×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘प्राविधिक विश्लेषणको चक्रब्यूह…!’, विकास केसीको लेख

PRIME CA

‘प्राविधिक विश्लेषणको चक्रब्यूह…!’, विकास केसीको लेख

अर्थ सरोकार

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार

पूँजीबजारको मूल्य माग र आपूर्तिको सामान्य सिद्घान्तमा आधारित हुन्छ । माग बढि भयो र आपूर्ति कम भयो भने मूल्य बढ्छ । त्यस्तै माग कम भयो र आपूर्ति बढि भयो भने मूल्य घट्छ । खुला बजार नीति अन्तर्गत पूँजीबजारमा मूल्य तोकिदैन् । यो खरिदकर्ता र बिक्रीकर्ताको आपसी निर्णयमा तय हुन्छ । माग र आपूर्तिको सन्तुलनलाई खरिदकर्ता र बिक्रीकर्ताको मनोविज्ञानले निर्देशित गर्छ ।

प्राविधिक विश्लेषणलाई सरल रुपमा व्याख्या गर्नुपर्दा आमलगानीकर्ताको मूल्यप्रतिको यस्तो मनोविज्ञान वा आमधारणा (Crowd Psychology) को अध्ययननै प्राविधिक विश्लेषण हो । पूँजीबजारमा सहभागी लगानीकर्ताले मूल्यप्रति विभिन्न समय र कालखण्डमा प्रदर्शन गरेका व्यवहारका आधारमा भावी दिनहरुका मूल्य प्रक्षेपण गर्नुनै प्राविधिक विश्लेषणको विशेषता हो ।

नेपालको पूँजीबजारमा प्राविधिक विश्लेषणका बारेमा आमलगानीकर्तामाझ निकै ठूलो द्विविधा रहेको पाईन्छ । यूट्युब लगायत अन्य संचार माध्यमहरुमा प्राविधिक विश्लेषणका बग्रेल्ति “पसल” हरु खुलेका छन् । यस्ता पसललाई कसैले “ब्रान्डेड” भनेर चलाएका छन् भने कसैले “अफर सेल” भनेर चलाएका छन् । यद्यपी यी पसलहरु संचालन गर्ने अनुमति भने संबन्धित निकायबाट कसैले पनि लिएका छैनन् ।

प्राविधिक विश्लेषण आफैमा महान ग्रन्थहरुको संग्रह हो । यस्तो ज्ञान कसैले कसैको अनुशरण गरेका आधारमा कदापी प्राप्त हुन सक्दैन् । यसमा निपुण हुनका लागि गहिरो अध्ययन, अनुसन्धान र लामो समयको अभ्यास चाहिन्छ । यो आफैमा एक कठिन साधना हो जहाँ साधकले नीति, नियम र अनुशासन पालना गनुपर्छ । प्राविधिक विश्लेषणको ज्ञान महाभारतमा अर्जुनले चक्रव्यूह भेदन गर्न सिकेको ज्ञान जस्तै हो । अभिमन्युहको जस्तो अल्पज्ञान समयसँगै घातक सिद्धहुने निश्चितप्राःय छ ।

अब यहाँ नेपालको पुँजीबजारमा प्राविधिक विश्लेषणमाथि हुने विभिन्न टिकाटिप्पणीका बारेमा चर्चा गर्रौ । यसको प्रयोग, विश्वसनियता र वास्तविकताका वारेमा बुँदागत रुपमा प्रष्ट पार्ने जमर्को गर्दैछु ।

१. बुलिस ट्रेन्ड कि वियरिस ट्रेन्ड ?

ट्रेन्ड एनलाईसिसको यो विषय नेप्सेको उतारचढावसँगै लगानीकर्ता र “विश्लेषक”बीच शुरु हुन्छ । यो चासो र चिन्ताको विषयलाई यसरी बुझ्न जरुरी छ । सर्वप्रथम प्राविधिक विष्लेशणको जगका रुपमा लिइएको चाल्र्स डावले प्रतिपादन गरेको डाव सिद्घान्त (Dow Theory) नुसार प्राईमरी, ईन्टरमिडियट र माईनर ट्रेन्डअन्तर्गत बजारले हाईयर हाई र हाईयर लो बनाउँदै जान्छ भने त्यसलाई अपट्रेन्ड वा बुलबजार भनिन्छ । त्यस्तै तिनै ट्रेन्डअन्तर्गत बजारले लोवर हाई र लोवर लो बनाउँदै जान्छ भने त्यसलाई डाउनट्रेन्ड वा वियरिस बजार भनिन्छ । नेपालको पूँजीबजारको सन् १९९८ देखि सन् २०२१ सम्मको प्राईमरी ट्रेन्ड (or Secular Trend) लाई चार्टमा हेर्ने हो भने हामी विगत २३ वर्षदेखि बुलबजारमै छौं ।

२. आधारभूत विश्लेषण वा प्राविधिक विश्लेषण ?

विश्वकै पूँजीबजार आधारभूत विश्लेषणको जगमा नै चलेको हुन्छ । यद्यपी आधारभूत विश्लेषण परिवर्तनको समयसिमा छोटो र लामो अवधिको हुन्छ । छोटो अबधिको परिवर्तनमा सूचिकृत कम्पनीका त्रैमासिक वा अर्धवार्षिक रिपोर्ट, कम्पनीको कुनै एक वर्षको लाभांस, अर्थतन्त्रमा विशेष कारणबस आएको संकुचन, ब्यालेन्स अफ पेमेन्ट (Balance of Payment) ले निम्त्याएको छोटो समयको तरलता अभाव (Liquidity Crunch),  आदी पर्दछन् । लामो अवधिका परिवर्तनमा सुचिकृत कम्पनीको वित्तिय अवस्था निरन्तर खस्कदै जानु, मौद्रिक नीतिमार्फत केन्द्रिय बैंकले लिएको बहुबर्षिय नीति, देश आन्तरिक द्वन्द्धतर्फ उन्मुख हुनु आदी पर्दछन् । आधारभूत विश्लेषणद्वारा तय भएको मूल्य प्राविधिक विश्लेषणको चार्टमा प्रतिबिम्बित हुन्छ । तसर्थः प्राविधिक विश्लेषण गर्नु भनेको आधारभूत विश्लेषणलाई फलो गर्नु नै हो ।

३. प्राविधिक विश्लेषणले काम गर्छ कि गर्दैन ?

प्राविधिक विश्लेषणको विश्वसनियतालाई लिएर लगानीकर्ता तथा स्वयं विश्लेषक हुँ भन्ने व्यक्तिहरुबीच पनि शंका उपशंका उब्जिएको पाईन्छ । महाभारतकै अर्को प्रसंग जोड्दा आचार्य द्रोणाचार्यका शिष्यहरुमध्ये एकै किसिमको शिक्षा पाएतापनि अर्जुन सर्वश्रेष्ठ योद्धा साबित भए । वेदका मन्त्र कण्ठस्त पार्नु र उक्त मन्त्रलाई सिद्ध गर्नुमा भिन्नता हुन्छ । प्राविधिक विश्लेषणको क्षेत्रमा आधारभूत ज्ञान हासिल गर्नु भनेको कखरा सिकेजस्तो मात्रै हो । विश्लेषकले आफ्नो सिकाई, भोगाई र दक्षताले स्थापित सिद्धान्त (Established Principles) माथि उठेर आफ्ना अनुभवलाई सिद्ध गर्नसक्नुपर्छ । यसो गर्दैगर्दा प्राविधिक विश्लेषणको सुन्दरता महसुस हुन्छ, यसप्रति विश्वास जागृत हुन्छ र यसले पक्कै बेजोडसँग काम गर्छ ।

४. नेप्से विन्दु ४००० वा ६००० ?

यात्राको क्रम जहिलेपनि वर्तमान विन्दुबाट शुरु हुन्छ । एककदम अगाडी चालेपछि मात्रै हाम्रो अर्को कदमले साथ दिन्छ । कुहिरोले ढाकिएको बाटोमा एकैपटक ५० मिटर अगाडी देखिदैंन् । दुई तिन मिटर जति आँखाले भ्याउँछ, हिड्दै गएपछि अगाडीको भिजिविलिटी आफै प्रष्ट हुन्छ । यात्री भएर यात्राका उतारचढाव (Peaks & Troughs) को आनन्द लिँदै जाने हो भने ढिलोचाँडो गन्तब्यमा अवश्य पुगिन्छ । (लेखक विकास के.सी. लगानीकर्ता तथा विराटलक्ष्मी विकास बैंकका पूर्व संचालक हुन्)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: