काठमाडौँ । डिस होम । अहिले टिभी हेर्दा सबैभन्दा धेरै ग्राहकले लिने सेवावाला कम्पनी हो यो । कुनै बेला होम टिभी र डिस नेपाल मर्ज भई बनेको कम्पनी डिस होमले भने बार्षिक करोडौं रुपैयाँ कर छली गर्ने गरेको पाइएको छ । प्रचार गर्ने बेलामा ग्राहक संख्या बढी छन् भन्ने आशय प्रस्तुत गर्ने, तर कर तिर्ने बेलामा कम ग्राहक संख्या देखाएर डिस होमले कर छल्ने गरेको पाइएको हो । यसो त डिसहोमका ग्राहक कति छन् भन्ने तथ्य अन्य नियामक निकायसँग पनि छैन । यहि कुराको फाइदा उठाउँदै डिस होमले कर छल्ने गरेको पाइएको छ ।
यस्तो छ हिसाबकिताब
यसो त डिसहोमको सेवा दिने कम्पनी डिस मिडिया नेटवर्कले कति रुपैयाँ कर तिरेको छ तथ्यबाट नै उसले कर छलिरहेको छ भन्ने बुझ्न गाह्रो छैन । यो समाचार तयार गर्दा हामीले डिस होमले तिर्ने गरेको करको पछिल्लो विवरण त हात पार्न सकेनौँ, तर कम्पनीले महिनाको सरदर १ करोड ३५ लाख कर बुझाउने रहेछ भन्ने बुझ्न आधार भने भेटिएको छ। आर्थिक बर्ष २०७५/७६ को पहिलो ४ महिनामा कम्पनीले तिरेको कर ५ करोड ४० लाख रुपैयाँलाई आधार बनाउने हो भने यो कम्पनीले महिनाको सरदार १ करोड ३५ लाख रुपैयाँ कर बुझाउने रहेछ भन्ने बुझ्न सकिन्छ ।
अव प्रश्न उठ्छ- डिस होमका ग्राहक कति होलान् ? यसको जवाफ डिस होम नै दिंदैन । बरु कम्पनी आफ्नो बजार हिस्सा २५ प्रतिशत छ भन्छ । २५ प्रतिशत त भयो, तर १०० प्रतिशतचाहिं कति हो त ? संचार मन्त्रालयका एक अधिकारीका अनुसार नेपालमा झन्डै ५० लाख टेलिभिजनका ग्राहक छन् । अव यहि ५० लाख ग्राहकको संख्यालाई आधार बनाउने हो भने डिस होमसँग उसैले दाबी गरेको २५ प्रतिशतका दरले १२ लाख ५० हजार ग्राहक छन् । यसमा सबै ग्राहक सक्रिय नहुन सक्छन् । मानौँ १२ लाख ५० हजारमा १० लाख ग्राहक सक्रिय छन् ।
अव कम्पनीले लिने शुल्क र यो तथ्यांकको हिसाब गरौँ । कम्पनीले १० लाख ग्राहकबाट मासिक ४ सय रुपैयाँ शुल्क र त्यसमा १३ प्रतिशत भ्याट उठाउँछ । ४ सय रुपैयाँको भ्याट भनेको ५२ रुपैयाँ हुन्छ । १० लाख ग्राहकबाट ५२ रुपैयाँ भ्याट उठाउँदा कम्पनीले ५ करोड २० लाख रुपैयाँ भ्याट वापत मासिक उठाउँछ कम्पनी । तर उसले मासिक भ्याट वापत भन्दै करदाता सेवा कार्यालयमा १ करोड ३५ लाख रुपैयाँ मात्र उठाएको छ ।
अव कुरा आउँछ, कम्पनीको सेल्ससँगै पर्चेज पनि त होला । पक्कै हुन्छ । तर कम्पनीले गर्ने सेल्सको मात्रा अनुसार त्यहि अनुसारको खरिद सधैं हुँदैन । ठुला ठुला सामान ल्याएर कम्पनीले सुरुमै त्यसको भ्याट मिलान गरिसकेको हुन्छ । यो कम्पनीको प्रकृति हरेक महिना नयाँ नयाँ सामान ल्याउने भन्ने छैन । त्यसैले पनि उसले मासिक रुपमा तिर्ने भ्याटको रकम ठिक छैन भन्ने बुझ्न गाह्रो छैन ।
ठुला करदाताको छापादेखि निरन्तर निगरानीसम्म आईपुग्दा…
यसो त डिस होमले यसरी बर्षौंदेखि करोडौं कर छलेको भन्दै अख्तियारदेखि ठुला करदातासम्म उजुरी थिए । उजुरी परेपछि ठुला करदाताको कार्यालयले समिति नै गठन गरेर अनुसन्धानसमेत थालेको थियो केहि समय अघि । अहिले पनि सो अनुसन्धान जारी छ । ठुला करदाताले कम्पनीमा छापा मारेर उसका कागजात नियन्त्रणमासमेत लिएको थियो । डिस होमको समग्र प्रणालीकाअनुसन्धान थालिएको ठुला करदाताको भनाई छ । कम्पनीले आयात गरेका सेटअप बक्स संख्याभन्दा ग्राहक संख्या अति नै न्यून भएकोबारे पनि अनुसन्धान भईरहेको ठुला करदाताको भनाई छ।