Skip to content
LAXMI SUNRISE BANK

कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पतालमा इन्ट्रीग्रेटेड ओपिडी सिस्टम लागू, सबै सेवा एकै ठाउँबाट लिन सकिने

अर्थ सरोकार

भरतपुर । भरतपुरमा रहेको कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले इन्ट्रीग्रेटेड ओपिडी सिस्टम लागू गरेको छ । यो सिस्टम लागू भएसँगै ओपिडीमा जाने बिरामीले सबै सेवा एकै ठाउँबाट पाउने भएका छन् । यससँगै अस्पताल पुगेपछि टिकट काट्न, जचाउने, विभिन्न परीक्षणको शुल्क तिर्ने, औषधि खरिद गर्ने लगायतका कामका लागि बिरामी भौतारिनु पर्ने अवस्थाको अन्त्य भएको छ । सेवाग्राही आफूले उपचार गर्न चाहेको बहिरंग विभागमा पुगेपछि सबै सेवा त्यहीबाट पाउने कलेजका आवासीय निर्देशक डा. मनोहर प्रधानले बताउनुभयो । उहाँले कान्तिपुर हेल्थलाई भन्नुभयो “सेवाग्राहीले बीमा वा सशुल्क टिकट काट्ने, विभिन्न परीक्षणको शुल्क तिर्ने, रगतको नमूना दिने, औषधि खरिद गर्ने लगायतका सबै सेवा एकै ठाउँबाट पाउँछन् ।” एसी (वातानुकूलित) कक्षमा पुगेपछि सेवाग्राही अन्यत्र डुलिरहने झन्झटबाट मुक्त भएको प्रधानको भनाई छ ।

अस्पतालको सबै विभागमा बीचमा खुल्ला ठूलो कक्ष तयार गरिएको छ । त्यहाँ बिरामी पालोको लागि बस्ने गर्दछन् । दायाँबायाँ चिकित्सकका कक्ष रहेका छन् । पालो आएपछि परीक्षणका लागि जाने गरी व्यवस्थापन मिलाईएको छ । सबै ठाउँमा शुद्ध पिउने पानीको समेत व्यवस्था गरिएको पनि प्रधानले बताए । त्यही कक्षबाट भिडियो एक्सरे, एमआरआई, सिटी, एक्सरे जस्ता सेवा लिनु पर्दा शुल्क त्यही तिरेर पालो आएपछि मात्रै पठाउने व्यवस्था गरिएको उनले जानकारी दिए । उनले भने ‘अब परीक्षण गर्ने ठाउँ खोज्दै जाने र लामो समय पालो कुर्नु पर्ने अवस्थाको अन्त्य भएको छ ।” अन्य परीक्षण गर्दा समेत त्यही रहेका कर्मचारीले सहजीकरण गरिदिने हुँदा बिरामीलाई सहज हुने उनले कान्तिपुर हेल्थलाई बताए। बिरामी कुर्ने ठाउँलाई व्यवस्थित बनाईएको छ । प्रधानले भन्नुभयो ‘नेपालमा पहिलो पटक हामीले यो व्यवस्थापन लागू गरेका हौं ।’ उहाँका अनुसार भारतका ठूला अस्पतालहरुमा मात्रै यो सुविधा रहेको छ । हालसम्म नेपालका अन्य अस्पतालहरु दिन नसकेको सेवा आफूहरुले गरेको उनको दाबी छ ।

अस्पतालमा ११ विभागका १९ वटा कक्ष एकीकृत सेवाका लागि तयार गरिएको छ । अस्पतालमा मेडिकल अन्तर्गत मुटु, पेट तथा कलेजो रोग, सर्जरीतर्फ जनरल सर्जरी, पेट तथा कलेजो सर्जरी, युरोलोजी, न्यूरो सर्जरी, कार्डियोथोरासिक तथा भास्कुलर लगायत सेवा रहेका छन् । यसैगरी स्त्री तथा प्रसुती, बाल रोग, नाक/कान/घाटी, आँखा, छाला तथा यौनरोग, स्नायु तथा मानसिक रोग, दन्त रोग र रेडियोलोजी विभाग रहेका छन् । हाल अस्पतालको बहिरंग सेवामा दैनिक ६५० भन्दा बढी सेवाग्राहीले सेवा लिईरहेका छन् । अस्पतालले वार्षिक ३ लाखभन्दा बढीलाई सेवा दिंदै आएको छ । २५ वर्ष अघि यहाँ स्थापना गरिएको यस मेडिकल कलेजमा ५८५ शैया सञ्चालनमा छन् । अस्पतालमा ९० वटा आईसियू, ६ वटा पिआईसियू, १० वटा एनआईसियू रहेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK