काठमाडौँ । नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघको ५४औंँ वार्षिक साधारणसभा आजदेखि शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले महासङ्घको वार्षिक साधारणसभाको उद्घाटन गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारका तीन वटै तह र महासङ्घका पनि सोहीअनुसारका तहको संंयुक्त प्रयासबाट मात्रै कोरोनाको महामारीसँग जुध्दै आर्थिक विकासमा केन्द्रित हुन सकिने सकिने बताउनुभयो । कोरोना महामारीविरुद्ध विभिन्न देशले खोप तयार पारिसकेको सन्दर्भ जोड्दै उहाँले यसको प्रयोगबाट नै मानव जातिले मुक्ति पाउने विश्वास व्यक्त गर्नुभयो । सरकार कोरोनाका कारण परेको असरलाई पराजित गरेर अर्थतन्त्र माथि उठाउन लागिपरेको जनाउँदै प्रधानमन्त्रीले सबैको साझा प्रयास तथा सहकार्यबाट मात्रै अगाडि बढ्न सकिने बताउनुभयो ।
गत आर्थिक वर्षमा ८।५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएकामा कोरोनाका कारण न्यून मात्रै वृद्धि भएको जनाउँदै उहाँले सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने बताउनुभयो । प्रधानमन्त्रीले सरकारको क्षमतानुसार नै सबैलाई समान रुपमा सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो “अभिभावकको क्षमताअनुसार नै माग गर्न म सबैलाई आग्रह गर्दछु । नेपाल सरकारले गच्छेअनुसार वा एक कदम अगाडि बढेर सहयोगको हात बढाउनेछ । फेरि पनि त्यो सीमित नै हुनेछ किनकि हामीसँग बचत राम्रो छैन ।”
देशको अर्थतन्त्रलाई माथि उठाउन निजी क्षेत्रले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै प्रधानमन्त्रीले व्यापार, व्यवसाय र वाणिज्यका क्षेत्रमा देखाइएको भूमिका सराहनीय रहेको बताउनुभयो । सरकारले भन्दा बढी निजी क्षेत्रले मौका पाएपछि सिर्जनात्मक काम गर्न, नयाँनयाँ व्यवसाय अगाडि बढाउन तथा कारोवारका नयाँ क्षेत्र पत्ता लगाउने काममा अग्रसर रहेकामा प्रधानमन्त्रीले प्रसन्नता व्यक्त गर्नुभयो ।
कृषिमा लगानी गर्न आग्रह
प्रधानमन्त्रीले समृद्धि हासिल गर्नका लागि उद्योगसँगसँगै कृषि क्षेत्रलाई पनि आधुनिकीकरण, व्यवसायीकरण र औद्यागिकीकरण गर्नु जरुरी रहेको जनाउँदै त्यस क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।
कृषि क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्न, प्रविधिको प्रयोग गर्न तथा उत्पादकत्वर उत्पादन वृद्धि गर्दै थप विश्वास पैदा गरेर अगाडि बढ्न निजी क्षेत्रले साथ दिनुपर्ने उहाँले बताउनुभयो । कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्न र उत्पादकत्व वृद्धि गर्ने विषयमा निजी क्षेत्रको ध्यान जाने तथा विज्ञान र प्रविधिको प्रयोग गर्दै आधुनिकीकरणको दिशा पहिल्याउने काममा सचेत तथा सङ्गठित प्रयास हुनेमा आफू आशावादी रहेको उहाँले स्पष्ट पार्नुभयो ।
सरकारले सबैलाई कानूनबमोजिम नै व्यवहार गर्ने र सबैलाई यथोचित ढङ्गले सुरक्षा एवम् संरक्षण प्रदान गर्ने विश्वास दिलाउँदै उहाँले कारोवार तथा व्यवसायमा स्वच्छ र पारदर्शिता भने जरुरी रहेको बताउनुभयो ।
सरकारले लगानीका लागि बाह्या क्षेत्रका लगानीकर्तालाई समेत आग्रह गरेको सन्दर्भ जोड्दै प्रधानमन्त्रीले देशभित्रै लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले नेपालका निजी क्षेत्रका लगानीकर्ताको क्षमता विकास र विस्तार गर्न सकेको भए विदेशी लगानीकर्तालाई आमन्त्रण गर्नुपर्दैनथ्यो ।”
राष्ट्रिय पूँजीपति र उद्योगलाई जोगाउनु जरुरी रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले देशभित्रै लगानी गर्न र धेरै कमाइ हुन्छ भनेर विदेशमा लगानी नगर्न आग्रह गर्नुभयो । “हाम्रै उद्यमी व्यवसायीले यहाँको पैसा बाहिर लगेर लगानी गर्ने काम उचित होइन । यहाँ नै लगानीका अवसर सकिएको छैन । हाम्रोमा श्रम बजार सस्तो छ । त्यसकारण यहाँको उद्योगमा बढी मुनाफा प्राप्त हुन्छ”, उहाँले भन्नुभयो ।
देशभित्रै लगानी विस्तार गर्न तथा औद्योगिक वातावरण बनाउन सरकारका तर्फबाट केकस्ता सहयोग गर्नुपर्छ भन्नेबारेमा छलफल गर्न र सहजीकरण गर्न सरकार तयार रहेको जनाउँदै प्रधानमन्त्रीले कुन क्षेत्रमा कस्तो सहुलियत जरुरी रहेको भन्ने कुरा स्पष्टसँग भन्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।
देशभित्र डिपार्टमेन्टल स्टोर भए पनि हाम्रा मालवस्तु नभएको तथ्य पेश गर्दै प्रधानमन्त्रीले उत्पादन कसरी बढाउन सकिन्छ भन्नेबारेमा सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो ।
सो अवसरमा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले कोरोनाका कारण नेपालको आर्थिक क्षेत्र असाध्यै नराम्री प्रभावित भएकाले कसरी अगाडि बढ्ने भन्नेमा निजी क्षेत्रसमेत अन्योलमा रहेको बताउँदै वैदेशिक रोजगारीबाट फर्किएका नेपाली युवालाई काम उपलब्ध गराउन र १० लाख युवालाई रोजगारी उपलब्ध गराउनेतर्फ सचेत पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
चालु आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिमा समावेश भएका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने औँल्याउँदै उहाँले राष्ट्रिय गौरवका आयोजना शीघ्र सम्पन्न गरी नयाँनयाँ ठूला आयोजना निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा महासङ्घका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठ, महेशलाल प्रधान, विनोद चौधरी, पद्म ज्योति, प्रदीपकुमार श्रेष्ठ, आनन्दराज मुल्मी, विनोदबहादुर श्रेष्ठ, चण्डीराज ढकाल, सुरज वैद्य, पशुपति मुरारका, प्रदीपजङ्ग पाण्डेलगायत महासङ्घका प्रदेश अध्यक्षलाई सम्मान गरिएको थियो । महासङ्घको नयाँ नेतृत्व वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सम्हाल्नुहुनेछ । यस्तै वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधानको समूह निर्वाचनमा होमिएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्