
काठमाडौं, कात्तिक ८ -विदेशी सहयोगमा सञ्चालित विभिन्न संघ/संस्थाले सञ्चालन गरेका अधिकांश स्वास्थ्य केन्द्रहरुमा पछिल्लोपटक आफूखुसी शुल्क निर्धारण गरेर बिरामीलाई ठग्ने कार्यले तीव्रता पाएको छ ।
काठमाडौं उपत्यकाभित्र नै सामाजिक सेवाको रुपमा दर्ता भएको ‘लायन्स क्लब अफ काठमाडौं डिस्ट्रिक्ट ३२५ ए’ले विगत दुई वर्षदेखि आफूखुशी शुल्क निर्धारण गरेर बिरामीबाट महँगो शुल्क असुली गरिरहँदासमेत सम्बन्धित निकायको ध्यान नजाँदा दैनिक आँखा उपचार गर्न गएका बिरामी ठगिनुपरेको छ । सो संस्थाको विधानमै सामाजिक सेवा गर्ने र निःशुल्क आँखा उपचार गर्ने भनिए पनि विगत दुई वर्षदेखि दर्ता शुल्कलगायत अन्य शुल्कमा विना जानकारी भारीमात्रामा वृद्धि गरेर असुली गरेको आरोप पीडितहरुको छ ।
विभिन्न सार्वजनिक कार्यक्रम र पत्रकार सम्मेलन गर्दा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने भन्दै आफ्ना नयाँ कार्यक्रम सार्वजनिक गर्ने सो संस्थाले पछिल्लो समयमा आएर आँखाको सामान्य उपचार गर्दा प्रतिबिरामी एक सय २० रुपैयाँ नयाँ दर्ता शुल्क असुली गर्र्दै आएको छ भने ६० दिनभित्र पुनः उपचार गर्नुपरेमा ६० रुपैयाँ अतिरिक्त शुल्क लिने गरेको छ ।
काठमाडौंको मीनभवनमा रहेको सो संस्थामा दैनिक आँखा जाँच गराउन न्यूनतम एक सय ३० जना आउने गरेको मेनेजर श्रीराम पन्तले बताए । पन्तकै अनुसार दैनिक नयाँ बिरामीबाट आउने दर्ता शुल्कबाट मात्रै १५ हजार छ सय रुपैयाँ संकलन हुने गरेको छ मासिक चार लाख ६८ हजार रुपैयाँ बिरामी दर्ताबाट संकलन हुने उनको भनाइ छ । सामान्य आँखा जाँच गराउँदाबाहेक आँखाको अप्रेसन गर्नुपरेमा थप शुल्क लिने गरिएको छ । सो संस्थाले भित्तामा सानो अक्षरमा प्रिन्ट गरी टाँसेको सूचनाअनुसार न्यूनतम पाँच सयदेखि अधिकतम १२ हजार रुपैयाँ असुली गर्ने गरिएको छ । अप्रेसन गर्न चाहिने अन्य सामग्रीसमेत बिरामी आफैंले खरिद गर्न लगाउने गरेको छ । अप्रेसन गर्दा डाक्टरले प्रयोग गर्ने पञ्जा, बिरामीले टाउकोमा लगाउने प्लास्टिकको कभरलगायत अन्य सामग्रीको खरिदको सूचीसमेत बिरामीलाई थमाउने गरिएको छ । लायन्स क्लबले स्वास्थ्यको नाममा घुमाउरो तरिकाले बिरामी ठग्दै आएको पीडितहरूको गुनासो छ । अन्यत्र अस्पतालमा जस्तै उपचारका नाममा विभिन्न ढंगबाट बिरामी ठगिँदै आएको गुनासा बढिरहँदासमेत सम्बन्धित निकायको ध्यान अझै जान सकेको छैन ।
सो संस्थाका मेनेजर पन्तले पहिला विदेशी सहयोगमा सञ्चालन भएको तर अहिले त्यो नभएकाले अस्पताल सञ्चालन गरिरहनका लागि विद्यमान शुल्कमा वृद्धि गर्नुपरेको बताए । उनले भने, ‘संस्थाको आम्दानीको स्रोत अन्य नभएकाले सोही दर्ता शुल्कबाट खर्च गर्नुपर्ने भएकाले समयसापेक्ष अन्य स्वास्थ्य केन्द्रको भन्दा धेरै सस्तो शुल्क राखेका छौं।’
सो संस्थाले आमजनतालाई विना जानकारी एकाएक शुल्क वृद्धि गरेको छ । सोबारे मेनेजर पन्तले भने, ‘हामीले सूचनापार्टीमा टाँसेका छौं, त्यहाँ हेरेर थाहा भइहाल्छ नि, बढाएको शुल्क कहाँ कसलाई भन्दै जाने हो र ?’ यसरी बिरामीबाट संकलन भएको रकम कहाँ कति खर्च हुन्छ भन्नेबारे भने उनले केही बताउन चाहेनन् ।
सो संस्थामा दैनिक कति खर्च हुन्छ र कर्मचारीमा कति रकम निकासा गर्नुपर्छ भनी राखिएको जिज्ञासामा मेनेजर पन्तले भने, ‘तपाईंको अफिसबाट लिखित पत्र लिएर आउनुहोस् म त्यो पत्र माथि लैजान्छु अनि दिने नदिनेबारे संस्थाले निर्णय गर्नेछ ।’ केही वर्षअगाडि मात्रै सो संस्थाको बोर्डमै निःशुल्क सेवा भन्ने शब्द नै लेखेर राखिएको भए पनि पछिल्लो दुई वर्षदेखि सो शब्द मेटाइएको छ ।
विभिन्न कलेजबाट परीक्षणकालमा रहेकालाई राखी आँखा परीक्षण गरिँदै आएको छ भने ९ बजेबाट टिकट बिक्री सुरु गरे पनि मुख्य डाक्टर ११ बजेसम्ममा पनि आउने गरेका छैनन् । बिरामीको राम्ररी चेकजाँच गर्नुपर्नेमा सामान्य प्रक्रिया पु-याई आफ्नो लगानीमा सञ्चालन भएका चस्मा पसलमा बिरामीलाई सिफारिससमेत गरिँदै आएको छ ।
अधिकांशले शान्तिनगरमा सञ्चालन भएका चस्मा पसलहरुको नाममा चस्मा बनाउन सिफारिस गर्ने गरेका छन् भने केहीले सोही संस्थाभित्र रहेको औषधि पसलमा सिफारिस गर्ने गरेका छन् । यसरी आफूले सिफारिस गरिएको चस्मा या औषधि पसलमा बिरामी पठाएबापत पनि उनीहरुले कमिसन खाने गरेको एक चस्मा व्यवसायीले बताए । डाक्टरलाई दिनुपर्ने कमिसनकै कारण औषधि या चस्मा महँगोमा खरिद गर्नुपरेको दुखेसोसमेत बिरामीको छ । बिरामीहरूलाई निःशुल्क उपचार गरेको बताउँदै आए पनि को कतिको निःशुल्क उपचार भयो त्यसको विवरण समेत क्लबसँग छैन ।
संस्थाका मेनेजर पन्तले टेलिफोनमा पुनः भने, ‘यहाँहरुलाई के–के विवरण चाहिएको हो त्यसका लागि यहाँहरुले अफिसको लेटरप्याडमा पत्र लेखेर ल्याउनु अनि त्यस सम्बन्धमा निर्णय गरौँला ।’ विदेशी सहयोगमा सञ्चालित सो संस्था तत्कालीन डिस्टिक गभर्नर रामबहादुर श्रेष्ठ रहुन्जेलसम्म न्यूनतम ५० रुपैयाँको नयाँ दर्ता शुल्क कायम थियो । उनको निधनलगत्तै सो शुल्क एक सय २० रुपैयाँ पु-याइएको छ । सो संस्थाले राखिएको बडापत्रमा समेत अप्रेसन गर्दा लाग्ने खर्चबारे कुनै कुरा उल्लेख गरेको छैन । कहाँ कसलाई समस्या परेमा र उजुरी गर्नु परेमा कसलाई सम्पर्क गर्ने भन्नेबारेसमेत सो बडापत्रमा उल्लेख गरिएको छैन । सो संस्थाको बडापत्र औपचारिकता पूरा गर्न मात्र राखिएको छ । आर्थिक दैनिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्