खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यसअघि कर्मचारीमार्फत वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता अब बैंकिङ प्रणालीमार्फत वितरण गर्ने भएको छ । कर्मचारीमार्फत वितरण गर्दा हुनसक्ने आर्थिक अनियमिततालाई रोक्दै आगामी दिनमा आर्थिक पारदर्शिता कायम गर्न नगरपालिकाले आउँदो चौमासिकदेखि लागू गरी बैंकिङ प्रणालीमार्फत वितरण गर्ने भएको हो ।पन्ध्र वडा रहेको यस नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंक, ज्योति विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र सालपा विकास बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्झौता गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए । नगरपालिकाले बैंकसँग सम्झौता गरेअनुसार नगरपालिकाभित्रका सबै (५१३) लक्षित वर्गले अब सामाजिक सुरक्षा भत्ता लिनका लागि तोकिएको बैंकमा अनिवार्य खाता खोल्नुपर्ने भएको छ ।
नगरपालिका र बैंकसँग सम्झौता गरिएअनुसार सालपा विकास बैंकले वडा नं १ दिक्तेल, ३ बाम्राङ, ५ लफ्याङ, ७ दोर्पाचिउरीडाँडा, ८ दोर्पाबुवालुङ, १० पाथेका, ११ खार्मी, १३ नुनथला, १४ बुइपा र वडा नं १५ विजयखर्क तथा ग्लोबल आइएमई बैंकले वडा नं १२ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । यस्तै ज्योति विकास बैंकले वडा नं २ सोल्मा, सेन्चुरी कमर्सियल बैंकले वडा नं ९ निर्मलीडाँडा र राष्ट्रिय वाणिज्य बैंकले वडा नं ४ खाल्लेमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरी सम्झौता गरिएको छ । नगरपालिका र बैंकका प्रतिनिधिबीच बिहीबार द्विपक्षीय सम्झौता भएको हो ।
टाढाका सेवाग्राहीलाई भुक्तानी शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण गरिने र कर्मचारीको सुरक्षा एवं प्रशासनिक काम नगरपालिकाले व्यवस्था गर्ने गरी समझदारी गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहालले बताए । नगरपालिकाले लक्षित वर्गको आवश्यक विवरण बैंकलाई उपलब्ध गराउने र बैंकमा रकम जम्मा गरेपछि सोहीअनुसार सामाजिक सुरक्षा भत्ता वितरण हुने जनाइएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा सामाजिक सुरक्षा भत्ता वितरणमा ठूलो मात्रामा आर्थिक अनियमितता भएको खबर सार्वजनिक भएपछि सबै स्थानीय तहले बैंकिङ प्रणालीमार्फत वितरण गर्ने तयारी गरिरहेका छन् । आगामी दिनमा अनियमितता हुन नदिन सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा सञ्चालित बैंकसँग सम्झौता गरिरहेका छन् । जिल्लाका केही स्थानीय तहले यसअघि अर्थात् अघिल्लो वर्षदेखि नै बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेका थिए । जिल्लाको सबैभन्दा थोरै पाँच वडा रहेको साकेला गाउँपालिकाले भर्खरै एसबिआई बैंकमार्फत वितरण गर्ने गरी बैंकसँग द्विपक्षीय सम्झौता गरेको छ ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त गाउँपालिकामा एकै आर्थिक वर्षमा रु ८७ लाख ४१ हजार ६०० रकम दुरुपयोग भएको पाइएको थियो । आव २०७६/७७ मा वडा नं १ बाँझेच्यानडाँडामा २० लाख ३४ हजार ४००, २ रतन्छामा १२ लाख २८ हजार, ३ खिदिमामा ११ लाख ८७ हजार २००, ४ मात्तिममा २२ लाख ८७ हजार २०० र वडा नं ५ मात्तिमबिर्तामा २० लाख ४८ हजार अनियमितता भएको पाइएको हो ।
मृत्यु भइसकेका व्यक्ति, अन्यत्र बसाइँ सरिसकेका, नक्कली लाभग्राही खडा गरेर, अर्कै वडाको व्यक्तिको नाम राखेर, एकै जनाको एकभन्दा बढी नाम देखाएर सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको खुलासा भएको थियो । शुरुमा वडा नं ४ मात्तिममा मृत्यु भइसकेका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षा भत्ता चुहावट भइरहेको खबर बाहिरिएपछि उपप्रमुख सरीता खड्काको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्