×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राङ्गारिक खेतीप्रति किसानको आकर्षण, परम्परागत खनजोत र प्राङ्गारिक मलको प्रयोगबाट प्रशस्त उत्पादन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्राङ्गारिक खेतीप्रति किसानको आकर्षण, परम्परागत खनजोत र प्राङ्गारिक मलको प्रयोगबाट प्रशस्त उत्पादन

६ बैशाख २०७९, मंगलवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

महोत्तरी,  पछिल्लो समयमा यहाँका किसान प्राङ्गारिक खेतीमा चासो बढाउन थालेका छन् । खेती गर्ने समयमा रासायनिक मल, बीउ र कीरा नियन्त्रण गर्ने विषादी बजारमा नपाउँदा दिक्क भएका यहाँका किसानले प्राङ्गारिक खेतीमा चासो बढाएका हुन् । सघन तरकारी खेती गरिने महोत्तरीको उत्तरवर्ती क्षेत्र बर्दिबास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रका किसानले विस्तारै प्राङ्गारिक खेतीतर्फ चासो बढाउन लागेका छन् ।

“मैले दुई-तीन वर्षदेखि धान, गहुँजस्ता मुख्य अन्नबाली पनि रासायनिक मलबिना नै परम्परागत तरिकाले गर्दै आएको छु, चिस्यानको चैं राम्रो ख्याल गर्नपर्ने यो तरिकामा राम्रै उत्पादन पाइएको छ”, भङ्गाहा–४ रामनगरका किसान ६० वर्षीय हरिदेव साहले भने । साहको देखासिकीबाट सो बस्तीका धेरै किसान अब परम्परागत प्राङ्गारिक खेती प्रणाली रोज्न थालेका छन् । पछिल्लो पाँच वर्षयता रासायनिक मल, कीरा नियन्त्रण गर्ने विषादी र भारतीय बीउ प्रयोग गर्न छोडेको उनको भनाइ छ । “मल, बीउ र कीरा नियन्त्रणका औषधि आफै तयार गर्छु”, उनले भने, “आफैँले उत्पादन गरेको पसलमा पौष्टिकपन, प्राकृतिक स्वाद र सुपाच्य हुन्छ, अनि मल र कीरा नियन्त्रणका औषधि पनि आफै बनाउन सकिन्छ ।” प्राङ्गारिक खेती थालेपछि आफ्नो उत्पादन उपभोक्ताको पहिलो रोजाइँमा पर्ने गरेको किसान साहको भनाइ छ । तरकारी, तेलहन र उखुलगायत नगदेबाली लगाइने जिल्लाको उत्तरी क्षेत्रका गाउँ-नगर बस्तीमा परम्परागत खनजोत र प्राङ्गारिक मलको प्रयोगबाट प्रशस्त उत्पादन हुन थालेको छ । विशेषगरी हरियो सागसब्जी र अन्य तरकारी बालीमा रासायनिक विषादीको प्रयोगले जनस्वास्थ्यमै प्रतिकूल असर पर्न थालेपछि सोको प्रयोग छाडिएको किसान साहले बताए ।

तरकारी, तेलहन (तेलका लागि लगाइने तोरी, सस्र्यू, आलस, तिल र सूर्यमुखी फुल ), दलहन (दालका लागि लगाइने रहर, चना, मुँग, मुसुरो, रहरिया, केराउ र बोडीलगायतका बाली) र उखुलगायतका नगदेबाली लगाउने यी नगर बस्तीमा परम्परागत खनजोत र प्राङ्गारिक मलको प्रयोगबाट नै प्रशस्त उत्पादन हुन थालेको यस क्षेत्रका किसानको भनाइ छ । खासगरी हरियो सागसब्जी र अन्य तरकारी बालीमा विषादिको प्रयोगले जनस्वास्थ्यमै प्रतिकूल असर पर्न थालेपछि सोको प्रयोग छाडिएको भङ्गाहा–४ रामनगरकै तरकारी किसान नारायण दाहालले बताए। प्राङ्गारिक मल बनाउन आफ्नै वरपरका झारपतिङ्गर, त्यतिकै मिल्किएका फोहोर, मल बनाउन नै खेती गरिने ढैंचा (एक प्रकारको वनस्पति) र घरपालुवा गाईबस्तुको गोबर तथा बाख्राको बड्कुला प्रयोग गर्न सकिने भएकाले यो खेतीका लागि सर्वसुलभ र प्रभावकारी मल हुने उनको भनाइ छ । यस्तो मलले माटोलाई उर्बर बनाइ राख्ने र वर्षैपिच्छे मलको मात्रा केही घटाउँदै लान सकिने भएकाले खर्च घट्दै जाने र उत्पादन बढ्दै जाने हुँदा निक्कै प्रभावकारी बनेको सो बस्तीकै अर्का तरकारी किसान चन्देश्वर राय दनुवारले बताए ।

बालीलाई मल चाहिने उपयुक्त बेलामा रसायनिक मलको हाहाकार हुने र तिनको गुणस्तरको समेत यकिन नहुँदा उत्पादनमा प्रतिकूल असर पर्नसँगै परनिर्भरता बढाएकाले आफूहरु प्राङ्गारिक ९आर्गेनिक० खेतीतिर लागेको यस भेगका किसानको भनाइ छ । तरकारी, फलफुल र अन्य बालीमा लाग्ने रोगव्याध र कीरा नियन्त्रणका लागि गाईको गहुँत, खरानी र पानी छर्कने विधि अपनाउन थालिएको र यो निक्कै सफल भएको बर्दिबास नगरपालिका–९ पशुपतिनगरका किसान रामचन्द्र महतोको भनाइ छ । जिवशेषगरी तरकारी र फलफुलमा कडा विषादिको प्रयोग बढ्नाले आम उपभोक्तामा विभिन्न रोगव्याधको बढ्दो सङ्क्रमणलाई अर्गानिक खेती प्रणालीले स्वात्तै घटाउने र यस्तो उत्पादित तरकारी स्वादिलो हुने हुँदा उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको किसान बताउँछन् ।

प्राङ्गारिक खेती सुरु गरिएको पहिलो वर्ष २०७० सालमा उत्पादन अलि कम भएपनि त्यसयता क्रमशः उत्पादन बढ्दै गएपछि अब खासै समस्या नभएको भङ्गाहा–४ का नारायण दाहालको भनाइ छ । पछिल्ला वर्षमा यो विधिको खेतीबाटै बाली उत्पादन भएको क्षेत्रबारे आमचासो र परिचय बढेपछि उपभोक्ताले बजार पुर्याउनासाथ आफ्नो समान तत्काल किन्ने गरेका हालै गौशाला नगरपालिका–१० बटुवा बस्तीका परबल उत्पादक किसान सूर्यनारायण महतोले बताए ।बाली उत्पादक किसानमात्र नभई अब उपभोक्तासमेत प्राङ्गारिक प्रणालीका उत्पादन चिन्न र ठम्याउन सिपालु देखिएका छन् । यस्तो उत्पादनका बाली स्वभाविक आकार र रङ्गका हुने भएकाले ठम्याएर किन्न गारो नहुने बर्दिबास–१ की गृहिणी प्रतिमा कोइरालाले बताइन्। पछिल्ला केही वर्षयता यो प्रणालीका उत्पादन बजार पुग्नासाथ तत्काल खपत भई हाल्ने भएपछि त्यस्ता किसान उपभोक्ताको रोजाइमा पर्ने गरेका छन् । पछिल्ला दिनमा प्राङ्गारिक खेतीतिर किसानको बढ्दो आकर्षणलाई राज्यले भरथेग गरे यहाँको उत्पादनको गुणस्तर वृृद्घि र परिचय बढाउन सहयोग पुग्ने जिल्लाका सामाजिक सङ्घसंस्था, व्यापारिक प्रतिष्ठान र स्वास्थ्यक्षेत्रमा कार्यरत विज्ञहरुको भनाइ छ ।

यसैबीच जिल्लाका केही बजारमा प्राङ्गारिक मल पनि पाइन थालेको छ । सुरुमा मात्र बढी दिनपर्दा आम किसानलाई मँहगोजस्तो लागेपनि वर्षेनि मलको मात्रा घट्दै जाने भएको हुँदा यो प्रभावकारी हुने कृषि विज्ञ भङ्गाहा–५ सीतापुरका बासिन्दा रामबहादुर भुजेलले बताए। कृषि मन्त्रालयको सहसचिब पदबाट अवकास पाएका भुजेल सधैं रासायनिक मलको हाहाकार हुने अवस्थाको स्थायी समाधानका लागि प्राङ्गारिक मल उपयुक्त हुने बताए ।प्राङ्गारिक खेती किसानका लागि सजिलो र कम लागतको हुने तथा उपभोक्ताका लागि स्वस्थ्यकर हुने कुरा बिस्तारै आम किसान र उपभोक्ताले बुझ्दै गएपछि यस्तो खेतीबारे चासो बढेको छ । जिल्लाको सुदूरदक्षिणपूर्वी मटिहानी नगरक्षेत्रका किसानले पनि अब प्राङ्गारिक खेती गर्न लागिएको बताएका छन् । मटिहानी तरकारी उत्पादनमा जिल्लाकै पकेट क्षेत्र मानिन्छ । —रासस

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: