×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोचेझैं सजिलो छैन बीमा कम्पनीको मर्जर, प्राइम लाइफकै अधिकारी भन्छन्- ‘हाम्रै मर्जर सफल हुन्छ जस्तो लाग्दैन…’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सोचेझैं सजिलो छैन बीमा कम्पनीको मर्जर, प्राइम लाइफकै अधिकारी भन्छन्- ‘हाम्रै मर्जर सफल हुन्छ जस्तो लाग्दैन…’

Artha Sarokar

१९ असार २०७९, आईतवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो समय विभिन्न बीमा कम्पनीले मर्जरका लागि सम्झौता गरेका छन् भने कतिपयले मर्जरको तयारी गरिरहेका छन् । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सबीच मर्जरको सम्झौता भएपछि अरु बीमा कम्पनीहरु पनि मर्जरका लागि तातेका थिए । त्यसपछि सूर्या लाइफ र ज्योति लाइफबीच मर्जरको सम्झौता भएपछि त झन् अहिले बीमा मर्जरको रौनक कुनै ठुलो मेलाकोझैं लागेको छ । महालक्ष्मी र प्रभु, आइएमइ र रिलायबल नेपाल लाइफ, लगायतका कम्पनीहरु मर्जरको सम्झौताको अन्तिम तयारीमा छन् भने सिटिजन्स, सानिमा, रिलायन्सजस्ता बीमा कम्पनीहरु मर्जरका लागि घनिभुत छलफलमा छन् । तर मर्जरको सम्झौता गरिसकेका कम्पनीहरुमा भने मर्जरको विषयलाई लिएर विभिन्न खालका समस्याहरु देखा परिसकेका छन् ।

प्राइमलाइफसहित ३ कम्पनीको मर्जर सफल हुनेमै शंका !
प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सले मर्जरमा जाने सम्झौता गरिसकेका छन् । तर डिडिएका क्रममा युनियन लाइफ इन्स्योरेन्सको स्थिति सार्है कमजोर भएको भन्दै अहिले युनियन लाइफसँग मर्जर गर्दा प्राइम लाइफमै समस्या आउने भन्दै प्राइमलाइफकै उच्च अधिकारीहरुले युनियनसँगको सम्झौता ‘ब्रेक’ गर्न सुझाव दिइरहेका छन् । ‘मर्जर भनेको त मर्जरजस्तै हुनुपर्छ । यहाँ त प्राइमले युनियनलाई रेस्क्यु गरेजस्तो देखियो । त्यति कमजोर कम्पनीलाई दिन खोजिएको स्वाप रेसियो हामी प्राइम लाइफका सेयरधनीहरुमाथि गर्न खोजिएको अन्याय जस्तै लागेको छ हामीलाई ।’ प्राइम लाइफका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने- ‘बरु गुराँस लाइफ कमजोर भएपनि उसले गरेको बिजनेशमा क्वालिटी छ । तर युनियन लाइफ इन्स्योरेन्समा त जे पाए त्यहि गरिएको पाइएको छ । त्यसैले युनियनसँग नगरेर गुराँससँगै अर्को पार्टनर खोज्दा राम्रो होला कि भन्ने हाम्रो कुरा हो । तर क्रस होल्डिङ भएकाले युनियनलाई पनि ‘रेस्क्यु’ नै गर्नुपर्छ भन्ने मालिकहरुको कुरा छ । हेरौं के हुन्छ । तर यो मर्जर सफल हुने कुरामा हामीलाई नै शंका छ । युनियनका कारण धेरै कुरा बिग्रेको छ । मर्जर भयो नै भनेपनि २ बर्षसम्म लाग्न सक्ने स्थिति देखिएको छ ।’

यता फेरि युनियनका अधिकारीको भनाई भने हामी ‘खतरै’ हो भन्ने छ । पछिल्लो समय स्थापना भएका बीमा कम्पनीमध्ये सबैभन्दा राम्रो ग्रोथ आफ्नो रहेको बताउँदै उनीहरु प्राइम लाइफसँग त्यति ठुलो ग्याप नहुनेगरी नै स्वाप रेसियो निर्धारण हुनुपर्ने बताउँदै आइरहेका छन् । ‘हामी सबैभन्दा राम्रो पर्फर्मेन्स भएको कम्पनी हो । नयाँ जीवनबीमा कम्पनीमध्ये हाम्रोजतिको काम कसैले पनि गरेको छैन । हामीजतिको बिजनेश पनि कसैको छैन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले भने, ‘कसले के कुरा किन गर्छ, त्यो थाहा भएन । तर हामी नयाँ बीमा कम्पनीमध्ये सबैभन्दा राम्रो पर्फर्मेन्स भएको जीवन बीमा कम्पनी हौँ । हाम्रो बिजनेश, बिजनेशको क्वालिटी सबै राम्रो छ।’

सीइओ र कम्पनीको नाममै छैन समझदारी
सम्झौता गरिसकेका प्राइमसहितका तीन कम्पनी होस्, वा सूर्या लाइफ र ज्योति लाइफबीचको सम्झौता होस्, अध्यक्ष को बन्ने भन्ने विषयमा समस्या खासै नभएपनि सीइओ को बन्ने भन्ने विषयमा ठुलो समस्या देखिएको छ । प्राइममा मनोज कुमार भट्टराईको कार्यकाल असार मसान्तबाट सकिंदैछ । डेपुटी सीइओमाथि बीमा समितिमा मुद्धा छ । युनियनका मनोज कुमार लाल कर्णलाई सीइओ बनाउँदा प्राइमलाई नै युनियनजस्तो बनाईदिने हो कि भन्ने शंका धेरैलाई छ । गुराँस लाइफका सीइओ त मर्जरपछिको कम्पनीमा सीइओ बन्ने बेला नै भएको छैन भन्छन् जानकारहरु । यो प्रश्नले नयाँ कम्पनीमा सीइओ को हुने भन्ने विषय त्यति सजिलो नहुन सक्छ । प्राइम आफ्नो कम्पनीमा युनियनको नाम झुण्ड्याउन चाहंदैन । युनियन आफ्नो अस्तित्व नमेटियोस् भन्ने चाहान्छ । यसले नाममा पनि कुरा सजिलै मिल्छ भन्ने स्थिति छैन ।

यता सूर्या लाइफ र ज्योति लाइफबीच पनि नामको विषयमा सहमति भईसकेको छैन । ‘सबै कुरा डिडिएपछि मात्र छलफल हुन्छ । अहिले नामको विषयमा कुनै पनि टुंगो लागेको छैन ।’ सूर्या लाइफका सीइओ पवन कुमार खड्काले अर्थ सरोकारसँग भने- ‘धेरै विषयहरु छलफलकै क्रममा छन् । नामको विषयलाई लिएर जेजस्ता कुरा आएका छन्, हामीले विज्ञप्ति नै जारी गरेर खण्डन गरिसकेका छौं । नामको विषय अहिले फाइनल भएको छैन।

सम्झौता हुँदैमा हुँदैन बीमा कम्पनीको मर्जर
धेरैलाई लागेको तथ्य के हो भने सम्झौता हुने बित्तिकै मर्जर भईहाल्छ । तर बीमा कम्पनीको मर्जर त्यति सजिलो छैन । बर्षौसम्म रहने दायित्व के गर्ने भन्ने विषयले पनि अहिले मर्जरमा धेरैको टाउको दुखेको छ । त्यसमा पनि जीवनबीमा कम्पनीको दायित्व धेरै लामो समय हुने हुनाले त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय मूलभूत कुरा रहन्छ । अर्कोतर्फ कम्पनी मर्जरमा जाँदा कम्पनीले दिने बोनसदरमा आउने परिवर्तनले ल्याउनसक्ने सम्भावित प्रभावहरुलाई पनि मध्यनजर गर्नैपर्छ । यसले पनि मर्जरको विषयमा बीमाको मर्जर त्यति सहज नहुन सक्छ ।अर्कोतर्फ डिडिए गर्ने बित्तिकै मर्जर प्रक्रिया अगाडी बढ्यो भन्ने पनि होइन । सो रिपोर्टले औंल्याएको विषयमा पनि छलफल हुन्छ । जस्तै अहिले प्राइमलाइफ, युनियन र गुराँसबीचको डिडिए रिपोर्टलाई प्राइमलाइफले सहजै मान्ने स्थिति देखिंदैन । अर्कोतर्फ बीमा कम्पनीका साधारण सभाले बीमाका लागि स्वीकृति दिन्छन् कि दिंदैनन् भन्ने विषय पनि महत्वपूर्ण विषय हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी