×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिटर व्याजीका कारण सडकपति बन्नेको संख्या झनै बढ्ने, अनुसा थापाको लेख

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मिटर व्याजीका कारण सडकपति बन्नेको संख्या झनै बढ्ने, अनुसा थापाको लेख

२३ बैशाख २०७९, शुक्रबार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

काठमाडौँ । पहिलेपहिले गाँउगाँउमा पुँजीपतिहरुले खेतबारीको तम्सुल गराएर ३६ प्रतिशत व्याजमा पैसा लगाउथे । दुईतीन वर्ष साहुव्याज तिर्न नसकेपछि पुँजीपति वर्गहरुले खेतबारी नै खाइदिन्थे । त्यसपछि त्यो व्यक्तिको उठीबास हुन्थ्यो । त्यहाँ पनि घ्यु खुवाउनुपर्थ्यो । अर्कोतिर महिनैपिच्छे व्याज लिन आएको बेलामा मिठोमसिनो खुवाउनुैपर्थ्यो । आफ्नो बालबच्चालाई भोको पेट राखेर ती सामन्तीहरुको पेट भर्नुपर्ने बाध्यता थियो । कतिपयले पैसाचाहि दुई लाख दिन्थे तर कागज भने पाँच लाखको बनाउँथे । अक्षर नचिनेको फाइदा उठाउदै सामन्ती वर्गहरुले यसरी लुट्ने गरेका थिए । यता, सिधासाधी व्यक्तिले पनि उसले जहाँ भन्यो ती ल्याप्चे लगाइदिन्थे । यता, साहुव्याज नै फिर्ता गरेपनि खेतबारी नै हडप्छन् । किन कि कतिपयले घरखेत नै नामसारी गरेर पैसा लिएका हुन्छन् ।

साहुव्याज फिर्ता गर्छुभन्दा पनि घरखेत फिर्ता नगर्दा ऊ त सडकमा आउँछ । अहिले पनि मिटर व्याजको नाममा यो कार्य भइरहेको छ । विदेश जानका निम्ति मिटर व्याजमा ऋण लिन्छन् । बजारमा मिटर व्याजमा रकम लाउने र लिने छ्याप्छ्याप्ती भेटिन्छन् । गरिब, नपढेका र बाध्यतामा परेकालाई ‘मुगार्’ बनाउने काम भइरहेको छ । झोलामा पैसा बोकेर हिडिरहेका हुन्छन्, मिटर दलालीहरु । दिनको हजार रुपैंया व्याज दिने शर्तमा उनीहरुले पैसा दिन्छन् । पहिल्यै नै समयावधि तोकेर साहुव्याज तिर्ने मिति तोकिदिन्छन् । अगाडि नै यति महिनामा साहुव्याज फिर्ता गर्छु भनेर कागजात गर्नुपर्छ । साहुव्याज नतिरेको खण्डमा यिनीले नै ऋणीलाई फसाउछन् किन कि पहुँच र पैसाको आडमा यी सबै काम भइरहेको छ ।

मिटर व्याजमा पैसा लगाउने अधिकांश ठूला व्यापारी र गुण्डा छन् । अरुलाई मिटर व्याजमा कसरी पैसा लगाउने ? थाहा हुदैन । यता, स–साना व्यापारीहरुलाई समेत मिटर व्याजमा पैसा लगाइएको पाइन्छ । २० हजार ऋण दिएबापत दैनिक दुईसय ४० रुपैंया व्याज उठाउने गरेको पाइन्छ । तरकारी, फलफुल व्यापारीहरुले प्रायजसो उनीहरुसंग ऋण लिएका छन् । बाध्यतामा परेर ऋण लिएकालाई यी दलालीहरुले ‘धोती न टोपी’ को बनाइदिएका छन् । व्यापारीहरुलाई जतिबेला पनि पैसाको खाँचो पर्ने र वित्तिय संस्थाले तत्कालै नदिने भएकाले मिटर व्याजमा पैसा चलाउनेहरु दिनहु बढिरहेका छन् । दलालीहरुले आफ्नै घरमा पैसा राख्ने र शर्त पूरा गर्नेबित्तिकै पैसा दिने भएकाले पनि बजारमा यस्तो गैरकानुनी काम फस्टाएको छ ।

मिटर व्याजीहरुले न्यायकर्मीहरु समेत पालेका छन् । वकिलहरुको आडमा मिटर व्याज धन्दा मौलाएको हो । वकिलहरुले यसो गर्नुस, यसरी व्याजमा लगाउनुस भनेर सिकाउने काम गर्छन् । यता, जनतालाई सडकमा ल्याउने कागज बनाउने पनि वकिलहरु नै हुन् । मिटर व्याजमा पैसा लिनेमध्ये कति विस्थापित भए । घरजग्गा, खेतबारी सबै मिटर व्याजीले हडप्दा कतिपय रोडमा आइपुगे । देशको राजनिति परिवर्तन भएपनि शोषक, सामान्ती र दलालीहरुको नियतमा परिवर्तन आएन । एकातिर सिधासाधीको जेथो पनि खाइदिने । अर्कोतिर उसलाई फसाउनका निम्ति झुठो उजुरी दिने । प्रहरी प्रशासनले पनि बैंकमा पैसा नभएको चेक हेर्छ तर के कारणले उसले त्यो चेक दिएको थियो ? त्यो हेर्दैन ।
मिटर व्याजमा पैसा लिनेबित्तिकै दुर्दशा सुरु हुन्छ । हामीले सुनेका छौ, मिटर व्याजमा लिएको पैसा तिर्न नसकेर कतिपयले आत्महत्याको बाटो रोजेका छन् । कति आफ्नो गाँउठाँउ नै छोडेर हिडेका छन् । बाँच्नका निम्ति भारत छिर्नेहरु पनि उत्तिकै छन् । नेपालको कानुनमा उल्लेख भएअनुसार यसरी मिटर व्याजमा पैसा लगाउन पाइन्छ ।

१० प्रतिशतभन्दा बढी व्याज लिएमा त्यसलाई गैरकानुनी मानिन्छ । एक लाखको पाँचदेखि ३० हजारसम्म मिटर व्याजमा लगाइएको छ । यस्तो मँहगो व्याजमा पैसा लगाउनेहरु कतिखेर भाग्नुपर्ने हो ? कतै प्रहरीको लगेर थुन्ने त होइनन् ? आफ्नो घरखेत खाइदिने पो हो कि ? भन्ने त्रासमा बसिरहेका हुन्छन् । मिटर व्याजीहरुको कारणले सुकुम्बासी बन्नुपरेको घटनाहरु पनि सार्वजनिक भइरहेको हुन्छन् । बैंक र सहकारी कै कर्मचारीहरु समेत यसमा मुछिएका छन् । उनीहरु पनि चोखो छैनन् । वित्तिय संस्थाका कर्मचारीहरुले थोरै व्याजमा रकम निकालेर मिटर व्याजमा लगानी गरेको पाइन्छ । अध्यक्ष र चेयरम्यानहरुलाई थोरै व्याज पनि तिर्नुपर्दैन् । पछिल्लो समय कर्जा नदिने बरु मिटर व्याजमा लगानी गर्ने ट्रेन्ड चलेको छ । चौतारा, चियागफमा प्रायजसो मिटर व्याजकै कुरा हुन्छ ।

मिटर व्याज लिदा यो सखापै भयो, त्यसको घरखेत नै सिद्धियो भनेर गफ चलिरहेको सुनिन्छ । अहिले बैंकले पाँच लाखको चेक साट्न सक्ने अवस्था छैन् । एक लाखको चेक साट्न नसक्दा सहकारीले किस्ताबन्दीमा पैसा लैजान आग्रह गर्दछ । तर, मिटर व्याजीहरुले एक करोड रुपैंयासम्म तुरुन्तै दिने गरेको बताइन्छ । आफ्नो खातामा भएको रकम निकालेर कतिपयले घरमा लुकाएर राखेका छन् । कतिपयले मिटर व्याजमा लगानी गर्ने गरेका छन् । वित्तिय संस्थाले आफुमाथिको विश्वासनियता गुमाउदा बचतकर्ताको संख्या स्वाटै घटिसकेको छ । सहकारीमा पैसा राख्ने शून्य बराबर भइसकेको छ । डुब्ने कि भाग्ने भन्ने अवस्थामा आइपुगेका वित्तिय संस्थामा अब सर्वसाधारणले पैसा राख्दैनन् । पाँच करोडको सम्पत्ति धितो राखेर सहकारीका अध्यक्षहरुले एक करोड रुपैंया दिन्छन् ।

त्यसमा पनि तीन प्रतिशत सेवाशुल्क, घुस गरेर २१ प्रतिशत व्याज पुग्छ । तर, सहकारी विभागले कर्जा लगानी गरेबापत १६ दशमलव तीन प्रतिशतभन्दा बढी व्याज लिन नपाउने भनेका छन् । यता, नेपाल राष्ट्र बैंकले घरजग्गा, सेयर र निजी प्लेटका सवारी धितो राखेर कर्जा नदिनु भनेर परिपत्र गरेको छ । तर, सहकारी र निजी बैंकले सरकारकै निर्णयलाई धोती लगाइदिएका छन् । घुस र मँहगो व्याज पाउने लोभमा राष्ट्र बैंकले गरेको निर्णय अटेर भइरहेको छ । यता, मिटर व्याज र वित्तिय संस्थाबाट कर्जा लिने व्यक्तिहरुलाई ‘मर्नु न मोटाउनु’ भएको छ । धितो बिक्री नभएर र बजारमा मन्दी आएर उनीहरु अहिले छट्पटाइरहेको छन् ।

पाँचसय र हजारको नोट वित्तिय संस्थामा छैन् । मिटर व्याजमा लगानी गर्नेहरुको हातमा छ । मिटर व्याजमा पैसा लगानी गर्नेहरुले अब कतिको घरखेत नै खाइदिन्छन् । कतिपयलाई सडकमा पुप्याउछन् र उठीबास बनाइदिन्छन् । राष्ट्र बैंक र अर्थविद्हरुले अर्थतन्त्र पहिल्यै कै गतिमा आउन समय लाग्ने भनेका छन् । बैंकफाइनेन्सले अझै पनि कर्जा दिन नसक्ने उनीहरुको भनाइ छ । बैंकफाइनेन्सले व्याज बढाएको भनि सूचना जारी गर्दा पनि पैसा राखने भेटिएनन् । बैंकफाइनेन्सहरु धरासायी हुदैछन्, मिटर व्याजीहरु मौलाउदै छ । उनीहरुको गैरकानुनी धन्दा झनै फस्टाउदै छ । मिटर व्याजीहरुलाई नरोक्ने हो भने अर्थतन्त्र तहसनहस बन्छ । आफु धनी बन्नका निम्ति एकजनाले हजारौलाई सडकमा पुप्याउछ ।

विस्थापित भएकालाई सरकारले नै सुकुम्बासीको संज्ञा दिनुपर्छ । उनीहरुलाई घरजग्गाको व्यवस्था पनि राज्यले नै गर्नुपर्ने हुन्छ । यता, कसैले तनाव सहन नसकेर आत्महत्या गप्यो भने राज्यले एउटा नागरिक गुमाउनुपर्छ । कि त सडकमा मागेर खानुबाहेक अरु विकल्प छैन् । व्यापारी र नेताहरुले पैसा लुकाउदा बजारमा तरलता देखिएको छ । अब अर्थमन्त्री र राष्ट्र बैंकले हजार र पाँचसयको नोटमा प्रतिबन्ध लगाउने हो भने मिटर व्याजीहरुको कारोबार चक्नाचुर हुन्छ । दुई हजारको नोट निकाल्न जरुरी देखिएको छ । मँहगो व्याज र मिटर व्याजमा पैसा लगाउने व्यक्ति, संस्थालाई सरकारले कारबाही गर्नैपर्छ । बचत गर्ने काम ठप्प भएको छ भने निकाल्ने होडबाजी चलिरहेको छ । ऋण लिएर विदेश गएकाहरुले दुःखजेलो गरेर कमाएको पैसा साहुव्याज गर्दै सिद्धिएको छ । मिटरव्याजलाई नियन्त्रण गर्न नसक्ने हो भने देशको अर्थतन्त्र थप डामाडोल हुन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: