आम पत्रकारले शन्तराम विडारीलाई कसरी चिन्ने ? के हो विडारीजीको परिचय ?
म २०३७ साल असार २९ गते उत्तरी मकवानपुरको टिस्टुङ पालुङ जन्मिएको हुँ । बुबा स्वर्गिय शिवप्रसाद बिडारी र आमा राधाले दुःख सुखमा मलाई हुर्काउनुभयो । मैले गाँउकै बज्रबाराही माविबाट एसएलसी पास गरें । त्यसयता उच्च शिक्षाका लागि काठमाडौं आए । बच्चादेखि नै पत्रकारिता विषय अध्ययन गर्ने र पत्रकार बन्ने रहर थियो । रत्नराज्य लक्ष्मी क्याम्पसमा त्यसकारण पनि भर्ना भएँ । विभिन्न मिडीयाबाट काम सिक्दै, पढ्दै निरन्तर केवल यही पेशामा संलग्न छु । अहिले वकिल पनि बन्ने रहर जागेकाले नेपाल ल क्याम्पसबाट एलएलबी पनि सक्दैछु ।
तपाईंले नेपालभरका शाखाहरुमध्ये सबैभन्दा धेरै संख्यामा पत्रकारहरु भएको नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अध्यक्षजस्तो पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ, निर्वाचनमा विजयी हुन्छु जस्तो लाग्छ ?
हो, मलाई यस शाखामा सदस्य रहनु भएका तमाम वरिष्ठ दाजुहरु, अग्रज पत्रकारहरु, समकालिन र पछिल्ला पुस्ताका साथीहरुको पनि पूर्णतया साथ, समर्थन र सहयोग रहेको छ । उहाँहरुले म प्रति दर्शाएको माया र सद्भाव नै मैरो विजयको आधार हो । निश्चय नै नेपालभरीकै सबैभन्दा ठुलो यस शाखामा एक पटक फेरि ‘ तिमी जत्तिको मान्छे’ आवश्यक छ भनेर नै सबैले यो जिम्मेवारी लिनतर्फ अग्रसर हुन घच्घच्याउनुभएको हो । र, म मानसिक रुपमा तयार भएर मैदानमा उत्रिएको हो । म सबै पक्षलाई समेट्दै, समन्वय गर्दै अघी बढ्न सक्ने योग्यता राख्छु, त्यसैले मेरो विजय अवश्यम्भावी छ ।
तपाईं विजयी हुन्छु भन्ने आधार के छ ?
म रहर वा लहडले यो पेशामा नलागे जस्तै यो नेतृत्वका लागि पनि केवल रहर पुरा गर्ने उद्देश्य राखेर आउन लागेको होइन । सबैको सहयोगमा म अध्यक्ष भएमा आफ्नो कार्यकालमा ‘यो यो काम’ गर्ने भनेर मैले केही निश्चित एजेण्डा र कार्ययोजना तय गरेको छु । निश्चय रुपमा म आधारभूत तह देखि पत्रकारिताको प्रवद्र्धन, हित रक्षाका निम्ती लड्दै आएको छु । साना लगानीका पत्रपत्रिकाको संरक्षणका निम्ती संघर्ष गर्दै आएको हुनाले मसँग यससँगको ठूलो समुह परिचित छ । म स्वंम पनि निकै कष्टसाध्य प्रयत्नका साथ साप्ताहिक पत्रिका प्रकाशित गर्दै आएको छु । तसर्थ काठमाडौंमा आवद्ध पत्रकारका समस्यालाई सही ढंगले बुझ्ने, जान्ने र चिन्ने म उपयुक्त पात्र हुँ भन्ने ठान्छु । मेरो यही गुणका आधारमा अवश्य विजय गराउनु हुनेछ भन्नेमा विश्वस्त छु ।
पत्रकारिता क्षेत्रमा बढी राजनीतिक हस्तक्षेप हुन थालेको देखिन्छ, अध्यक्षमा विजयी भएमा स्वतन्त्र ढंगले काम गर्न सक्छु जस्तो लाग्छ ?
मानिस विचार शुन्य त पक्कै हुन सक्दैन । हाम्रो सामाजिक जिवनका हरेक पक्षमा विचार, वाद वा राजनीतिको प्रभाव भएजस्तै पत्रकारिता पनि अछुतो नरहेको साँचो हो । तर यसो भनेर सधैं यस्तै रहिरहने भन्ने पक्कै होइन । हामी आफैं पछिल्ला दिनमा पत्रकारिता कर्ममा पक्षधरता भन्दा व्यवसायिकतालाई जोड दिइरहेका छौं । त्यसैले त राजनीतिक मिसनमा लागि खोलिएका विभिन्न पुराना र प्रतिष्ठित पत्रपत्रिकाहरुको पनि अस्थित्व संकटमा पर्दै गएको छ । आफुले बोकेको विचार जे जस्तो भएपनि न्युज रुममा हुँदा त्यसको प्रभाव नपरोस् भन्ने कुरामा सञ्चारकर्मी अत्यन्त सचेत हुनुपर्छ, जुन कुरा पछिल्ला दिनमा केही मात्रामा भइ पनि रहेको छ । अहिले म जुन आस्थाको वरिपरि रहेर त्यस संघ संगठनको सदस्य छु, अब पत्रकार महासंघमा गएपछि निश्चय पनि हामीले त्यो साँघुरो घेरा तोड्नै पर्छ । पत्रकार महासंघ जस्तो साझा हिसावको संस्थालाई साझा चरित्रमै हिँडाउनु पर्छ । र, यस साझा चरित्रको संस्थामा रहुन्जेल त्यस्ता राजनीतिक संगठनको सदस्यता त्याग्नुपर्छ । जुन कुराको म प्रतिवद्धता जनाउन चाहन्छु ।
पत्रकारको चुनाव पनि राजनीतिक दलको चुनावभन्दा घमासान होलाजस्तो देखिन्छ, राजनीतिक दलहरुको चाहना पनि पत्रकारहरुलाई आफ्नो पक्षमा पार्न खोजेको देखिन्छ, राजनीतिबाट मुक्त भएर काम गर्न सकिंदैन र ?
अवश्य सकिन्छ तर पूर्णतया मुक्त गराउन भने अलि वर्ष लाग्छ । हाम्रो राजनीतिक आन्दोलन र पत्रकारिता क्षेत्रको विकासको चरण संगसंगै अघि बढेकाले विगत लामो समयदेखि अन्तरसम्वन्धित भएर रहेको देखिन्छ । त्यसैको बलियो उदाहरण नेपाली काँग्रेसका सभापति रहनुभएका आदरणीय कृष्णप्रसाद भट्टराई हाम्रो पत्रकारको संस्थाको कुनैबेला सभापती हुनुहुन्थ्यो । अबका दिनमा फगत व्यवसायीक ढंगले यही विषय पढेका र राजनीतिमा उती चासो नराख्ने वर्गको पनि उल्लेख मात्रामा पत्रकारिता क्षेत्रमा प्रवेश बढ्दैछ । केही वर्षपछि त्यो जमातको वर्चश्व बढ्नेछ । त्यतीबेला व्यवसायिकताको वकालत अहिले जस्तो झिनो मात्रामा हुनेछैन । त्यस आधारले हेर्दा यस क्षेत्रमा अवश्य राजनीतिक प्रभाव हट्नेछ ।
निर्वाचनमा तपाईले पत्रकारका हक–हित सम्बन्धमा के–कस्ता मुद्दाहरु उठाउनुभएको छ ?
मेरा मुद्दा यो पेशालाई मर्यादित, व्यवस्थित र निष्ठाको पेशा बनाउन पहल गर्ने, सुरुवात आफैंबाट गर्ने, श्रमजिवि पत्रकारका हक हितलाई विशेष ध्यान दिने, शाखाले सुरु गरेको पत्रकार कल्याण कोषको रकम वृद्धि गर्दै त्यसलाई व्यवस्थित पार्ने, साना लगानीका पत्रपत्रिका तथा पछिल्लो समय वृद्धि भएका साना लगानीमा खोलिएका अनलाइनहरुलाई समयानुकुल व्यवस्थित तथा आत्म निर्भर हुने गरी नीति निर्माण गराउन पहल गर्ने, व्यवसायिक पत्रकारिताका क्षेत्रमा वर्षौदेखि काम गरिरहेका तर पत्रकार महासंघको छाताभित्र आउन नचाहेका ठुलो पंक्ति छ, त्यसलाई यस महासंघप्रति आकर्षण बढाउनका लागि विशेष कार्यक्रम ल्याउने लगायतका योजना छ ।
पत्रकारिता क्षेत्रमा अध्ययनशील, विषयवस्तुको गाम्भीर्यता नबुझेका व्यक्तिहरुको बाहुल्यता बढ्दै गएको छ, त्यस्ता व्यक्तिका कारण यो पेशाप्रति धेरैले औंला उठाउने ठाउँ पाइरहेका छन्, त्यसको न्यूनीकरणका लागि महासंघको भूमिका कस्तो हुनुपर्छ ?
पढेर मात्र जानिन्छ भन्ने त होइन । परेर जानेकाहरु पनि हाम्रा समाजमा उत्तिकै सफल बनेका प्रशस्त उदाहरण छन् । तर यो पेशा भनेको जनता र समाजप्रति अत्यन्त जिम्मेवारीवोधका साथ गरिने पेशा भएकाले तपाँइले भनेजस्तै विषय वस्तुको गाम्भियर्ता बुझेका व्यक्तिहरु हुनुपर्छ । अझ यहीे विषयको प्राज्ञिक अध्ययन भएका व्यक्तिहरुले अंगाल्ने पत्रकारिता निश्चय नै फरक हुन्छ । हाम्रो पेशालाई निश्चीत बन्देजपूर्ण कानुनले नियन्त्रण गर्ने भन्दा पनि आफैं स्वनियन्त्रण हुने र समाजप्रतिको उत्तरदायित्ववोध गरेर कलम चलाइने पेशा भएकाले आफैं सचेत हुन जरुरी छ ।
यद्यपि महासंघले यो विषयमा सचेतनापूर्ण कार्यक्रमहरु ल्याउने, सरोकारवालाहरुलाई एउटै मञ्चमा राखेर विचार मन्थन सहित ठोस निष्कर्ष दिने काम गर्न सक्छ । यस काठमाडौं शाखामा रहेका अधिकांश साना लगानीका पत्रपत्रिकाले सचेततापूर्वक हरेक कुरामा गरेको पहरेदारी र भण्डाफोर चाँही गैरव्यवसायिक हुने अनि ठुला ठुला मिडियाका कर्पोरेट हाउसहरुले आफ्ना ‘डिलिङ’ नमिलेपछि आम पाठकलाई लगातार मुर्ख बनाइरहेका कुरा चाँहि व्यवसायिक हुने भन्ने कुरा भने अवश्य स्विकार्न सकिदैन । को कति पानीमा छन्, संगै बसेर छलफल गर्न सकिन्छ । लामो वहश गर्न सकिन्छ ।
साना लगानीका पत्रपत्रिका जीवन–मरणको दोसाँधमा छन्, तपाईं आफैं पनि यही पृष्ठभूमिको हुनुहुन्छ ? तपाईं अध्यक्षमा निर्वाचित हुनुभयो भने यिनीहरुको संरक्षणका लागि कस्ता कामहरु गर्नुहुन्छ ?
साना लगानीका मिडिया धेरै हुनुपर्छ र तिनिहरु सधैं टिकिरहनुपर्छ भन्ने मेरो धारणा हो । तर अहिलेको व्यवस्था हेर्दा राज्य विस्तारै यो वा त्यो वहानामा तिनको घाँटी रेट्दैछ । हामी संघीयतामा जाँदै छौं । यस्तो बेला विभिन्न भाषा, लिङ्ग, क्षेत्र, समुदाय र विचारका साना तथा ठुला मिडीयाहरु फस्टाउन दिनुपर्छ भन्ने आम विश्वव्यापी मान्यताको कदर गरिनुपर्छ ।
प्रतिस्पर्धाको फुलवारीमा लोकतन्त्रको अनुपम नमुनाका रुपमा सबैलाई फल्ने, फुल्ने र फक्रिने मौका तथा वातावरण प्रदान गर्नु राज्यको दायित्व हो । धेरै मिडिया मध्येबाटै राम्रो र उत्कृठ छनोट गरेर त्यसलाई ग्रहण गर्ने अधिकार आम पाठकमा सुरक्षित राख्नुपर्छ । ‘यो यो पत्रिका वा अनलाइन बन्द हुनुपर्छ, यो चल्नुपर्छ’ भन्ने खालको सोच राज्यको हुन्छ भने त्यो नियन्त्रणमुखी सोच हो । कदापि स्विकार्य हुनेछैन ।
ठुला ठुला तस्करी, अनियमितताका खबर अवौंको विज्ञापन बाँडेका भरमा ठुला र व्यवसायिक भनिएका मिडियाले ‘व्लाक आउट’ गरेका बेला यही साना मिडीयाले खोजतलास गरेर आम पाठकलाई सुुुुसुचित गरेको दर्जनौं उदाहरण छन् । अर्को कुरा लोककल्याणकारी विज्ञापनमा केही करोड खर्च भयो भन्ने विषयलाई ठुलो ढंगले राज्यकोष दुरुपयोग भयो भन्ने ढंगले कुरा उठाइएको छ, के त्यत्तीकै दिइएको हो र त्यो पैसा ?
सचेतनामूलक विज्ञापन छापिएको छ । राज्यको निकाय प्रेस काउन्सिलको दायरामा आउने , त्यसका मापदण्ड पुरा गर्ने र उसैले गरेको ग्रेडिङको आधारमा पाउने विज्ञापन रोक्नुपर्छ भन्नुको अर्थ यहाँ ह्वेल माछा निर्माण गरिँदैछ । जसले साना तिना माछा निलोस् । ठिक छ हामीले भनेकै छौं, लोककल्याणकारी विज्ञापन रोक्ने भए समानुपातिक विज्ञापन लागु गरौं । केही मिडीया आफुलाई राज्य भन्दा माथि ठान्छन्, प्रेस काउन्सिलमा दर्ता हुन आँउदैन् अनि त्यस्तालाई भने ‘लोकतन्त्र तथा गणतन्त्रका लागि भूमिका खेलेको’ भन्दै अबौं कर छुट दिने गरिन्छ । तर यही गणतन्त्र तथा लोकतन्त्र स्थापनाका लागि वर्षौदेखि राजनीतिक मिसनमा सामेल भए त्यस्तालाई अब तिनको अस्थित्व नामेट पारौं भन्न मिल्छ । कदापि मिल्दैन ।
समाजको एउटा वर्ग त ति सबै पत्रिका आजैबाट बन्द गराउन सकियो भने आफ्नो एकछत्र राज हुन्छ भन्ने सोचेर लगातार यस अभियानमा लागेको छ । पञ्चायतकालमा लेखेवापत दिनहुँ मुद्दा र तारिक धाउन वाध्य पारेर राज्यले ति पत्रिका बन्द गराउँथ्यो भने पछिल्ला दिनमा भएभरका अर्बौ रकमका विज्ञापन केही ठुला घरानालाई मात्र दिने तर ३० औं वर्षदेखि आाफ्नै हिसावले चलिरहेका पत्रपत्रिकाहरुलाई भने विभिन्न कारणले नाकाबन्दी गर्ने ताकि ति विस्तारै लोप होउन् भन्ने छ । यो काठमाडौं शाखा पुराना ति साना लगानीका पत्रपत्रिका, पछिल्ला समय खुलेका साना लगानीका अनलाइन (जसलाई तत्काल वर्गिकरण गरी लोककल्याणकारी विज्ञापन दिइनुपर्छ भन्ने मत हामी राखिरहेका छौं) र दशकौं देखि स्वतन्त्र र व्यवसायिक पत्रकारिता गरिरहेका वरिष्ठ र स्वतन्त्र पत्रकारहरु हुनुहुन्छ, उहाँहरुको शाखा हो । त्यसैले यो शाखामा नेतृत्व गर्न आउनेले व्यवसायिक अडानका साथसाथै हाम्रो पृष्ठभूमी र धरातल भुल्न मिल्दैन । त्यसैले यि पत्रिकाहरुको समयानुकुल विकास, विस्तार र अभिवृद्धिका लागि म निरन्तर लडिरहन्छु ।
राजधानीजस्तो ठाउँमा रहेर पनि पत्रकार महासंघ काठमाडौं शाखाले आफ्नै भवन बनाउन सकेको छैन, उपत्यका बाहिरका कतिपय दूर्गम जिल्लाहरुमा समेत पत्रकार महासंघ जिल्ला शाखाका आफ्नै भवन बनिसके, तपाई अध्यक्षमा विजयी हुनुभयो भने तपाईंको कार्यकालमा उपत्यकामा आफ्नै भवनबाट पत्रकार महासंघ संचालन गर्ने दिन आउँछ त ?
हो, यस मामलामा हामी पछि परेका छौं । राज्यले हामीलाई जग्गा उपलव्ध गरायो भने हामी यही कार्यकालमा भवन ठड्याइदिन्छौं । यसमा म निरन्तर लाग्नेछु । भाडाकै भवनमा बसे पनि मिडीया सेन्टर, बैठक हल र पत्रकार सम्मेलन कक्ष भने हामीलाई अवश्य चाहिन्छ । त्यो कामको पहलकदमी तत्कालै थालिने छ ।
पत्रकारहरुको हकहितका लागि तपाईका थप योजनाहरु के–के छन् ?
व्यवसायिक पत्रकारितालाई मर्यादित ढंगले विकास गर्नुपर्छ भन्ने नै हाम्रो ध्येय हो अब साना लगानीका पत्रपत्रिका लाई पनि युग सुहाउँदो ढंगले लानुपर्छ । विद्युतीय सञ्चार, रुपान्तरण र प्रविधीसंग जोड्नुपर्छ । त्यसका लागि पछिल्लो प्रविधीसंग अभ्यस्त हुन नसकेको अघिल्लो पुस्ता छ । तिनलाई विभिन्न तालिमहरु सञ्चालन गर्न सकिएमा हामी समयको चाप संगै अघि बढ्न सक्छौं । हामीले व्यक्ति र स्वार्थ केन्द्रीत भन्दा पनि आम संचार र पत्रकारको स्वार्थ केन्द्रीत एजेण्डा बोक्नुपर्छ । अब नेपाली मिडियालाई डिजिटलाईड गर्ने, सचार माध्यममा मालिकको हैन, आम पत्रकारको पकड हुने, समाचारमा पत्रकारको नियन्त्रण हुने, काम गर्नेले बेलैमा पर्याप्त तलव पारिश्रमिक पाउने, उपदान, संचय कोष र बिमा हुने, मालिकले कम्पनीबाट नाफा लिने तर सम्पादकीय स्वतन्त्रतामा हस्तक्षेप गरे गैरकानुनी हुने, गैरजिम्मेवार र गैरकानुनी काम गर्ने पत्रकारलाई कानुन अनुसार कारबाही हुने, पत्रकारितालाई राजनीतिक दलको प्रत्यक्ष प्रभावबाट मुक्त गरी स्वतन्त्र बनाउने, बिज्ञापनदाताको प्रभावबाट समाचारलाई मुक्त गर्ने, पत्रकारितामा भित्रिएको अपराधिकरण बन्द गर्ने लगायतका काममा ध्यान दिनुपर्छ । यसमा म दिलोज्यान दिएर लाग्नेछु ।
चुनाव केन्द्रित भएर काठमाडौं शाखामा थुपै्र पत्रकारिता क्षेत्रभन्दा बाहिरका मानिसहरुको सदस्यता बन्ने क्रम जारी छ भनिन्छ, विवाद पनि चरमचुलीमा छ, त्यसको निराकरणको प्रयास कसरी भइरहेको छ ?
यो विडम्वनापूर्ण कुरा हो । यस्तै विकृती बढेर नै आम व्यवसायिक पत्रकारहरु अझैं महासंघको छाताभित्र समेटिन आकर्षित नभएको मैले बुझेको छु । हेर्दै जानुस, मेरो कार्यकालमा पेशागत शुद्धिकरण पहिलो काम बन्नेछ ।
तपाईंको चुनावी नारा के हो ?
मेरो नारा व्यवसायिक पत्रकारिताको विकासमा जोड, साना लगानिको मिडीयाको विकास, विस्तार र आत्मनिर्भर पार्न पहल गर्ने र अग्रज पत्रकारहरुको उचित सम्मान र राज्यबाट नियमित पेन्सन दिलाउन पहल गर्ने हो ।
अनि तपाँइलाई यो क्षेत्रमा अलि कनिष्ठ, काठमाडौं शाखाको नेतृत्व गर्न बेला नभइसकेको मान्छे भन्दा रहेछन् नि ?
जसले भने पनि त्यो गलत कुरा भन्नुभयो । तैपनि म उहाँलाई भने उच्च सम्मान गर्छु । हेर्नुस मैले, गोरखा पत्र दैनिकमा जिल्ला समाचारदाता भएर पनि अनुभव संगालेको छु । पछिल्लो समय नेप्लिज डट ओआरजी नामको अनलाइनमा पनि कस्सिएर काम गरेको हो । एबिसी टेलिभिजनमा २ वर्ष बढी पोलिटिकल व्युरोमा रहेर फिल्ड रिर्पोटिङ गरियो । साना लगानीका साप्ताहिक पत्रिका साप्ताहिक आवाज, साँघु, जनसञ्चार जस्ता पत्रिकाहरुमा त आज भन्दा १२ वर्ष पहिलादेखि निरन्तर काम गरें । ति मध्ये कति पत्रिका त अहिले बन्द भैसके।
विचारप्रधान बुधवार साप्ताहिकमा त अझैं काम गर्दैछु । त्यो भन्दा पनि पछिल्ला समय केही सञ्चार सम्वन्धी अनुसन्धानहरुमा व्यस्त भइरहेको छु । साप्ताहिक पत्रिकामा पत्रकार आचार संहिता कार्यान्वयनको अवस्थाका बारेमा एउटा अनुसन्धान सकिन लाग्यो । सञ्चार अनुसन्धानका अलावा मिडीया कन्टेन्टलाई लिएर सार्वजनिक वहश गर्नु र त्यसको सैद्धान्तिक पाटो केलाउनु नै मेरो रुचिको क्षेत्र हो । प्रेस काउन्सिलको संहितामा मिडीयाका बारे मेरा नियमित जसो आएका लेख त पढ्नुभएकै होला ।
अनुभवलाई जोडेर सुचना विभागले ‘फ्रिलेन्स जर्नालिस्ट ’ को मान्यता प्रदान गरिसकेको पनि ४ वर्ष भयो । अझ महत्वपूर्ण कुरा मैले २०६३ सालमा आफैं सम्पादक प्रकाशक भएर काठमाडौंबाट प्रकाशन सुरु गरेको दामन पोष्ट साप्ताहिक नै अहिले निरन्तर १० वर्षमा चलिरहेको छ । एउटा व्यक्ति जोसंग आफ्नै पत्रिका १० वर्षदेखि आफैं सम्पादक, प्रकाशक, वितरक भएर पत्रिका चलाइरहेको अनुभव छ, त्यस्तो व्यत्तिले काठमाडौं शाखाको नेतृत्व नगरे कसले गर्ने, मलाई बताइदिनुस् ।
अन्यमा केही भन्नैपर्ने छ ?
भन्न पर्ने जति सबै सोधिसक्नुभयो । उही कुरा दोहोर्याउछु, चैत १ मा तपाँइको अमुल्य मत मलाई प्रदान गर्नुहुनेछ भन्ने आशा छ ।