×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तरीमा आरडिटी किट र भिटिएम अभाव, कोरोना परीक्षण स्थगित

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

सप्तरीमा आरडिटी किट र भिटिएम अभाव, कोरोना परीक्षण स्थगित

Artha Sarokar

११ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • रासस
काठमाडौं – सप्तरीमा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किटको अभाव भएको छ । जिल्लाको सप्तकोशी र कञ्चनरूपमा ठूलो सङ्ख्यामा कोरोना भाइरस परीक्षण भएपछि अहिले किटको अभाव भएको हो । किट अभावमा होम क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण हुन सकिराखेको छैन् । मागअनुसार किट प्राप्त नभएपछि उनीहरुको कोरोना परीक्षण हुन नसकेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोकथाम र नियन्त्रणको तयारी र अवस्थाका बारेमा अनुगमन तथा निरीक्षण गर्न आएका प्रदेश नं. २ महिला तथा बालबालिका सामाजिक न्याय समितिसँग स्वास्थ्य कार्यालय र गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुखले आरडिटी किटसहितको स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गए ।
प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आपूर्ति केन्द्रबाट चैत ३० गते प्राप्त आठ सयमध्ये सात सय ४० किट सकिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरूपलाई उपलब्ध एक सय किट पनि सकिएको सिनियर अहेव डम्बर गुप्ताले बताए ।
यस्तै गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा आएको १ सय ६० मध्ये १ सय १७ किट प्रयोग भइसकेको अस्पतालले जनाएको छ । अब बाँकी रहेका किट सकिने जानकारी गराउँदै स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले तत्काल किट उपलब्ध नभए परीक्षण रोकिनेछ भने ।
उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा कोरोना भाइरसबाट सङ्क्रमित २८ मध्ये दुई जना सप्तरीको सुरुङ्गा नगरपालिका–११ औराहा भजक्का टोलका रहेकाले सो क्षेत्रमा कोरोना परीक्षणलाई तीब्र पार्न स्थानीयवासीले माग गरेका छन् । बाँकी रहेको आरडिटी किटले सो क्षेत्रमा परीक्षण सम्पन्न गर्न सक्ने अवस्था नरहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
कार्यालयका अनुसार अझै चार महिलासहित १ सय २७ जना स्थानीय तहद्वारा सञ्चालित क्वारेन्टाइनमा र ४९ जना होम क्वारेन्टाइनमा छन् । “हामीसँग भएको किटले सबै जनाको परीक्षण गर्न सकिदैन”, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले भने, “थप किटका लागि माग गरेका छौं, उपलब्ध भएपछि आवश्यकता अनुसार सबैको कोरोना परीक्षण गरिनेछ ।”
“आरडिटी किट, भिटिएम, पिपिई, मास्क, सेनिटाइजर, थर्मल गनलगायत आवश्यक स्वस्थ्य सामग्रीको माग गरेका छौं”, उनले भने, “बोदे बर्साइनमा नेपाली सेनाको सहयोगमा स्वाब सङ्कलन केन्द्र स्थापना गर्ने निर्णय भएको पाँच दिन वितिसक्दा पनि भिटिएम र आरडिटी किटको अभावमा परीक्षण शुरु हुन सकेको छैन् ।” बोदे बर्साइन नगरपालिका–५ जाँजरमा फागुन ३ देखि ५ गतेसम्म एक लाख बढी इस्लाम धर्मालम्बीहरूको सहभागितमा धार्मिक सभा ‘इज्तिमा’ भएको थियो ।
‘इज्तिमा’मा सहभागी जमातीहरू नै आफ्नो समुदायमा धर्म प्रचार गर्न बाँडिएर फरक–फरक मस्जिद गएका हुन् । ‘इज्तिमा’को मुख्य आयोजक र व्यवस्थापक बोदे बर्साइन भएकाले जिल्ला सुरक्षा समितिले सो क्षेत्रलाई जोखिमयुक्त ठहर गर्दै बोदे बर्साइनमा स्वाब सङ्कलन गर्ने निर्णय गरेको हो । नेपाली सेनाको चिकित्सकसहितको टोली स्वाब सङ्कलनका लागि आउन तयारी अवस्थामा रहे पनि भिटिएम र आरडिटीकै अभावले परीक्षण शुरु हुन सकेको छैन् ।
जिल्लामा मागअनुसार भिटिएम र आरडीटी किटलगायत पिपिई, मास्कजस्ता सामग्री नआएको भन्दै निमित्त प्रमुख यादवले प्रदेश नं. २ को महिला तथा बालबालिका सामाजिक न्याय समितिलाई जानकारी दिए ।“किटलगायत आवश्यक स्वास्थ्य सामग्रीको अभाव छ”, गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले भने, “अहिले रकमभन्दा आवश्यक सामग्री र दक्ष जनशक्तिको आवश्यकता छ, रकम वा आश्वासनभन्दा जनशक्ति र चाहिने सामग्री आएमा कोरोना सङ्क्रमणको जोखिममा रहेका सबै जनाको परीक्षण गर्न सहज हुन्छ ।”
समितिका सभापति जैनुल राइनले प्रदेश सरकारले निर्णय गरेर पनि जडान हुन नसकेको पिसिआर मेशिन जडान गर्न र स्वास्थ्य सुरक्षा सामग्रीहरू उपलब्ध गराउन प्रदेश सरकारलाई निर्देशन दिने आश्वासन दिए । सभापति राइनसँगै प्रदेश अर्थ समितिका सभापति मनिष सुमन, प्रदेशसभा सदस्यहरू शारदा थापा, नेत्रविक्रम साह, प्रमिलाकुमारी यादव, प्रमिला दास, मञ्जु यादव, सरस्वती चौधरी, शाखा अधिकृत रेखाकुमारी यादवको टोलीले स्वास्थ्य कार्यालय, गजेन्द्रनारायण सिंह अस्पताल राजविराज र जिल्ला अस्पतालको रूपमा स्तरोन्नती गर्न लागिएको भारदह अस्पतालको निरीक्षण तथा अनुगमन गरे । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी