×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कञ्चनपुरको पर्यटकीय क्षेत्र बतासे झरनामा भौतिक पूर्वाधार निर्माणको कार्य शुरु

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कञ्चनपुरको पर्यटकीय क्षेत्र बतासे झरनामा भौतिक पूर्वाधार निर्माणको कार्य शुरु

१२ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीमा रहेको पर्यटकीय क्षेत्र बतासे झरनामा भौतिक पूर्वाधार निर्माणको कार्य शुरु गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन पूर्वाधार कार्यक्रमअन्तर्गत कपडा फेर्ने तीन कोठे भवन, प्याराफिट र शौचालय निर्माणको कार्य अगाडि बढाइएको छ । “पर्यटकीय क्षेत्रको विकासका लागि रु १० लाखको लागतमा भौतिक पूर्वाधार निर्माणको कार्य अगाडि बढाएका छौँ” वडाध्यक्ष बहादुर सिंह महराले भन्नुभयो, “झरनाको अवलोकन गर्न र झरनामा नुहाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको चापलाई मध्यनजर गरी निर्माणको काम भइरहेको छ ।”
आउँदो एक महिनाभित्रै सबै निर्माण थालिएका भौतिक पूर्वाधारका कार्य पूरा हुने उहाँले बताउनुभयो । विशेषगरी झरना क्षेत्रमा नुहाउन आउने महिलालाई कपडा फेर्नका लागि निकै सास्ती हुने गरेको कुरालाई ध्यानमा राख्दै प्रदेशसभा सदस्य महेशदत्त जोशीको सिफारिसमा मन्त्रालयबाट बजेटको व्यवस्था गर्न सकिएको उहाँको भनाइ छ । “बतासे झरना पुग्ने पर्यटकले सडकको भरपर्दो व्यवस्था नहँुदा निकै सास्ती खेप्दै आएका थिए” उहाँले भन्नुभयो, “यसै कुरालाई मध्यनजर गर्दै झण्डै तीन किलोमिटर सडकको ट्र्याक खोल्ने कार्य गरिएको छ ।”
सडकको ट्र्याक खुलेपछि आधाभन्दा बढी बाटोमा मोटरसाइकल र जीपलगायतका साधनमा पुग्न सकिने भएको छ । आउँदो आवमा बजेटको व्यवस्था गरी सडकको स्तरोन्नतिको कार्य गरी पर्यटकको आवगमनलाई सहज बनाइने भएको छ । झरना क्षेत्रमा स्थानीय बासिन्दाले वर्षौँदेखि नीलकण्ठ बाबाको पूजासमेत गर्दै आएका छन् । यस क्षेत्रमा गरेको भाकल पूरा हुने जनविश्वास छ । प्रदेशसभा सदस्य जोशी परापूर्वकालदेखिनै यस क्षेत्रमा नीलकण्ठ बाबाको पूजाआजा गरिँदै आएकाले भव्य मूर्ति निर्माणका लागि आउँदो बजेटमा आवश्यक रकमको व्यवस्था गरिने बताउनुहुन्छ ।
“मूर्ति निर्माणको कार्यले धार्मिक पर्यटनलाई समेत यहाँ बढावा दिन सकिन्छ”, उहाँले भन्नुभयो, “यस कार्यले आर्थिक गतिविधि बढ्ने भएकाले स्थानीय युवाले रोजगार पाउँछन् ।” बतासे झरना क्षेत्रमा दर्शनीय क्षेत्रका रूपमा नीलकण्ठ बाबाको थपना, नीलताल, झरना, दन्ते गुफालगायत रहेका छन् । योसँगै क्रान्तिकारी किसान नेता भीमदत्त पन्तका सेना बस्ने प्राकृतिक ओढारसमेत रहेको छ । स्थानीय बूढापाकाका अनुसार सामन्ती विरुद्धको आन्दोलनमा सहभागी नेता पन्तका योद्धा यहाँका ओढारमा बस्ने गरेका थिए । ओढारमा अझै पनि योद्धाहरुले प्रयोग गर्ने सामान हेर्न सकिने बूढापाकाको भनाइ छ ।
दैनिक झरना अवलोकनका लागि २०० देखि ६०० आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् । शनिबारलगायत बिदाको दिन आन्तरिक पर्यटकले झरना क्षेत्र भरिभराउ हुने गर्छ । पहाडको माथिबाट झर्दै गरेको निश्चल पानीको अद्भूत दृश्य नियाल्नकै लागि जोखिमको बेवास्ता गर्दै पर्यटक यस क्षेत्रमा पुग्ने गर्छन् । झरनाको पानी खसेर बनेको नीलो कञ्चन ताललाई स्थानीय बासिन्दाले नीलतालका रूपमा चिन्ने गरेका छन् । झण्डै २०० फिटमाथिबाट खस्ने झरनाबाट चिसो हावा बहने भएकाले यसलाई बतासे झरना भन्ने गरिएको वडा सदस्य लालबहादुर महराले बताउनुभयो । दुईतर्फ कडा चट्टान भएको साघुँरो ठाउँबाट झरना झर्ने गरेको छ ।
झरना खस्दै गरेको ठाउँको मनोरम दृश्यलाई मोबाइलको क्यामेरामा कैद गर्न, सेल्फी लिन र तालमा पौडी खेलेर मनोरञ्जन गर्नका लागि युवादेखि बूढापाकासमेत यस क्षेत्रमा पुग्ने गर्छन् । “झरनाको दृश्य अलौकिक छ”, मोहनसिंह धामीले भन्नुभयो, “झरनाको दृश्य हेर्नेहरु मन्त्रमुग्ध नहुने कोही छैन । झरनासँगै एकान्तमा रम्नेहरुका लागि यो गतिलो गन्तव्य नै हो ।” यसैगरी वडा नं ८ मा रहेको मणिका धाममा समेत सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन पूर्वाधार कार्यक्रमअन्तर्गत धार्मिकजनलाई मन्दिर क्षेत्रमा पुग्नका लागि पक्की बाटो निर्माण गरिएको छ । रु पाँच लाखको लागतमा पक्की बाटो निर्माण गरिएको हो । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: