×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दार्चुलाबाट ‘ग्राउण्ड जिरो रिपोर्ट’ : ‘नेपाल सरकार हामीलाई कि उद्धार गर, कि गोली हानेर मारिदेउ…’

दार्चुला । भारतको भागेश्वरमा खच्चड चलाउन गएका मार्मा गाउँपालिका–३ का ३० वर्षीय रमेश विष्ट सोमबार दिउँसो उर्लेको महाकाली नदीमा पौडिएर दार्चुला पुगे । शुक्रबारदेखि धारचुलामा अलपत्र परेका विष्ट नेपाल सरकारले झोलुङ्गे पुल नखुलाउँदा केहि विकल्प नपाएर पौडिएर आउनुपरेको हो । विष्टजस्तै बैतडी डिलाशैनी गाउँपालिका १ का इन्द्र खाती र धनबहादुर धामी पनि पौडिएर दार्चुला पुगेका छन् । विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथामका लागि सरकारले लकडाउन अवधि बढाएपछि भारतबाट स्वदेश आउने क्रममा रहेका सयौं नेपाली सीमा क्षेत्र धारचुलामा अलपत्र परेका छन् । भारतको पिथौरागढ क्षेत्रका विभिन्न ठाउँमा काम गरि घर फर्कन लागेका नेपाली स्वदेश फर्कने क्रममा धारचुलामै अलपत्र परेका छन् ।
‘मर्नुपरे आफ्नै देशमा मरौंला’
यसो त रमेश बिष्टको मात्र होइन सुदुरपश्चिम प्रदेशमा धेरैको रोदन यस्तै छ । डिलाशैनी गाउँपालिकाका धनबहादुर धामी आफुहरु नेपाली भएको कारण नेपालमै बरु क्वारेन्टाइनमा बस्न सजिलो होला भनेर जोखिम मोलेर आएको सुनाउँदै थिए । सयौं मान्छेको भीडमा न खान पाएका छौं, न सुत्न ठाउँ नै । दिनभर चैतको पारिलो घाममा राखिएको छ, त्यो भन्दा आफ्नो देशको क्वारेन्टाइन विकल्प हेरेरै आएका हौँ । सरकारप्रति केहि आक्रोश पोख्दै उनी भन्छन्, ‘धारचुलामा कोरोना रोगले भन्दा पनि भोकले मरिने अवस्था आयो । प्रशासनले उद्धार गरेन । छोराछोरीको मायाले त्यतै बस्न सकिन । यसै पनि मरिने, जेहोला होला भनेर नेपाल फर्किएँ । मर्नै परे आफ्नै देशमा मरौंला तर यहाँ खान नपाएर परदेशमा पर्यो भन्ने किन पार्नु भनेर नेपाल फर्किएँ ।’ चार दिनदेखि खानेकुरा पाउन नसकेको पीडा पोख्दै उनी सुनाउँछन्, ‘चाउचाउ, विस्कुट किन्न पनि पाइएको छैन् । ‘नेपाल सरकार हामीलाई कि उद्धार गर, कि गोली हानेर मारिदेउ…’ उनले केहि भावुक हुँदै भने । 
भोकै मारिने पीर छ नागरिकलाई
धेरै मानिसहरु एकै ठाउँमा भएकाले रोगको चिन्ता उस्तै छ । ‘क्वारेन्टाइनमा बस्न तयार छौं, तर सरकार हामीलाई नागरिक देख्दैन ।’ दार्चुलामा आउन नपाएर धारचुलामा बसेकाहरुको पीडाले देशमा सरकार छ भन्ने अनुभूति हुँदैन । धारचुलामा रोकिएका अधिकांश बैतडीको पूच्र्यौडी, डिलाशैन, बझाङ, लगायतका ठाउँका छन् । भने दार्चुलाको अपिहिमाल, मार्मा गाउँपालिका र शैल्यशिखर नगरपालिकाका स्थानीय रहेका छन् । शुक्रबार राति सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल खुलाएर धारचुलामा अलपत्र परेका दुई सय २५ जनाको उद्धार गरे पनि सोही रातिदेखि मानिसहरु थपिँदै आएका व्यक्ति अलपत्र छन् । सोमबारसम्म धारचुलामा दार्चुलाका ९४ जना, बैतडीका २ सय, बझाङका १५८ जना, कैलालीका ७७ जना, डडेल्धुराका २७ र डोटीका १ जना रहेका छन् । भारतका विभिन्न ठाउमा मजदुरी गरेर फर्किएका उनीहरूले महाकाली पुलको गेट नखोलिएको भन्दै आइतबार बेलुकतिर सरकारविरुद्ध नाराबाजी गरेका थिए । भने सोमबार दिउँसो नेपाल प्रहरी र सशस्त्र प्रहरी लक्षित गर्दै पारी धारचुलाबाट वारी दार्चुलामा ढुंगा प्रहार गरेका थिए । भारतमा कोरोना संक्रमण फैलिदै गएपछि उनीहरू घर फर्किएका हुन । तर, नेपाल–भारत जोड्ने पुलको गेट बन्द गरिएको हुँदा उनीहरू नेपाल प्रवेश गर्न पाएका छैनन् । 
धारचुलामा अलपत्र नेपालीको भारतले क्वारेन्टाइनमा राख्यो
चार दिनदेखि धारचुलामा पुल क्षेत्रमा अलपत्र परेका नेपाली मजदुरहहरुको व्यवस्थापन भारतीय पक्षले गरेको छ । नेपाल र भारतमा लकडाउन पछि पुगेका नेपालीहरुको भारतले तत्काललाई क्वारेन्टाइनमा राख्ने भएको हो । धारचुला क्षेत्रका उपजिल्ला अधिकारी अनिलकुमार सुक्लका अनुसार धारचुला क्षेत्रको धारचुला क्षेत्रमा रहेको मिनी स्टेडियम, बालुवाकोटमा रहेको जिआइसीको भवन, गलातिमा रहेको फायर बिग्रेटको नयाँ भवन, महाकाली नदी किनारमा रहेको गौशाला र जौलजिवी क्षेत्रमा रहेको राम लिला मैदानमा नेपालीको व्यवस्थापन गरिने छ । पटक पटक अनुरोध गर्दा नि नेपालले नसुनेपछि भारतमै व्यवस्थापन गर्नुपरेको उपजिल्ला अधिकारी सुक्लले बताएका छन् ।

के भन्छन् दार्चुलाका प्रजिअ ? 
यता दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको तर्क बेग्लै छ । ‘लकडाउन भनेको जो जहाँ छ, त्यही बस्ने हो। नागरिकले लक डाउनको अर्थ नबुझेर पुल खुल्दैछ भन्ने हल्लाका पछाडि लागेर धारचुलामा जम्मा भए । यसो हुन सक्दैन। उहाँहरु जहाँ हुनुहुन्छ त्यहिं नै क्वारेन्टाईनमा बस्नुपर्छ । त्यहि अनुरुप भारतले उहाँहरुलाई क्वारेन्टाईनमा राखेको हो ।’ उनले भने ।

लकडाउनको अवधिमा पुल नखुल्ने पनि उनले प्रष्ट पारे । ‘लकडाउन भनेपछि लकडाउन नै हुन्छ । जो जहाँ छ, त्यहीं बस्ने हो । कसैलाई कतै जाने वा आउने छुट हुन सक्दैन ।’ उनले भने ।

पौडी खेलेर नेपाल फर्कनुको नागरिकको पीडा बारे उनी भन्छन्,’ कोहि पनि नेपालीहरु त्यसरी पौडी खेलेर वारि आउनुहुन्छ भन्ने हामीले सोचेका थिएनौँ । त्यसैले जुन अवस्थामा आएको थियो, त्यही अवस्थामा समातेर ल्याएको हो । समातेर ल्याउनुको विकल्प हामीसँग थिएन ।  नागरिकका पनि कर्तव्य हुन्छन् । सबैले यो कुरा बुझ्नुपर्छ । यो लकडाउन सबैले मान्नुको विकल्प छैन । यो लकडाउन हाम्रै सम्भावित जोखिम कम गर्नका लागि हो भन्ने कुरा हरेक नागरिकले बुझ्नुपर्छ । यस विषयमा दुइ देशबीच सहमति पनि भइ सकेको अवस्थामा नागरिक थप जिम्मेवार बन्नुको विकल्प छैन । हामीले हाम्रो ठाउँबाट गर्नुपर्ने पहल सबै गरिरहका छौं । हाम्रा नागरिकहरुको चिन्ता हामीलाई भन्दा बढी अरुलाई हुनै सक्दैन र हुनु हुँदैन ।       
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: