बुबा र मम्मी दुवै बैदेशिक रोजगारीमा हुनुभएकाले म मामाघरमा बस्छु । हजुरबुबा, मेरो जीवनको सबैभन्दा प्यारो साथी । घरकि एक्ली छोरी भएकाले म माओलीमा सबैकी प्यारी थिएँ । बुबा-मम्मी बैदेशिक रोजगारीमा हुनुभएकाले म प्लस टु सकेर सकेर मामाघरमै बसेर पढिरहेको छु, जागिर पनि खाएको छु। आफुले कमाएर दिने बेलामा बा-आमालाई एयरपोर्टमा बिदा गरेर घर फर्कंदा मन कम्ती रोएको थिएन । हरेक दिन सोच्छु, ‘एक दिन विवाह गरेर जानुछ, दाजु भाइ छैनन्, विचरा मेरा बुबा मम्मीलाई कसले हेर्छ ? आफुले कमाएर दिनुपर्ने बेलामा बुबा मम्मी दुवै विदेशमा पसिना बगाईरहनुभएको छ । म जन्मनुको औचित्य देखाउनुछ, आमालाई, बुबालाई हँसाउनु छ ।’ तर पढाइ सकिएको छैन । ब्याचलर सेकेन्ड एयर पढ्दै छु, कसले दिने जागिर ? यस्तै यस्तै पीडाले मन पोलिरहन्थ्यो ।
तर भाग्य नै भन्नुपर्छ, मैले ब्याचलर सेकेन्ड एयर पढ्दै जागिर पाएँ । म लेख्न सक्दिन, कति खुसी भएको थिएँ म त्यो दिन । बाबामम्मीलाई फोन गरेर ‘अव म पनि कमाउने हुन्छु । आफ्नो खर्च आफैं ब्यहोर्छु, तपाईंहरुले पैसा पठाउनु पर्दैन। ‘ भनेको दिन मम्मी खुब रुनुभएको थियो । जागिर सुरु मात्र गरेको थिएँ, तलव आएको थिएन । तर भएको केहि पैसाले मामाघरमा सबैलाई मिठाइ किनेर लगिदिएको थिएँ । हजुरबुबालाई सुगर पनि भएकाले उहाँलाई अरु नै उपहार किनेर लगिदिएको थिएँ ।
संसारको सबैभन्दा प्यारो मेरो हजुरबुबा मैले जागिर खान सुरु गरेको दिन आँखाबाट आँशु झार्दै भन्नुहुन्थ्यो -‘तेरैमात्र चिन्ता थियो, अव ढुक्क भयो ।’ हातको लौरोसमेत फालेर मलाई अंगालोमा बाँधेको अझै सम्झन्छु । ‘राम्रोसँग काम गर्नू ।’ हजुरबुबाको आँखामा आँशु देखेपछी मैले पनि मनलाई थाम्न सकेको थिइन । म रोएको देखेर हजुरबुबाले फेरी भन्नुभयो- ‘लौ किन रोएको ? यो त हाँसेर काम गर्ने बेला हो नि ! पहिलो तलव आएपछि मलाई के किनिदिन्छेस् ?’ हातको लौरो देखाउँदै भन्नुभयो- ‘तेरो मामाले किनिदिएको यो लौरो अलि राम्रो लागेको छैन । मलाई अर्कै लौरो किनिदिनू ।’
कोभिड महामारीका बेला सबैको रोजगारी गएका बेला पाएको जागिर थियो त्यो । जागिरभन्दा पनि सपना बढी, उल्लास बढी । म निरन्तर काममा खटिन थालें । हरेक दिन मैले हजुरबुबाको चिन्ता गरेभन्दा बढी हजुरबुबाले मेरो चिन्ता लिनुहुन्थ्यो । अत्यावश्यक सेवा भएकाले मेरो अफिस कहिल्यै बन्द भएन । सुरुसुरुमा घरबाट काम गरियो । पछि अफिसमै गएर काम गरियो । म हरेक दिन अफिस जाँदा हजुरबुबा मलाई कोरोनाबाट जोगिनु है भनेर सम्झाईरहनुहुन्थ्यो । मलाई यो मास्क भएन अलि राम्रो लगा भन्नुहुन्थ्यो । सेनिटाईजर भन्न नजानेर, ‘त्यो दलिस ? भनेर हात मिचेर देखाउनुहुन्थ्यो ।’
हजुरबुबा दमको बिरामी । सुगरको समस्या पनि थियो । काठमाडौँमा कोरोनाले आतंक मच्चाईरहंदा केहि दिनदेखि उहाँलाई अलि गाह्रो भएको बताउँदै हुनुहुन्थ्यो । मलाई खुब सम्झाउने हजुरबुबा घर बस्दा बस्दा सार्है दिक्क भएँ भनेर यता उता निस्कनुपनि हुन्थ्यो । म कार्यालयमा भएकाले धेरै ख्याल गर्न पाउँदैनथिएँ । मामा माइजु गाली त गर्नुहुन्थ्यो तर हजुरबुबा मान्नुहुन्नथ्यो । केहि दिनदेखि उहाँलाई अलि गाह्रो भएको देखिरहेका थियौं हामीले । केयर पनि सोहि अनुसार गरिरहेका थियौं ।
‘म अस्पताल जान्न । त्यो कोरोना देखाउँछ रे ! सबैतिर बेइज्जत मात्र हुन्छ। ‘ हजुरबुबाले अडान लिंदै हुनुहुन्थ्यो । हजुरबुबा अस्पताल जानै नमान्ने, हामी सबैलाई उल्टो तनाव भयो । अस्पताल जाउँ भन्यो कि हजुरबुबा ‘निको भयो, मलाई केहि भएको छैन’ भन्नुहुन्थ्यो । एक दिन त हामीले जिद्दी नै गर्यौं । तर हामीले अस्पताल लैजान्छौं भनेर जिद्दी गर्दा हजुरबुबा रुनुभयो । उहाँको आँशुका अगाडी हामी हार्यौं । घरमै उहाँको केयर गर्ने निर्णय गर्यौं ।
पछि छिमेकी काकाबाट मात्र थाहा भयो उहाँले जसलाई भेट्नुभएको रहेछ, उसलाई कोरोना पोजेटिभ देखाएको रहेछ र त्यहि थाहा पाएर हजुरबुबा अस्पताल जान मान्नुभएको रहेनछ । बेला बेला -‘अलि परै बस्’ भन्नुहुन्थ्यो । बिरामी हजुरबुबासँग कसरी टाढा रहनु मन मानेन । थुप्रै पटक आफैंले खाना खुवाएको थिएँ । हजुरबुबा कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको थाहा पाएर हामी झन् आत्तियौं । अव त कसैगरी पनि अस्पताल लानुपर्छ भनेर अस्पताल लग्यौं ।
डाक्टरले कोरोना टेष्ट गर्नुपर्छ भन्नुभयो । जे कुराको डर थियो, त्यहि भयो । हजुरबुबालाई कोरोना पोजेटिभ देखायो ।डरको सिमा रहेन । कोरोना केहि होइन भन्नेहरु देखि अहिले पनि रिस उठ्छ । किनकि भोग्नेलाई मात्र यसको डर थाहा हुन्छ । हजुरबुबालाई कोरोना पोजेटिभ देखाएपछि मन कति आत्तियो, त्यसलाई शब्दमा उतार्न सक्दिन । उहाँलाई कोरोना पोजेटिभ देखायेपछी हामी सबैको स्वाब संकलन भयो । हजुरबुबा अस्पतालमा । मामा माइजु, म सबै आइसोलेसनमा बस्नुपर्ने स्थिति । पीडाको कुनै सिमा नै भएन ।
मन थियो, ‘हजुरबुबालाई केहि हुन्न भनेर अँगालोमा बाँध्न । तर अहँ परिस्थितिले दिएन । यसअघि उहाँलाई खाना खुवाएर थुप्रै पटक उहाँलाई काखमा राखेर आफु पनि निदाएको थिएँ । यसपटक पनि यस्तै मन थियो तर कोरोना लागेपछि त छुन त के भेट्न पनि दिइएन । पर्सिपल्ट रिपोर्ट आयो । मामामाइजुलाई नेगेटिभ देखियो । मेरो रिपोर्ट रिकन्फर्म गर्नुपर्छ भनेर एक दिन ढिलो भयो । म झन् आत्तिएँ । मामा माइजु पनि आत्तिनुभयो । मामामाइजुको रिपोर्ट नेगेटिभ आएपछि अलि ढुक्कचाहिं भयो । म आइसोलेसनमा बसिरहें ।
दशैंका आउँदै थियो । तर अहँ दशैंको कुनै उल्लास थिएन । म आइसोलेसनमा बसेपछि अफिसका साथीहरु पनि स्वाब टेष्ट गराएर आइसोलेसनमा बसेछन् । दशैंको शपिङ गर्न नै भ्याईएन ।
तेश्रो दिन रिपोर्ट आयो । पोजेटिभ ।
खुब रोएँ । बाबामम्मीलाई फोन गर्न खोजें तर आँट नै आएन ।
हजुरबुबालाई सम्झिएँ । साथीहरु सम्झिएँ । ज्यान काप्न थाल्यो । सिथिल भयो पूरै शरीर ।
हरेक दिन माइजुले चिया ल्याईदिनुहुन्थ्यो, बाहिर राखिदिनुहुन्थ्यो । त्यसको जानकारी गराउनुहुन्थ्यो । आज पनि त्यस्तै गर्नुभयो । मोबाइलमा रिपोर्ट आएकाले उहाँलाई पनि यस विषयमा थाहा थिएन । मैले कोठाबाट नै रुँदै उहाँलाई आफ्नो रिपोर्ट सुनाएँ । उहाँले ‘केहि हुन्न नानु, निको भइहाल्छ नि’ भनेर सम्झाउनुभयो । अफिसबाट सरहरुको फोन आयो, सबैले सम्झाए । अर्को दिन अफिसमा अरुको रिपोर्ट नेगेटिभ आएछ । सबैको रिपोर्ट नेगेटिभ आएकोमा उनीहरु खुसी रहेछन् । तर मेरो रिपोर्ट पोजेटिभ आएकोले त्यो खुसी पनि मान्न नै पाएनछन् उनीहरुले । बाबा मम्मीले पनि विदेशबाट नै फोन गरेर नरुन भन्नुभयो । मम्मी त आफैं रुनुभयो । कसरी नरुनु ? जव रुनुबाहेक कुनै विकल्प थिएन ।
केहि दिन सार्है गार्हो भयो । सबैले हौसला दिइरहनुभएको थियो । अव यसपाली दशैं भएन । अहँ दशैंजस्तो दशैं हुँदै भएन । तर अर्को बर्ष हजुरबुबासँग दशैं मनाउँछु भन्ने थियो ।
आइसोलेसनमा बसेको केहि दिनपछि दिन घरमा कसैले सामान ल्याईदियो ।
‘गेट वेल सुन’ लेखेको स्टिकरसहितको प्याक खोलें । मेरा लागि कपडा रहेछ ।’ रिपोर्ट नेगेटिभ आएपछि साथीहरु शपिङ गएका बेला मेरा लागि पनि केहि किनिदिएका रहेछन् । त्यो देखेर झन् रोएँ । यस्तो लाग्थ्यो कि म बलियो हुनुपर्ने बेला आँशुले झन्झ-न् कमजोर पारिरहेको छ । फेसबुकको ग्रुप च्याटमा सबैलाई धन्यवाद दिएँ ।
बेलुकी, खै के सोचेर हो कुन्नि, अफिसका साथीले एउटा भिडियो पठाए, ‘एकदिन तिमीलाई निको हुनेछ, हजुरबुबा पनि फर्कनुहुनेछ । अनि सबै मिलेर रमाउनुपर्छ।’ लेखेर पठाएको थ्यो भिडियो नबिल बैंकले बनाएको एउटा भिडियो रहेछ, जहाँ बाबालाई कोरोना हुँदाको पीडा समेटिएको रहेछ । साथीहरुले त्यहि भिडियो हेरेर मलाई सामान किदिएका रहेछन् सायद। म खासै सोसल मिडियामा एक्टिभ नहुने र कामको सिलसिलामामात्र फेसबुक चलाउने हुनाले म त्यो भिडियोबाट अनविज्ञ थिएँ ।
भिडियोमा दिवासनाको बाबालाई कोरोना देखाएजस्तै भएको थियो मलाई पनि । माइजुले चिया ल्याए जसरी नै दिवासनाकि आमाले बाबालाई चिया पुर्याएको देखें । मैले रुँदै सुनाएजसरी नै कोठाभित्रबाट नै दिवासनाको बुबाले कोरोना रिपोर्ट सुनाएको देखें । मलाई साथीहरुले दशैंको समान पठाएजस्तै दिवासनाका बाबाले सामान किनिदिएको देखें । अन्त्यमा दिवासनाको बुबालाई निको हुन्छ र दशैं मनाउँछन् उनीहरुले । यो भिडियो हेर्दा यति भक्कानिएं, कि के भनौं ? यति रोएँ कि के भनौं ? यति पटक हेरें त्यो भिडियो आफैंलाई थाहा छैन । मात्र एउटा आशामा दिवासनाका बुबालाई निको भएजस्तै मेरो हजुरबुबालाई पनि निको भइदिए र मलाई पनि निको भइदिए यसरी नै दशैं मनाउन पाइन्थ्यो होला ।
दिनमा थुप्रै पटक त्यो भिडियो हेरेर रुन्थें ।
पर्सिपल्ट व्काविहानै बाहिर कोहि रोएजस्तो सुनें । माइजु हुनुहुँदो रहेछ ।
मामा हतासमा हुनुहुन्थ्यो । मनमा चिसो पस्यो । जे नहोस् भनेर भगवानलाई पुकारेको थिएँ, त्यहि भएछ । हजुरबुबा हामीलाई छोडेर जानुभएछ । होस् मै थिएँ, तर बेहोस भएझैं भएछु।
हेर्न जाउँ, बाहिर निस्किनै मिल्दैन, नजाउँ, के गरौँ ? मसँग रुनुबाहेक केहि विकल्प थिएन । मम्मीको फोन आयो, उहाँलाई मलाई पनि निको हुँदैन कि भन्ने डर रहेछ । आमाछोरी रुँदा रुँदा उता हजुरबुबाको लास मेसिनमा हालेर जलाईसकेछन् । कसैलाई हेर्नसमेत दिइएन रे !
डरले झन् सिमा नाघ्यो । अव त निदाएँ भने पनि ब्युञ्जिन्न भन्ने डर पस्यो मनमा । घरभरी रुवाबासी । पापी कोरोनाले दशैंको मुखमा पनि हामीलाई हाँस्न दिएन ।
हजुरबुबाको यादले मन कटक्क पारिरहेको थियो । तलव आएपछि हजुरबुबालाई लौरो किनिदिने सपना अधुरो रह्यो । मेरा हरेक खुसीको साक्षी हजुरबुबालाई अन्तिम पटक हेर्न पनि पाइन ।
१४ दिनको आइसोलेसन बसाइछि मलाई निको भएको छ । कोरोनाको अर्को रिपोर्ट नेगेटिभ आएको छ । पीडाले गलेर होला ज्यान अलि कमजोर त भएको छ तर डाक्टरले अव निको भयो भन्नुभएको छ । डाक्टरको सुझाव अनुसार औसधिहरु पनि लिइरहेको छु । तर आज पनि नबिल बैंकको त्यो भिडियो हेरेर खुब रुन मन लाग्छ । दिवासना त भाग्यमानी रहीछिन् । म अभागीले दशैं मनाउन पाइनजस्तो लाग्यो ।
विज्ञापन भन्नेबित्तिकै कसलाई पो हेर्न मन पर्छ र ? तर यसपाली फरक भयो । आफैं मिडियामा काम गर्ने भएकाले पनि विज्ञापनको फरक स्वाद लिएँ मैले । यति मिठो भिडियो कसले बनाएको होला ? मेरै कहानी लेखेजस्तो । मेरै घरलाई देखाएजस्तो ।
हरेक संक्रमितको घरमा दिवासनाकै जस्तो खुसी फर्कियोस्, मेरो जस्तो पीडा होइन । बस् यति प्रार्थना छ मेरो । कोरोना केहि होइन नभनौं । अझै सतर्क रहौं । किनकि सबै दिवासनाजस्तै भाग्यमानी हुँदैनन् । कोरोनाले मेरो परिवारकै जस्तो धेरैको खुसी उजाडीरहेको छ ।
यो भिडियो बनाउनेलाई मनमनै धन्यवाद भनेको छु । हुन त एउटी कलाकार होलिन् उनी, तर दिवासनाले मामुको अगाडी आँसु लुकाएको सम्झेर आज पनि पटक पटक भक्कानिने गरेको छु । लभ यु दिवासना !
-ऋतिका पौडेल