
पोखरा । बागलुङ, स्याङ्जा, नवलपुर र म्यादीमा समेत कोरोना भाइरसको सङ्क्रमित फेला परेसँगै गण्डकी प्रदेशमा उच्च सतर्कता अपनाउन शुरु गरिएको छ । प्रदेशको राजधानी पोखरासहित प्रवेशका मुख्य नाका तथा बजार क्षेत्रमा जाँचलाई कडाइ गरिएको छ । हालसम्म कोभिड–१९ पुष्टि भएकाको सङ्ख्या १९ पुगेको छ । दुईजना भने उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
सङ्क्रमितको सङ्ख्या वृद्धि हुन थालेसँगै प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय समितिले नाकामा कडाइ गर्ने, जारी बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने तथा छिमेकी मुलुक भारतबाट आएका सबैको पिसिआर परीक्षण गर्ने निर्णय गरेको छ ।
प्रदेशको नाकामा आइपुगेका व्यक्तिलाई सुरक्षित रुपमा सम्वन्धित जिल्लाको गाउँपालिकामा लगेर क्वारेन्टिनमा राख्न समितिले ११ वटै जिल्लामा कोरोना रोकथामका लागि गठित जिल्लास्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरलाई निर्देशन दिएको छ ।
उच्चस्तरीय समितिका संयोजकसमेत रहनुभएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवलपुरको त्रिवेणी, दाउन्ने, गँैडाकोट, स्याङ्जाको राम्दी, तनहुँको आँबुखैरेनी, बागलुङको बुर्तिवाङलगायत प्रदेशका प्रमुख नाकामा थप कडाइ गर्न प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई निर्देशन दिएको जानकारी दिनुभयो । उहाँका अनुसार अन्यत्रबाट समेत लुकीछिपी प्रदेशमा छिर्ने गरेकाले त्यसमा समेत कडाइ गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।
समितिको बिहीबार बसेको बैठकले छिमेकी मुलुक भारतलगायत देशका अन्य भागबाट नाकामा आएकाहरुलाई सुरक्षित साथ सम्बन्धित जिल्लाको क्वारेन्टिनमा राखिने र भारतबाट आएका सबैको अनिवार्य पिसिआर परीक्षणको व्यवस्था मिलाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
“प्रदेशमा अहिले सङ्क्रमण बढिरहेको अवस्थामा प्रदेशका मुख्य र साना नाकामा समेत कडाइ गर्ने र नाकामा आएकाहरुलाई सम्बन्धित ठाउँमा पु¥याएर अनिवार्य पिसिआर परीक्षण गर्ने निर्णय गरेका छौँ ।” उहाँले भन्नुभयो, “विगत दुई महिनादेखि कोभिड–१९ सङ्क्रमण रोक्न फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतको समेत पिसिआर परीक्षण गर्छौँ ।”
प्रदेशमा कोरोना रोकथामका लागि यसअघि सरकारले रु १५ करोडको रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गरेको थियो । सो कोषको रकम सकिन लागेकाले उच्चस्तरीय निर्देशक समितिको बैठकले थप रु १५ करोड विनियोजनका लागि सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
कोषमा रकम थप गर्नका लागि सामाजिक विकास मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने र निर्णय गरिने उहाँले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारले निर्माण गरेका कतिपय क्वारेन्टिन न्यूनतम मापदण्ड र गुणस्तरको नभएकाले त्यस्ता क्वारेन्टिनको अनुगमन गरी मापदण्डअनुसारको बनाउने निर्णयसमेत बैठकले गरेको छ । सरकारले यसअघि नै प्रदेशका ११ वटै जिल्ला अस्पतालमा सघन उपचार कक्ष ९आइसियु० निर्माणका लागि रु १४ करोड बजेट विनियोजन गरिसकेको छ ।
अव्यवस्थित क्वारेन्टिनका कारणबाट थप सङ्क्रमण फैलन सक्नेतर्फ सचेत बन्दै क्वारेन्टिनको मापदण्ड निर्माणका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जिम्मा दिइएको छ । सो मापदण्ड सबै क्वारेन्टिनमा पालनाका लागि जिल्लास्तरीय सिसिएमसीमा पठाइने छ । सङ्क्रमण फैलनबाट रोक्न अत्यावश्यक सामग्री ढुवानी गर्ने मालबाहक सवारी साधनबाहेक अन्यलाई प्रदेशमा भित्रिन नदिएको, कोही व्यक्ति आएको फेला परेमा समेत उनीहरुलाई फिर्ता पठाइएको र परीक्षणको दायरा बढाइएको समितिका प्रवक्ता एवं प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “छिमेकी प्रदेशसहित गण्डकीका समेत चार जिल्लामा सङ्क्रमित सङ्ख्या बढेसँगै हामीले थप सतर्कता अपनाउन शुरु गरेका छौँ । नाकामा सुरक्षाकर्मीको परिचालन बढाउँदै जाँचलाई तीव्रता दिएका छौँ भने स्वास्थ्य संस्थामा समेत सोहीअनुसार व्यवस्थापनका काम अघि बढाइएको छ ।” प्रदेशमा कोरोना रोकथामका लागि गठन गरिएका क्वारेन्टिन निर्माण, आपूर्ति, बजार अनुगमन, अस्पताल व्यवस्थापन तथा कर्मचारी व्यवस्थापनलगायत विभिन्न १० वटा विषयगत समितिका कामलाई समेत पछिल्ला दिनमा थप प्रभावकारी बनाउँदै लगिएको उहाँले जानकारी दिनुभयो ।
कोरोनाको सङ्क्रमण देखिएको खण्डमा सम्बन्धित जिल्लामा नै उपचारको व्यवस्थाका लागि जिल्लास्थित अस्पताललाई तयारी अवस्थामा राखिएको र स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिइएको जनाइएको छ । प्रदेशमा हालसम्म दुई हजार ४४३ जनाको पिसिआर र सात हजार ९५० को आरडिटी जाँच गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेशमा हालसम्म बागलुङमा आठ, स्याङ्जा र नवलपरासीमा पाँच/पाँच तथा म्याग्दीमा एकजना सङ्क्रमित छन् । स्याङजाका सङ्क्रमितमध्ये एकजना महिलाको पोखरास्थित कोरोना डेडिकेटेड अस्पताल तोकिएको पश्चिमाञ्चल अस्पतालको आइसोलेशन कक्षमा उपचार भइरहेको छ । बागलुङका दुईजना भने यसअघि नै कोरोनालाई जितेर घर फर्किएका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्