नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमञ्चमा भारतको भूमिका र बृहत दृष्टिकोण प्रस्तुत गर्दै संयुक्त राष्ट्रसंघको प्रभावकारिता र विश्वसनीयतामाथि प्रश्न गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले भारत प्रजातन्त्रको जननी भएको बताउँदै प्रजातन्त्रतले डेलिभर गर्ने काम गरिरहेको उल्लेख गरेका छन् । संयुक्त राष्ट्र संघको ७६औं महासभामा २१ मिनेट बोलेका प्रधानमन्त्री मोदीको सन् २०१४ पछिको यो चौथो सम्बोधन हो । प्रधानमन्त्री मोदीले इण्डो प्यासिफिक क्षेत्रमा चीको बढ्दो प्रभाव र चीनले अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई अवमूल्यन गरेकासमेत बताएका छन् । विश्व बैंकलाई चीनले म्यानुपुलेट गरेकोसमेत उनले बताएका हु्न् ।
विश्वले अहिले अतिवादी र बदलावको सोचबाट ग्रस्त भएको उल्लेख गर्दै विश्व समुदायले अफगानिस्तानलाई कसैले पनि कसैविरुद्ध प्रयोग गर्न नहुने सुनिश्चितता गरिनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री मोदीले अफगानिस्तानको माटो आतंकवादको लागि प्रयोग नहोस् भन्ने कुराको सुनिश्चितता गर्नतर्फ जोड दिनुपर्ने बताएका छन् । आफ्नो सम्बोधनका सुरुमा प्रधानमन्त्री मोदीले भने, ‘गत डेढ वर्षदेखि पूरा विश्व पछिल्लो सय वर्षयताकै सबैभन्दा ठूलो महामारीको सामना गरिरहेको छ। यस्तो भयंकर महामारीमा जीवन गुमाउने सबैप्रति श्रद्धाञ्जली र परिवारजनप्रति गहिरो समवेदना ।’ उनले प्रजातान्त्र विविधताका लागि भएको उल्लेख गर्दै भारतमा विविधता भएको बताए ।
उनले थपे, ‘म त्यो देशको प्रतिनिधित्व गरिरहेको छु,’ जसलाई मदर अफ डेमोक्रसीको गौरवको प्रतिकको रुपमा मानिन्छ । जहाँ लोकतान्त्रिक परम्मपराको एक हजार वर्षभन्दा पुरानो इतिहास छ । १५ अगस्तमा भारतले आफ्नो स्वतन्त्रताको ७५ वर्ष पूरा गरेको छ । हाम्रो विविधता, हाम्रो सशक्त लोकतन्त्रको पहिचान छ । जहाँ दर्जनौं भाषा छन् भने सयौं बोलिको लवज छ । रहनसहन, खानपानमा विविधता छ भने भाइब्रेन्ट डेमोक्रेसीको उदाहरण हो ।’ उनले सबैभन्दा लामो समयसम्म गुजरातको मुख्यमन्त्री र पछिल्लो सात वर्षदेखि भारतको प्रधानमन्त्रीको रुपमा भारतीय जनताले आफूलाई सेवा गर्ने अवसर दिएको बताएका छन् ।
भारतीयको प्रगतिले विश्वको विकासमा योगदान गरिरहेको पनि उनले बताएका छन् । उनले भने, ‘आज विश्वको हरेक छैटौं व्यक्ति भारतीय छ । जब भारतीयको प्रगति हुन्छ, तब विश्वको विकासले पनि गति लिन्छ । जब भारत सुध्रिन्छ, तब विश्व पनि सुध्रिने छ ।’ मानवताप्रति आफ्नो दायित्वलाई पूरा गर्न भारतले विश्वभरका आवश्यकता महसुस गरेका मुलुकहरुमा फेरि कोरोनाविरुद्धको खोप उपलब्ध गराउने पनि उनले बताएका छन् । उनले खोप उत्पादकहरुलाई भारतमा आएर उत्पादन गर्न पनि आमन्त्रण गरेका छन् ।
प्रतिगमनको सोचले ग्रस्त मुलुकले आतंकवादलाई राजनीतिक उपकरणको रुपमा प्रयोग गरिरहेको पनि बताएका छन् । उनले भने, ‘जुन मुलुकले आतंकवादाई राजनीतिक हतियार बनाएका छन्, ती मुलुकमा खतरा पनि त्यति नै ठूलो हुनेछ । अफगानिस्तानको माटोको प्रयोग आतंकवादी हमलाका लागि नभएको सुनिश्चित गरिनुपर्छ ।’ उनले समुद्रहरु पनि साझा विरासत भएकोले समुद्री संसाधनको पनि सही प्रयोग गर्नुपर्ने बताए । उनले भने, ‘हाम्रा समुद्रहरु अन्तर्राष्ट्रिय व्यापारको जीवन रेखा हुन् । हामीलाई यिनलाई अलग गर्नेको दौडमा भन्दा पनि बचाएर राख्नुपर्छ । नियममा आधारित विश्व अर्डरलाई बलियो बनाउनुपर्छ ।’