
कैलाली । कैलालीको किसान बहुउद्देश्यीय सहकारी संस्थाले तीन क्षेत्रमा काम गर्दै आएको छ । पहिलो बैंकिङ सेवा, दोस्रो लघुबित्त र तेस्रो कृषि क्षेत्र । २०७६ साल जेठ ६ गतेदेखि जानकी गाउँपालिका–९ को अमरावतीमा सहकारीले कृषिको व्यावसायिक शुरुआत गरेको थियो । कोरोना महामारीका कारण ठूलो नोक्सानी व्यहोरेको भए पनि सो सहकारी संस्थाले अहिले पुनः राम्रो हुँदै गएको कृषि प्राविधिक वीरेन्द्र शाहले बताउनुभयो । उहाँले बन्दाबन्दीको समयमा उत्पादन सोचेभन्दा राम्रो भएको तर बजारीकरणको समस्याका कारण लाखौँ नोक्सान भएको बताउनुभयो । “हामीले व्यावसायिक कृषिसँगै यसलाई तालीम केन्द्रका रुपमा पनि विकास गरेका छौँ । यहाँ सिक्ने र सिकाउने धेरै हुन्छ”, उहाँले भन्नुभयो, “हिजोका दिनमा अरूबाट किनेर खानेहरु आज आफूलाई भए पनि कृषिमा प्रेरित भएका छन् । विशेषगरी, हाम्रो क्षेत्र वरपरकाहरुले राम्रो ज्ञान लिएको हामीलाई महसुस भएको छ ।”
सहकारीको मुख्य उद्देश्य पनि कृषि क्षेत्रलाई माथि उठाउनु नै रहेको सहकारीका महाप्रबन्धक डम्बरबहादुर शाहले बताउनुभयो । किसानकै समूहबाट स्थापना भएको सहकारीले कैलालीका १३ वटै स्थानीय तहमा व्यावसायिक कृषि फार्म सञ्चालनमा ल्याउने तयारी गरेको उहाँको भनाइ छ । “हाम्रो उद्देश्य किसानलाई व्यावसायिक कृषिमा लगाउने पनि हो । त्यहीअनुसार कैलालीका १३ वटै स्थानीय तहमा कृषि फार्म सञ्चालनका लागि तयारी भइरहेको छ ।” उहाँले भन्नुभयो, “ती फार्महरुलाई तालीम केन्द्रका रुपमा विकास गरी समूहमा आबद्ध किसानलाई आत्मनिर्भर बनाउनु मद्दत पुग्ने छ ।” महाप्रबन्धक शाहले कृषि फार्मका लागि भनेजस्तो जग्गा उपलब्ध हुन नसकेको बताउँदै लिजमा होस् वा किनेर भए पनि सहकारीका सदस्यहरुको जीवनस्तर माथि उठाउनमा सहकारीले सहयोग गर्ने बताउनुभयो ।
गत आर्थिक वर्षमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले कृषि फार्मलाई दुईवटा टनेल निर्माणका लागि ७५ प्रतिशत अनुदानमा सहयोग गरेसँगै अहिले बेर्ना उत्पादनको कामलाई पनि सहकारीले अगाडि सारेको छ । बेर्ना बिक्रीबाट पनि राम्रो आम्दानी भएको बताउँदै कृषि प्राविधिक शाहले अहिले काउली, काँक्रा, लहरे बाली, भिण्डीलगायत तरकारीहरु बजारमा पुगेको बताउनुभयो । चारजना कर्मचारीले कृषि फार्ममा प्रत्यक्ष रोजगारी पाएका छन् भने अन्य थुप्रैले ज्यालादारीमा काम पाएका छन् ।
ज्यालामा काम गर्न पनि सहकारीमा आबद्ध सदस्यहरुलाई प्राथमिकतामा राखिएको छ । “काम पनि गर्नुहुन्छ । त्यहीँबाट सिक्नु पनि हुन्छ”, महाप्रबन्धक शाहले भन्नुभयो, “कृषि प्राविधिकसँगै काम गर्दा सदस्यहरुले फार्ममा सिकेका सीपलाई आफ्नो बारीमा लगाउनुहुन्छ । अनि आत्मनिर्भरका लागि समस्या नै भएन ।” दुई बिघा १० कट्ठा क्षेत्रफलमा शुरु गरिएको कृषि फार्मका लागि जग्गा कम हुन थालेको बताउँदै उहाँले अझै १० बिघा जमीन त्यही ठाउँमा खोजी गरिरहेको बताउनुभयो । “हामीले परीक्षणका रुपमा कृषि फार्म शुरु गरेका थियौँ । जसले सोचेभन्दा राम्रो नतिजा दियो”, महाप्रबन्धक शाहले भन्नुभयो, “अहिले सुखड, बौनियाँ, अत्तरिया धनगढीतिर पनि विस्तार गर्ने योजना छ ।” विशेषगरी सहकारी संस्थाले किसानलाई कृषि पेशामा आकर्षण बढाउने उद्देश्यका साथ फार्म विस्तारको काम शुरु गरिएको कृषि प्राविधिक शाहको भनाइ छ । उहाँका अनुसार गत वर्षको भन्दा यस वर्षको आम्दानी धेरै राम्रो भएको छ भने त्यसको बजारीकरणमा पनि कुनै समस्या देखिएको छैन । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्