×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लड्नै नपर्ने एउटा युद्ध जितेर फर्केको अर्जुन र ४ दिनसम्म साइबर कानुनले हराएको नेपाली पत्रकारिता ! (ब्लग)

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
अर्जुन गिरी । पोलिगन कालेजमा आम सञ्चार तथा पत्रकारिता विषयमा माष्टर्स गर्दाको क्लासमेट । मैले ‘तँ’ भनेर सम्बोधन गर्ने थोरै साथीहरुको माझको मान्छे । पत्रकारिता पढ्दै गर्दा नजिकिएकाहरुमध्ये पत्रकारिताको धार मिल्ने एउटा मित्र । र साथी भएर साथित्व निभाईरहँदा थाहै नपाइ साथीभन्दा बढी आफ्नो भएको मान्छे । मनले नजिक थियौं, छौँ । तर भूगोलमा उ पर थियो । दुवैको व्यस्तताका कारण हामी कहिलेकाहिंमात्र कुरा गर्थ्यौं । प्राय: उसले फोन गर्दा म ब्यस्त र मैले फोन गर्दा उ व्यस्त । अनि बेलुकीको कल ब्याक र कुराकानी । चलिरहेकै थियो सम्बन्धका अनेक आयामहरु । 
बैशाख २ गते अर्जुनले फोन गर्यो । विहान नै फोन गरेकाले केहि विशेष छ भन्ने त्यहि बेला लागेको थियो । फोन त उठायो, तर उसले फोन राख्दै गर्दा रगत उम्लिने खबर सुनायो उसले । ठगीको समाचार लेखेकै कारण पक्राउ परेछ उ । त्यो पनि एउटा व्यक्तिको सामान्य जाहेरीका कारण । उसले ‘मलाई पुलिसले पक्राउ गरेर काठमाडौँ ल्याउँदैछ, त्यहाँ जानेको तैं होस्, खबर गरेको’ भनेर जानकारी डियो । मलाई राम्रोसँग थाहा थियो, उसले सम्बोधन गरेको ताण्डव साप्ताहिक र ताण्डव न्यूज डटकम प्रेस काउन्सिलमा दर्ता थियो । अनि सम्बन्धित निकायमा दर्ता भएको एउटा सञ्चारमाध्यमको सम्पादकलाई कसरी लाग्न सक्छ साइबर कानुन ? 
दिमागमा यिनै प्रश्नहरु गर्दै गर्दा ज्यान सीआइबीको कार्यालय महाराजगन्ज पुगिसकेको थियो । उसलाई पक्राउ गरेर काठमाडौँ ल्याईएको जानकारी नेपाल पत्रकार महासंघलाई गरियो । सीआइबीमा पुगेपछि यो सीआइबीका तर्फबाट यो केस हेरिरहेका टंक भट्टराइलाई भेट भयो । अनि सोध्यौं हामीले, ‘एउटा पत्रकार कसरी साइबर कानुनको फन्दामा पर्यो ?’ उनले हामीलाई उनीविरुद्धको जाहेरी देखाए । यो केस हामीले हेर्न मिल्दैन तपाईं प्रेस काउन्सिल जानु भनेर उनले पहिला नै भनिसकेका रहेछन् । तर काउन्सिलबाट जाहेरीकर्ताले ताण्डवन्यूज डटकम प्रेस काउन्सिलमा दर्ता भएको छैन भनेर पत्र पठाएका रहेछन् । अचम्म ! उसको अनलाइन दर्ता भएको मलाई थाहा छ । यो कसरी भयो ? तत्काल प्रेस काउन्सिलमा खबर गरियो । 
काउन्सिलको विद्युतीय सञ्चारमाध्यमको फाँट हेर्ने रामशरण बोहोरा हुनुहुन्छ । प्रेस काउन्सिलमा मैले देखेको सबैभन्दा बढी अनलाइन र पत्रकारका कथा ब्यथा बुझ्ने मान्छे हो उहाँ । राती ८ बजेसम्म बसेर उहाँले काम गरेको देखेको छु मैले । व्यक्तिगत कुनै सम्बन्ध नभएपनि अनलाइनको विषयमा केहि कुरा बुझ्नुपर्दा राती ९ बजे पनि फोन उठाउने उहाँबाट यस्तो गल्ती भयो भन्ने सोच्न सकिने अवस्था थिएन । मैले तत्काल सीआइबीमा भनें, ‘त्यो पत्रमा रामशरण बोहोरा होइन, अरु कसैको हस्ताक्षर हुनुपर्छ। हेर्नुहोस् त !’ नभन्दै हो रहेछ । सुरेन्द्र मल्ल नाम गरेका कर्मचारीले यस्तो पत्र लेखिदिएका रहेछन् । उनीमाथि शंका हुने नै भयो ।

EXCLUSIVE : ‘प्रेस काउन्सिलकै लापरवाहीका कारण ममाथि साइबर क्राइम मुद्धा लाग्यो’ (भिडियो अन्तर्वार्ता)

जसले जे गरेको भएपनि काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठलाई खबर गरियो । किशोर दाइले आवश्यक समन्वय गर्छु भन्नुभयो । र तुरुन्तै पत्र सच्याएर सीआइबीमा पठाउनुभयो । उहाँले यसरी पत्र लेख्ने कर्मचारीलाई स्पष्टीकरणसमेत सोधिएको उल्लेख गर्दै काउन्सिलका तर्फबाट भएको त्रुटीको लागि क्षमा याचना गर्दै सीआइबीलाई सकेसम्म यो केस टुंग्याउन अनुरोध गर्नुभयो । तर केस अघि बढीसकेको रहेछ । कानुनको विद्यार्थी भएकाले जाहेरी परिसकेपछि यति छिट्टो प्रक्रिया सकिंदैन भन्ने मलाई लागिसकेको थियो । केहि छिनपछी ताण्डवका प्रबन्ध निर्देशक बिजय लम्साल आउनुभयो । अर्जुनको सबै व्यवस्थापन उहाँकै नेतृत्वमा भयो ।

 मानसिक तनावले होला सायद उ अलि आस्वस्त भएको भान भयो । प्रेसर केहि बढेको छ भन्दै थियो । उसलाई हिरासतमा राख्ने कुरा भएन । हामीले सीआइबीका टंक भट्टराइलाई उ बिरामी भएकाले भोलि विहान १० बजे हाजिर गर्नेगरी छोड्न भन्यौं । प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे, नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्ट र क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य कमल बुढा र मेरो रोहवरमा उसलाई मैले मेरै घर ल्याएँ । पत्रकारिताको अवको भविष्यका बारेमा छलफल गरियो । पोखराको रेस्पोन्स थियो, ‘अर्जुनजस्तो निडर मान्छे त कोहि व्यापारीको इसारामा समातियो भने अरुको भविष्य के होला पोखारा बेश्ड पत्रकारितामा ?

भोलिपल्ट अघिल्लो दिन भनिएझैँ १० बजे सीआइबीमा उपस्थित गराइयो । साइबर अपराधको केस परिसकेकाले प्रक्रियागत रुपमा अगाडी बढ्नुपर्ने भयो । त्यो दिन बयान लगायतका काम भयो । उ अस्वस्थ रहेकाले अस्पताल पुर्याइयो । अस्पतालमै हिरासतमा बस्यो । अघिल्लो दिन हामी घर गइसकेकाले हामीलाई भेट्न नसक्नुभएका राजेश राई भोलिपल्ट सीआइबी आइपुग्नुभयो । उहाँ प्रेस चौतारी नेपालका महासचिव हुनुहुन्छ । उहाँको समन्व्ययकारी भूमिका साच्चैको राम्रो थियो । अर्जुनलाई बयानका लागि सरकारी वकिलको कार्यलयमा लगियो । त्यहाँ प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले राम्रो समन्वय गर्नुभयो । आफ्नो मान्छे समातिनुको पीडाका बीच उहाँले काउन्सिलको लापरवाही र व्यापारीको सेटिङ विरुद्ध कडा रुपमा प्रस्तुत हुनुभयो । उहाँको कडापनका कारण होला सायद त्यसको बेलुका अस्पतालमा भेट्न धेरै आएका थिए ।



राती अस्पतालमै बस्नुपर्ने भयो । प्रेस काउन्सिल नेपालबाट राम शरण बोहोरा, किशोर श्रेष्ठ, गोपाल बुढाथोकी, झविन्द्र भुसाल आउनुभयो । उहाँहरुले आफ्ना कर्मचारीबाट गल्ती भएको तर यसको नियत गलत नदेखिएको स्पष्ट पार्नुभयो । त्यहि रात अधिवक्ता तथा मिडियाकर्मी स्वागत नेपाल पनि अस्पताल आउनुभयो । उहाँले हामीलाई चाहिने कुनै पनि कानुनी सहायताका लागि आफु तयार भएको बताउनुभयो । हामीलाई ठुलो राहत मिलेझैं भयो । भोलिपल्ट पनि कानुनी प्रक्रिया सकिने अवस्था थिएन । तर यहाँसम्म आइपुग्दा देशभरका पत्रकारहरु आन्दोलनमा होमिइसकेका थिए । ठाउँ-ठाउँमा विरोधका कार्यक्रम भए । र देशमा पत्रकारलाई साइबर क्राइम लगाउनु हुँदैन भन्ने आवाज बुलन्द रुपमा उठ्यो । जो निकै अगाडी उठ्नुपर्ने थियो । 

५ गते केस अदालत पुग्यो । अधिवक्ता स्वागत नेपाल लगायतले निकै राम्रो बहस गर्नुभयो । अदालतबाट अर्जुन गिरीलाई सामान्य तारिखमा रिहाइ गर्न आदेश आएपछि अन्तत: पत्रकारिताले नगर्नुपर्ने प्रतिष्पर्धामा सानदारको जित हाँसील गर्यो । अर्जुनलाई छुटाएर हामी भोलिपल्टको पर्खाइमा बस्यौँ । भोलिपल्ट पोखराले अर्जुनलाई पर्खिरहेको थियो । फेरि पनि पोखरामा ताण्डवको कार्यालयबाट थुप्रै तस्कर, बदमास र ठगका विरुद्ध पत्रकारिताको ताण्डव देखाउनुपर्नेछ । देखाउँछौँ । 
तर समाचार लेखेकै कारण हातमा हतकडी लगाईनुपर्ने अर्जुनको पीडा यो अन्तिम बनोस् भन्ने हाम्रो चाहाना हो । जसरी साइबर क्राइमको हतियारले पत्रकारहरुको हात बाँध्ने प्रयास हुँदैछ, त्यसको अन्त्य हुनैपर्छ । र यो बाध्यताको अन्त्य नभएसम्म हामी लड्नुपर्छ, लडीरहनेछौँ पनि । जसका लागि यहाँ हजारौं अर्जुनहरु तयार छौं । तर अव अर्जुनले भोगेको नियति कसैले भोग्नु नपरोस् ! 
यो पनि पढ्नुहोस् :

    Hamro Parto AD
    TRITON COLLEGE

    प्रतिक्रिया दिनुहोस्

    सिफारिस: