×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिहारअघि नै सयपत्री फूलको माग बढ्यो, माग धान्न समस्या

PRIME CA
GLOBAL IME BANK

तिहारअघि नै सयपत्री फूलको माग बढ्यो, माग धान्न समस्या

२४ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: < २ मिनेट

झापा । फूलको पर्व अर्थात् नेपालीको दोस्रो ठूलो चाडका रुपमा रहेको तिहार नजिकएसँगै सयपत्री फूलको माग बढेको छ । जिल्लामा व्यावसायिक खेती गर्दै आएका विर्तामोड, मेचीनगर, भद्रपुरलगायतका क्षेत्रका किसानले लगाएको फूलको तिहार आउनुभन्दा एक हप्ताअघिदेखि नै माग बढेको हो । 
गत वर्षदेखि व्यावसायिकरुपमा सयपत्री फूलको खेती शुरु गर्नुभएको साहित्यकार खगिन्द्रा खुशीको बारीमा यतिबला ढकमक्क कलकत्ते जातको सयपत्री फूल फुलेको छ । भद्रपुर नगरपालिका–७ इलुबारीमा १० कठ्ठा जग्गा भाडामा लिएर उहाँले फूलखेती गर्नुभएको हो । विगतमा सहकारीको साधारसभा, जिल्लामा हुने कार्यक्रममा समेत फूलको माला बेच्दै आउनुभएको उहाँलाई यस वर्ष भने तिहारको माग धान्न मुश्किल छ । “फूल फूलाउनु मात्र पर्दोरहेछ, किन्ने व्यापारी बारीमै आउँछन्”, उहाँले भन्नुभयो ।
विर्तामोड नगरपालिका–४ मा पाँच जना महिला मिलेर १५ कठ्ठा जमीनमा सामूहिक फूलखेती गर्नुभएको छ । गोमा भट्टराई, नैनकला भट्टराई, यशोदा चापागाई, शर्मिला अधिकारी र सुष्मा भण्डारीले लगाएको फूल पनि ढकमक्क फुलेको छ । “तिहारका लागि फूल राखिदिनुपर्यो भन्दै फोन गरेर नाम टिपाउने दैनिक १० देखि १५ जना छन्”, गोमा भट्टाराईले भन्नुभयो, “विगतको तुलनामा खेती कम गरियो माग बढ्यो । माग धान्न समस्या पर्ने भयो । मालाको अडर आइरहेको छ ।” 
उहाँले यसपालि लामो समय वर्षा परेका कारण विगतमा जस्तो फूल नफस्टाएको बताउनुभयो । तीन हजारदेखि तीन हजार ५०० सम्म माला हुने अनुमान गर्दै उहाँले रु ५० देखि ६० सम्ममा प्रतिगोटा बिक्री हुने बताउनुभयो । मेचीनगर–९ मा ‘डिएन्डडी बायोप्लान्टेक’ नामक कम्पनी दर्ता गरेर विगत छ वर्षदेखि नर्सरी व्यवसायमा लाग्नुभएका डिल्लीराम उप्रेतीले गत वर्षदेखि १० कट्ठा जग्गा भाडामा लिएर सयपत्री फूलको खेती शुरु गर्नुभएको छ ।
विगतमा भन्दा यस वर्ष सयपत्री फूलको मालाको माग बढिरहेको उहाँले बताउनुभयो । “विगतमा भारतीय माला पनि आउथ्यो । यस वर्ष एशोसिएसन अफ नेपाली एग्रीकल्चर जर्नलिस्टले कोभिड–१९ का कारण भारतीय माला नल्याउने निर्णयसँगै हाम्रो फूलको माग बढेको छ”, उहाँले भन्नुभयो, “तर माग धान्न गाह्रो छ ।”
इलाम, मोरङ, सुनसरीलगायतबाट फूलको माग भए पनि आफ्नै जिल्लामा पुर्याउन गाह्रो भइरहेको उहाँले बताउनुभयो । उहाँले विगतमा लक्ष्मीपूजाको दिन फूल टिप्न सयदेखि पाँच सय जनासम्म हुने गरे पनि यस वर्ष कोभिड–१९ का कारण एकपटकमा १० जनाभन्दा बढीलाई बारीमा पस्न नदिने बताउनुभयो । “हामी तिहारमा माला उनेर बेच्न भ्याउँदैनौँ”, उहाँले भन्नुभयो, “बारीमा पसेर उहाँहरु आफैँले टिप्नुहुन्छ । प्रतिथुङ्गा डेढ रुपैयाँ गरेर रकम लिन्छौँ ।” सयपत्री फूलको खेती थोरै लगानीमा धेरै आम्दानी हुने उहाँको बुझाइ छ ।
जिल्लामा सयपत्री फूलको खेतीमा झार र रोगबाट जोगाउन सबै व्यवसायीले मलसिङ प्रविधि प्रयोग गर्नुभएको छ । भुइँमा प्लास्टिक ओच्छ्याएर बिरुवा निस्कनका लागि मात्र दुलो पार्ने नयाँ प्रविधिलाई मलसिङ भनिन्छ । सयपत्री फूलको खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । एक कट्ठा र दुई कट्ठाका दरले यसको खेती लगाउने झापामा दर्जनौँ किसान छन् । उहाँहरुले फूलको परनिर्भरतालाई हटाउन स्थानीय सरकारले किसानलाई प्रोत्साहनस्वरुप सुलभ कर्जा र अन्य अनुदानमा लगानी बढाउनुपर्ने बताउनुभयो । –रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: