टीकापुर । विगतका वर्ष कैलालीका किसान जेठ मध्यतिरबाट खेत रोपाइँ सुरु गर्थे । यस वर्ष किसानलाई असार लागिसक्दा पनि खेत रोपाइँ गर्ने अवसर जुरेको छैन । किसानलाई प्रचण्ड गर्मी त्यसैमाथि, वर्षा नभएका कारण खेती गर्न समस्या भएको हो । अत्यधिक गर्मी र सिँचाइ कुलामा पानी नभएपछि टीकापुरका परमभक्त देवकोटाको खेतमा राखएिको धानको बीउ बिग्रियो । उनले भर्खरै फेरि बीउ छरेका छन् । विगतमा जेठ मध्यतिर खेत रोप्ने उनले असारको पहिलो साता बित्नै लाग्दा पनि बर्सात सुरु नभएपछि रोपाइँ त परै जाओस् बीउसमेत राम्ररी उमार्न सकेका छैन । “मैले जेठ मध्यतिर राखेको धानको बीउ सुकेर बिग्रियो, बीउ राम्रो नभएपछि फेरि बीउ छरेको छु”, उनले भने, “सिँचाइ कुलामा पानी आएको छैन, बोरिङको पानी पर्याप्त भएन । यस वर्ष खेती गर्ने समयमा बीउ छरेका छौँ । खै कस्तो हुन्छ ?”
अर्का किसान वीरबहादुर चौधरीले तीन दिनअघि खेत रोपाइँ सुरु गरे । कुलामा पानी आउने आशा राखेर उहाले बोरिङ मोटरबाट खेती रोपाइँ सुरु गरेका थिए तर अहिले उनको रोपाइँ नै बन्द भएको छ । अत्यधिक गर्मीले कुलामा समेत पानी सुकेको र बोरिङ मोटरबाट खेती गर्न सम्भव नभएकाले उनले रोपाइँ नै स्थगित गर्नुपरेको हो । “मोटरको सहयोगमा राखिएको बीउ तयार भएको छ । अब ढिलो हुन्छ भनेर रोपाइँ सुरु गर्यौँ तर पानी अभावमा गर्न सकिएन”, उनले भने, “बर्सात नभएका कारण खेत सुक्खा छ । बोरिङको सिँचाइ एकैछिनमा सुक्खा भइसक्छ । वर्षा नभएसम्म खेती गर्न गाह्रो छ ।”
टीकापुरको वनगाउँका किसान चित्रबहादुर चौधरी पनि रोपाइँ सुरु गर्ने तर्खरमा छन् । धानको बेर्ना राखेको महिना दिन पुग्न लाग्दा पनि कुलामा पानी नहुँदा उनले अहिलेसम्म रोपाइँको सुरसार गर्नसकेका छैन । किसानले सामान्यतया बेर्ना २१ देखि ३० दिनसम्म खेतमा रोपी सक्ने गर्छन् । कुलामा पानी नहुँदा राखेको ब्याड अहिलेसम्म रोपी सक्नुपर्ने भएता ब्याड छिपिँदै गइरहेको चित्रबहादुरको गुनासो छ । “किसानलाई सबैभन्दा बढी समस्या छ । न मल पाइएको छ, न सिँचाइ सुविधा छ”, उनी भन्छन्, “यस्तो समस्यामा सबैभन्दा बढी पीडा किसानलाई छ ।”
वर्षा नहुँदा र कुलामा पानी नआउँदा किसानलाई धान रोपाइँ गर्न समस्या छ । लामो समयसम्म वर्षा नहँुदा नदी तथा कुलामा पर्याप्त पानी नभएकाले किसान पानीको अभावमा रोपाइँ सकिरहेका छैनन् । किसान मानबहादुर चौधरी कतिपय किसानले मोटरबाट सिँचाइ गरेर खेती सुरु गरे पनि सम्भव नहुने बताउँछन् । “सबैतिर नदीमा पानीको सतह कम भएको र मोटरबाट खेतमा पानी लगेर सिँचाइ गर्दा घण्टौ समय लाग्ने गर्छ । यसले किसानलाई थप समस्या भएको छ”, मानबहादुरले भने, “बर्सात नहुँदासम्म सिँचाइका लागि बोरिङ मोटरमा पनि राम्ररी पानी नआउने समस्या छ ।”
जिल्लामा ७१ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ । धानखेती हुने क्षेत्रफलमा सबैतिर सिँचाइ सुविधा हुँदैन । कतै नदी, कुलाबाट सिँचाइ हुन्छ भने कतै बोरिङ, मोटर र आकाशे पानीको भरमा खेती हुन्छ तर यस वर्ष कैलालीमा बर्सात नहुँदा किसानले रोपाइँ सुरु गरी सक्नुपर्ने धान खेत अहिलेसम्म बाँझै छन् । जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरी अत्यधिक गर्मी र मौसममा आएको परिवर्तनका कारण खेतीमा असर गरेको र किसानले मौसम नहेरी छिटो बीउ छर्दा राम्ररी नहुर्केको बताउँछन् । “किसानले विगतलाई हेरेर बीउ छर्नुभयो, मौसममा आएको परिवर्तनका कारण किसानले राखेको बीउ समेत बिग्रिएको छ”, उनी भन्छन्, “ कुलामा पानी छैन, मोटरको पानीले खेती गर्न सम्भव हुँदैन, बर्सात भएपछि खेती रोपाइँ गर्न सहज हुन्छ, वातावरण प्रतिकूल असरले उत्पादनमा समेत असर पार्छ ।” –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्