
महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–३ का काउली खेतीमा संलग्न किसान यज्ञराज गौतमले आठ कट्ठा जग्गामा रोपेको काउली बेच्नका लागि तयार भएको छ । खेतमा फलेको काउली बिग्रिन थाले पनि खरिद कर्ता पाउनुभएको छैन । दुई साताअघि प्रतिकिलो रु ५० देखि ५५ थोकमा बिक्री भइरहेको काउलीको बजार मूल्य ह्वात्तै घटेर रु १० देखि १२ मा झरेपछि उहाँ निकै चिन्तित हुनुहुन्छ । “काउली उत्पादन गर्दासम्म लागत खर्चनै प्रतिकिलो रु २० सम्म पुगेको छ”, उहाँले भन्नुभयो, “लागत खर्चनै नउठ्ने गरी बजारमा घाटा खाएर काउली बेच्नुपरेको छ ।”
सिँचाइ, मलखाद, कीटनाशक, गोडाइ, जोताइ र मजदूरको खर्च जोड्दा लागत खर्च निकै बढी हुने भए पनि थोरै मूल्यमा बेच्नुपर्दा घाटा लागेको उहाँले बताउनुभयो । “विगत वर्षमा व्यापारी उत्पादित काउलीलगायत तरकारी खरिद गर्न गाउँसम्म नै आउँथे”, अर्का काउली उत्पादनमा लागेका किसान वसन्ती चौधरीले भन्नुभयो, “हाल व्यापारी आएका छैनन् । खेतमा धेरै काउली लगाएका छौँ । बजारमा लैजाँदा थोरै मूल्यमा बिक्री गर्नुपरेको छ । ढुवानीका साधानको व्यवस्था मिलाउन नसक्दासमेत खेतमा काउली बिग्रने अवस्थामा पुगेको छ ।” ढुवानीका साधानको अभाव र थोरै मूल्यमा काउली बिक्री गर्नुपर्ने अवस्थाले निकै निराश भएको उहाँले बताउनुभयो ।
“खेतमा उत्पादन भएको काउलीलगायत तरकारी बिक्री गर्न निकै अप्ठेरो छ”, उहाँले भन्नुभयो, “बजार भाउ पाउँदैनौँ । टाढाको बजारमा भाउ पाइए पनि समयमै ढुवानीका साधनको व्यवस्था गर्न नसक्दा उत्पादित तरकारी पु¥याउन सकिँदैन ।” खेतमै बिग्रिएको तरकारी घरपालुवा जनावरलाई खुवाउन बाध्य भएको उहाँले बताउनुभयो । “व्यापारीले सस्तोमा माग्छन्”, नवकिरण सहकारी संस्थाका अध्यक्ष धनबहादुर चौधरीले भन्नुभयो, “किसानले महँगोमा बेच्न खोज्छन् । यसै कारणले उत्पादित तरकारी बिक्रीमा समस्या देखिएको छ ।” काउली उत्पादन सबै किसानले एकै समयमा गरेकाले पनि बजार मूल्य घटेको उहाँको भनाइ छ । विचौलियाको भर नपरेर तरकारी उत्पादक किसानले सिधै व्यापारीसँग तरकारी बिक्री गर्दासमेत घाटा नलाग्ने गरी मूल्य पाउन सक्ने हुन्छ ।
त्यसका लागि व्यापारी र किसानबीच छलफल गरी उचित मूल्य निर्धारण गर्नुपर्ने वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो । “वडाका सबै परिवार तरकारी खेतीमा लागेका छन्”, उहाँले भन्नुभयो, “तरकारी खेतबाट सबैको घर खर्च चलेको छ । बजारीकरणको समस्या हल गर्न सबैको पहल आवश्यक छ ।” कृषि विकास शाखाका प्रमुख खडक विकले मुख्यमन्त्री नमूना गाउँ कार्यक्रमअन्तर्गत वडा नं ३ का तरकारी खेती गर्दै आएका किसानलाई आधुनिकीकरण गर्नक लागि रु एक करोड बढी रकम लगानी गरिएको बताउनुभयो । “लगानीअनुरुप किसानले तरकारी उत्पादन गरेका छन्”, उहाँले भन्नुभयो, “सबै किसानले एउटै किसिमको तरकारी फलाउँदा बजार मूल्य थोरै पाएका हुन् । किसानका खेतमा काउली फलेको छ । माग थोरै छ । यस वर्ष उत्पादन धेरै भएको छ । त्यसैले पनि मूल्य घटेको छ ।” सहजै तरकारी बिक्री गर्नका लागि तरकारी सङ्कलन केन्द्रको व्यवस्थासँगै ढुवानीका साधनको व्यवस्था गरिनुपर्ने उहाँले बताउनुभयो । “कृषि क्षेत्रमा क्रियाशील सङ्घ संस्थासँग समन्वय गरी तरकारी बिक्रीका लागि देखिएको बजारको समस्या हल गर्छौं”, नगर प्रमुख दिलबहादुर ऐरले भन्नुभयो, “ढुवानीका साधनको व्यवस्थासमेत मिलाउँछौँ ।”
नगरपालिकासँग रहेका टिपर परिचालन गरी किसानलाई हप्ताको तीन दिन ढुवानीका लागि उपलब्ध गराइने उहाँले बताउनुभयो । वडा नं ३ को पिपलाडी र जोनापुर गाउँ तरकारी खेतीका लागि अग्रणी छ । गाउँका ६० बढी किसानले व्यावसायिकरुपमा काउली खेती गरेका छन् । यहाँको काउली खेतीले झलारी, वन समिति, कलुवापुर, दैजी, सिसैया, सुडा र महेन्द्रनगरलगायत बजार धानेको छ । एक सिजनमा मात्रै यहाँबाट रु ८० लाख बढीको काउली मात्रै बिक्री हुने गरेको छ । काउली, तितेकरेला, काँक्रा, लौका, गोलभँेडा, खुर्सानीलगायत तरकारी मौसमी, बेमौसमी यहाँ उत्पादन हुने गरेका छन् । बाह्रै महिना किसानले तरकारी उत्पादन गर्दछन् । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्