×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एशिया बैंकमा ‘नक्कली धितो काण्ड’ : अरुको सम्पत्ति राखेर रोहितले यसरी लिए ६ करोड ऋण ! (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ माघ २०७७, आईतवार

PRIME CA
laxmi sunrise bank

एनआइसी एशिया बैंकमा ‘नक्कली धितो काण्ड’ : अरुको सम्पत्ति राखेर रोहितले यसरी लिए ६ करोड ऋण ! (भिडियो)

  • अर्थ सरोकार इन्भेष्टिगेसन ब्युरो 
नाम : रोहित पारख
ठेगाना : प्रदेश नम्बर १, बिराटनगर
अहिले बैंकको करोडौं रुपैयाँ ठगेर फरार
बिराटनगरका व्यापारी रोहित पारख । जो बैंकलाई करोडौं रुपैयाँ ठगेर अहिले फरार भएका छन् । एनआइसी एशिया बैंकबाट करोडौं रुपैयाँ ऋण लिएर फरार भएका पारखले आफ्नो हुँदै नभएको सम्पत्तिलाई आफ्नो भनी किटान गरी बैंकलाई झुक्याएर बैंकबाट कर्जा लिएका थिए । आफैंले अरु कसैलाई बहालमा दिएको गोदाममा राखिएको मालसामाग्री आफ्नो हो भनी किटान गरेर एनआइसी एशिया बैंकबाट करोडौं कर्जा लिएका उनी अहिले बैंकसँग सम्पर्कमा छैनन् । पारखले विराटनगरस्थित एनआईसी बैंकबाट साढे ६ करोड कर्जा निकालेका थिए । मोरङको कटहरी गाँउपालिका ४ मा रहेको आफ्नो जग्गा र गोदाम पारखले विराटनगरकै ब्यापारिक प्रतिष्ठान शिव भगवती ट्रेडर्सलाई बहालमा दिएका थिए । शिवभगवतीले विगत ९ बर्षदेखि पारखको जग्गा र गोदाम भाडामा लिएर आफ्नो ब्यापार गर्दै आएको छ । तर त्यहि गोदाममा भएको समान आफ्नो हो भनी देखाएर पारख एनआइसी एशिया बैंकबाट करोडौं रुपैयाँ ऋण निकाल्न सफल भएका थिए ।
शिव भगवती ट्रेडर्सलाई आफ्नो जग्गा र गोदाम बहालमा दिएका थिए उनले । र सो गोदाममा उनको होइन शिव भगवती ट्रेडर्सको माल सामाग्री छ । शिवभगवतीले विगत ९ बर्षदेखि पारखको जग्गा र गोदाम भाडामा लिएर आफ्नो ब्यापार गर्दै आएको थियो र अहिले पनि व्यापार गरिरहेको छ । तर पारखले आफ्नो भनी बैंकबाट ऋण निकालेकाले बैंकले ऋण नतिरेको भन्दै अहिले सो गोदाममा ताला लगाईदिएको छ, जसका कारण शिव भगवती ट्रेडर्सको १० करोड बढीको गहुँ र मकै पारखको गोदाममा थन्किएको छ ।
हुँदै नभएको सम्पत्ति देखाएर कसरी निकालियो कर्जा ? कसरी खुल्यो त घटनाको पोल ?
हाल फरार भएका पारखको एनआइसी एशिया बैंकका कर्मचारीसँग सार्है राम्रो सम्बन्ध थियो । सोहि सम्बन्धको दुरुपयोग गरेर उनले बैंकका कर्मचारीसँगको मिलेमतोमा शिवभगवतीले भण्डारण गरिराखेको खाद्यान्नपनि आफ्नो भन्दै साँढे ६ करोड रुपैयाँ कर्जा निकाल्न सफल भए । तर पारख एकाएक सम्पर्कमा नआएपछी एनआइसी एशिया बैंकले उक्त गोदाममा ताला लगाईदियो । एनआइसी एशिया बैंकले ताला लगाईदिएको खबर एनसीसी बैंकसम्म पुग्यो जुन बैंकसंग शिव भगवती ट्रेडर्सले कारोबार गरिरहेको थियो । एनसीसी बैंकले पनि कर्जा जोखिममा परेको देखेपछी आफ्नो बैंकका तर्फबाट पनि उक्त गोदाममा ताला लगाईदियो । दुवै बैंकले ताला लगाईदिएपछी आफ्नो मालसामानको सुरक्षा जोखिम देखेपछी अहिले सो गोदाममा मालधनीले समेत ताला लगाईदिएका छन् । यसरी एउटै गोदाममा अहिले तीन ताला छन् ।
मालधनीले गोदाममा भण्डारन गरेर राखेको गहुँ र मकै अहिले कुहिने अवस्थामा पुगेको छ भने अझै यो काण्ड मिलेको छैन । पारख फरार भएको थाहा पाएपछि उनलाई हचुवाको भरमा कर्जा प्रवाह गर्ने एनआईसी बैंकले पौष ३ मा ताला लगाएको थियो । आफ्नो क्लाइन्टको गोदाममा अर्कै बैंकले ताला लगाईदिएको खबर पाएपछि एनसीसी बैंकले पौष ८ मा सोहि गोदाममा ताला लगाईदिएको छ । शिवभगवती ट्रेडर्सले लामो समयदेखि सो ठाउँमा गोदाम संचालन गरिरहेको थियो भने एनसीसी बैंकबाट कर्जा लिएर कारोबार गर्दै आएको थियो । यो कुरा धेरै बैंकरहरुलाई पनि थाहा थियो । तर एनआइसी एशिया बैंकका कर्मचारीहरुले गरेको मिलेमतोका कारण पारखले ऋण पाए र सो ऋण लिएर उनी अहिले फरार छन् ।
को हुन् रोहित पारख रु किन भागे पारख ?
बिराटनगरमा व्यवसाय गरिरहेका रोहित पारखको व्यवहार धेरै अघिदेखि बिग्रिरहेको थियो । उनी पैसा नभएर निकै छट्पटाएका थिए । उनको व्यवहार यतिसम्म बिग्रिएको थियो कि अव कसैले पनि उनलाई ऋण सापट पत्याउने अवस्था भएन । यहि बेला एनआइसी एशिया बैंकले उनलाई ६ करोड ऋण दिन्छु भनेपछि उनलाई एनआइसी एशिया बैंक बैंकले भनेजस्तै बैंक पनि साथी पनि, सावित भयो । र बैंकका कर्मचारीको मिलेमतोमा उनले बैंकबाट ६ करोड रुपैयाँ निकाल्न सफल भए । जसरी पनि बैंकबाट ऋण निकाल्न कस्सिएका उनले आफुले भाडामा दिएको गोदाम पनि आफ्नै भनेर बैंकमा कागज बनाए । बैंकले पनि भेरिफाइ नगरीकन सो गोदाम उनकै भनेर कागज गरी उनलाई ऋण दियो । तर जव पारखले ऋण पाए, त्यसपछि उनी आफु बसेको ठाउँबाट फरार भए र अहिले उनी बैंकको सम्पर्कमा छैनन् । आफ्नो हुँदै नभएको सम्पत्ति धितो राखेर एनआइसी एशिया बैंकबाट ऋण निकाल्न सफल भएका पारख ऋणको रकम निस्किएलगत्तै सपरिवार आफ शनिहाटस्थित घरबाट फरार भए । यसअघि यो घर उनकै स्वामित्वमा रहेपनि डेढ बर्षअघि यो घरसमेत उनले बेचिसकेको स्थानीयहरुको भनाइ छ ।
पारखको व्यवहार यो हदसम्म बिग्रिएको थियो कि उनले धेरै व्यापारी र साथीभाइहरुसंग मिटरब्याजमा समेत ऋण लिएका थिए । सो रकम तिर्न नसकेपछि उनले बैंकलाई दुरुपयोग गरे, र बैंकबाट करोडौं रुपैयाँ लिने प्लान बनाए । तर बैंकबाट ऋण लिएपछि सो रकम तिर्नुपर्नेलाई तिर्दा पनि उनको व्यवहार सल्टिने नदेखेपछि स(परिवार उनी फरार भए । उनी अहिले भारत पलायन भएको उनका साथीभाइको शंका छ । यद्यपी उनी कहाँ छन् भन्ने तथ्य पुष्टी हुन सकेको छैन । एनआइसी एशिया बैंकले आफु ठगिएको महसुस मात्र गरेको छैन, अव यो केस कसरी सल्टाउने भन्नेतिरसमेत लागिसकेको छ भने एनआइसी एशिया बैंकलाई पारखले ठग्दा यसको मारमा गोदाम धनी परेका छन् । गोदाम भित्रका समान बेच्नुपर्ने बेलामा दुई बैंकले ताला लगाईदिंदा अहिले उनीहरु ठुलो घाटामा पर्ने डरमा छन् ।
कहाँ भयो त एनआइसी एशिया बैंकको कमजोरी ?
देशकै सबै भन्दा ठुलो बैंक बन्ने लहडमा एनआइसी एशिया बैंक थुप्रै ठाउँमा चुकेको चर्चा नेपाली बैंकिङ क्षेत्रमा छ । कर्जा प्रवाहमा कर्मचारीहरुलाई दिइएको अनावश्यक टार्गेटले अझ समस्या निम्त्याएको छ । अझ कर्जा प्रवाहमा एनआइसी एशिया बैंक अरु बैंकभन्दा धेरै लचक पनि छ । जसरी हुन्छ व्यवसाय बढाउने ध्यानमा लागेको एनआइसी एशिया बैंक त्यो बेला फस्यो, जुन बेला व्यापार बढाउने नाममा बैंकले लगानी गरेका व्यक्ति फरार भए र उनले राखेको धितोसमेत उनको नभएको खुलासा भयो ।
यता बैंकका कर्मचारीहरुले आफ्नो कमजोरी भएको तर मिलेमतो नभएको दाबी गर्दै आएका छन् । यदी त्यस्तै हो भने पनि सम्पत्तिको भेरिफिकेसन सहि रुपमा नगर्नु, ऋण दिन हतारिनु, क्रस भेरिफाइ नगर्नु, र व्यापारीलाई अनावश्यक विश्वास गर्नु लगायतका बैंकका थुप्रै कमी कमजोरी देखिएका छन् । एनआइसी एशिया बैंकले बिजनेश बढाउने नाममा ख्याल नै नगरी कसैलाई करोडौंको कर्जा दिंदा अहिले बैंकमात्र फसेको छैन, बरु बैंककै कारण माल सामाग्री धनी पनि नमज्जासँग पिरोलिएका छन् भने एनसीसी बैंक पनि अनावश्यक तनावमा फसेको छ ।
किन सार्है लापरवाही गर्दैछ एनआइसी एशिया ?
यसो त प्रदेश नम्बर १ मा एनआइसी एशिया बैंकले लापरवाही गरेको यो पहिलो घटना भने होइन । हुँदै नभएको कर्जाउपर ऋण दिने, एउटा फर्मको रकम अर्कै कम्पनीमा हालिदिने, कागज नै नपुर्याई कर्जा दिने लगायतका काम एनआइसी एशियाले गरिरहेको छ । बैंकले दिएको टार्गेटको मारमा कर्मचारीहरुले यतिसम्म हतारो गरिरहेका छन् कि उनीहरु कुन बेला आफु फसिसकें भन्ने कुरा पनि पत्ता लगाउँन नसक्ने अवस्थामा छन् । बैंकले दिएको यस्तै तनावका कारण बैंकका प्रदेश नम्बर १ का प्रमुख लगायत थुप्रै कर्मचारीहरु बैंक छोड्ने मनस्थितिमा पुगिसकेका छन् । तर बैंकमा एकपछी अर्को यस्तो काण्ड आउन थालेपछि उनीहरुलाई आफुले खाइरहेको जागिर पनि निल्नु न ओकल्नु भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: