×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाम एकीकरणका दुई अध्यक्ष, दुवै कनिष्ठ पालैपालो नेतृत्व गर्ने सहमतिअनुसारको प्रस्ताव एकता संयोजन समितिमा

PRIME CA

बाम एकीकरणका दुई अध्यक्ष, दुवै कनिष्ठ पालैपालो नेतृत्व गर्ने सहमतिअनुसारको प्रस्ताव एकता संयोजन समितिमा

२७ चैत्र २०७४, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौं – कहिले सासुको पालो, कहिले बुहारीको पालो भनेजस्तै गरी बाम एकीकरणका दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अध्यक्षको वरिष्ठता विवाद टुंगो लाग्ने चरणमा पुगेको छ । त्यसका लागि कार्यदलले दुबैलाई कनिष्ठ बनाउने गरी नै प्रस्ताव तयार पारेको छ ।  
एकीकृत पार्टीमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै अध्यक्ष हुनेछन् । तर, दुवै पालैपालो कनिष्ठ अध्यक्ष पनि बन्नुपर्ने छ । एउटा वरिष्ठ हुँदा अर्को, अर्को वरिष्ठ हुँदा आफू कनिष्ठ हुनुपर्ने प्रस्ताव दुवैले स्वीकार गर्नुपर्ने हुन्छ । 
माओवादीले पार्टी अध्यक्षको जिम्मेबारी प्रचण्डले पाउनुपर्ने दाबी गर्दै आएको थियो । तर एमालेले नेतृत्व छाड्न नमिल्ने भएपछि दुई अध्यक्षात्मक प्रणालीमा कसको हैसियत कस्तो रहने भन्ने विवाद टुंग्याउन यस्तो प्रस्ताव गरिएको हो । 
औपचारिक बैठक, सभा वा सम्मेलनमा जसले अध्यक्षता जसले ग¥यो त्यसैलाई बरिष्ठ मानिने गरी कार्यदलले खाका तयार पारेको हो । यसबाहेक सांगठनिक र मार्गदर्शक सिद्धान्तका विषयमा पनि कार्यदलको खाका तयार भएको छ, जसलाई एकता संयोजन समितिमा अनुमोदनका लागि पठाउने तयारी गरिएको छ ।
एकीकरण भएपछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ प्रस्ताव गर्दै अन्तरिम विधान तयार पारिएको छ । विधानमा एकता महाधिवेशनको घोषणा नभएसम्म दुई अध्यक्ष रहने र आलोपालो अध्यक्षता गर्ने प्रस्ताव गरिएको छ । यो अन्तरिम विधानलाई दुवै पार्टीका अध्यक्षसहित बस्ने एकता संयोजन समितिको बैठकले अनुमोदन गर्नेछ । 
कार्यदलले पार्टी अध्यक्षलाई आठ वटा मुख्य जिम्मेबारी पनि प्रस्ताव गरेको छ । अन्तरिम विधानको धारा १८ मा रहेको केन्द्रीय कमिटी शीर्षकको बुँदा नम्बर ‘च’मा अध्यक्षले केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठकको अध्यक्षता गर्ने, पार्टीका प्रमुख नेताको रूपमा समग्र पार्टीको नेतृत्व गर्ने, केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीका बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यदलले प्रस्ताव गरेको छ ।
नीति तथा केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीका निर्णयहरूको कार्यान्वयन गर्ने गराउने, पार्टी विधानको कार्यान्वयन गर्ने गराउने, केन्द्रीय कमिटीको तर्फबाट राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने, केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीले तोकेका काम अध्यक्षले गर्ने प्रस्ताव तयार पारिएको छ ।
कार्यदलले १८ वर्ष पूरा भएको नेपाली नागरिक, नैतिकवान र स्वच्छ चरित्र भएको, मानसिक सन्तुलन नगुमेको, नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको, पार्टीबाट सञ्चालित आन्दोलन र कार्यक्रमहरूमा सहयोगी रहेको, पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र विधान मान्न तत्पर, उत्पादनमूलक श्रममा संलग्न हुन र सामाजिक आर्थिक रूपान्तरणमा क्रियाशील हुन तत्पर हुनुपर्ने पार्टी सदस्यको योग्यताको प्रस्ताव गरेको छ । सदस्यताका लागि वडा कमिटिले सिफारिस गरेपछि वैधता पाउने उल्लेख छ ।
गैरकम्युनिस्ट पार्टीबाट प्रवेश गरेका व्यक्तिलाई जिल्ला कमिटी वा प्रदेश कमिटी वा केन्द्रीय सङ्गठन विभागको सिफारिसमा केन्द्रीय कमिटीले सङ्गठित सदस्यता प्रदान गर्ने व्यवस्था गरिएको छ । 
माओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापा बादल संयोजक रहेको कार्यदलले नेपाल कम्युनिस्ट पार्टीको अन्तरिम विधान २०७५ तयार पारेको हो । कार्यदलमा एमाले नेताहरू ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल, रघुवीर महासेठ र माओवादी केन्द्रबाट गिरिराजमणी पोखरेल, वर्षमान पुन, मातृका यादव र जनार्दन शर्मा सदस्य रहेका छन् ।
कार्यदलले चुनाव चिन्ह र पार्टीको मार्गनिर्देशक सिद्धान्तका विषयमा सहमति जुटाउन बाँकी छ । प्रधानमन्त्री ओली भारतबाट फर्किएका कारण ९ वैशाखको एकताका लागि अन्य कामको टुंगो लगाउने तयारी भएको छ । प्रचण्डले ओलीसँग परामर्श गरेर मार्गनिर्देशक सिद्धान्तमा सहमति जुटाउने तयारी गरेका छन् । -जनप्रहार साप्ताहिकबाट 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: