×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बन्दाबन्दीमा फुरेको उद्यमको सोच, ‘जैदी माछापालन, कृषि तथा पशु फार्म’

LAXMI SUNRISE BANK

बन्दाबन्दीमा फुरेको उद्यमको सोच, ‘जैदी माछापालन, कृषि तथा पशु फार्म’

१७ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बागलुङ । गत चैतअघिसम्म कमल राना पोखरामा बस्नुहुन्थ्यो । त्यहाँ रहँदा प्रदेशसभा सदस्य पियारी थापाको स्वकीय सचिवका रुपमा काम गर्नुभयो । एकाएक कोभिड–१९ को सन्त्रास छायो । मुलुकभर बन्दाबन्दी भयो ।स्थिति असामान्य बनेपछि रानाले पोखरा छाड्ने निर्णय लिनुभयो । बन्दाबन्दीपछि जैमिनी नगरपालिका–७ जैदी, बोरस्थित घर फर्कनुभएका रानाले केही समय फुर्सदमा बिताउनुभयो । महामारीले सिर्जित अन्योलबीच उहाँमा नयाँ सोच फुर्यो । अब पोखरा नजाने, गाउँमै केही गर्ने । 
त्यसकै परिणाम ‘जैदी माछापालन, कृषि तथा पशु फार्म’ले जन्म लियो । “बन्दाबन्दीमा लामो समय घर बस्नुपर्यो, त्यही बेला व्यवसायतिर लाग्ने योजना बनाएँ”, २५ वर्षीय रानाले भन्नुभयो । उहाँ अहिले स्वकीय सचिवको जिम्मेवारीबाटसमेत मुक्त भइसक्नुभएको छ । रानाले नगरपालिका र कर कार्यालयमासमेत फार्म दर्ता गरी व्यवसायलाई गति दिनुभएको हो । वार्षिक रु ६० हजार भाडामा साढे पाँच रोपनी जग्गा लिइ माछा र बङ्गुरपालन थालेको उहाँको भनाइ छ । दुई वटा पोखरीमा गत असारमा राखेका चार हजार ७०० माछा अहिले हुर्किरहेका छन् । 
पोखरीमा कमन ग्राफ, नैनी र सिल्भर जातका माछा छन् । अर्को पोखरी पनि थप्ने रानाको योजना छ । आउँदो माघ-फागुनतिर माछा बेच्न योग्य हुनेछन् । ५० वटा बङ्गुर पाल्नका लागि राना अहिले खोर निर्माणमा जुट्नुभएको छ । खाली रहेको जग्गामा केरा खेती पनि छ । “माछा र बङ्गुरपालनसहित व्यावसायिक कृषि खेतीलाई पनि विस्तार गर्ने सोचमा छु”, उहाँले भन्नुभयो । घरदेखि एक घण्टाको दूरीमा रहेको बेलबगरमा रानाको फार्म छ । त्यहाँ उत्पादित माछा, पशु र कृषिजन्य उपज नगरपालिकाको केन्द्र कुश्मीसेरा, गुल्मीको पूर्तिघाट, बरेङलगायत बजारमा खपत हुने उहाँले बताउनुभयो ।
फार्म निर्माणमा हालसम्म रु सात लाख जति लगानी भइसकेको छ । आधाआफैँ र आधा ऋण खोजेर लगानी गरेको रानाले बताउनुभयो । “अहिले घरकै सदस्यले काम धानेका छौँ, बुबा, दाइ, भाउजु सबैको सहयोग छ”, उहाँले भन्नुभयो । व्यवसाय विस्तार हुँदै गएमा अरुलाई पनि रोजगारी दिने रानाको योजना छ । अहिले माछालाई दानाबाहेक मासिक खर्च पनि खासै धेरै छैन । गाउँमै स्वरोजगार बन्ने उद्देश्यले रानाले शुरु गरेको व्यवसायप्रति घरपरिवार र छिमेकीसमेत खुशी छन् । बुबा उजिरसिंहले छोराको मेहनत देखेर व्यवसाय राम्रै हुने विश्वास जागेको बताउनुभयो । रानाले केही समय सदरमुकाम बागलुङ बजारमा बसेर पत्रकारितासमेत गर्नुभएको थियो । –रासस 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी