![](https://arthasarokar.com/wp-content/uploads/2020/12/image-130.png)
ती दुबै आयोजनाको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले लघुजलविद्युत् आयोजना दिगोरुपमा सञ्चालन गर्नुपर्नेमा आवश्यकता औँल्याउनुभयो । उहाँले छोटो समयमा जिल्लाको विकट गाउँमा लघुजलविद्युत् आयोजनामार्फत विद्युतीकरण गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो । केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले सरकारको ‘उज्यालो नेपाल अभियान’लाई सफल बनाउन केन्द्रले विद्युतीकरण गर्ने कार्यलाई तीव्रता दिएको बताउँदै अब जिल्लाको विद्युत् नपुगेका स्थानहरुमा नवीकरणीय ऊर्जाका स्रोतबाट विद्युतीकरणका क्रियाकलापहरु अघि बढाइने छ भन्नुभयो ।
रु एक करोड ६८ लाखको लागतमा निर्माण भएको घाँसे ओडार लघुजलविद्युत् आयोजनामा केन्द्रको रु ६४ लाख ६० हजार अनुदान सहयोग रहेको छ भने बाँकी लागत गाउँपालिका र समुदायले जुटाएका छन् । त्यस्तै रु दुई करोड ८३ लाख ६० हजारको लागतमा निर्माण भएको रुमाखोला लघुजलविद्युत आयोजनामा केन्द्रको रु एक करोड ३३ लाख अनुदान सहयोग रहेको छ भने बाँकी रकम गाउँपालिका र समुदायले व्यहोरेका हुन् ।
लघुजलविद्युत्को उज्यालोले स्थानीयहरुमा उमङ्ग छाएको घाँसेओडार खोला लघुजलविद्युत् आयोजना उपभोक्ता समितिका अध्यक्ष वीरसिंह बुढा र रुमा खोला लघुजलविद्युत् आयोजना उपभोक्ता समितिका अध्यक्ष मानबहादुर बुढा बताउनुभयो । अब विद्युतीय सामग्री सञ्चालन गर्न, विद्यार्थीलाई लेखपढ गर्न सहज भएको छ भने थप विद्युतीय ऊर्जा प्रयोग गरी लघु उद्यमको माध्यमबाट आयआर्जनका क्रियाकलापहरु सञ्चालन गर्ने उहाँहरुको भनाइ छ ।
केन्द्रले राष्ट्रिय प्रशारण लाइन नपुगेको ९७ वटा स्थानीय तहमा २०० वटा मिनीग्रिड आयोजना जडान गर्ने लक्ष्य लिएको छ । त्यस्तै खाना पकाउने स्वच्छ ऊर्जाको पहुँच विस्तारको लागि सुधारिएको चुलो, वायोग्यास विद्युतीय चुलो, फोहरबाट ऊर्जाजस्ता गतिविधिलाई समेत तदारुकताका साथ अघि बढाएको छ । कोरोना महामारीबाट सिर्जित बन्दाबन्दीको अवधिमा समेत नवीकरणीय ऊर्जाको गतिविधि नरोकेको केन्द्रले बन्दाबन्दीपछि देशैभर नवीकरणीय ऊर्जाको गतिविधिमा तीव्रता दिएको छ । -रासस