×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बागलुङमा व्यवसायिक रुपमा स्ट्रबेरी खेती सुरु, मासिक ३५ हजार बचत

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बागलुङमा व्यवसायिक रुपमा स्ट्रबेरी खेती सुरु, मासिक ३५ हजार बचत

११ बैशाख २०७९, आईतवार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

गलकोट। विसं २०५४ मा गोलभेडा खेतीका विषयमा धेरैलाई ज्ञान थिएन । २४ वर्षपछि अहिले गोलभेडा धेरैको अनिवार्य प्रयोग गर्ने फल बन्दै आएको छ । २०५४ सालतिर गोलभेडा नेपालको अनिवार्य उपभोग्य फल बन्छ भन्ने थाहा पाएकामध्येका एक हुन्, बागलुङको तमानखोला गाउँपालिका–२ कटेरीका ४८ वर्षीय चुडामणि छन्त्याल ।

उनले लामो समय वैदेशिक रोजगारी तथा केही समय काठमाडौँ र पोखरामा बिताएर चार वर्षअघि मात्रै आफ्नो पुरानो गाउँ कटेरीमा फर्केर कृषि क्रान्तिमा लागेका हुन्। छन्त्यालले २०५४ सालमा गोलभेडाको भविष्य सुनिश्चित् भएजस्तै अहिले स्ट्रबेरीका फलफूलको भविष्य सुनिश्चित देखेको बताए । “गोलभेडा कस्तो हुन्छ, हामीले विदेशमा गएर चाख्यौंँ, २० वर्षको अन्तरालमा नेपालका कुना–काप्चामा गोलभेडा अत्याधिक प्रयोग हुन्छ”, उनले भने “अहिले स्ट्रबेरीको क्रेज पनि २०५४ सालमा गोलभेडाको जस्तै छ, पछि यसको महत्व र प्रयोग निकै बढ्ने विश्वास छ । अहिले दुई वटा टनेलमा गोलभेडा फलाउन छोडेर स्ट्रबेरी फलाएको छु, स्थानीय बजारमा यो फलको विषयमा कसैलाई ज्ञान छैन, सिधैँ पोखरा निर्यात हुन्छ ।”

छन्त्यालले जल्लामै पहिलो पटक विदेशी फलफूल स्ट्रबेरीको व्यावसायिक खेती गर्दै आएका छन् । कृषि ज्ञान केन्द्र बागलुङको तथ्याङ्कअनुसार जिल्लामा स्ट्रबेरीको व्यावसायिक खेती छन्त्यालले मात्रै सुरु गरेका छन् । लामो समय वैदेशिक रोजगारीमा गएका  छन्त्यालले स्ट्रबेरी खेतीमा राम्रो सम्भावना देखेपछि काठमाडौँ र पोखरामा व्यावसायिक खेती सुरु गरेका हुन्। पछि आफ्नै गाउँ कटेरीमा छ रोपनी जग्गामा व्यावसायिक तरकारी तथा स्ट्रबेरीखेती थालेको छन्त्यालको भनाइ छ । उनले गाउँमै पहिलोपटक प्लाष्टिक टनेलमा खेतीगर्न थालेको बताए । परम्परागत रुपमा खेती गर्दै आएका स्थानीयवासीलाई व्यावसायिक अर्गानिक खेतीमा आर्कषण गराउन छन्त्यालले महत्वपूर्ण भूमिका खेलेका छन् । उनले उत्पादन गरेका स्ट्रबेरी पोखराको लेकसाइटमा प्रतिकिलोग्राम रु ७०० मा बिक्री हुने गर्दछ । अहिले हप्तामा आठ किलोग्राम स्ट्रबेरी पोखरा पठाउने गरेको र परीक्षण उत्पादन सफल हुँदै गएकाले यसको उत्पादन बढाउँदै लैजाने उनको भनाइ छ । अहिले आफ्नै गाउँमा श्रम गरेर पसिना बगाउँदा विदेशको दुःख बिर्सेको छन्त्यालको भनाइ छ ।

उनले डाइमण्ड एग्रो नामक फार्म दर्ता गरेर अबकरे खुर्सानी, साग, काउली, बन्दा, स्ट्रबेरी र अन्य मौसम तथा बेमौसमी तरकारी खेती गर्दै आएका छन्। उनले मासिक रु ३५ हजार रकम कृषि कर्मबाटै बचत गर्ने गरेको बताए । “गाउँमै हिलो, धूलोमा खेलेर मासिक रु ३५ हजार बचत गर्छु, गाउँको माटोमा खेल्न पाउँदा आनन्द आउँछ, विदेशमा गएको दुःख विर्सिन्छ, मैले कोरिया र मलेसियामासमेत केही वर्ष कृषि क्षेत्रमै काम गरेकाले त्यो अनुभाव गाउँलेलाई समेत सिकाएको छु”, उनले भने, “एउटा पनि प्लाष्टिक टनेल नभएको भरबोङ्गा गाउँमा अहिले ५६ वटा प्लाष्टिक टनेल भइसक्दा निकै खुसी भएको छु ।” विदेशी फलफूलका रुपमा रहेको स्ट्रबेरी पोखरा र काठमाडौँमा राम्रो बिक्री भइरहेको उनको भनाइ छ । “काठमाडौँ र पोखरालगायत बाह्य क्षेत्रबाटसमेत माग आउन थालेको छ”, उनले भने, “भर्खरै स्ट्रबेरी पाक्न सुरु भएको छ । माग धेरै आउन थालेको छ । धान्नै गाह्रो भइसकेको छ ।” प्रत्येक बोटमा दशदेखि पन्ध्र दानासम्म स्ट्रबेरी फलेका छन् । “इन्टरनेटको माध्यमबाट खेती गर्ने तरिका सिक्यौँ । कृषि विज्ञको सल्लाह लिएर दुई वटा प्लाष्टिक टनेलमा स्ट्रबेरीका बोट ल्याएर रोपेका हौँ”, उनले भने, “यसरी फस्टाउने कल्पना नै गरेका थिएनौँ । राम्रैसँग फल्न सुरु गरेको छ ।”

स्ट्रबेरीका नयाँ बिरुवा तयार गरी नर्सरीसमेत बनाइएको छ । नर्सरीमा उत्पादित बिरुवा बिक्रीसमेत गर्ने कार्य सुरु गरिएको छ । स्ट्रबेरीलाई भूइँकाफल भन्ने गरिए पनि स्थानीय भाषामा भने बुढी काफल भन्ने गरिन्छ । उत्पादन भएको सबै फल बिक्री नभएपछि प्रशोधन गरी जाम, रस, आइसक्रिम, मिल्कसेक बनाइ बजारमा बेच्ने उनको योजना छ । पौष्टिकताका हिसाबले महत्वपूर्ण मानिएको यस फलमा एन्टिअक्सिडेन्ट, भिटामिन सी, प्रोटिन र खनिज लगायतका तत्व पाइन्छ । यो फल पिसाब सम्बन्धी रोग भएका बिरामीका लागि उपयोगी मानिन्छ । हिउँदमा फस्टाउने स्ट्रबेरीको वृद्धि विकासका लागि २२ देखि २५ डिग्री सेल्सियस दिनको र ७ देखि १३ डिग्री सेल्सियस रातको तापक्रम सबैभन्दा राम्रो मानिन्छ । ठाउँ र जात अनुसार स्ट्रबेरीका बिरुवा हुर्कन सक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिरुवा बारीमा रोप्दा एक बिरुवादेखि अर्को बिरुवाको दूरी ४५ सेन्टिमिटर र लाइनदेखि लाइनको दूरी ७५ सेन्टिमिटरसम्म राख्न उपयुक्त हुन्छ । फूल फूलेको करीब ३० देखि ४५ दिनभित्र फलको विकास हुन्छ र त्यसको १५ देखि २० दिनपछि फल टिप्नलायक हुन्छ । २३५० मिटर उचाइमा रहेको तमानखोला वडां– २ कटेरी गाउँलाई कृषि क्रान्तिको थलोको रुपमा छन्त्यालले विकसित गर्दै आएका छन् ।

अहिले ठूला ठूला तीनवटा टनेल र अन्य खाली जग्गामा व्यावसायिक तरकारी खेती गर्दै आएका छन्त्यालले हालसम्म रु २० लाख लगानी गरिसकेको बताए । उनलाई श्रीमती इन्द्रकुमारी छन्त्यालको दरिलो साथ र सहयोग छ । “श्रीमान्सँगै काठमाडौँ बस्दा गाउँ सुनसान थियोे, श्रीमान्को गाउँमै केही गर्ने अठोटलाई साथ दिन काठमाडौँ छोडेर आइयो”, श्रीमती छन्त्यालले भनिन, “धेरै वर्ष काठमाडौँ बस्दा यहाँको वातावरणमा घुल्नै समस्या भयो, विस्तारै बानी पर्दै गएको छ, बुढेसकालमा गाउँमै आनन्द जीवन बिताउने हाम्रो अठोट हो ।” कृषि पेशा आफूलाई मनपर्ने र जग्गा आफ्नै भएकाले यस काममा समर्पित हुँदाको सन्तुष्टि पृथक भएको उनको भनाइ छ । व्यावसायिक खेतीका लागि सहरको जग्गा भाडामा लिँदासमेत महँगो हुने भएकाले आफ्नै पाखाबारीमा केही गर्दा सहज र सफल हुने उनको विश्वास छ ।

यो फलको विशेष गन्ध यसको पहिचान बनेको छ । यो फल रातो रङको हुने गर्दछ । यस फललाई ताजा फलको रूपमा साथै प्रशोधन गरी जाम, रस, आइसक्रिम, मिल्क शेकको रूपमासमेत खाने गरिन्छ । स्ट्रबेरी खेतीका लागि बागलुङमा परीक्षणकै क्रममा भएकाले कुनै अनुदानको कार्यक्रम नभएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त ढकालले जानकारी दिए । उनले बागलुङमा स्ट्रबेरी खेतीको राम्रो सम्भावना रहेको बताए । –रासस

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: