×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थतन्त्रको पुनरुत्थानमा राष्ट्र बैंकको भूमिका, डेपुटी गभर्नर नीलम ढुंगानाको लेख

PRIME CA

अर्थतन्त्रको पुनरुत्थानमा राष्ट्र बैंकको भूमिका, डेपुटी गभर्नर नीलम ढुंगानाको लेख

अर्थ सरोकार

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार

कोभिड-१९ महामारीले नेपालको अर्थतन्त्रलाई शिथिल बनायो । होटेल, पर्यटन, जलविद्युत् आयोजनाहरू धेरै नै प्रभावित भए । उद्योगधन्दा शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन र प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि राज्यले विभिन्न नीति लियो । राष्ट्र बैंकले वित्तीय प्रणालीमार्फत अर्थतन्त्रलाई गतिशील बनाउने प्रयास गर्‍यो ।

राष्ट्र बैंक कोभिड प्रभावित उद्योग व्यवसायलाई वर्गीकरण नै गरेर पुनरुत्थानको ढाडस दियो । अति प्रभावित, मध्यम प्रभावित, निम्न प्रभावितजस्ता विभिन्न वर्गमा वर्गीकरण गरेर त्यसै अनुसार पुन कर्जा प्रवाह गर्ने भन्ने मूल नीति केन्द्रीय बैँकले ल्याएको हो । त्यसका अतिरिक्त नगद मौज्याद अनुपात (सीआरआर) घटाउने, बैँक तथा वित्तीय संस्थाहरूलाई नियामयकी प्रावधानमा छुट दिनेजस्ता नीति पनि ल्याइएको छ ।

त्यस्तै कुन वर्गले लग्ने र कुन वर्गले लगेन अथवा ठुलाले मात्र लगे, सानाले पाएनन् भन्ने सन्दर्भमा हामीले अहिलेसम्म कुनै सर्वेक्षण गरेका छैनौँ । कसले यसलाई फाइदा लियो र कसले लिन सकेन भन्ने अहिले नै यकिन गर्न सकिन्न । तर नेपाल राष्ट्र बैंकले पुन कर्जा प्रवाह गर्दा बढी प्रभावित देखिएका उद्योग व्यवसायलाई पहिलो प्राथमिकता दिने नीति लिएको छ ।

बैंक, वित्तीय संस्थाले पनि आफ्ना ऋणी ग्राहकलाई चिनेर राज्यको सुविधालाई असल नियतले नै प्रयोग गरिरहनु भएको छ भन्ने राष्ट्र बैंकको बुझाइ हुन्छ । बजारमा विभिन्न कारणले जनगुनासाहरू आउन सक्छन् । यस्ता सेवा सुविधा नआउँदा जो कसैले पनि गुनासो गर्न सक्छ । त्यस्तो गुनासो कत्तिको जायज हो भन्ने कुरा नबुझीकन केही व्यक्तिको गुनासोलाई नै आधार बनाएर यस्ता सुविधाको दुरुपयोग भयो भन्ने निक्र्यौलमा पुग्नु हुँदैन ।

केन्द्रीय बैंकले अहिले बैंक वित्तीय संस्थाहरूलाई पनि केही नियामयकी सहुलियत दिएको छ । कोरोना महामारीबाट प्रभावित व्यवसायका कारण वित्तीय प्रणाली समस्यामा नपरोस् भनेर यस्ता नीति लिइएको हो । अहिले पनि राष्ट्र बैंकले यस्ता नियामयकी सहुलियतलाई  तुरुन्तै हटाइहाल्ने अवस्था आइसकेको छैन ।

अर्थतन्त्र चलायमान हुन् थालेको छ । बजारमा भीड बढेको छ । समाज सामान्य अवस्थामा फर्किसकेको छ । निर्माण कार्यहरू अघि बढेका छन् । अहिले अर्थतन्त्र गतिशील भएको छ । यद्यपि, राष्ट्र बैंकले कोभिडको चरम प्रभाव परेको बेलामा दिएका नियामयकी सहुलियत अहिले पनि कायम  राखेको छ । अहिलेको अवस्थाका वित्तीय प्रणालीमार्फत अर्थतन्त्रको पुनरुत्थानका लागि यो नै महत्त्वपूर्ण कुरा हो ।

बिस्तारै अवस्था सामान्य बन्दै जाने र अर्थतन्त्र पुरानै लयमा फर्किने वातावरण बनेपछि राष्ट्र बैंकले वित्तीय स्थायित्वलाई पनि ध्यान दिनुपर्ने हुन्छ । त्यसै बेला अहिले दिइएका नियामयकी सहुलियतमाथि पुनरावलोकन हुन सक्छन् । अहिले भने त्यसो गरिहालेको अवस्था छैन । यस्तो सुविधालाई वित्तीय क्षेत्रले अहिलेको बेलामा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ ।

भुक्तानी प्रणालीमा क्रान्ति

कोभिड १९ ले विश्वभर नै डिजिटल भुक्तानीमा ठुलो क्रान्ति ल्याइएको छ । नेपालमा पनि महामारी सुरु भएपछि यस्ता विद्युतीय भुक्तानीको अभूतपूर्व वृद्धि भएको छ । केही महिनाको अन्तरालमा अहिले हामी तरकारी किन्दा पनि क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्न  सक्ने अवस्थामा आएका छौँ ।

नेपाल राष्ट्र बैंकका गभर्नरले पनि डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्न ठुलो मेहनत गरिरहनु भएको छ । डिजिटल बैंकिङको बारेमा तल्लो तहका जनमानसमा ज्ञान नै नभएको अवस्थाबाट एकै पटक विद्युतीय भुक्तानीमा रूपान्तरण गर्ने गभर्नरको यो प्रयासलाई हामीले सराहना गर्नुपर्छ । यसले हाम्रो अर्थतन्त्र र भुक्तानी प्रणालीमा निकै सकारात्मक प्रभाव पार्न सक्छ ।

केन्द्रीय बैंक आफैँले पनि ‘नेशनल पेमेन्ट गेटवे’ र ‘पेमेन्ट स्विच’ बनाउन काम अघि बढाइरहेको छ । त्यो काम अहिले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले गर्न भनेर प्रक्रिया अगाडि बढाएको छ । २०७७ कात्तिकबाट उनीहरूले काम सुरु गरिसकेका छन् । अहिलेसम्म १० प्रतिशत काम भएको छ । र १६ महिनामा त्यसलाई सम्पन्न गर्ने योजना छ । राष्ट्र बैंकले पनि यसमा ठुलो चासो देखाइरहेको छ । अबको एक वर्षमा ‘नेशनल पेमेन्ट गेटवे’ तयार हुन्छ । त्यसपछि हामी भुक्तानी प्रणालीको नयाँ युगमा प्रवेश गर्छौ ।

वित्तीय स्थायित्व 

कोभिडले निम्त्याएको अर्को जोखिम चाहिँ वित्तीय स्थायित्वमा चुनौती हो । हामीले अर्थतन्त्रको पुनरुत्थानका लागि गर्ने प्रयास र यसका लागि चालिएका खुकुला नियामयकी प्रावधानहरूले वित्तीय स्थायित्वमा जोखिम थपेको छ । सङ्कटलाई अर्थतन्त्रमा उकास्नु पर्ने बाध्यता परेका बेला हरेक अर्थतन्त्रमा वित्तीय स्थायित्व कमजोर भएको भान पर्छ । अहिले हामीकहाँ पनि त्यस्तै भएको छ ।

स्थायित्वलाई हामीले जाड दिएर नीतिगत कडाइ गर्न थाल्ने हो भने सङ्कटबाट अर्थतन्त्रलाई बाहिर निकाल्न कठिन पर्छ । त्यस कारण पुनरुत्थान र स्थायित्वको सन्तुलन कायम गर्नु निकै चुनौतीपूर्ण हुन्छ । यद्यपि राष्ट्र बैंकले यसका मध्यमार्गी बाटो लिएको छ । कोभिडको चरम समस्या भोगेको बेला अर्थतन्त्रको पुनरुत्थानमा ध्यान दिने र बजेटमा सहयोग गर्ने नीति लिइएको छ । त्यस्ता नीतिले राम्रो परिणाम ल्याएको उदाहरण हामीले अर्थतन्त्रमा देख्न थालेका छौँ । अब सधैँभरि नियामयकी सहुलियत दिने हो भने वित्तीय प्रणालीको स्थायित्वमा जोखिम आउन सक्छ ।

अर्थतन्त्र मजबुत हुँदै जाँदा हामीले नियामयकी प्रावधानलाई पुनः कडाइ गर्दै जान्छौँ । अहिलेको अवस्थामा बैंक वित्तीय संस्थाको कर्जा प्रवाह कुन क्षेत्रमा बढी भएको छ भन्ने कुराको सुपरिवेक्षण भइरहेको छ । यसले वित्तीय स्थायित्वका लागि नीतिगत सुधार गर्ने आधार तयार पार्ने छ । अर्को कुरा हाम्रो तरलता व्यवस्थापन हो । त्यसमा पनि राष्ट्र बैंकले काम गरिरहेका छ ।

आत्मनिर्भर अर्थतन्त्र

कोरोनाभाइरस महामारीले धेरै राज्यलाई अत्यावश्यक वस्तुमा आत्मनिर्भर हुनुपर्छ भन्ने सन्देश दिएको छ । धेरै मुलुकमा सरकारले उसलाई आफ्नो नयाँ एजेन्डाको रूपमा पनि लिएका छन् । नेपालमा पनि आत्मनिर्भरताका लागि संविधानले नै सरकारी, निजी र सहकारी गरी तीन खम्बे अर्थनीतिको परिकल्पना गरेको छ ।

सरकारी क्षेत्रले बाटो देखाइदिने हो । नीति नियममा सहजता ल्याइदिने हो । निजी क्षेत्रले त्यस अनुसार उद्यमशीलता विकास गर्ने हो । राष्ट्र बैंकको भूमिका चाहिँ कर्जामा पहुँच कसरी बढाउने भन्ने हुन्छ । राष्ट्र बैंकले कर्जा र ब्याजदरको माध्यमबाट यी काममा सहयोग पुर्‍याउन सक्छ ।

अहिले पनि नेपाल राष्ट्र बैंकले प्राथमिकताका क्षेत्र, विपन्न वर्गजस्ता ‘डेडिकेटेड’ कर्जा योजनाको व्यवस्था गरेको छ । लघुवित्तमार्फत साना र मूलतः महिला उद्यमीमा कर्जाको पहुँच पुर्‍याउने प्रयत्न भइरहेको छ । अहिले पनि लघुवित्त वित्तीय संस्थाहरूमा ऋण लिनेमध्ये ९८ प्रतिशत महिला नै छन् । यसले महिलालाई सक्षम र आत्मनिर्भर बनाउने प्रयत्न गरेको छ ।

अहिले सहुलियतपूर्ण कर्जाको व्यवस्था अघि सारिएको छ । यसले साना व्यवसायीलाई कर्जामा सहज पहुँच पुर्‍याउन मद्दत गरिरहेको छ । बैैंकमा ग्राह्य धितो राख्न नसक्ने तल्लो तहका ऋणीहरूलाई विना धितो पनि ऋण दिनु भनेर हामी सहुलियतपूर्ण कर्जाको व्यवस्था गरेको होम । त्यसबाट १० किसिमका व्यवसायमा विना धितो १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा दिने सुविधा दिइएको छ । नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले यो काम गरिरहेका छन् । यस्तो कर्जा अहिलेसम्म १ खर्ब १२ अर्ब रुपैयाँ प्रवाह भइसकेको छ । यही आर्थिक वर्षको सात महिनामा यस्तो कर्जा ६ गुनाले बढेको छ । यस्ता कामले हाम्रो अर्थतन्त्रलाई आत्मनिर्भरतातिर अग्रसर गराउन सहयोग पुग्छ ।

यस्ता सुविधाको गलत प्रयोग पनि भइरहेको पाइएको छ । धितो नराख्नुपर्ने ठाउँमा धितो मागेको, लक्षित वर्गभन्दा बाहिरका मान्छेलाई पनि कर्जा दिएकोजस्ता केही कमजोरी देखिएका छन् । यस्ता सुविधाका प्रभावकारिता र सदुपयोगका लागि हामीले यसलाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता पनि देखेका छौँ । देखिएका कमी कमजोरीलाई हामीले सच्याउँदै जानपर्छ । राष्ट्र बैंक यसका लागि तयार छ ।

निजी क्षेत्रसँगको सम्बन्ध 

निजी क्षेत्र भनेको विकासको संवाहक हो । उनीहरूको उद्यमशीलताले नै हाम्रो बजारमा रोजगारी सिर्जना हुन्छ । आर्थिक विकास हुन्छ र राज्य सञ्चालनका लागि राजश्व प्राप्त  हुन्छ । अहिले अप्ठेरोमा परेको अर्थतन्त्रलाई उकास्ने माध्यम भनेको निजी क्षेत्र हो । त्यस कारण सरकार र यसका अङ्गहरूले निजी क्षेत्रको प्रवर्द्धन गर्ने नै हो ।

राष्ट्र बैंक र निजी क्षेत्र बिचको सम्बन्ध पनि त्यत्तिकै प्रगाढ हुन्छ । केन्द्रीय बैंकले कर्जा, ब्याजदर र विदेश विनिमयजस्ता क्षेत्रबाट निजी क्षेत्रलाई सहजीकरण गरिरहेको छ । हामीले अहिले पनि समस्यामा परेका व्यवसायलाई प्राथमिकतामा राखेर पुनरुत्थानका प्याकेजहरू मौद्रिक नीतिमा समेट्यौँ । यो पनि निजी क्षेत्रसँगको सम्बन्धलाई प्रगाढ बनाउने प्रयास हो । नेपाल राष्ट्र बैंकले अघि सार्ने नीतिगत व्यवस्था र कानुनी प्रावधानहरूले निजी क्षेत्रलाई खुला र पारदर्शी प्रतिस्पर्धामा उत्रिन स्थान दिएको छ । कानुनले सबैलाई समान अवसर प्रस्तुत गरेकै कारण निजी क्षेत्रको प्रतिस्पर्धात्मक विस्तार हुनसक्छ । हामीले विद्यमान संविधान र कानुनको अधीनमा रहेर निजी क्षेत्रलाई समन्यायिक प्रतिस्पर्धाको मैदान तयार गरिदिनुपर्छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत त्यो काम गर्दै आएको छ ।

(यो लेख नेपाल चेम्बर अफ कमर्सद्वारा हालै प्रकाशित स्मारिकाबाट साभार गरिएको हो-सम्पादक)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: