- अर्थ सरोकार सम्बाददाता
घटना नम्बर १ :
बुधबार दिउँसो, एक अनलाइन पत्रिकाका सम्पादकलाई ग्लोबल आइएमइ बैंककि कर्मचारी सुनिता शर्मा ढकालले फोन गरिन् । एक महिनाअघिको विज्ञापन प्रकाशन गरेवापतको चेक तयार भयो भन्ने कुरा उनले ठाडो भाषामा यसरी भनिन्, ‘… सर बैंकमा तपाईंको चेक एक्सपायर हुन थालिसक्यो, आउने हो कि के हो ?’ न कुनै सम्बोधन, न कर्पोरेट भाषा । बैंकका कर्तुतबारे कुनै अर्को मिडियाले समाचार लेखेको रिस पोख्दै उनले यसरी बोलिन्, कि मानौं सम्पादकलाई चेक कति महिनामा ‘एक्सपायर’ हुन्छ भन्ने पनि थाहा छैन । यसअघि यहि कुरा गर्न पत्रिकाको मार्केटिङले कार्यालयमा फलोअप गर्नुपर्थ्यो । यसो त उनी बैंकमा नै सबैभन्दा राम्रो बोल्ने, डिल गर्ने कर्मचारीका रुपमा चिनिन्थिन्, तर आजकल उनको भाषा यसरी परिवर्तन भएको छ ।
नतिजा : बेलुकी एक कार्यक्रममा केहि आर्थिक पत्रिकाका सम्पादकहरु थिए । यो कुरा सबैमाझ चल्यो । केहिले यस्तो रुष्ट बोल्नेहरुबाट आएको प्रेस रिलिज बहिष्कार गर्नेसम्मको प्रस्ताव ल्याए । केहि सहमत पनि भए । केहिले आफ्नो संचारगृहमा ‘बिजनेश’ छ भनेर मानेनन् । कहिले अव आइन्दा उनको फोन नै नउठाउन सुझाव दिए । जे होस् बैंकलाई मिडियाले हेर्ने नजर धमिलो भयो ।
घटना नम्बर २ :
आइएमइ ग्रुपकै एक चल्दाफुल्दा व्यक्तिलाई भेट्दै केहि समय अगाडी आइएमइ रेमिटका एक उपल्लो तहका कर्मचारीबारे गुनासो पोखे एक हुल मिडिया संचालकले । सबैको गुनासो थियो, ‘बरु बिजनेश चाहिंदैन । रेस्पोन्स दिए हुन्थ्यो । मिडिया संचालकलाई ‘माग्ने’ सोचियो । यहिबीचमा एक पत्रिकाका सम्पादक बोलिहाले, ‘मैले त आइएमइ रेमिटमा राजु पौडेलजी हुन्जेलसम्म कुनै पनि प्रेस रिलिज नछाप्न आग्रह गरेको छु डेस्कमा ।’ बहस झन् चर्कियो । कुरो के रहेछ भने, तपाईंले पठाएको बिज्ञापन छाप्दिन भन्दा उनलाई निकै पेलेर अन्त्यन्त ‘गैर-कर्पोरेट’ भाषा प्रयोग गरेका रहेछन् पौडेलले ।’ उनले त्यसो भन्दा धेरैले हो मा हो थपे । ‘बिज्ञापन छाप्दिन भन्न पाउने त मिडियाको अधिकारको कुरा हो नि !
नतिजा : केहि थप मिडियाले आइएमइका समाचार बहिष्कार गर्ने निर्णय गरे ।
घटना नम्बर ३ :
चन्द्रागिरी हिल्स लिमिटेडका निर्देशक अम्बिका पौडेलसँग केहि दिन अघि चलेका २ मिडियाका सम्पादक भेट्न गएछन् । कुरा सेयर बजारको थियो । चन्द्रागिरी हिल्सको पनि कुरा हुँदै गयो । अम्बिकाले आइएमइको कुरा निकाले । २ मिडियाका समपादकले आइएमइका कर्मचारी राजु पौडेलसम्बन्धि झन् झन् नकारात्मक कुरा गर्न थाले । अम्बिका पौडेलले पनि उनका बारे चौतर्फी गुनासो आएको स्वीकार गरे । ‘मैले भनेको पनि मान्दैन त्यो, के गर्ने हजुर ।’ उनले मलीन हुँदै गुनासो गरे ।
नतिजा : कर्मचारी र कम्पनीका उपल्लो तहबीचनै समन्वय छैन वा मिडियाका अगाडी ठिक्क पार्ने रहेछन् भन्ने निर्क्योलमा पुगे दुइ सम्पादक । यसले कम्पनीभित्र केहि समस्या चलिरहेको छ भन्ने स्पष्ट भयो ।
घटना नम्बर ४ :
एक आर्थिक मिडियाका संचालकले केहि समय अगाडी आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकाललाई भेटे । भेटमा लामो कुरा भयो । अन्त्यमा उनले ग्लोबल आइएमइ बैंक र आइएमइबाट बिजनेश आइरहेको छ नि ? भनेर सोधे । उनले आफ्ना एक अर्का कर्मचारीलाई उहाँहरुसँग बिजनेश गर्नुहोस् है भनेर निर्देशन पनि दिए । कर्मचारीले टाउको हल्लाए । तर संचालकको निष्कर्ष थियो, ‘राजु पौडेललाई भेट्नुनपरेपछि आइएमइको बिज्ञापन लिन त कुनै समस्या भएन । तर ग्लोबल आइएमइ बैंकमा सुनिता शर्माको करकर सुन्नुपर्छ के बिजनेश गर्नु ।’ कुरा लामो भयो । उनले मिडियालाई आफ्नो समूहलाइ ‘सपोर्ट’ गर्न सामान्य आग्रह पनि गरे । त्यसपछी मिडियाका संचालक र ढकाल छुट्टिए । कार्यालय गएर संचालकले मार्केटिङमा यहि कुरा राखे । मार्केटिङका एक कर्मचारीले ग्लोबल आइएमइ बैंकको मार्केटिङमा यहि कुरा विस्तार लगाए । तर जवाफ आयो, ‘ए अध्यक्षज्यूले नै भन्नु भएको भनेपछि उहाँले नै पठाउने पनि त होला ।’ टोइट ! यस्तो भनाइ खानु भन्दा काम नै नगर्नु बेश । यहि निष्कर्षमा पुग्यो मिडिया ।
यो त प्रतिनिधि उदाहरणमात्र हुन् । पछिल्लो समय आइएमइ र ग्लोबल आइएमइ बैंकका कर्पोरेट भनिएका कर्मचारीको ‘करकर’ धेरै ठाउँमा चर्चाको विषय बन्न थालेको छ । यतिसम्मकि मिडियाका संचालकहरु, ‘हामीलाई बिजनेश चाहिंदैन हजुर तर व्यवहारचाहिं राम्रो गरिदिए हुन्थ्यो, नथार्काइदिए हुन्थ्यो’ भन्ने निर्क्योल बोकेर सम्बन्धित कम्पनीका हाकिमहरुसँग गुनासो गर्न थालेका छन् । कतिपय आर्थिक मिडियाहरुले ग्लोबल आइएमइ बैंक र आइएमइबाट आएको बिज्ञापन नछाप्ने निर्णय गरेका छन् । छापेर पनि के गर्नु ? २० हजारको बिज्ञापन छाप्यो, २० वटा बांगा बाङ्गा कुरा सुन्नुपरेपछी । अझ केहि मिडियाका मार्केटिङका कर्मचारी त ग्लोबल आइएमइमा चेक लिन जान नमान्ने समेत गर्न थालेका छन् ।