Skip to content
LAXMI SUNRISE BANK

जुम्लाको पातरासीमा १५ लघु जलविद्युत् आयोजना, उज्यालो पालिका घोषणा गर्ने तयारी

अर्थ सरोकार

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकामा १५ वटा लघुजलविद्युत् आयोजना निर्माण भएपछि विद्युत्मा आत्मनिर्भर बनेको छ । स्थानीय सरकार आएपछि १५ देखि १०० किलोवाटसम्मका ती आयोजना निर्माण भएको गाउँपालिकाले जनाएको छ । वषौंदेखि अन्धकारमा बस्न बाध्य स्थानीय वासिन्दाले ती आयोजनाहरुको निर्माणपछि विद्युत् सुविधा प्राप्त भएको गाउँपालिका अध्यक्ष लछिमान बोहोराले बताउनुभयो । 
उहाँका अनुसार पातारासीमा ५८ किलोवाटको विउरेनी विद्युत् आयोजना, २५ किलोवाटको लुम विद्युत् आयोजना, २५ किलोवाटको तल्फी जलविद्युत् आयोजना, ४५ किलोवाटको त्रिवेणी जलविद्युत् आयोजना, २५ किलोवाटको माथि लोर्पा विद्युत् आयोजना, रिनीमा नौ किलोवाट, पटमारामा १२ किलोवाट, तलि लोर्पामा पाँच किलोवाट, लाम्रीमा नौ किलोवाट र महरीमा छ किलोवाटको लघुजलविद्युत्को निर्माण सम्पन्न भएको छ ।
जिल्लाकै पहिलो उज्यालो पालिका घोषणा गर्ने तयारीमा पातारासी जुटेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताउनुभयो । पन्ध्र आयोजनामध्ये ११ वटाबाट साढे दुई सय किलोवाट विद्युत् उत्पादन भइरहेको छ । घरघरमा बत्ती पुगेसँगै टुक्कीकै भरमा दिन गुजारी रहेका पातारासीका १७ हजार बढी नागरिकले विद्युत् सुविधा प्राप्त गरेका छन् । अहिले विद्युत्को पहुँच पुगेपछि झरो बाल्ने बाध्यता पनि हटेको छ भने बालबालिकाले सहजरुपमा पढ्न पनि पाएका छन् । विद्युतीकरणपछि फर्निचर उद्योग तथा साना जडीबुटी उद्योग पनि सञ्चालन भएका छन् । 
विद्युत् क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेर पालिकाले साढे तीन वर्षमै घरघरमा विद्युतीय पहुँच विस्तार गर्न सफल भएको गाउँपालिका अध्यक्ष बोहोराले बताउनुभयो । साढे तीन वर्षमा पालिकाका करीब २७ बस्तीका तीन हजार ४०० घरधुरीलाई विद्युत्को पहुँचमा पु¥याउन सफल भएको पातारासी गाउँपालिकाले जनाएको छ । 
विद्युत् गृहका कर्मचारीको तलब र मेसिन मर्मत खर्च सबै पालिकाले नै व्यहोर्ने गरी यहाँका तीन हजार ४०० घरधुरीलाई नै निःशुल्क बत्ती दिने व्यवस्था गरिएको गाउँपालिका उपाध्यक्ष पुन्नकली महतराले बताउनुभयो । एक मेगावाट क्षमताको चुकेनी जलविद्युत् आयोजना निर्माणका लागि गाउँपालिकाले रु दुई करोड शेयर लगानी समेत गरेको छ । -रासस
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK