काठमाडौँ । केहि समय अगाडी नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरको सहमति भयो । टिआर उपाध्याय एण्ड कम्पनीलाई डिडीएको जिम्मा दिइयो । बैंकले लाखौँ रुपैयाँ खर्च गर्यो, तर त्यसको कुनै टेन्डर भएन । बैंकले सामान्य प्रपोजल मगाएर निश्चित फर्मलाई काम दियो । डीडीए भयो, मर्जर भएन । कहानी सकियो । झन्डै १५ लाख रुपैयाँमा सकिने कामको त्यो भन्दा धेरै ठुलो बिल आयो । जनता र सेयरधनीको पैसाबाट कम खर्चमा सकिने कामको खर्च बढी आयो । अझ अचम्म लाग्दो कुरा के छ भने ग्लोबल आइएमई बैंक र बिओके बीचको डिडिएको रकम हिमालयन-इन्भेष्टमेन्ट बैंकको भन्दा धेरै कम छ । ग्लोबल र बिओकेबीच गर्नुपर्ने काम र हिमालयन र नेपाल इन्भेष्टमेन्टबीच हुने काममा कुनै पनि तात्विक फरक छैन ।
मेगा र इन्भेष्टमेन्टमा पनि महँगो खर्च, तर टेन्डर भएन
अहिले मेगा र नेपाल इन्भेष्टमेन्ट बैंक पनि डिडिए गरिरहेका छन् । जसका लागि विना प्रतिष्पर्धा निकै महँगो खर्च गरिएको छ । १५ लाख रुपैयाँमा सकिने कामलाई त्यहाँ भन्दा डबल बढी खर्च हुँदा पनि टेन्डर आह्वान भएको छैन । नेपाल बंगलादेश बैंक र नबिल बैंक लिमिटेडबीच भएको डिडिएमा पनि लाखौँ रकम खर्च भयो तर टेन्डर भएन । एकातर्फमात्र काम गर्नुपर्ने भएपनि डीडिएका नाममा निकै महँगो रकम खर्च भएको छ । ग्लोबल- बिओकेबीच दुवै बैंकको काम गर्नुपर्दाको रकमभन्दा यहाँ एकातिर मात्र काम गर्नुपर्दाको रकम उस्तै रहेको बैंक स्रोतको दाबी छ ।
अहिले बजारमा डिडिएमा नाम कहलिएका केहि सिमित अडिट फर्महरु छन् । टीआर उपाध्याय एण्ड कम्पनी, एसआर पाण्डे एण्ड कम्पनी, एसएआर लगायतका अडिट फर्मले धेरैजसो बैंक तथा वित्तीय संस्थाका काम लिन्छन् । अर्थात जुन बैंकसँग जसको नजिकको सम्बन्ध छ, उसैले काम पाउँछ । कतिपय अवस्थामा लागत खर्च भन्दा झन्डै ३ गुणा बढी रकमको ‘डिल’ हुन्छ । यसले सार्वजनिक खरिद ऐनको धज्जी उडाएको तर्क केहिको छ भने केहिको तर्क भने जनताको पैसामा केहि सिमित मान्छे मिलेर पैसा खर्च भईरहेको भन्ने छ ।
नियामक आइक्यानकै अध्यक्ष भन्छन्- ‘यो गलत भयो, राष्ट्र बैंकले समेत हस्तक्षेप गर्नुपर्छ’
अडिट फर्मका नाममा यसरी टेन्डर आह्वान नै नगरी कोहि एक व्यक्ति वा संस्था विशेषलाई लाखौँको काम दिन मिल्छ ?’ हाम्रो प्रश्नमा अडिटरहरुलाई नियमन गर्ने निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का अध्यक्ष सिए. युद्धराज ओली भन्छन्- ‘यो मिल्दै नमिल्ने काम हो । सार्वजनिक संस्था भएकाले र त्यसमा पनि बैंक भएकाले टेन्डर विना यसरी कसैलाई सुटुक्क काम दिन पाईदैन । ५ लाखको अडिट गर्दाचाहिं टेन्डर चाहिने, अनि ५० लाखको काम दिंदाचाहिं सुटुक्क दिनु कसरी न्यायोचित भयो ?’
‘अनि अडिटरले यस्तो सार्वजनिक खरिद ऐन विपारित काम गरेको केसमा तपाईंहरुले कुनै कारवाही प्रक्रिया अगाडी बढाउन मिल्दैन ?’ हाम्रो प्रश्नमा आइक्यानका अध्यक्ष ओली भन्छन्, ‘काम लिनेको गल्ती केहि होइन । यहाँ काम दिनेको बदमासी हो । एक त डीडिए भनेको बैंकले खरिद गर्ने सेवा हो । यसमा अनिवार्य टेन्डर हुनुपर्छ । हामीले यस विषयमा बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकलाई पनि पटक पटक भनेका हौँ । तर त्यहाँबाट पनि कुनै सुनुवाई भएको छैन । तर कानुनकोसमेत विद्यार्थी भएकाले म भन्न सक्छु- ‘यो सार्वजनिक खरिद ऐन विपरितसमेतको कार्य हो ।’
उनका अनुसार बैंकले ५० लाख रुपैयाँमा दिएको काम अरुले कम मूल्यमा समेत गर्न सक्छन् । ‘न्युनतम अडिट फी लागु गर भन्दाचाहिं सार्वजनिक खरिद ऐन देखाएर अडिटरलाई कम पैसा दिने, अनि डीडीए भनेर पचासौं लाखको काम विना टेन्डर दिएर हुन्छ ? यो गलत हो । यसका विषयमा सम्बन्धित सबैको ध्यान जान जरुरी छ। आइक्यान अध्यक्ष ओलीले भने, ‘यहि काम अरु सिए फर्मले ४० लाख वा ३० लाखमा सक्छन् भने किन एक व्यक्ति वा फर्म तोकेर काम दिने ? बैंकको पैसा भनेको जनताको पैसा होइन र ?’
हिमालयन-इन्भेष्टमेन्टको डिडिए गरेका सशी सत्याल भन्छन्, ‘यो प्रश्न त काम दिने बैंकलाई नै सोध्नुस् न, किन मलाई सोधेको ?
विना टेन्डर किन बैंकहरुले निश्चित फर्महरुलाई मात्र काम दिन्छन् ? यसमा कुनै मिलेमतो त हुन्न ? हामीले यस विषयमा बुझ्न टिआर उपाध्याय एण्ड कम्पनीका पार्टनर सशी सत्याललाई फोन गर्यौं । तर हाम्रो पहिलो प्रश्नमै उनी झर्किएर बोले- ‘मलाई किन सोधेको, काम दिने बैंकलाई नै सोध्नुस् न !’ उनले आफुसँग बैंकले प्रपोजल मागेको र बैंकले काम दिएपछि आफुले काम गरेकाले आफ्नो साइडबाट कुनै पनि गलत काम नभएको दाबी गरे । डिडिए भनेको पनि एक खालको अडिट नै हो । हामीलाई पनि प्रपोजल मागियो, हामीले दियौं, काम पायौं गर्यौं ।’
‘अनि कुनै बैंकको डिडिएमा थोरै रकम अनि कुनैमा धेरै रकम किन हुन्छ ?’ हाम्रो प्रश्नमा उनले केहि शान्त भएर भने- ‘त्यो त काम कति छ, कस्तो छ भनेर हुन्छ नि । यस्तो कुरा मलाई किन सोध्नुहुन्छ ? काम दिने बैंकलाई सोध्नुस् न।’ ‘तपाईंहरुले अलि बढी डिडिए गर्नुहुन्छ नि, त्यहि भएर तपाईंलाई सोधेको भन्ने हाम्रो जवाफ पछि उनले भने- ‘हामीले त्यहि एउटा गरेको त हो नि । हिमालयन र इन्भेष्टमेन्टको ।’
अनि नेपाल बंगलादेश बैंकको पनि तपाईंले गरेको होइन र ? हाम्रो प्रश्नमा उनले भने -हो ।
अनि एउटा मात्र कसरी भयो त ? हाम्रो प्रतिप्रश्नमा उनले भने, ‘त्यो बैंकलाई नै सोध्नुस न । हामीले त दिएको काम गर्ने मात्र त हो ।’