
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आर्टिफिसियल इन्टेलीजेन्सको क्षेत्रमा ख्याति कमाएको सेवा प्रदायक संस्था फ्यूजमेशिन इन्कले AI2Go तालिम कार्यशालाको आयोजना गर्ने बिहीबार घोषणा गरेको छ । जुन नेपालका लागि अहिलेसम्मकै नयाँ ए.आई कार्यक्रम हो । ए.आई सम्बन्धि समग्र विषयहरुलाई समेटेर तयार गरिएको यो अनलाईन तालिम कार्यक्रम लगातार चार हप्तासम्म चल्ने भएको छ । कम्प्युटर विज्ञान वा यस सम्बन्धि प्राविधिक ज्ञान सीप पटक्कै नभएका वा सीमित ज्ञान भएका पेशाकर्मीहरु तथा कम्प्युटरमा काम गरिरहेका तर ए.आई सम्बन्धि पुष्ठभूमि नभएका सहभागीहरु यस तालिमको माध्यमबाट लाभान्वित हुन सक्नेछन् ।
यस तालिम कार्यक्रमको मुख्य लक्ष भनेको सहभागीहरुलाई ए.आईका बारेमा आधारभूत ज्ञान सीपहरुले युक्त बनाउनु र उनीहरुले काम गरिरहेको पेशागत क्षेत्रमा ए.आईं तथा मेसिन लर्निङको बारेमा सिर्जनात्मक ढंगले सोच्ने र जिम्मेवारीपूर्वक काम गर्न सक्ने गरी उनीहरुको क्षमता अभिबृद्धि गर्नु रहेको छ । यस तालिम कार्यक्रममा आठ वटा प्रत्यक्ष अनलाइन सत्रहरु समावेश गरिएको छ । ती सत्रहरुको क्रममा अमेरिकाका ए.आई क्षेत्रका उल्लेखनीय विज्ञ, प्राध्यापकहरु र कम्प्युटर वैज्ञानिकहरुले गेष्ट लेक्चरको रुपमा कक्षाहरु लिनेछन् भने प्रोगामिङ सम्बन्धि प्रयोगात्मक कक्षाहरु पनि संचालन गरिनेछ ।
यस तालिम कार्यक्रममा सहभागी प्रशिक्षार्थीको सुविधा अनुसार डेस्कटप कम्प्युटर वा मोबाइल फोनमध्ये जुनसुकैबाट पनि जोडिन सकिनेछ र सहभागीहरुले प्रशिक्षणका विषयहरुसित सम्बन्धित अतिरिक्त अध्ययन सामाग्रीहरु तालीम अवधिभित्र आफूलाई अनुकुल पर्ने जुनसुकै समयमा पनि डाउनलोड गरेर लिन सक्नेछन् ।सहभागी प्रशिक्षार्थीहरुले AI2Go तालिम कार्यशालाको अन्तमा मेसिन लर्निङ, आर्टिफिसियल इन्टेलीजेन्स, डीप लर्निङ, क्लासिफिकेसन, रिग्रेसन, मेसिन लर्निङ वर्कफ्लो सम्बन्धि समग्र जानकारी, डाटासेट र ए.आई मोडेल सिर्जना, कम्प्युटर भिजन, नेचरल ल्याड्ग्वेज प्रोसेसिङ र एम.एल मोडेल निर्माणका लागि आवश्यक पर्ने पाइथन सम्बन्धि कार्यमूलक ज्ञान प्राप्त गर्ने लक्ष्य लिइएको छ ।
फ्यूजमेशिनका वरिष्ठ ए.आई अनुसन्धानकर्ता बुलान्त उयानाइकरको शब्दमा भन्दा-‘ए.आई प्रतिको बढ्दो सचेतनता र डिजिटल रुपान्तरणको युगमा प्रवेश गर्नका लागि सामुहिक आतुरताका बाबजुद पनि यस विषयसित सम्बन्धित ज्ञान र अनुभव भएका सक्षम ब्यक्तिहरुको अभाव गम्भीर रुपमा नै खट्किइ नै रहेको छ ।’ उनी जोडदिंदै भन्छन् -‘एकातिर हामीले AI2Go जस्ता गम्भीर प्रकृतिका तालिमहरुको माध्यमबाट ए.आई सम्बन्धि ज्ञानको पहुँच बृद्धि गर्न प्रयत्न गरिरहेका छौं भने सँगसंगै नेपालका पेशागत समुदायलाई पुनर्सिप र सीप अभिबृद्धिको उपायबाट सशक्तिकरण गर्दै उनीहरु कार्यरत क्षेत्रमै त्यसको उपयोग गर्ने वा बिशुद्ध ए.आई केन्द्रीत नयाँ पेशामा प्रवेश गर्ने अवसरको पनि ढोका खोलिदिएका छौं ‘
फ्यूजमेशिनका सीईओ समीर मास्के भन्छन्-‘देशका हरेक भागमा बस्ने ब्यक्तिहरुका लागि उच्च गुणस्तरको ए.आई शिक्षाको अवसर उपलब्ध गराउने उद्देश्यले दुई वर्ष अघि हामीले ‘नेपालका लागि ए.आई शिक्षा कार्यक्रम’ संचालन गरेका थियौं । एकातिर हामीले कम्प्युटर विज्ञान र सूचना प्रविधिका सयौं विद्यार्थीहरुलाई निरन्तर ए.आईको तालिम अवसर उपलब्ध गराउँदै आएका छौं भने नेपालका अप्राविधिक पेशाकर्मीहरुले पनि देखाएको चासोबाट हामी विशेष उत्साहित भएका छौं । नेपालमा ए.आईमाथि सर्बसाधारणको पहुँच पुर्याउने हाम्रो यात्रालाई अझ गति प्रदान गर्नका लागि हामीले अप्राविधिक क्षेत्रका पेशाकर्मीहरुलाई पनि यस्तै प्रकृतिका तालिमका अवसरहरु बढाउँदै लानुपर्छ । अनि मात्र हामीले नेपालमा ए.आई शिक्षा र पेशागत अवसरका दुबै क्षेत्रलाई संबृद्ध बनाउन सही रुपमा सफलता प्राप्त गर्न सक्नेछौ ।’
पुनश्च : AI2Go तालिम कार्यक्रम संचालन गर्नु अघि फ्यूजमेशिनले ‘नेपालका लागि ए.आई शिक्षा’ ‘ए.आई-फाउन्डेसन’, ‘माइक्रोडिग्री’ लगायत यस्तै प्रकृतिका चलिरहेको तालिम कायक्रमहरु नेपालका विभिन्न शैक्षिक संस्थाहरुसंगको रणनीतिक साझेदारीमा संचालनको पहलकदमी लिएको थियो । अहिले संचालन हुने AI2Go तालिम कार्यशाला र यसमा सहभागी हुने प्रकृयाका वारेमा विस्तृत जानकारीको लागि फ्यूजमेशिन इन्क वेबसाइट हेर्न सकिनेछ ।
फ्यूजमेशिन इन्कका बारेमा
आर्टिफिसियल इन्टेलीजेन्स लगायत आफ्ना अन्य सेवाहरुको माध्यमबाट उद्यम ब्यबसाय क्षेत्रमा उपलब्धी भित्र्याउनमा नाम कमाएको संस्था फ्यूजमेशिनको स्थापना सन २०१३ मा भएको हो । अमेरिकाको कोलम्बिया विश्वविद्यालयका सहप्राध्यापक समीर मास्के (पीएचडी) ले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा बसेर नेतृत्व गरिरहेको यो संस्थाले ए.आईको आवश्यकता र महत्वलाई बुझेका तर दक्ष ए.आई इन्जिनियरको अभावसित संघर्ष गरिरहेका संस्थाहरुलाई मद्दत पुर्याउने काम गर्छ ।
ए.आईंलाई सर्बसाधारणको पहुँचसम्म पुर्याउने अभियानको अर्को पाटो भनेको ए.आई शिक्षाको अवसरलाई विश्वब्यापी बनाउनु पनि हो । ठूलाठूला प्राविधिक कंपनीहरुमा ए.आईका एप्लीकेसनहरुको प्रयोग र उपयोगिता बढाएर दैनिक जीवनलाई ए.आईको प्रयोगमा अझ अभ्यस्त बनाउन सक्षम आई.टी इन्जिनियरहरुको खाचो रहेको छ । यस अभाबको परिपुर्तिका लागि संसारभरी नै प्रतिभाशाली इन्जिनियरहरुको खोजी गर्ने र उनीहरुलाई ए.आईं सम्बन्धि ज्ञान सीपको पोषणको माध्यमबाट हुर्काई ए.आईको अन्तराष्ट्रिय बजारमा ल्याउने काम फ्यूजमेशिन इन्क ले गरिरहेको छ ।