पार्टीका निर्णय लागू गराउन आफ्नी श्रीमती सीता दाहाललाई कमरेड प्रचन्डले कुटपिटसम्म गर्नुपरेको थियो । सीता दाहाल डाँको छोड्दै हारगुहार माग्दै आउनुभएको थियो । यो उहाँहरुको गाउँ चितवन भीमसेननगरको कुरा थियो । कमरेड प्रचन्डले कमरेड सीता दाहाललाई छातैछाताले हिर्काउनु भएछ । त्यो कुरा सुनेर हामीहरु पनि अचम्मित भएका थियौँ ।
कुरा के रहेछ भने हाम्रो पार्टिले आफ्नो निजी सम्पत्तिबाट जनयुद्धको तयारीलाई रकम दिने कुरासँग जोडिएको रहेछ । कमरेड प्रचन्डको जिम्मामा आठ हजार रुपियाँ थियो । उहाँको उक्त रकम बुझाउने अर्को स्रोत थिएन । आखिरीमा कमरेड प्रचन्डले कमरेड सीतासँग एककठ्ठा जमिन बिक्री गर्ने प्रस्ताव राखेपछि यो रडाको मच्चिएको रहेछ ।
त्यतिखेर प्रचन्डले भन्नुभएको थियो कि मैले पार्टी छोड्ने कि उनलाई छोड्ने भन्ने प्रश्नमा म पार्टी छोड्न सक्तिनँ भन्नुभएको थियो । हामीहरु पनि पार्टीको आन्तरिक काममा त्यही गाउँमा रहेछौँ क्यार । खम्बसिंह कुँवर ‘काजीसाब’, कमरेड नारायण दाहाल र म पनि त्यही गाउँमा थियौँ । हामीलाई समस्या परिहाल्यो । आफ्नो नेताको घरपरिवारको झगडा समाधान गर्नु थियो । आन्तरिक रुपमा समाधान गर्न हामीहरु पनि लाग्यौँ । पार्टीलाई निकै नै तरङ्गित बनाइहाल्यो ।
प्रचन्ड र सीता दाहाललाई राखेर समस्या समाधान गर्ने काम भयो । आखिरी पार्टीको निर्णय लागू गर्ने कुरालाई त्यो स्तरमा कमरेड प्रचन्ड उत्रिनु हुनुहुन्थेन । सीताले पनि आफ्नो कमजोरीलाई स्वीकार्नुपर्दछ । अर्थात कमरेड प्रचन्डको सो जग्गामा हक त छ । हामीले त्यतिखेर भन्यौँ कि नेतृत्व भएर त्यस्तो उत्तेजित हुनु हुँदैनथ्यो । त्यो समस्या मेलमिलापमा समाधान ग¥यौँ । दुबै तर्फबाट आत्मालोचना पनि भयो ।
कमरेड प्रचन्ड पार्टी र क्रान्तिका लागि जुनसुकै व्यवधान, वाधा आइपरे पनि समाधान गर्ने कमरेड आजको स्थितिमा आउँदा पहिलेको प्रचन्ड रहनुभएन । जनयुद्धको पहलकर्ता प्रचन्ड हुनुहुन्थ्यो भने शान्ति प्रक्रियामा आएपछि संसद्वादमा चुर्लुम्म डुब्ने प्रचन्ड, आखिरी अवस्थामा आउँदा जनयुद्धको नायक, पछि खलनायकमा परिणत भएको कुरा नाङ्गो आँखाले देख्नुपरेको छ ।
निराशा र कुण्ठाले आफ्नो महान् लक्ष्यमा पुग्न सकिँदैन । विश्व सर्वहारावर्गका प्रतिनिधिहरुले त्यो प्रवृत्तिका विरुद्ध नलडी आफ्नो लक्ष्य नयाँ जनवादी क्रान्ति र वैज्ञानिक समाजवादमा पुग्न निरन्तर लडिरहनुपर्दछ ।
ईश्वरी प्रसाद दाहाल “असारे” काकाको आत्मजीवनी ‘संघर्षका पाइला’बाट लिइएको ।