संयोजन गर्ने मात्र भएको छ ।’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: