×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कुमारी बैंकको १९ करोड किर्ते ऋण काण्डको भित्रीकथा : ‘कुसन प्रधान ‘सिकाउने र गर्ने’… सीइओ तिमिल्सीना ‘मिलाउने’…!’

काठमाडौँ । गायक योगेश्वर अमात्यको बारा विश्रामपुरस्थित बिरुवा भूमि वनकाली कम्पनीको नाममा रहेको १२ बिघा जग्गाको नक्कली लालपुर्जा बनाएर १९ करोड रुपैयाँ ऋण लिएको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बैंकका कर्मचारीसहित केहि अभियुक्तहरुलाई पक्राउ गरेको छ ।  घटनाका मुख्य योजनाकार तथा सेन्चुरी कमर्सियल बैंकका पूर्व संचालक कुसन प्रधान, एसके महर्जन, मुक्तिलाल गौतमले कुमारी बैंकमा राखेर १९ करोड रुपैयाँ ऋण लिएका थिए । घटना बाहिर आएपछि  प्रहरीले पर्सास्थित कुमारी बैंक शाखाका ऋण अधिकृत सोनु ठाकुर, मूल्याङ्कनकर्ता राजेश चौरसियालाई समेत पक्राउ गरेको छ । यो घटनासँग सम्बन्धित तथ्य र केहि कागजात अर्थ सरोकारले फेला पारेको छ ।

भएको के हो ?

कुरा गत साउनको हो । साउन महिनामा कुमारी बैंक लिमिटेडबाट १९ करोड रुपैयाँ ऋण प्रवाह भयो । ऋण लिने व्यक्ति थिए कुसन प्रधान, एसके महर्जन र मुक्तिलाल गौतम । उनीहरुले सो ऋणका लागि बाराको १२ बिघा जग्गा धितोमा राखेको भनिएको थियो । तर सो धितो खासमा नक्कली थियो । अरुको जग्गाको किर्ते बनाएको कागजउपर उनीहरुको नाममा कुमारी बैंक लिमिटेडले  १९ करोड रुपैयाँ ऋण दिएको थियो । जग्गाको सक्कली धनी थिए-गायक योगेश्वर अमात्य । अमात्य त्यतिबेला नेपालमा थिएनन् । तर नेपालमा आएपछि उनले आफ्नो जग्गा राखेर बैंकमा ऋण लिइएको छ भन्ने थाहा पाएपछि यस विषयमा थप अनुसन्धान गरे । अनुसन्धानका क्रममा कसैले आफ्नो जग्गाको नक्कली लालपुर्जा बनाएर ऋण लिएको बुझेपछि उनले यस विषयमा सीआइबीमा उजुरी गरे । उनले सीआइबीमा उजुरी गरेको दशैं अगाडी नै हो । सीआइबीले यस विषयमा अनुसन्धान अगाडी बढायो । दशैं पछी मुख्य अभियुक्त कुसन प्रधान लगायतका ऋणी पक्राउ परे । उनी पक्राउ परेपछि ऋण दिने शाखामा एक कर्मचारी भागे । त्यसपछि यो प्रकरण सतहमा आयो । अमात्यले सीआइबीमा उजुरी गरेको थाहा पाएपछि बैंकले यो प्रकरण मिलाउन खोज्यो । र ऋणीलाई सक्कली जग्गा धितोमा राख्न लगायो । तर अमात्यले कानुनीबाटो रोजिसकेकाले यो प्रकरण अगाडी बढ्यो ।

‘सेन्चुरीका पूर्व संचालक सिकाउने… सीइओ तिमिल्सीना मिलाउने…’

सेन्चुरी कमर्सियल बैंकका पूर्व संचालक प्रधान अहिले कुमारी बैंकका कामु सीइओ अनुजमणि तिमिल्सीनाका नजिकका मान्छे हुन् । अनुजमणि तिमिल्सीना सेन्चुरीमा रहंदा त्यहाँ घटेको डलर काण्डमा तिमिल्सीनालाई जोगाउन प्रधानलेसमेत बाहिरी रुपमा महत्वपूर्ण भूमिका खेलेका थिए । र त अनुज प्रधानले जे भने पनि मान्थे र अहिले पनि मान्छन् । यो प्रकरणमा पनि प्रधानले अर्काको जग्गाको किर्ते कागज बनाएर कुमारी बैंकमा ऋण लिएका हुन् । कुमारी बैंक लिमिटेडको विश्वस्त स्रोतले दिएको जानकारी अनुसार यो प्रकरणका बारे अनुजमणि पहिला नै जानकार थिए । प्रधानको यो प्रकरणमा तिमिल्सीनाले नै बैंकका अर्का डेपुटी सीइओ मनिष तिमिल्सीनालाई लगाएर यो काम सकेसम्म छिटो फत्ते गर्न भनेका थिए । सोहि अनुसार यो ऋणको फाइल अगाडी बढेको थियो । मनिष तिमिल्सीनालाई पनि यो जग्गाको पूर्जा नक्कली हो भन्ने थाहा भएको र थाहा भएको दिन सक्कली पनि राख्नुपर्ने हुनसक्ने भन्दै प्रधानलाई उहीबेला नै बताएको बैंक स्रोतको दाबी छ ।

प्रधानले ऋण लिंदा गायक योगेश्वर अमात्य नेपालमा थिएनन् । र उनलाई यस विषयमा सुरुमा थाहा पनि भएन । तर आफ्नो जग्गा बैंकमा धितो राखेर कसैले ऋण लिएको छ, त्यो पनि नक्कली कागजात बनाएर भन्ने थाहा पाएपछि उनले यस विषयमा सीआइबीमा उजुरी गरेका थिए । घटनाको पोल खुलेपछि कुमारी बैंक लिमिटेडका कामु सीइओ अनुजमणि तिमिल्सीनाले डेपुटी सीइओ मनिष तिमिल्सीनाको सल्लाहमै यो काण्ड मिलाउन गोप्य रूपमा एसके र मुक्तिलाललाई नयाँ धितो कायम गर्न लगाएर आफु जोगिने रणनीति अपनाएका थिए । तर नगर्नुपर्ने अपराध उनीहरुबाट भईसकेको थियो । यसो त तिमिल्सीना र प्रधानको कनेक्सन सार्है नजिकको छ । यसअघि तिमिल्सिना सेन्चुरी कमर्सियल बैंक लिमिटेडको बैंकको डेपुटी सीईओ हुँदा कुसन बैंकमा थिए । साथै सीईओ तिमिल्सिना र कुसन फिलिपिन्समा एमबीए पढ्दाका ‘रुम मेट’ समेत हुन् ।

फोकटमा फस्नेहरु हिरासतमा, ‘अपराध’ गर्न उक्साउने खुलेआम !

अझ अचम्मको कुरा त के छ भने यो घटनाका मुख्य योजनाकार प्रधान र बैंकका कामु सीइओ अनुजमणि तिमिल्सीनाको मुख्य डिजाइनमा यो घटना घटेको थियो । तिमिल्सीनाकै निर्देशनमा तलका मान्छेहरुले काम गरेका थिए । तर अहिले आएर तलका मान्छेहरुलाई भकाभक सीआइबीले पक्राउ गरेको छ भने तिमिल्सीनालाई प्रहरीले अझैसमेत पक्राउ गरेको छैन ।

ऋण लिने ऋणीहरु पक्राउ परेका छन् । जसमा यो सब कागजात नक्कली हो भन्ने प्रधानलाई मात्र सुरुमा थाहा थियो । अरु ऋणीहरुले पनि प्रधानले नै आफुलाई फसाएको बयान दिएका छन् । पक्राउ परेका बैंकर कुमारी बैंकको पर्सास्थित शाखाका ऋण अधिकृत सोनु ठाकुर हुन् । जसले माथिको आदेश भन्दै काम गरेका थिए । सीइओको मान्छे फाइल लिएर आएपछि र त्यसमा पनि सीइओको छिट्टो सक्नु भन्ने दबाब दिएपछी उनीसँग खुरुखुरु काम गर्नुको विकल्प थिएन र उनले त्यसै गरे । अर्का पक्राउ परेका व्यक्ति राजेश चौरसिया हुन् । मूल्यांकनकर्ताको खासमा जग्गा नक्कली हो वा सक्कली हो भन्दा पनि जग्गाको कति मूल्य पर्छ भनेर हेर्ने मात्र दायित्व हुन्छ । त्यसमा पनि माथि कामु सीइओकै मान्छेको फाइल भनेर उनले पनि आफुले जानेजति काम गरेका हुन् । यसमा उनको खासै गल्ती केहि पनि छैन । तर उनलाई प्रहरीले पक्राउ गरेर अहिले अनुसन्धान गरिरहेको छ ।

अझ अचम्मको कुरा त के छ भने यो ऋणलाई सदर गर्ने मनिष तिमिल्सीना र घटनामा जोडिएका अनुज मणि तिमिल्सीनालाई प्रहरीले पक्राउ गरेको छैन । विश्वस्त स्रोतका अनुसार राष्ट्र बैंकका केहि मान्छेहरु लगाएर उनलाई पक्राउ नगर्न भन्ने आदेश सीआइबीका उच्च अधिकारीहरुलाई ठुला नेतामार्फत दिइएको छ ।  तिमिल्सीनाकै सल्लाहमा अहिले पर्सा साखाका एक उच्च कर्मचारी फरार रहेका छन् ।

यतिसम्म कि बैंकमा यति ठुलो ऋण काण्ड मच्चिंदा पनि बैंकले सीआइबीलाई केहि पनि जानकारी गराएन ।  बरु भित्र भित्रै यो प्रकरण मिलाएर सीआइबीसँग नै सेटिङ मिलाउने भन्दै दलालहरुको सहायता लियो । स्रोतका अनुसार तिमल्सीना र प्रधानबीचको फोन वार्ताका कतिपय रेकर्डसमेत राष्ट्र बैंक पुगिसकेको छ ।  यो रेकर्ड एक मिडियाकर्मीको हातमासमेत पुगेको छ ।  तिमिल्सीनाले आफुलाई बचाउन राष्ट्र बैंकमा समेत हारगुहार गरिरहेको बुझिएको छ ।

अमात्य बोल्न चाहेनन्, प्रहरीले थप खुलाएन चाहेन…

यस विषयमा बुझ्न अर्थ सरोकारले गायक योगेश्वर अमात्यलाईसमेत सम्पर्क गर्न खोजेको थियो । तर उनको फोन नउठेपछि उनी निकटका व्यक्तिलाई फोन गर्दा अमात्य यस विषयमा बोल्न नचाहेको तर्क गर्दै अमात्य गलत गर्ने सबैलाई जेल हाल्ने नै अडानमा रहेको बताए ।  यता सीआईबीका प्रमुख डीआईजी धिरजप्रताप सिंहले जग्गाको नक्कली लालपुर्जा राखेरऋण लिएको प्रकरणमा अझै अनुसन्धान भइरहेकाले थप बताउन नमिल्ने बताए ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: