×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घट्दैछ उपत्यकामा राहत लिनेहरुको संख्या

LAXMI SUNRISE BANK

घट्दैछ उपत्यकामा राहत लिनेहरुको संख्या

४ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौं । सरकारले बन्दाबन्दीको अवधि थप गरिरहँदा काठमाडौँ उपत्यकाबाट धेरै नागरिक जिल्ला–जिल्लामा फर्केसँगै अहिले उपत्यकामा राहत माग्नेको सङ्ख्या कम भएको छ । दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेमध्ये धेरै फर्किएकाले अहिले राहत चाहियो भन्दै आउनेको सङ्ख्या ह्वात्तै घटेको उपत्यकाका नगरपालिका बताउँछन् । 
नागरिकको स्वास्थ्य सुरक्षाका लागि सरकारले गरेको बन्दाबन्दी दोस्रो/तेस्रो सातामा पुग्दा उपत्यकामा राहत माग्ने धेरै थिए । तीमध्ये कतिपयले राहत नपाएको त कतिपयले पर्याप्त नभएको गुनासो गरेका थिए । एकातिर उपत्यकाका नगरपालिकाले राहत माग्ने सबैलाई दिइएको बताएका थिए भने नागरिकले राहत पाउन झन्झट भएको बताएका थिए । अहिले आफूले माग्न आउनेलाई दिइरहे पनि राहत माग्न आउनेको सङ्ख्या ह्वात्तै घटेको उपत्यकाको नगरपालिकाको भनाइ छ । पहिले बहालमा बस्ने व्यक्ति र न्यून वर्गमा मात्रै खाद्यान्नको अभाव भए पनि अहिले यो समस्या घरधनी र मध्यम वर्गमा समेत पुग्न थालेको पनि उनीहरुको अनुभव छ । 
चैतको ११ गते सरकारले बन्दाबन्दीको घोषणा गरेपछि पहिलो सातादेखि नै ललितपुर महानगरपालिकाले यहाँ बसोबास गर्ने विपन्न वर्गलाई खाद्यान्न राहत बाँडेको थियो । एक चरणमा राहत वितरणपछि अर्को चरणमा वडा वडाले बिहान र साँझ खाना खुवाएको प्रवक्ता राजु महर्जनले बताए । महानगरका २९ वटै वडाले आफ्नो क्षेत्रमा बसोबास गर्ने खाद्यान्न अभाव रहेका नागरिकलाई खाना खुवाएको थियो । नगरका कतिपय स्थानमा सामाजिक संस्था, समूह र व्यक्तिले समेत सामूहिकरुपमा खाना खुवाएको देखिन्थ्यो । उपत्यकामा यो साता कोभिड–१९ का नयाँ सङ्क्रमित भेटिएर सरकारले बन्दाबन्दी कडाइ गरेकाले अहिले सामूहिक खाना खुवाउन रोकिएको छ । महानगरले वडा कार्यालयबाटै राहत वितरण गर्ने गरी खाद्यान्न पठाएको उनले बताए । उनले भने, ‘आवश्यक भएका व्यक्तिले आएर लैजानुभएको छ, तर राहत लिन आउने सबै वडामा घटेको छ ।’
बन्दाबन्दी जारी रहँदा महानगरभित्र घर भएकालाई पनि समस्या भएको प्रवक्ता महर्जनले बताए । विभिन्न पेशामा आबद्ध व्यक्तिले काम गर्न नपाउँदा र कतिपयको रोजगारी भए पनि तलब नपाउँदा खाद्यान्न अभाव हुन थालेको छ । उनले भने, ‘घर भए पनि राहत माग्दा अरुले के सोच्लान् भनेर उहाँहरु आउन सक्नुभएको छैन ।’
काठमाडौँको कीर्तिपुर नगरपालिकाले झण्डै दुई महिनाको अवधिमा १० हजारलाई राहत बाँडेको छ । बन्दाबन्दीपछि पहिले केही समय दिनमा सयौँजना राहतका लागि आउने भए पनि दुई साता पहिलेबाट यो सङ्ख्या कम भएको नगर प्रमुख रमेश महर्जनले बताए । कतिपय मानिस घर फर्किएको र कतिपयले बैंक, सहकारीलगायत संस्था खुलेकाले पैसा झिक्न पाएको उनले बताए । विभिन्न संस्था र विकास निर्माणका काम हुँदा कतिपय काम गर्न थालेकाले यो समस्या कम भएको उनको भनाइ छ । उनले भने, ‘काम नभएका घर फर्किएको र यहाँ बसेकाहरु काममा लागेकाले पनि राहत माग्ने घटेको हुनसक्छ ।’
नगरपालिकाभित्र बसोबास गर्ने दैनिक ज्याला मजदुरी गर्ने ७५ प्रतिशत नागरिक आ–आफ्नो घर फर्किएको भक्तपुरको सूर्यविनायक नगरपालिकाका प्रमुखवासुदेव थापाले बताए । अहिले यहाँ भएका र दैनिक खानाको समस्या भएकालाई नियमित दिइरहेको उनको भनाइ छ । कुनै पनि व्यक्तिले मलाई राहत चाहियो भनेपछि उसलाई साँच्चै आवश्यक हो–होइन हेरेर एक घण्टाभित्रमा राहत दिइएको उनले बताए । नगरपालिकाले व्यक्तिसँग नागरिकता, घरबेटीको सिफारिसलगायत कुनै पनि कागजात नमागी राहत दिइरहेको छ । अहिलेसम्म यस नगरपालिकाबाट ६ हजारले राहत लिएका छन् । कतिपय संस्था पनि नगरपालिकासँगको समन्वयमा राहत वितरणमा लागेका छन् । उनले भने, ‘आवश्यक पर्ने व्यक्तिलाई दोहो¥याएर पनि दिइरहेका छौँ ।’
महालक्ष्मीमा सक्नेलाई काम नसक्नेलाई राहत 
बन्दाबन्दी लम्बिँदै जाँदा ललितपुरको महालक्ष्मी नगरपालिकाले भने विपन्न वर्गलाई भोको हुन नदिन नयाँ योजना शुरु गरेको छ । बन्दाबन्दीका समयमा भइरहेको विकास निर्माणमा काम गर्न सक्नेलाई काममा लगाएर उनीहरुलाई आवश्यक राहत दिइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले ठेक्का सम्झौतामार्फत भइरहेका काममा निर्माण व्यवसायीलाई भनेर यही नगरपालिकामा बसोबास गर्ने काम गर्न सक्ने व्यक्तिलाई काममा लगाइएको नगर प्रमुख रामेश्वर श्रेष्ठले बताए ।
नगरपालिका आफैँले पनि यो समयमा कुलो, राजकुलो, पाटीलगायत विकास निर्माणका काम अघि बढाएको छ । दैनिक खानाको आवश्यकता भएका व्यक्तिलाई काममा लगाइएको छ । उनीहरुमध्ये कतिलाई राहतवापत खाद्यान्न र कतिपयलाई आवश्यक पर्दा नगद दिइएको उनले बताए । नगरपालिकाले अशक्त, अपाङ्गता भएका, ज्येष्ठ नागरिकलगायतलाई भने आवश्यक मात्रामा राहत दिइरहेको छ । उनले भने, ‘काम गर्न सक्ने अवस्थाका मान्छेले यो समयमा पनि कमाएरै खान र परिवार पाल्न सकुन् भन्ने हाम्रो उद्देश्य हो ।’ – रासस 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी