- पाठकपत्र
देशभर कोरोनाको कहर छ । जताततै त्रास छ । यहि बेला अत्यावश्यक सेवा भनेर बैंकहरु धन्न खुलेका छन् । सकेसम्म बैंक नआउनु, बरु डिजिटल कारोबार गर्नु भनिएको छ । एटिएमको सहि प्रयोग गर्नु भनिएको छ । तर महामारीका बेला जनताले आफ्नो खातामा रहेको रकम सहि समयमा निकाल्न पाएनन् भने त्यसको औचित्य के रह्यो र ? जनताले रगत पसिना बगाएर जम्मा गरेको रकम आफुलाई चाहिएको बेला झिक्न पाएनन् भने के काम भयो र ?
हेर्दा सामान्य लाग्छ यो सवाल । राष्ट्रिय बाणिज्य बैंक महेन्द्रनगरको एटिएम बुथबाट मैले २ पटक गरेर ३५ सय एक चोटी २ हजार एक चोटी ५००० निकाल्न खोजे तर पैसा आएन । पैसा मात्र काट्यो । ३ दिनभित्र पैसा फिर्ता आउँछ भनियो तर आएन । यसो त पहिलो पटक भएको घटना पनि होइन यो । तर न यसको दीर्घकालीन समाधान छ बैंकसँग, न एटिएम प्रयोग गर्दा पैसा ननिस्किएपछी कुनै विकल्प छ जनतासँग । शहरमा बस्ने र खल्तीमा हजारौं बोक्ने वा दिनमै लाखौँको कारोबार गर्नेहरुका लागि यो ठुलो कुरा नहुन सक्छ, तर सुदूरपश्चिमका जनता जसको फगत एउटा खाता छ, र खाताभित्र सार्है पर्दा झिक्छु भनेर राखिएको केहि रुपैयाँ छ, त्यहि रुपैयाँ पनि भनेको बेला नआउँदा परेको ठुलो मर्का कसले हेर्ने ?
देशमा यस्ता जनता पनि छन्, जसको खातामा त्यहि ५ हजार रुपैयाँमात्र हुन सक्छ । त्यहि ५ हजार रुपैयाँ सार्है अफ्ट्यारो परेको बेला निकाल्न खोजेको हुनसक्छ । घरमा बिरामी छोराछोरी हुन सक्छन् वा सोहि दिन त्यो पैसा ननिस्किए व्यवहार बिग्रिन सक्छ । ३ दिनमा आइहाल्छ भनेर बैंक पन्छिन खोज्दा ३ दिनमा धेरै अवेर भइसकेको हुनसक्छ । यसतर्फ बैंकले ध्यान दिन जरुरी छ ।
राष्ट्रिय बाणिज्य बैंकले यति पैसा कमायो र उति पैसा कमायो, यति नाफा कमायो भनेर लेख्ने मूलधारका भनिएका पत्रपत्रिका, टेलिभिजन र अन्य मिडियाहरुको ध्यान किन यस्ता साना तर गम्भीर समस्यामा जाँदैन । ‘यस्तो सानो कुरा पनि लेख्ने हो ?’ भनेर आफुलाई ठुलो दर्जामा राख्ने मिडियाहरुले जनताका पीडा कसले बुझ्ने ? राष्ट्रिय बाणिज्य बैंकको महेन्द्रनगरको प्रयोगकर्ताको हैसियतले यो मेरोमात्र प्रश्न होइन, बैंकको मनोमानी सेवाविरुद्ध कहिले पनि नातेर्सिएका पत्रकारका क्यामरा विरुद्ध हो । सबैलाई चेतना भया ।